Comments Add Comment

कविताः गाई र हँसिया हथौंडा

Sanken-Wantawa

-साङ्केन बान्तावा

एक समय थुप्रै थिए
तातो आरनमा अर्जापिएका
हँसिया हथौंडा
जसले काँढाहरु काटेर
फूलै-फूल उमार्छौं भन्थे
झोंडघारी फाँडेर
गाउँबस्ती सिँगार्छौं भन्थे
जड ऐतिहासिक चट्टान फोडेर
आधुनिक घरको जग हाल्छौं भन्थे
तर हिजो आज हथौंडा
गाईगोठ बनाउनमै व्यस्त छ !

हँसिया पनि
हरियो घाँस काट्नमै व्यस्त भो !
र काँढाहरु बग्रेल्ती पलाएका छन्
झाडीहरु मौलाएका छन्
चाहिएको छ फेरि नयाँ हँसिया हथौंडा
जसले काँढा मात्र काटोस्
झाडी मात्र फाँडोस्
ऐतिहासिक चट्टान फोडेर
साँच्चै नयाँ घरहरुको निर्माण गरोस्
तर अब हँसिया हथौंडा अर्जाप्ने कहाँ ?

हँसिया घाँसमा अल्झेको छ
घाँस गाईको मुखमा
गाई गोठमा सुरक्षित छ
जहाँ अहिले गोठ छ
त्यहाँ पहिले आरन थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment