Comments Add Comment

कथाः साथीको सम्झना

-पारिजात

कताकता एउटी केटीको डायरीमा पढेको थिएँ, ‘मलाई सबैभन्दा बढी घृणा पुलिससँग हुन्छ । यिनीहरू बाटोभरि मात्तिएर, छिल्लिएर अश्लील बोलेर हिँड्छन् । यिनीहरू आफूलाई सरकार सम्झन्छन्, शासक ठान्छन् । जबरस्वाँठ सामन्तीजस्ता हुन्छन् पुलिसहरू । म त्यो बाटो आजभोलि हिँड्दिनँ, कारण त्यहाँ पुलिसको अखडा हुन्छ ।’

यसो हेर्छु र विचार गर्छु निकै सृष्ट डायरी हो यो, अचानक मलाई एउटा पुलिस साथीको सम्झना आउँछ । जो जागिर खाएको कैयन् वर्षपछि जमदार भएको थियो, साथसाथै अवकाशप्राप्त पनि । अहिले ऊ यहाँ छैन, गरिखाने धुनमा मधेस झरेको छ । गरिखाने धुन यथावत छ र सधैँ रहिरहन्छ ।

Parijatजागिर खाएको लामो अवधिमा, यसो भनौँ प्रगति गर्न नसकेका दिनहरूमा, ऊ आफैँ निकै बौद्धिक, निकै दार्शनिक, निकै राजनीतिज्ञजस्तो भएको थियो । भट्टीमा प्रायः हामीसँगै हुन्थ्यौं । एउटा वाक्य ऊ सधैंभरि भन्ने गथ्र्यो अथवा गफ यसै वाक्यबाट सुरु गथ्र्यो, ‘साथी, पुलिस भनेको भ्रष्टाचार, व्यभिचारलाई दमन गर्न बनाइएको हो तर भ्रष्टाचार, दुराचार, व्यभिचार सधैं जनताबाट हुँदैन, सरकारबाट पनि हुन्छ । अँ… धेरैजसो । वाह ! जनता र पुलिस शत्रु रे, खै यहाँ त जति गरे पनि जनता र पुलिस शत्रु ।’ त्यसपछि निधार खुम्च्याएर ऊ हाँस्थ्यो । एक चौथाइ लगाइसकेपछि फेरि बोल्थ्यो, ‘तपाईंलाई थाहा छ ? मेरो एउटा ग्राजुयट साथी छ, ऊ आफ्नो शारीरिक नापतौलबिना कोरा नातावादको नातामा पुलिस इन्सपेक्टरको पदमा छानिएको थियो । उसकी स्वास्नीले थाहा पाइछ… तुरुन्त भनी, ‘सारा साथीहरू क्रान्तिकारी हुन लागिरहेछन् । तिमीचाहिने पुलिस इन्सपेक्टर ! पछि तिमी साथीहरूलाई समात्दै जेल हाल्नुपर्दा पछुतो नगर्नु नि… अँ । पैसा र ओहोदाले के गर्छ ?’ लाछी मोरो स्वास्नीको नोकरजस्तै थियो, तुरुन्त नाउँ झिकिदियो । कहीँकहीँ त स्वास्नी पनि गजबकी हुन्छे ।’

त्यसपछि ऊ हाँस्थ्यो फेरि । म सम्झन्थें, रक्सीले हो कि हाँसोले हो उसलाई कमभन्दा कम आफ्नो स्थितिभन्दा टाढा लगिरहेछ । नत्र ऊ साँचो पुलिस भए यो भट्टीभित्र कम भ्रष्टाचार चलेको छ ? एउटा कोरा भोटेनी ल्याएको छ साहुले रक्सी बिकाउनलाई गजब राम्री । हिजो त्यसलाई चारजनाले सुताएका थिए, खै यो पुलिसको जमदारको के तागत ? बबुरो तातिएको रगतलाई सेलाउन रक्सी चाहिन्छ उसलाई ।

कहिलेकाहीँ ऊ त असाध्यै पीर पोख्थ्यो । म पनि दिग्दार हुन्थेँ उसका निम्ति । ऊ भन्थ्यो, ‘हेर्नुस्, न मजति दुःख पाउने मान्छे यो संसारमा को होला र अरु ? मान बढ्ला, पैसा बढ्ला ठाँटिएर हिँड्न पाउँला, चोर पक्रन पाउँला, पापीको नाश गर्न पाउँला भनी पुलिस भइयो । हरे ! सुन्नेले छाती फुटाउला । सुरुसुरुमा त पुलिसमा भर्ना त भएँ नि, तर के गर्ने ? थाहा छ, लगातार चार वर्ष डीएसपीको घरमा दाउरा चिरेर, डिएसपिनीको पेटिकोट धोएर, उनीहरूका छोराछोरीको लातघुस्सा सहेर बिताएँ । कहाँ त देशको सुरक्षा गर्यौँ भनी सुरिएर आएको जवान, हाहाहा ।’ त्यसपछि ऊ मनग्ये हाँस्छ । सोध्छु, हाँसेर थोरै पार लागिन्छ र यो जीवनमा ? कि यो अवस्थामा ? तर, ऊ निस्पिmक्री हाँस्छ, कसले रोकोस् उसलाई ?

एक रात हामीहरूले धेरैबेरसम्म भण्डारखालको जंगलमा गफ गरेर बितायौं । एउटा साथीको बिहेमा गएका थियौँ, बिसौनी त्यहीँ पर्यो फर्केर आउँदा । ऊ भन्थ्यो, ‘यो १५ दिनभित्रमा तीनपटक विदेशी पाहुना आयो रे मानेँ मैले, तर अखबारमा कसको तस्बिर निस्कन्छ ? प्रीतिभोज कसले खान्छ ? उपहार कसले ठोक्छ ? पुलिसको जमदारले ? वाहियात ! हाम्रो जीवनको मूल्य छ केही ? युनिर्फम लगाएर मोडमोडमा उभिँदा सत्य म त यस्तै सोच्छु, तर यो भावना देशद्रोही होइन है, तपाईं बुझिहाल्नुहुन्छ नि होइन ?’

ऊ अलिकति मदेखि डराउँछ, वास्तवमा मदेखि होइन वातावरणदेखि डराउँछ । बेलाबेला उसको अलिकति झस्किनु निकै रमाइलो लाग्छ मलाई । कहिले आफ्नो कमलो मनको विज्ञापन दिन्थ्यो ऊ र कहिले दुःख पोख्थ्यो । कहिलेकाहीँ हामी आफ्नो सुविधाबारे पनि गफ गथ्र्यौं । ऊ मेरो असुविधाहरूलाई विश्वास नै नगर्ने । भन्थ्यो, ‘पुलिसलाई के सुविधा छ ? फाँटतिर घँसेनीहरू देखे कानमा हात राखेर रसिया गाउनु, त्यसपछि सोध्नु घर कहाँ हो ? माइती कहाँ हो ? यी घँसेनीहरूको पनि मति बिगि्रसकेको छ । आजभोलि त खाकी पोसाक त देख्नै हुँदैन, त्यसै छिल्लिन्छन् । अँ, हामीलाई मादल बजाउने सुविधा छ, नाच्ने सुविधा छ, उही पनि ब्यारेकमा बस्दा । म त घरमा जान्छु, स्वास्नी छे । छोरा छ । पार्टी भएको दिन माथिल्लो अफिसरको घरमा चाकरी बजाउनुपर्छ । वाह Û उनीहरू कति पैसा बगाउँछन् एउटा पार्टीमा । हप्तामा तीन दिन उनीहरू पार्टीमा नै व्यस्त हुन्छन् । म पनि खुवाउनलाई खुब सोखिन मान्छे, तर एक साँझ दुई-तीनजना साथीलाई डाकेर ख्वायो कि बजेट… बस कुरै नगर्नुस् । अफिसरलाई पुग्ने हामीलाई नपुग्ने कसरी होला हगि ? तर के गर्ने, तलब ओहोदा हेरेर पाइन्छ, खटन हेरेर होइन ।’

उसको त्यस्तो कुरा सुन्दा मलाई असाध्यै दुःख लाग्थ्यो । मेरो प्रशस्त सहानुभूति छ ऊप्रति, यसैले कि शोषणको नातामा हामी दुवै जनता हौँ । फरक यति हो, जतिसुकै असन्तुष्टिहरू भए पनि उसले अनुशासन भोग्नैपर्छ । मलाई पर्दैन । यस मानेमा म एक इन्च सुखी छु ।

तर बेलामौकामा यस्तो धारणालाई पनि चकनाचुर पारिदिन्थ्यो उसले, ‘उफ् ! विद्यार्थीका निम्ति कुनै गुनासो नै नरहोस् न यस्तो किन हुँदैन हँ ? किन उनीहरूले बाध्य भएर जुलुस निकाल्नुपर्छ ? लाठीचार्ज गर्नुपर्दा जहिले पनि दूधमुखे भुराहरू अघिअघि आइदिन्छिन् । म यस्तो सकसमा पर्छु त्यस बेला… ठीक त्यसबेला मलाई सारा युनिर्फम बाँदर्नी मैयाँको कथामा जस्तै डढाएर एकातिर शुद्ध मान्छे भई भागिदिन मन लाग्छ ।’ म जिल्लिन्छु उसका कुरा सुनेर । तर ऊ भन्दै जान्थ्यो, ‘समय सधैं एकनास नै छ । पहिले शोभाभगवतीमा मान्छे काट्थ्यो ! अब जेलमा पहिले फाँसिदिने त्यसपछि शोभाभगवतीमा लगेर त्यसलाई काटिदिने !’

त्यसपछि म डराउँथे र झस्कीझस्की बाहिरतिर हेर्थें । कुरा त हाँसो लाग्ने तर हाँँस्नै नसकिने । एक दिन डरलाग्दो आवेशमा आएको थियो ऊ । घरीघरी चुनौती दिन्थ्यो कुन्नि कसलाई हो मचाहिँ भर्खर मात्रै भारतीय पत्रिकामा पढेर आएको एउटा लेख सम्झिरहेको थिएँ, ‘आजभोलि कलकत्तामा पुलिस र विद्यार्थी एकअर्काको डरलाग्दो दुश्मन भएका छन् । दुवैथरी एकअर्कालाई प्रतिशोध लिनका निम्ति एकअर्काको ताकमा हुन्छन् ।’ त्यो बेला नक्सलाइटको जगजगी थियो त्यहाँ ।

आवेशमा अरुले के के बोले त्यो मैले सुनिनँ तर उसको अन्तिम कुराले मलाई आकषिर्त नगरी छाडेन । ऊ मलाई कोट्याएर भनिरहेको थियो, आँखाहरूलाई बिरालोले जस्तै बालेर, ‘जसले बन्दुकको सिर्जना गर्यो त्यसले बन्दुकको धर्म निर्धारण गरेर गएको छैन । बन्दुकको अनुशासन हुँदैन, यसलाई जता घुमाए पनि हुन्छ, अत्याचारको मार जता बढी पर्छ ।’ त्यसपछि एकातिर ऊ लत्रक लत्रिदियो ।

पुलिस साथीको सम्झनाले अचानक छोड्छ मलाई रातमा ऐँठनले छोडेजस्तै । म खुरुक्क त्यस केटीको डायरीको पाना च्यातेर खल्तीमा हाल्छु र हिँडिदिन्छु ।

(सडक र प्रतिभा कथासंग्रहबाट । सडक र प्रतिभा साझा प्रकाशनबाट प्रकाशित छ, यसको पहिलो संस्करण २०३२ सालमा छापिएको थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment