+
+

सिद्धान्तनिष्ठहरूलाई सिद्धान्तहीनको जवाफ

नयाँ शक्तिले आफ्ना चिन्तनगत एवं वैचारिक धारणा सार्वजनिक गर्न नपाउँदै यसलाई सिद्धान्तहीनताको आरोप लाग्न थालेको छ । तर, कथित सिद्धान्तवान्हरूले आफ्नो सिद्धान्तको हबिगततर्फ भने हेरेका छैनन् । बितेका केही वर्षयता मानव ज्ञानले असाधारण फड्को मारिसकेको छ ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७२ माघ २३ गते १८:५०

मोहन तिम्सिना

नयाँ शक्तिले आफ्ना चिन्तनगत एवं वैचारिक धारणा सार्वजनिक गर्न नपाउँदै यसलाई सिद्धान्तहीनताको आरोप लाग्न थालेको छ । तर, कथित सिद्धान्तवान्हरूले आफ्नो सिद्धान्तको हबिगततर्फ भने हेरेका छैनन् । बितेका केही वर्षयता मानव ज्ञानले असाधारण फड्को मारिसकेको छ । चिन्तन प्रणालीमा प्रचलित बुझाइहरू उल्टिएका छन् । पश्चिमा भौतिकशास्त्र र पूर्वीय योगशास्त्रको कडी जोडिएको छ । भौतिकशास्त्र स्वयं नै मूर्तबाट अमूर्त चिन्तनमा प्रवेश गरेको छ । यो छुद्र पूर्वाग्रह, जडता र संकीर्णता प्रदर्शन गरी आरोप-प्रत्यारोपमा उत्रने बेला होइन । बरु नयाँ ढंगले विषयको अन्वेषण र दार्शनिकीकरण गर्ने बेला हो । तर, यस्ता काम-कुरा कतै भइरहेका छैनन् ।

सिद्धान्त भनेको मानवीय ज्ञानको विकाससँगै ‘अपडेट’ गर्दै जानुपर्ने विषय हो । तर वर्षौंदेखि हाम्रो चिन्तन प्रणाली ‘अपडेट’ भएको छैन । त्यसैले कसैले कसैलाई सिद्धान्तहीनताको आरोप लगाउनुको कुनै तुक छैन । यतिबेला हामी सबै नै सिद्धान्तहीन भएका छौं । नयाँ शक्तिले मानवीय ज्ञान अनुभव संश्लेषणको अभिभारा पूरा गर्दै वैकल्पिक चिन्तन प्रणाली स्थापित गर्न सक्यो भने मात्र यो वास्तविक नयाँ शक्ति हुन्छ । त्यसैले सिद्धान्तवान् मित्रहरू अहिले सुरुवातमै आत्तिन जरुरी छैन । बरु मित्रहरूलाई विनम्र आग्रह के हो भने हामी सबैले हाम्रा चिन्तन प्रणालीलाई अपडेट गर्ने प्रयास गरौं । जसले यो काम गर्दछ, त्यो मात्र आगामी दिनमा समाजको नेतृत्व गर्न सफल हुन्छ । अर्थात् नयाँ शक्ति बन्ने वा बनाउने कुरा, अनि यसको सफलता वा असफलताको कुरा रहर वा पूर्वाग्रहभन्दा धेरै पर छ ।

जोडिएको कडी

मोहन तिम्सिना
मोहन तिम्सिना

पश्चिमा शास्त्रीय चिन्तन जम्मा दुईवटा विचारमा आधारित थियो । पहिलो, ‘स्थान’ तीन आयामीय भएर (लम्बाइ-चौडाइ-उचाइ) रहेको छ । दोस्रो, ‘समय’, ‘स्थान’बाट अलग र निरपेक्ष छ । यो धारणा युक्लिडियन ज्यामितिका मान्यतासँग मिल्दथ्यो । त्यसैले पश्चिमा शास्त्रीय चिन्तनलाई वैज्ञानिक युक्लिडियन ज्यामितिमा आधारित चिन्तन पनि भन्दछन् । युक्लिडियन ज्यामिति प्राचीन गि्रक सभ्यताको आविष्कार थियो । यो पूरा १९औं शताब्दीसम्म पश्चिमा चिन्तनमा हाबी रह्यो ।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले युक्लिडियन ज्यामितिय चिन्तन परम्परालाई विस्थापित गर्यो । हाम्रो दैनिक जीवनमा अझै पनि यो ज्यामिति काम लाग्छ । तर ब्रह्माण्डीय चिन्तनमा आइन्स्टाइनले यसको सान्दर्भिकता समाप्त पारे । आइन्स्टाइनले स्थान र समय अलग र निरपेक्ष छैनन्, अन्तर्सम्बन्धित छन्, संसार तीन आयामीय होइन, चार आयामीय छ भन्ने देखाए । साथै, ‘स्थान-समय’ चेप्टो होइन, बक्र छ भन्ने देखाए । क्वान्टम विज्ञानको आविष्कारपछि कण र तरंग पनि एउटै समग्रको दुई पक्ष हो भन्ने देखियो ।

यसरी हेर्दा संसारमा कुनै पनि वस्तु वा घटना अलग-थलग होइन, अन्तर्सम्बन्धित छन् भन्ने देखियो । संसार स्थुल (देख्न सकिने) र सूक्ष्म -देख्न नसकिने) रहेको पनि स्पष्ट भयो । जस्तो कि स्थान र समय, पिण्ड र शक्ति, कण र तरंग, गतिशीलता र स्थिरता, कार्य र कारण सबै एउटै समग्रका दुई पक्ष हुन्, यिनीहरू परिपूरक वा अन्तर्सम्बन्धित छन् । तर, यसको कठिनाइ के देखियो भने माथिका तथ्य गणितका सूत्रहरूमा त प्रमाणित हुन्छन् । तर, मानवीय भाषामा वा स्थुल दृश्यमा यसलाई अभिव्यक्त गर्न वा बुझाउन गाह्रो छ । अर्को कुरा संसारका हरेक घटना वा अवस्था एक अर्कोसँग छुट्याउनै नसकिने गरी अन्तर्सम्बन्धित रहेका र हामी मानिसका लागि यो सूक्ष्म रूपमा पनि रहेकाले यिनीहरूलाई ठीक तरिकाले नाप्न र गतिको सम्पूर्णतः सही विश्लेषण गर्न असम्भव छ ।

बिसौं शताब्दीको सुरुवातसँगै एकपछि अर्को गर्दै यस्ता आश्चर्यजनक वैज्ञानिकहरू आविष्कार भइरहेका थिए । तर, योभन्दा पनि आश्चर्यजनक तथ्य पछि वैज्ञानिकले फेला पारे । वास्तवमा उनीहरूले जे कुरालाई मौलिक र नौलो आविष्कार भनिरहेका थिए, ती त पूर्वीय सभ्यतामा लगभग चार हजार वर्ष अघिदेखि नै विमर्श भइरहेका विषय रहेछन् । भारत र नेपालको योग चिन्तन परम्परा र बुद्ध दर्शन अनि चीनको ताओ चिन्तन परम्परामा यसबारे विस्तृत साहित्य रहेछन् । सापेक्षतावाद, स्थान-समय अभिन्नताको धारणा, कण-तरंग द्वैतताको धारणादेखि अनिश्चितता सिद्धान्त र श्रृष्टिसम्बन्धी महाविस्फोट र महासंकुचन (ब्ल्याकहोल) का धारणाबारे उपनिषद, बुद्ध दर्शन र ताओ दर्शनमा प्रशस्त चर्चा भएको रहेछ ।

यसमा फरक के भने भौतिकशास्त्र वस्तुगत अवलोकनको उपज थियो । योग वा ताओ परम्परा आत्मा अवलोकनको उपज थियो । तर यिनीहरूका निष्कर्षहरू चाहिँ एउटै रहेछन् । रोचक तथ्य के भने भौतिकशास्त्री जे विषयमा कठिनाइ अनुभव गर्दछन्, योग एवं ताओ चिन्तनमा पनि कठिनाइको विषय सोही रहेछ । अर्थात् भौतिकशास्त्रमा जटिल एवं गहिरा गणितीय नियमलाई मानवीय भाषामा बुझाउन कठिन छ । त्यसैगरी योग तथा ताओ परम्परामा पनि गहिरो ध्यानावस्थामा अनुभूत हुने विषय भाषामा अभिव्यक्त गर्न कठिन छ ।

जब फरक-फरक विधिबाट संसारलाई हेर्दा निष्कर्ष एउटै निस्कन्छ भने दुवै विधि कहीँ न कहीँ अन्तर्सम्बन्धित छन् भन्ने मान्नुपर्छ । अझ मानवीय प्रवृत्ति र समाजलाई हेर्ने सवालमा पूर्वीय चिन्तन परम्परा सूक्ष्म गहिराइमा रहेको तथ्य पनि उनीहरूले महसुस गरे । त्यसैले अहिले भौतिकशास्त्री स्वयं के अनुभूत गर्छन् भने जीवन र जगत्लाई बुझ्न भौतिकशास्त्रीय विधि मात्र पर्याप्त छैन । यो समग्रको एउटा पाटो मात्र हो । यसको अर्को पाटो भनेको आत्मिक विज्ञान हो । यी दुवैको गतिशील सन्तुलनबाट मात्र जीवन र जगत्बारे सापेक्ष सत्य ज्ञान हासिल गर्न सकिन्छ । यसबाट मात्र उन्नत समाज सिर्जना गर्न सकिन्छ । यसरी भौतिकशास्त्र र योगशास्त्रको कडी जोडियो ।

पूर्वीय चिन्तन परम्परा

पूर्वीय चिन्तन परम्परा भन्नेबित्तिकै हामीलाई कर्मकाण्ड र रुढीग्रस्त ईश्वरवादको चर्चा गर्न खोजेको हो कि भन्ने पर्दछ । तर आजको सम्प्रदायवाद, कर्मकाण्ड र रुढीवादसँग वास्तविक पूर्वीय चिन्तनको कुनै साइनो देखिँदैन । पूर्वीय चिन्तन परम्पराका अनुसार हामीले प्रकृति वा संसारबारे दैनिक जीवनमा जे धारणा बनाउँछौं, त्यो वास्तविक होइन । यो त हाम्रो दिमागको भ्रम मात्र हो । हाम्रा इ्न्द्रीय र दिमागले स्थुल प्रकृतिलाई मात्र देख्दछन् । सूक्ष्म प्रकृतिलाई देख्दैनन् । अर्थात् यथार्थको आधालाई देख्छन् । बाँकी आधालाई देख्दैनन् । यही कुरा दर्शाउन पूर्वीय शास्त्रमा ‘ब्रह्म सत्य जगत् मिथ्या’ भनियो । गीतामा चेतनाको यही अवस्थालाई माया वा भ्रम भनियो भने बुद्ध दर्शनमा यसलाई अविद्या भनियो ।
सम्पूर्ण प्रकृति वा ब्रह्माण्डमा पलपलमा जे घटित हुन्छ, त्यो घटना मानव शरीरमा पनि चलिरहेको हुन्छ । त्यसैले हामी मानवले आफ्नै शरीरभित्रका सूक्ष्म संवेदनाको अनुभूत गर्ने प्रयास गर्ने हो भने प्रकृतिको ‘स्थुल’ र ‘सूक्ष्म’ अवस्था र घटना अनुभूत गर्न सकिन्छ । जीवन र जगत्बारे अन्वेषणको यस्तै मौलिक पद्धतिको रूपमा पूर्वमा योग वा ध्यान परम्परा विकसित भयो । ध्यानको उद्देश्य नै चेतनालाई गतिशील सन्तुलनमा अवस्थित गरेर प्रकृतिको वास्तविक स्वभावको बोध गर्नु हो । यसका लागि चेतना स्थुल -सामान्य)बाट सूक्ष्म -असामान्य) गहिराइमा प्रवेश गर्नुपर्छ । प्रकृतिको दुवै (स्थुल र सूक्ष्म) स्वभाव अनुभूत गर्ने यो प्रक्रियालाई ‘समाधि’ भनिएको छ । यसबाट प्राप्त हुने चेतनाको गहिरो अवस्थालाई उपनिषद् ग्रन्थमा ‘ब्रह्म’ भनिएको छ । बुद्धले यस्तो अवस्थालाई ‘प्रज्ञा’ भनेका छन् । ‘ताओ’ शब्दले पनि यही कुराको संकेत गर्दछ ।

यदि हामीले आफ्नै शरीरलाई प्रयोगशाला बनाएर गहिराइमा प्रवेश गर्ने हो भने सारा संसारमा देखिने विपरीतहरू वस्तु वा घटना एउटै समग्रका दुई पक्ष मात्र रहेछन् भन्ने अनुभूत हुन्छ । ताओ परम्परामा प्रकृतिको यो द्वन्द्वात्मकतालाई व्यक्त गर्न माथिको प्रतिकात्मक चित्र प्रयोग गरिन्छ । जसलाई अमेरिकन भौतिकशास्त्री फ्रिटजोफ काप्राले नयाँ अर्थ भरेका छन् । समग्र चित्रको सेतो खण्डलाई याङ र कालो खण्डलाई यिङ भनिन्छ । यिङले महिला स्वभाव, रक्षात्मकता, अनुभूति ज्ञान, तथा आत्मा वा चेतनाकोे प्रतिनिधित्व गर्दछ । याङले पुरुष स्वभाव, तार्किक ज्ञान, आक्रामकता, तथा भौतिक संसारको प्रतिनिधित्व गर्दछ । यिनीहरू समग्रमै व्यतीकृत हुन्छन् । यसको अर्थ आपसमा मिलेर पनि आफ्नो पन गुमाउँदैनन् । फलतः यिनीहरू गतिशील सन्तुलनको सम्बन्धमा रहन्छन् । जसको कुलयोगमा प्रकृति सञ्चालित हुन्छ भन्ने तथ्यलाई चित्रमा प्रतिकात्मक हिसाबले व्यक्त गरिएको छ ।

पश्चिमा चिन्तन परम्परा

इतिहासदेखि नै पश्चिमा चिन्तनको सीमा के रह्यो भने यो वस्तुगत चरित्रको र युक्लिडिय ज्यामितिमा आधारित थियो । पहिले परमाणुलाई पदार्थको आधारभूत कण मानिन्थ्यो । तर २०औं शताब्दीको सुरुवातसँगै पश्चिमा समाजमा स्थान-समय अन्तर्सम्बन्धित र वक्र भएको तथ्य पत्ता लाग्यो । त्यससँगै परमाणुभित्र इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन र क्वार्कजस्ता कणहरू फेला परे ।

आज सम्पूर्ण प्रकृतिमा कण-तरंग द्वैतता हुन्छ भन्ने तथ्यले सिद्धान्तको रूप लिएको छ । यसको अर्थ ब्रह्माण्डका सारा चिजहरू एकैचोटि कण र तरंग दुवै हुन सक्छन् । हाम्रो आँखाले कण अर्थात् पदार्थको स्थुल रुप मात्र देख्न सक्छ । तरंग अर्थात् सूक्ष्म रूप देख्न सक्दैन । सूक्ष्मदर्शक यन्त्रको सहाराले पनि हामी पदार्थको सूक्ष्म अर्थात् तरंग स्वरूप देख्न सक्दैनौँ । कण-तरंग स्वरूपमा रहेको पदार्थभित्र अत्यन्तै तीव्र गतिमा उत्पाद-व्ययको प्रक्रिया चलिरहेको हुन्छ । तर, पदार्थको कण र तरंग अवस्था एक अर्कामा निषेध भने हुँदैनन् । बरु द्वन्द्वात्मक सन्तुलनसहित गतिशील रहन्छन् । यो अवस्थालाई अभिव्यक्त गर्न व्यतीकरण शब्दको प्रयोग गरिएको छ ।

पानीमा व्यतीकरणको चित्र । प्रशिद्ध दुई छिद्रको प्रयोग पदार्थ कणको व्यतीकरण ।
१. पानीमा व्यतीकरणको चित्र । २. प्रशिद्ध दुई छिद्रको प्रयोग पदार्थ कणको व्यतीकरण ।

पदार्थको अन्तर्सम्बन्धित र गतिशील स्वभावका कारण मानिसले यसको गति र अवस्थाको मापन गर्न सक्दैन भन्ने तथ्य पनि आजको पश्चिमा भौतिकशास्त्रको मुख्य कुरा हो । जसलाई ‘अनिश्चितता सिद्धान्त’ भनिएको छ । यसका अनुसार पदार्थ कणहरूको गतिको कुनै सुनिश्चित दिशा छैन । अर्थात् प्रकृतिको एकल इतिहास र सुनिश्चित भविष्य हुँदैन । हाम्रो भाषा वा सिद्धान्तबाट प्रकृतिको सारा गतिका प्रक्रिया अभिव्यक्त गर्न सकिँदैन । साथै एकल ब्रह्माण्ड छैन, ब्रह्माण्डहरू नै अनगिन्ती छन् । यी तथ्य आजको भौतिकशास्त्रका निष्कर्ष हुन् ।

दर्शनशास्त्रको प्रश्न

आज हामी दर्शनशास्त्र भन्नेबित्तिकै पश्चिमतर्फ नै र्फकन्छौं । द्वन्द्ववादकै कुरा गर्दा यो हिराक्लिटस, हेगेल हुँदै माक्र्स एंगेल्ससम्म आइपुग्छ । माक्र्स एंगेल्सले नै पश्चिममा द्वन्द्वात्मक भौतिकवादी पद्धतिको सुरुवात गरे । धेरैजसोले यसलाई आजसम्म पनि शाश्वत सत्य मानिरहेका छन् । तर यसका आफ्नै ऐतिहासिक सीमा थिए । माक्र्स एंगेल्सले आइन्स्टाइनको सापेक्षता सिद्धान्त र पूर्वीय द्वन्द्ववादी चिन्तन परम्परा अध्ययन गर्न पाएनन् । उनीहरूले हिराक्लिटसलाई प्रथम द्वन्द्ववादी बताएका थिए । जब कि हिराक्लिटसभन्दा शताब्दियौंअगाडि पूर्वीय समाजमा द्वन्द्ववादको समृद्ध परम्परा विकसित भएको देखिन्छ । यस्तै, ऐतिहासिक सीमाका कारण उनीहरूको द्वन्द्ववादसम्बन्धी बुझाइ र व्याख्या त्रुटिपूर्ण थियो । जुन पछि माओले सच्याउने प्रयास गरेका थिए । तर माक्र्सदेखि माओसम्मका चिन्तककोे चिन्तनको सीमा स्थुल प्रकृतिसम्म सीमित थियो । त्यसैले यसलाई सच्याउने कम्युनिस्ट प्रयास पूर्ण हुन पाएन । कम्युनिस्ट आन्दोलनको असफलताको रहस्य यहीँनेर निहित छ ।

दर्शनशास्त्रलाई विज्ञानहरूको विज्ञान भनिन्छ । अर्थात् प्रकृति र जीवन दुवैका नियम दर्शनशास्त्रले समेट्न सक्नुपर्छ । तर, भौतिकशास्त्रको क्षेत्रमा काम गरिरहेका पश्चिमा बैज्ञानिक हिजोआज के स्वीकार गर्न थालेका छन् भने पश्चिमा दर्शनशास्त्रको जग एकांगी थियो । अर्थात् यो अलि बेसी कोरा भौतिकवादमा आधारित थियो । जीवन वा आत्मासम्बन्धी प्रश्नमा यसले गहिरो चिन्तन गरेको थिएन । जसका कारण पश्चिमा दर्शनशास्त्र यान्त्रिक, एकांगी र रुखो देखियो । साथै हिजो पूर्वीय चिन्तन परम्पराको वास्तविकता नबुझी यसलाई भौतिकवादविरोधी दर्शन भनियो । यो तथ्य पनि गलत रहेछ । त्यसैले भौतिकशास्त्री आज यस्तो निष्कर्षमा पुगेका छन्: पूर्वीय योग परम्परामा आधारित आत्मिक विज्ञान र पश्चिमा वस्तुगत अनुसन्धानमा आधारित भौतिकशास्त्र एक अर्कामा छुटिनै नसक्ने अन्तर्सम्बन्धित र समानान्तर रहेछन् । यीमध्ये कुनै एउटा पक्षको अभावमा निर्माण हुने दर्शनशास्त्र वा सामाजिक संरचना एकांगी र अधुरो हुने रहेछ ।

नयाँ दिशा

कार्लमाक्र्सले टाउकाले टेकिरहेको परम्परागत दर्शनलाई आफूहरूले खुट्टामा उभ्याएको बताएका थिए । उनको यो भनाइ आंशिक रूपमा सही नै रहेछ । तर आजको चेतनाले हेर्दा कमजोरी के देखियो भने उनको दर्शनले एउटा मात्र खुट्टा टेकेको रहेछ । अब दर्शनशास्त्रलाई दुई खुट्टामा उभ्याउने अभिभारा आजको पुस्तामा आइलागेको छ । अर्थात् पश्चिमा वस्तुगत अनुसन्धानका निष्कर्ष र पूर्वीय आत्मिक चिन्तन परम्पराका कडीहरू जोडेर मात्र अब हामी नौलो चिन्तन वा सिद्धान्तको निर्माण गर्न सक्दछौं ।

यसको अर्थ के भने अब प्रकृति र मानिसलाई हामी अन्तर्सम्बन्धित इकाइको रुपमा बुझ्ने छौं । मानिससँग उसको सामाजिक तथा जैविक परिवेशका प्रभाव त हुन्छन् । तर यसको अर्को अभिन्न पक्ष पनि छ । त्यो के भने हरेक मानिसले आफ्नो निजत्व र कर्मसंस्कार प्रकृतिबाटै लिएर आएको हुन्छ । यो व्यक्तिपिच्छे फरक हुन्छ । यसको अर्थ एउटा मानिस आफैंमा सार्वभौम इकाइ हो । त्यसैले पदार्थले चेतना निर्माण गर्दछ भन्ने मान्यताको ठाउँमा चेतना र पदार्थ, अस्तित्व र अनअस्तित्व पनि एउटै समग्रको दुई पक्ष हुन् । प्रकृतिबिना मानिस रहँदैन तर मानिसबिना प्रकृतिको अस्तित्वको विषय पनि व्यर्थ हुन्छ । त्यसैले मानिस आफैं कार्य र कारण, चेतना र पदार्थ, नियम र वस्तु दुवै हो भन्ने मान्यता हुनेछ ।

प्रकृतिमा पिण्ड र ऊर्जा, कण र तरंग, स्थान र समय, कार्य र कारण, मात्रा र गुण, रात र दिन, जन्म र मृत्य आदि अन्तर्सम्बन्धित भएजस्तै समाजमा सामाजिक चेतना र प्राकृतिक गुणधर्म, वर्गीयता र मानवीयता, व्यक्ति र राज्य, निजी धन र सामूहिक धन, श्रम र पँुजी, निजत्व र सामूहिकता, प्राकृतिकता र आधुनिकता, वंशीय गुण र वातावरणगत प्रभाव, राष्ट्रवाद र अन्तर्राष्ट्रियतावाद, भुमण्डलीकरण र स्थानीयता, जनवाद र केन्द्रीयताजस्ता सामाजिक इकाइ वा प्रणालीहरू एकअर्का विरोधी साथै परिपूरकको -द्वन्द्व-सन्तुलनकारी) सम्बन्धमा रहेका हुन्छन् ।
त्यसैले समाजमा वर्गीयताको साथसाथै मानवीयताको पनि प्रवर्द्धन गर्नुपर्छ । सामूहिकताको साथसाथै निजत्वको पनि प्रवर्द्धन गर्नुपर्छ । सामूहिक धनको साथसाथै निजी धनको पनि प्रवर्द्धन गर्नुपर्छ । केन्द्रीयताको साथसाथै जनवादको पनि प्रवर्द्धन गर्नुपर्छ । राष्ट्रवादको साथसाथै अन्तरराष्ट्रियवादको पनि प्रवर्द्धन गर्नुपर्दछ ।

पुँजीवादले व्यक्तिगत पुँजी र स्वतन्त्रतालाई संरक्षण गर्ने नाममा आमबहुमतमाथि मुठ्ठीभर अल्पमतले शासन गर्दछ । साम्यवादी दर्शनले प्रकृति र मानवीय समाजमा विपरीत तत्वबीचकोेे द्वन्द्व-सन्तुलन सम्बन्धलाई स्वीकार गर्दैन । यसैको परिणाम उनीहरू निजी धन निषेध गर्ने, वर्गविहीन, राज्यविहीन र मुद्रा विहीन साम्यवादी समाज स्थापना गर्ने योजना बनाउँछन् । एक दिन साम्यवाद आएपछि सामाजिक अन्तरविरोध नै समाप्त हुने र त्यसपछि मानिसको प्रकृतिसँग स्वास्थ्य जन्य अन्तरविरोध मात्र रहने निष्कर्ष निकाल्छन् । तर मानिसको निजत्व र कर्मसंस्कार भनेको मानव जीवन रहेसम्म मानिसपिच्छे फरक भइरहन्छ । जसका कारण मानिसबीचमा सामाजिक अन्तरविरोध कहिल्यै समाप्त हुँदैन । फलतः साम्यवाद पनि कहिल्यै आउँदैन ।

आजका पुँजीवादी तथा साम्यवादी राजनीतिक दलहरूको अकर्मण्यता, अलोकपि्रयता र असफलतको भित्री रहस्य यहीँ कतै छ । नयाँ पुस्ता न्यायपूर्ण र यथार्थवादी चिन्तन र लक्ष्यका आधारमा काम गर्न चाहन्छ । यिनै कारणले हामीलाई वैकल्पिक चिन्तन प्रणाली र वैकल्पिक शक्ति चाहिएको हो ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?