Comments Add Comment

काठमाडौंमा ‘विचारको छाउपडी’

गीता चिमोरिया

‘नानी, महिनावारी हुँदा धारा नछुनू है ।’ यो वाक्य सुनेपछि म झसंग भएँ । उनले भन्दै गइन्, ‘त्यहाँ पल्लो छेउमा अन्डरग्राउन्ड अर्थात् जमिनमुनि खाल्टो खनेर बनाइएको ट्यांकी छ, त्यसलाई पनि नछुनू ।’

आँगनको पूर्वपट्टी रहेको तुलसीको मठतिर देखाउँदै भनिन्, ‘चार दिनसम्म त्यतातिर नि नजानू ।’ कोठामा आएको पहिलो दिन मैले गर्न हुने र नहुने कामबारे भन्दै थिइन्, घरबेटी ।

गीता चिमोरिया
गीता चिमोरिया

मधेसबाट पढ्नका लागि भनेर भर्खरै राजधानी छिरेकी म । घरबेटीको कुराले पहिलो दिनै मन चसक्क भयो । अझ धेरै पढेर सुन्दर भविष्य बनाउने सपना बुन्दै काठमाडौं आएकी मलाई, अब फेरि डेराबाट नै संघर्ष सुरु गर्नुपर्ने कुराले पिरोल्यो । आफ्नो घरमा एकपटक संघर्ष गरेर महिनावारीसम्बन्धी नियम -बनाइएका) तोडिसकेकी मैले, अब फेरि ती नियमलाई कडाइ साथ पालना गर्नुपर्ने भयो ।

जिल्ला (महोत्तरी) मा हुँदा मैले कहिल्यै पनि सोचेकी थिइनँ, राजधानीमा पनि यस्तो विभेद हुन्छ भनेर । राजधानी भन्नेबित्तिकै सबै अन्धविश्वास हटिसकेको छ भन्ने नलागेको भए पनि यो हदसम्मको घटिया सोच अझै छ भन्ने चाहिँ लागेको थिएन । अरु बेलाभन्दा झन् बढी सरसफाइमा ध्यान दिनुपर्ने अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला पानीको धारा नै छुन नपाउने भएपछि म के गर्ने ? पीर पर्न थाल्यो ।

बाटाभरि गाडीमा एकखाले छुट्टै तनावले पिरोलेको थियो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरू, कसरी आफूलाई घुलमिल गराउने ? राम्रोसँग पढ्न सक्छु कि सक्दिनँ ? कामको सुरुवात कसरी गर्ने ? भन्नेजस्ता अनेक प्रश्नले मनमा डेरा जमाएको थियो । डेरा आइपुग्नेबित्तिकै मनमा अर्कैखाले तनाव थपियो । केही पनि बोलिनँ । मनमा उकुसमुकुस गर्दै थिए, जवाफहरू । तर मुखबाट बाहिर निस्किएनन् ।

पलङमा थचक्क बसें । अनि सम्झिएँ, ०६३ साललाई । साउनको २२ गते सोमबार म पहिलोपटक महिनावारी भएकी थिएँ । कक्षा ९ मा पढ्दै थिएँ । अहिलेजस्तो केही पनि थाहा थिएन, (पहिलोपटक थाहा हुने कुरा पनि भएन) त्यसअघि कसैसँग पनि कुरा भएको थिएन, महिनावारीका विषयमा । विद्यालयमा पुस्तकहरूमा पढेकी थिएँ अलिअलि । तर, यो विषयमा सरले खासै पढाउनु हुन्नथ्यो, आफैं पढ्न भन्नुहुन्थ्यो । ममीलाई सुनाएँ । आफ्नो सारीको एक टुक्रा च्यातेर दिनुभयो । पट्याएर लगाउन भन्नुभयो, त्यसै गरें ।

मभन्दा अघिका दुई दिदीहरू पहिलोपटक महिनावारी हुँदा अर्काको घरमा बसेका थिए । प्रायः क्षेत्री-बाहुनको घरमा पहिलोपटक महिनावारी/रजस्वला हुँदा अर्काको घरमा राख्ने चलन थियो, अझै पनि छ । मलाई पनि अन्तै राख्ने कुरा भयो, तर मैले मानिनँ । ममीसँग भनें, ‘म त आफ्नै घरमा बस्ने हो । कहीँ पनि जान्नँ ।’

तिमी सन्तान उत्पादनका लागि योग्य भयौ, प्रजननका लागि सक्षम छौं’ भनी महिनावारी भएकी किशोरीलाई शुभकामना दिन अब हामीले किन ढिला गर्ने ?

मेरो जिद्दीपछि ममी सहमत हुनुभयो, घरमै राख्न । मनमनै खुसी भएकी थिएँ, एउटा अन्धविश्वास तोड्न सफल भएकोमा । मैले गर्दा म पछिकी बहिनीले पनि आफ्नै घरमा बस्न पाई, पहिलोपटक महिनावारी हुँदा । तर, मैले एउटा कोठाभित्रै बस्नुपर्ने भयो- बुवा, दाइ र घामलाई हेर्न नपाउने गरी । बिहान घाम निस्किनु अघि नै नुहाइवरी सक्नुपर्ने, अनि बेलुकी घाम अस्ताएपछि मात्रै बाहिर निस्कन पाउने । जेलजस्तै लाग्यो मलाई, आफ्नै घर पनि । २२ दिनसम्म त्यो जेलमा कसरी बस्नु ? उकुसमुकुस भयो मलाई ।

दोस्रो दिन, यसो झ्यालबाट हेर्दै थिए, बुवा धान गोड्दै हुनुहुँदो रैछ, घरमाथि खेतमा । एकछिनसम्म नियालेर बुवाको अनुहार हेरें- रगत कम भएजस्तो पहेंलो अनुहार, गाला र निधारको छाला केही खुम्चिएको, सेतै फुलेको कपाल, भित्र धसिएका आँखा । त्यसअघि मैले कहिल्यै पनि त्यसरी बुवालाई हेरेकी थिइनँ । निकैबेर बुवालाई हेरिरहें ।

मनमनै सोंचे कसले बनायो होला यो नियम ? नत्र त म पनि अहिले बुवासँगै धान गोड्दै हुन्थें । माया लागेर आयो बुवाको । मन खिन्न भयो, सघाउन नपाएकोमा ।

दिक्क लागेर यसो ढोका खोलेर हेरेको ममी आँगनमा भैंसीलाई कुँडो खुवाउँदै हुनुहुँदो रैछ । साहस बटुलेर भित्रैबाट भनें, ‘ममी म पल्लोबारी गएर आउँछु ल ? बाख्रालाई अलिकति घाँस काटेर आउँछु क्या, है ?’

ममीले गाली गर्नुभयो, ‘झन् यस्तो बेला हिँड्न हुन्न भन्यो, जे जे नगर् भन्यो, त्यही गर्नुपर्ने ?’

‘केही हुन्न क्या ममी, एकैछिनमा आइहाल्छु नि,’ मैले जिद्दी गरें । ‘जहाँसुकै मर्’ ममी फन्किनुभयो । म पनि खुर्पा बोकेर हिँडे । अरुबेला ८/९ मिनेट लाग्ने बाटो, त्यो दिन त पाँच मिनेटमै पुगें । बारीमा पुग्नेबित्तिकै पहिला आँप र कटहरको रूखलाई छोएँ । मलाई घाँस काट्न जानुपरेकै थिएन, बहाना मात्रै थियो घाँस त । महिनावारी हुँदा रुख-बिरुवा छुँदा, तरकारीका बोटलाई छुँदा कुहिन्छ भन्ने अन्धविश्वासलाई गलत साबित गर्नु थियो ।

एकछिन रूखमा चढेर बसें । अनि, अलि तलतिर गएर फुल्दै गरेको खुर्सानीको बोटलाई समाएँ । त्यसपछि इपिल र किम्बुको घाँस काटेर घर आएँ । आँगनमा घाँस फ्यात्त फालेर धारातिर दौडिएँ । ममीले देख्नुहुन्छ कि भन्ने डर लागिरहेथ्यो ।

हात धुनुअघि धारामा भरेर राखेका गाग्री छोइदिएँ । अनि, हात धोएर कोठामा आएँ । कोठामा आएपछि मन आनन्द भयो । निकै दिनपछि हेर्दा पनि मैले छोएको आँप, कटहर र खुर्सानीका बोट जस्ताको तस्तै थिए, कुहिएका थिएनन् ।

पर्सिपल्टदेखि दाउरा लिन पनि गएँ, ममीको गाली खाँदै भए पनि । म जानिजानी बुवाको अनुहारमा हेर्थें, बुवा मलाई देखेपछि अर्कोतिर फर्किनुहुन्थ्यो । दाइलाई चाहिँ नजिकै गएर छोएँ, केही भन्नुभएन दाइले । घामलाई पनि हेरें । त्यसपछि दोस्रोपल्टबाट महिनावारी हुँदा चार दिनसम्म बार्नुपर्थ्यो । म हत्तपत्त सुनाउँदिनँथेँ । ममीले थाहा पाइहाल्नुभयो भने मात्रै बार्थें । नत्र सब थोक छोइदिन्थे ।

घरमा कोही नभएका बेला भान्सामा छिरेर खाना छोइदिन्थें, पानीको गाग्री छुन्थें । म सधैं घरमा भनिरहन्थें, ‘यो सब अन्धविश्वास हो । वाहियात चलन ।’

अलि पछि ममीबुवाले पनि यो कुरामा त्यति वास्ता गर्न छोड्नुभयो । दाइले त पहिल्यैदेखि मान्नुहुन्थेन । सँगै खाना खान्थ्यौँ, हामी । मलाई तिजमा मामाघर जान मन लाग्दैनथ्यो, जाँदिनँथें पनि, पञ्चमी नुहाउनु पर्छ भनेर । घरमा ननुहाए पनि हुन्थ्यो ।

मामाघर अलि कट्टर थियो, परम्परामा । महिनावारी हुनु पाप हो भन्ने मलाई स्वीकार्य थिएन । महिनावारीलाई पाप मानेर पाप कटाउन नुहाइने ‘पञ्चमी’ सँग मेरो दुश्मनी हुने नै भयो ।

आजकाल चाँहि घरमा नसुनाए पनि हुन्छ, महिनावारी हुँदा । सायद ममीबुवाले केही हदसम्म बुझ्नु भयो, यी कुरा अन्धविश्वास भनेर । बुवा र म सँगै बसेर कुरा गर्छौं, सँगसँगैजस्तो बसेर खाना खान्छौँ । ममीले केही गरी ‘छोरीले हुँदैन, अलि परै बस्नु’ भने पनि बुवा नसुनेझैँ गर्नुहुन्छ ।

मैले आजभन्दा करिब एक दशकअघि नै दुर्गम गाउँमा तोडेका, नमानेका यी अन्धविश्वास आज पनि उस्तै जरा गाडेर बसेको रैछ, राजधानी काठमाडौंमा । मैले मेरा आमा बुवालाई सम्झाउन सके पनि थुप्रै आमाबुवा बाँकी रैछन्, यसबारे प्रस्ट हुन ।

काठमाडौंको समाज

घरबेटी अंकललाई सम्झिएँ, पढे-लेखेका मान्छे, सरकारी अफिसर, ठुल्ठूला मान्छेसँग संगत भएका । पाँचतले घर, घरअगाडि गाडी । तर, विचार भने नपढेका मेरा आमाबुवाको भन्दा पनि तल्लो स्तरको । श्रीमतीले ती सब कुरा भनिरहँदा उनले सम्झाउन त सक्थे नि ? चुपचाप सुनिरहें मात्रै । आन्टी पनि पढेलेखेकै छिन् । स्कुल र कलेज गएर डिग्री लिएर मात्रै समाज परिवर्तन हुन्न रैछ भन्ने लाग्यो । समाज परिवर्तन हुन पहिला त हामीले आफ्नो विचार परिवर्तन गर्नुपर्छ । तर मेरा घरबेटीले कहिले बुझ्लान्, यो कुरा ?

अलिअघि एउटा टेलिभिजन कार्यक्रममा सुदूरपश्चिममा महिलाले ‘छाउपडी घर’ भत्काउँदै गरेको दृश्य देखेकी थिएँ । सोचेँ, वर्षौंदेखि जरो गाडेर बसेको ‘छाउपडी’को घर भत्काउन सुदूरपश्चिममा त महिला आफैं अघि सरे अनि सफल पनि भए । तर, यो राजधानीमा जरो गाडेर बसेको ‘विचारको छाउपडी’ भत्काउन हामी कहिले सफल हौंला ? अनि, आफ्नै मनले भन्यो, ‘जसले बुझेको छैन, पढेको छैन, जानेको छैन, उसलाई बुझाउन सजिलो छ । तर जो बुझेर पनि नबुझेजस्तो गर्छ, उसलाई बुझाउन निकै गाह्रो छ ।’

जिल्लामा हुँदा रेडियोमा थुप्रै कार्यक्रम बनाएँ, महिनावारीसम्बन्धी । समाचार पनि पढियो, यस्ता कुरा अन्धविश्वासी, रुढीवादी हुन् भनेर । कहिलेकाहीँ स्कुलहरूमा पनि गएर कक्षा लिन्थें, महिनावारीका विषयमा । ९-१० का बहिनीलाई सिकाउँथें, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने सरसफाइका विषयमा । थुप्रै कार्यक्रममा बोलें, महिनावारीसम्बन्धी अन्धविश्वासविरुद्ध । तर, आज आफैं यो अन्धविश्वासको सिकार हुनुपर्यो । मैले मात्रै होइन, मजस्ता धेरैले अझै पनि यस्तो विभेद भोगिरहेका छन् । तर हत्तपत्त यस्ता कुरालाई बाहिर ल्याउँदैनन्, उनीहरू । चुपचाप सहिदिन्छन् । ठूला जात भनिएका र अलि धनीमानीका घरमा यस्ता कुरीतिले गहिरो जरा गाडेको छ ।

भोलिपल्ट कक्षामा साथी (हामी मधेसबाट सँगै आएको पढ्नलाई) लाई सुनाएँ, मन हल्का होस् भनेर ।  तर, मन झनै भारी भयो, उसको पनि उस्तै नियति । उनले आफ्नो पीडा सुनाइन् । उनी आफन्तकोमा गएकी रहिछन् । मधेसी दलका राष्ट्रिय नेता (नाम नभनौं) को घर । उनकी दिदी त्यस घरकी बुहारी । अर्कोपल्ट आउँदा जिन्स पाइन्ट लगाएर नआउनु भन्ने खबर घरका कसैले उनको दिदीमार्फत उनको कानसम्म पुर्याए । मन भारी बनाउँदै कोठामा फर्किछिन्, अर्कोपल्ट नजानेगरी । गुनासो गरिन्, ‘गाउँमा बरु पाइन्ट लगाउँदा कसैले केही भन्दैनथ्यो, राजधानीमा त यो हालत रहेछ । मेरी दिदीले कसरी जीवन बिताउने होला त्यस्तो घरमा ?’

अन्य देशका मानिस चन्द्रमामा पुगिसके, मंगलग्रहमा मानव अस्तित्वको सम्भावनाका विषयमा खोज्न थालिसके । तर, हामी भने महिनावारी हुँदा धारा छुने कि नछुने ? भान्सामा पस्ने कि नपस्ने ? छोरीमान्छेले पाइन्ट लगाउने कि नलगाउने ? भन्ने विषयमै अल्झिराखेका छौं । सुन्दा पनि लाज लाग्छ ।

महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । हरेक बालिका किशोरावस्थामा प्रवेश गरेसँगै उनीहरूमा स्वभावतः यो प्रक्रिया हुने गर्छ । महिनावारी हुनु भनेको एउटा महिला सन्तान उत्पादनका लागि योग्य हुनु हो । यो खुसीको कुरा हो, म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । महिलाको गौरवको यस विषयलाई हामीकहाँ भने अझै पनि पूर्वजन्मको पाप, फोहोरी अवस्था र छुन नहुने समयको रूपमा लिने गरिन्छ । पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक पर्ने यो समयमा हाम्रो समाजले गर्ने विभेदले किशोरीमा मानसिक समस्या, निराशा र हीनताबोध समेत आउँछ ।

‘तिमी सन्तान उत्पादनका लागि योग्य भयौ, प्रजननका लागि सक्षम छौं’ भनी महिनावारी भएकी किशोरीलाई शुभकामना दिन अब हामीले किन ढिला गर्ने ? महिनावारीलाई उत्सवका रूपमा आजैबाट किन नमनाउने ? बहस हुन जरुरी छ, ढिला भइसक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment