Comments Add Comment

नाकाबन्दी, मट्टीतेल र ०४६ सालको विद्यार्थी आन्दोलन

प्रभुनारायण बस्नेत

लगभग पाँच महिनाको काराबासपछि ०४६ को दशैंअघि नै म रिहाइ भएर बाहिर आउँदा भारतले लगाएको नाकाबन्दी हटेको थिएन । त्यसबेला विद्यार्थी संगठनहरूको क्यालेन्डरमा आन्दोलनबाहेक अरू कुरा केही हुँदैनथ्यो । आन्दोलन गर्ने, जेल पर्ने, छुट्ने, फेरि आन्दोलन गर्ने यही क्रम दोहोरिरहन्थ्यो । आन्दोलनका पनि अनेक रूप हुन्थे । त्यसमध्ये संयुक्त आन्दोलन एउटा प्रभावकारी आन्दोलनको रूप थियो । हरेक शैक्षिक आन्दोलनमा संगठन स्वतन्त्रता, मौलिक अधिकारको ग्यारेन्टीजस्ता बुँदा छुट्दैनथे ।

प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत

०४४/४५ सालदेखि भने पञ्चायतको अन्त्य र प्रजातन्त्रको बहालीको सवाल जोडदार रूपले उठ्न थाल्यो । नाकाबन्दीका बेला आन्दोलन कसका विरुद्ध केन्दि्रत गर्ने भन्ने सवालमा ‘इतर’ (त्यसबेला पञ्चायतविरोधी शक्तिले प्राप्त गरेको संज्ञा) शक्तिबीच नै विवाद देखियो । चौम र दुई मशाल सम्बद्ध विद्यार्थी संगठनहरूले बनाएको कोअर्डिनेसन केन्द्रले नाकाबन्दीलगत्तै त्यसको विरोधमा सभा र विरोध प्रदर्शन गरिसकेको थियो ।

नाकाबन्दीका कारण भएको मट्टीतेल -त्यसबेला बढी मात्रामा खाना पकाउन प्रयोग गरिन्थ्यो) को अभावले गर्दा त्रिवि र महेन्द्र संस्कृत विश्वविद्यालयले अनिश्चित कालका लागि बन्द गर्ने घोषणापछि उठेको स्वस्र्फूत आन्दोलनमाथि भएको दमनले सरकार झनै नांगियो ।

चौथो महाधिवेशनले नाकाबन्दी लगाउने भारतविरुद्ध आन्दोलन केन्दि्रत गर्नुपर्छ भन्ने धारणा अघि सार्‍यो । नेपाली कांग्रेस, कांग्रेस परस्त वामपन्थी समूह सबै कुराको दोषी पञ्चायती सरकार नै हो । त्यसैले पञ्चायत नफाली केही हुँदैन, सबै प्रहार पञ्चायतविरुद्ध नै केन्दि्रत गर्नुपर्छ भन्ने मत राख्थे । मशालहरूले प्रस्ट धारणा यस कारण पनि अघि सारेनन् कि उनीहरूले भारतीय विस्तारवाद र देशीय सामन्तवाद नेपाली क्रान्तिको प्रमुख दुश्मन हुन् भन्ने आधिकारिक लाइन तय गरेका थिए ।

यस्ता विवाद र मतान्तरबीच पनि विभिन्न विद्यार्थी संगठनबीच नियमित भेटघाट, छलफल, औपचारिक-अनौपचारिक बैठक भइरहन्थे । त्यसबीचमा केही विद्यार्थी संगठन पराधीनहरूले राष्ट्रियताको रक्षा गर्न सक्दैनन्, राष्ट्रियताको रक्षा गर्न पहिले जनता नै स्वतन्त्र हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । र, नाकाबन्दीको विरोध गर्दै जनसमर्थन बिनाको पञ्चायतले राष्ट्रियता जोगाउन सक्दैन । राष्ट्रियता नै जोगाउन पनि पञ्चायतको अन्त्य अपरिहार्य छ । अतः सबै इतर शक्ति एकजुट भएर पञ्चायतविरुद्ध निर्णायक संघर्ष गरौं भन्ने ‘थिम’ बनाएर संयुक्त वक्तव्य जारी भयो । वक्तव्यको एकजना हस्ताक्षरकारी म पनि थिएँ ।

वक्तव्य जारी भएको केही दिनमै म जेल परें । पार्टी नीतिविपरीतको वक्तव्यमा हस्ताक्षर गरेको भनेर पार्टीले कारबाही गर्ने कुरा गरिसकेको रहेछ । म जेल नै परिसकेपछि त्यो प्रकरण स्थगित भयो । पार्टी नेताहरू जेलबाट छुटेपछि कारबाही गर्ने कुरा गर्दै थिए रे । तर जेलबाट छुटेपछि पनि ममाथि कारबाहीको कुरा उठेन ।

हामी भने जेलबाट छुटेपछि फेरि आन्दोलनको माहोल बनाउन सक्रिय हुन थाल्यौं । त्यही क्रममा विभिन्न विद्यार्थी संगठनबीच वार्ता र संवादको प्रक्रिया सुरु भयो । पञ्चायतविरोधी आन्दोलन पार्टी नीतिसँग मेल नखाए पनि संघर्षबाट अलग रहने स्थिति थिएन । त्यसैले म पनि संघर्षमा स्वतः सहभागी बनें । पटक-पटकको प्रयासपछि मशाल सम्बद्ध विद्यार्थी संगठनहरू पनि संयुक्त आन्दोलनमा सहभागी हुन सहमत भए । तर, मोटामोटी आन्दोलनको रूपरेखा कोर्दा तय भएका मुद्दामा फेरि उनीहरूले असहमति जनाए । त्यो समयमा शब्दमा झगडा हुन्थ्यो । कांग्रेसको प्रजातन्त्रको पुनर्स्थापनाको नारा थियो ।

स्वाभाविक रूपमा नेवि संघको पनि नारा त्यही नै हुने भयो । वामपन्थीहरू कांग्रेसको प्रजातन्त्र पुनस्र्थापनाको नारामा सहमत हुन नसकेपछि प्रजातन्त्र स्थापनाको साझा नारा तय भयो । त्यसमा मशाल सम्बद्ध विद्यार्थी संगठन अटाउन सक्ने अवस्था रहेन ।

मशालहरू जनवाद ल्याउने उग्र नारा दिने र काम नगर्ने प्रवृत्तिका थिए । जे भए पनि संयुक्त कार्यक्रममा उनीहरूलाई तान्दा राजनीतिप्रति अभिरुचि नभएको जमातमा पनि प्रभाव पर्थ्यो । सबै मिलेपछि अब पञ्चायत जान्छ भन्ने भावना जनतामा पैदा गराउन पनि त्यसो गर्नु जरुरी थियो ।

संयुक्त कार्यक्रममा पाँच विकास क्षेत्रमा पाँचवटा बृहत सभा गर्ने तय भयो । त्यसमा नौवटा विद्यार्थी संगठन आयोजक रहने र ती विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वले मुख्य वक्ताको रूपमा भाग लिने निर्णय भएको थियो । अनेक ढंगले, कोसिस गरेर कार्यक्रममा भाग लिन सहमत गराए पनि अन्तिममा उनीहरू संयुक्त कार्यक्रमबाट अलग भए । मशालहरू दलमाथि प्रतिबन्ध हटाएर बहुदलीय प्रजातन्त्र स्थापनाको कार्यक्रमलाई दक्षिणपन्थी भनेर पन्छिएपछि मशाल सम्बद्ध विद्यार्थी संगठनहरू अलग भए । तिनीहरू अलग भए पनि विराटनगरबाट सुरु हुने पूर्वनिर्धारित कार्यक्रम रोकिएन । विराटनगरको महेन्द्र मोरङ क्याम्पस प्रांगणमा सभा भयो । त्यसमा नेवि संघ, अनेरास्ववियु के.क. समेत सहभागी भए । अनेरास्ववियु केन्द्रीय समिति अध्यक्षको रूपमा म पनि कार्यक्रममा भाग लिन विराटनगर पुगें ।

विराटनगरमा कार्यक्रम राम्रै भयो । भाषणका क्रममा मैले छुटेका विद्यार्थी संगठनलाई पनि यथासक्य समेट्ने कोसिस गरें । नेवि संघ लगायतले तिनीहरूमाथि प्रहार गर्ने नीति लिएका थिए । मैले कसैमाथि पनि चोट नपर्ने हिसाबले प्रजातन्त्र व्याख्या व्यापक रहेको र त्यसमा सबै अटाउने कुरा उठाएँ ।

मैले साम्यवादीले समेत आफूलाई प्रजातन्त्रवादी भन्छन्, सैनिक शासक ज्याउल हक, पञ्चायत समेतले प्रजातन्त्रवादी भनेर आफूलाई चिनाएका बेला हामीले पनि आफूलाई मात्र प्रजातन्त्रवादी र अरुलाई प्रजातन्त्रविरोधी ठान्नु हुँदैन, अरुले विश्वास गरेको मतको कदर गरेर मात्र प्रजातन्त्रवादी होइन्छ भन्ने धारणा राखें ।

त्यो दिन कार्यक्रम सकिएपछि काठमाडौंबाट गएका साथीहरूबीच भेटघाट हुन सकेन । सबै आ-आफ्नै तरिकाले काठमाडौं फर्कियौं । काठमाडौं फर्किएपछि कार्यक्रमको समीक्षा भयो । मेरो भाषणलाई लिएर नेवि संघ पक्षले तीव्र असन्तुष्टि जाहेर गर्‍यो । उसले मेरो भाषणले प्रजातन्त्रवादीमाथि हमला गरेको निष्कर्ष निकालेछ । मैले बोलेको कुराले संयुक्त आन्दोलनलाई असर गर्ने कुरा उठ्यो । तर, यथार्थ त्यस्तो थिएन । छुटेकालाई त समेट्ने मनसाय मेरो थियो भने सहयात्रीमाथि आक्षेप लगाउने कुराको कल्पना समेत गर्न सकिँदैनथ्यो । स्पष्टीकरणका क्रममा मैले आप\mनो भनाइ राख्दै सभामा बोलेको कुरा आसय प्रस्ट गरेपछि भने उसको चित्त बुझ्यो र संयुक्त विद्यार्थी आन्दोलन सुचारु ढंगले अघि बढ्यो । त्यो आन्दोलन ०४६ को संयुक्त आन्दोलनका लागि महत्त्वपूर्ण कदम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment