Comments Add Comment

एनआरएनएद्वारा झण्डै १ करोड ६० लाख रुपैयाँको जीवनरक्षक औषधि प्रदान

shesh ghal3 handover medicine (2)२४ माघ, काठमाडौं । गत असोजबाट सुरु भएको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव १ करोड ६० लाख रुपैयाँको बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष शेष घलेले त्यसअन्तर्गत अन्तिम लटको औषधिजन्य सामाग्री उपप्रधानमन्त्री कमल थापाललाई आइतबार विधिवत रुपमा हस्तान्तरण गरे । यसमा अष्ट्रेलिया र चीनबाट प्राप्त झण्डै ५५ लाख रुपैयाँ बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु छन् ।

यसका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा ३१ हजार ७ सय ७४ (हवाई ढुवानी भाडा सहितको मूल्य) बराबर र चीनबाट ६ हजार ६ सय २३ अमेरीकन डलर (हवाई खर्च बाहेक) बराबरको औषधिजन्य सामाग्रीहरु प्राप्त भएको थियो । जसलाई नेपाल वायुसेवा निगमले हङकङबाट निःशुल्क ढुवानी गरी काठमाडौं ल्याइदिएको थियो ।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी करिव १ करोड पाँच लाख रुपैयाँको औषधि हस्तान्तरण गरेको संघले थप करिब ५५ लाख रुपैयाँको सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । बिश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट बिभिन्न देशमा औषधि खरिद गरी हवाई मार्गबाट नेपाल भित्राई संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग आपूर्ति महाशाखा र जनकपुर, नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो । अञ्चल अस्पताहरुमा ती औषधिहरु नेपाली सेनाले निःशुल्क ढुवानी गरिदिएको थियो ।

पहिलो चरणमा मंसिर ८ गते ३८ लाख मूल्य बराबरको जीवन रक्षक औषधिहरु संघका अध्यक्ष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका थिए ।

दोस्रो चरण मंसिर १४ गते संघले जनकपुर, नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयाँको औषधि हस्तान्तरण गराएको थियो । मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।

तेस्रो चरणमा संघले ५० लाख १८ हजार रुपैयाँ बराबरको औषधि स्वास्थ्य राज्यमन्त्री मो. मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालय औषधि विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण अन्तिम हुनसक्ने

करिव तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसँगको छलफलपछि अन्य दातृ निकायले समेत अत्याबश्यक औषधिहरु सहयोग गरिरहेको हुँदा आबश्यक परेको खण्डमा फेरि सहयोग गर्ने योजनाअनुसार यो चौथो चरणको अष्ट्रेलिया तथा चीनवाट प्राप्त अति आवश्यक औषधी तथा औषधिजन्य सामाग्रीहरु हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी प्रवक्ता रञ्जु थापाले विज्ञप्ति निकालेर जानकारी दिएकी छन् ।

shesh ghale handover medicine (1)

नेपाल सरकारले खरिद गर्न लागेको अति आवश्यक औषधिमा समावेश नभएका औषधिहरु आवश्यक परेमा संघ पुनः सहयोग गर्न तयार रहेको छ अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने विज्ञप्तिमा उल्लेख  छ । विज्ञप्तिमा लेखिएको छ, ‘हाल नाकावन्दी पहिलेको जस्तो नरहेको तथा नेपाल सरकारले समेत चालिस करोड बराबरको अति आवश्यक औषधिहरु द्रुत खरिद प्रकृया मार्फत खरिद गर्न लागेको अवस्थामा नेपाल सरकारले खरिद गर्न लागेको अति आवश्यक औषधिमा समावेश नभएका औषधिहरु आवश्यक परेमा संघ पुनः सहयोग गर्न तयार रहेको छ । अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने छ ।’

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मातृभूमीलाई परेको हरेक बिपतको बेला आगामी दिनमा पनि साथ दिने एनआरएनले प्रतिबद्धता जनाएको छ ।

सहयोगीहरुप्रति आभार

औषधि हस्तान्तरणको अलावा देशलाई आइपरेको यस मानवीय संकटको बिश्व समुदाय माझ जानकारी गराउने उद्देश्य अनुरुप बिभिन्न देशहरुमा गैरआवासीय नेपाली संघको अगुवाइमा कार्यक्रमहरु संचालन भएका थिए । जसको नारा ‘नेपाल होप्स’ शीर्षकमा ‘हामीलाई जस्तो तिमीलाई नपरोस्’ भन्ने सन्देशसहित नेपालको मानवीय संकटलाई विश्व समूदाय माझ झल्काउने गरी अभियान समेत संचालन गरिएको थियो ।

यस कार्यमा योगदान गर्ने नेपाल सरकार, नेपाली सेना, नेपाल वायुसेवा निगम, डा. भगवान कोईराला, डा. बालकृष्ण खकुरेल, डा. भिमसिंह तिनकारी, डा. गणेश गुरुङ, संघका संरक्षक कुलचन्द्र गौतम लगायत मानवीय संकट समाधान र यसलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा सहभागी हुने सवै सहयोगी हातहरुलाई गैरआवासीय नेपाली संघले आभार प्रकट गरेको छ ।

यसैगरी सहयोग संकलनका लागि अष्ट्रेलियाबाट समन्वय गरेका डा. रेखा गुरुङ, दीपा राई, धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समितिका केशव कँडेल, एनसीसी अष्ट्रेलिया तथा चीनबाट सहयोग संकलनका लागि डा. राजीवप्रसाद केशहरी तथा उनको टीम, एनसीसी चीन, त्रिलोक गुरुङ तथा नेपाल बायुसेवा निगमलाई पनि हार्दिक आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment