Comments Add Comment

वीरगञ्ज नाकादेखि वीरगञ्ज नाकासम्म: मधेसले के पायो ?

Birganj-Naka

अरुण बराल/विश्लेषण

वीरगञ्ज नाका अघोषित रूपमा बन्द भएसँगै चर्किएको मधेस आन्दोलन यही नाका अघोषित रूपमा खुलेसँगै अब लगभग एउटा ‘टर्निङ प्वाइन्ट’ मा आइपुगेको छ । नयाँ संविधान घोषणासँगै जुर्मुराएको आन्दोलनबाट मधेसी मोर्चा र मधेसका जनताले के उपलब्धि पाए ? यो विषय सम्भवतः बहसका लागि अब परिपक्व बनेको छ ।
 
पहिलो सफलता: राजनीतिक जागरण

मधेस आन्दोलनबाट मधेसी मोर्चाले के उपलब्धि हासिल गर्‍यो भन्नेबारे विश्लेषण गर्दा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको आन्तरिक बैठकमा सुनाउने गरेको विश्लेषण निकै रोचक छ ।

महन्थले भन्ने गरेका छन् कि मधेसी जनताले मधेस आन्दोलनबाट निकै ठूलो जित हासिल गरिसकेको छ । पञ्चायतकालमा मधेसी जनताले जय नेपाल भन्न थालेपछि कांग्रेसले त्यसबेला मधेसमा आफ्नो पार्टीको जित भएको बताउने गरेको स्मरण गर्दै ठाकुरले पार्टी नेताहरूसँग भन्ने गरेका छन्, ‘अहिले विद्यालयमा पढ्ने बालबालिकाले समेत ‘जय मधेस’ भन्न थालिसकेका छन्, त्यसैले यो मधेस आन्दोलनको सामान्य जित होइन । हामीले जितिसक्यौं ।’

तमलोपा अध्यक्ष ठाकुरको यो विश्लेषण मनोवैज्ञानिक अर्थमा सही हुन सक्छ । किनभने, मानव सांलोलगायत कार्यक्रममा मधेसका जनताको भुइँ तहसम्मको तप्काले मधेस आन्दोलनलाई साथ दियो ।

तराई मधेसका जनताले साथ नदिएको भए यति लामो समयसम्म नाकाबन्दी र बन्द-हडताल सम्भव हुने थिएन । जस्तो कि, वीरगञ्जका जनताले जतिबेला नाकाबन्दी चाहेनन्, त्यसपछि नाका खुल्यो ।

यस अर्थमा मधेस आन्दोलनमा जनपरिचालनका हिसाबले मोर्चा अत्यन्तै सफल भएको हो । यो सफलताले उसलाई मधेसमा क्षेत्रीय दलका रूपमा स्थापित हुने बलियो आधार बनाइदिएको छ । मधेस आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक सफलता नै यही हो ।

किनभने, कतिपय आन्दोलन हाताहातीमा केही नपाएजस्तो देखिन्छन् । तर, अन्तर्यमा त्यसले निकै ठूलो उपलब्धि दिइरहेको हुन्छ, जसलाई नेताहरूले बुझ्न र संश्लेषण गर्न सक्नुपर्छ । जस्तो कि, पहिलो मधेस आन्दोलन सम्झौतामा टुंगिएको थियो । तर, त्यसले फोरम र तमलोपालाई मधेसमा स्थापित गर्न र संविधानसभामा मधेसी मोर्चाको बलियो उपस्थितिको आधार बनाएको थियो ।

र, यो आन्दोलनले मधेसमा ल्याएको जागरणलाई केवल मधेसको वा मधेसी मोर्चाको तहको मात्रै उपलब्धिका रूपमा लिइनु हुँदैन । यो देशकै उपलब्धि हो । लोकतान्त्रिक गणतन्त्रको उपलब्धि पनि हो । मधेसका जनतामा राजनीतिक जागरण आउनु, उनीहरूले संविधानमा अधिकार पाए/नपाएको बहस गर्नु र सामान्य पेसा, व्यवसाय गर्ने जनताले समेत राजनीतिमा चासो देखाउनु सामाजिक जागरणको एउटा सुन्दर पक्ष हो । त्यसैले मधेसमा आएको जागरणबाट सबै ठाउँमा नेपालीले खुसी हुनुपर्छ । र, यसलाई नयाँ नेपाल निर्माणमा, नेपाललाई समृद्धितर्फ अघि बढाउने दिशामा प्रयोग गर्नुपर्छ ।
 
दोस्रो सफलता: ज्वाला सिंह र सिके राउत बाइबाई

CK raut and jwala sing

मधेस आन्दोलनको दोस्रो सफलता भनेको विखण्डन र हिंसात्मक राजनीतिको पराजय एवं शान्ति र लोकतान्त्रिक मूल्य-मान्यताको विजय हो । यो आन्दोलनमा कहीँकतै पनि आन्दोलनकारीका तर्फबाट गैरमधेसीमाथि आक्रमण भएन । मधेसमा रहेका गैरमधेसी जनताले कतै पनि असुरक्षित महसुस गरेनन् । बरु उनीहरूले पनि आन्दोलनमा साथ दिए र २ नम्बर प्रदेशलाई कमजोर बनाउन नहुने माग गरे । यसले के सिद्ध गरिदियो भने, मधेसमा रहेका मधेसी जनता शान्तिको पक्षमा छन् र सबै जातजातिबीच आपसी सद्भावको पक्षमा छन् । उनीहरू नयाँ राष्ट्रिय एकतासहितको नयाँ नेपालको पक्षमा छन् ।

यो आन्दोलन अवधिभरि तराईका सशस्त्र समूह सेलाए । उनीहरू सेलाउनुको एउटै कारण के थियो भने, हिंसात्मक बाटोबाट परिवर्तन सम्भव छैन र यो आन्दोलन नितान्त शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यता मधेसमा स्थापित हुनु नै हो ।

हो, यो आन्दोलनका क्रममा राज्य पक्षबाट मधेसमा अधिक बल प्रयोग नभएको होइन, ५० बन्दा बढीको ज्यान गयो । सैयौं घाइते भए । केही ठाउँमा प्रहरीमाथि पनि आक्रमण भयो, कैलालीका प्रहरी हताहती भए । तर, सुरुको चरणमा देखिएका मुठभेठ क्रमशः कम हुँदै जन प्रदर्शनमा परिणत भए । भैंसी जुलुस निस्किए, सडक नाटक प्रदर्शन भए, गीत घन्किए, मानव सांलो बनाइए, पुत्ला-जुलुस निस्किए र यस्ता प्रदर्शनमा ठूलो मानव सागर उर्लियो । यसरी कहिले कहालीलाग्दो त्रासदिका रूपमा त कहिले रोमान्स भरिएको उत्सवका रूपमा मधेसी जनताले लामो समय आन्दोलनलाई साथ दिए । र, नेपालको इतिहासमै यो एउटा सबैभन्दा लामो जनआन्दोलन भन्यो । यो मधेसका लागि, सिंगो देशका लागि र नेपालको लोकतन्त्रको संस्थागत विकासका लागि सामान्य उपलब्धि होइन ।

हो, यो आन्दोलनलाई देश टुक्र्याउने विखण्डनकारी दिशा दिनका लागि सिके राउतजस्ता व्यक्तिले प्रयोग गर्न नखोजेका होइनन् । तर, सिके राउत पूर्ण रूपमा असफल भए । सिके राउत मधेसमा असफल भएकै हुन् ।

आन्दोलन अवधिभरि तराईका सशस्त्र समूह सेलाए । उनीहरू सेलाउनुको एउटै कारण के थियो भने, हिंसात्मक बाटोबाट परिवर्तन सम्भव छैन र यो आन्दोलन नितान्त शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यता मधेसमा स्थापित हुनु नै हो ।

जतिखेर मोर्चाका नेता संविधानसभामा थिए र आन्दोलन चर्किएको थिएन, त्यसबेला सिके राउतले मधेसमा एक्लो अभियान चलाइरहेका थिए । मोर्चाका नेताहरू मधेस पसेपछि पहिले राउतले घुसपैठ गर्ने नीति लिए । दोस्रो, उनले मोर्चाका नेताहरूलाई गद्दार र आफूलाई महात्मा गान्धीजस्तो देखाउने प्रयास गरे । तर, जनताले मोर्चालाई यसरी साथ दिए कि, यसबाट सिके राउतको विखण्डवाद मधेसमा लगभग खारेज भएको छ ।

सिके राउतजस्तै मधेस आन्दोलनमा ज्वालासिंह लगायत हिंसात्मक समूहले पनि खेल्ने प्रयत्न गरे । जस्तो कि ज्वाला सिंहले प्रेस वक्तव्य निकालेर पहाडेलाई घरेलु हतियार प्रयोग गरी मधेसबाट खेद्न उर्दी गरेका थिए । तर मधेसी जनताले मधेसमा रहेका पहाडी समुदायलाई असुरक्षित महसुस हुन दिएनन् र ज्वाला सिंहको वक्तव्य पानीको फोकासरी फुट्यो ।

यसरी मधेस आन्दोलनले मधेस विखण्डनको पक्षमा छैन र हिंसाको पक्षमा पनि छैन भन्ने प्रमाणित गरिदियो । मधेस नेपालको सार्वभौम सत्ता र राष्ट्रिय एकताभित्रै लोकतान्त्रिक अधिकार खोजिरहेको छ भन्ने मधेसका जनताले प्रमाणित गरेर देखाए । कतिपय अवस्थामा राज्यले साम्प्रदायिकता देखाउन खोजे पनि मधेसका जनताले साम्प्रदायिकता भड्कन दिएनन् । यो मधेस आन्दोलनको दोस्रो सानदार जित हो । र, यो सिंगै देशको जित पनि हो । लोकतान्त्रिक गणतन्त्रको जित हो । केपी ओलीसँग रिसाएर हिँडेका राजेन्द्र महतो बालुवाटार र्फकनु र राष्ट्रिय मेलमिलाप हुनु सामान्य विषय होइन ।

तेस्रो सफलता: संविधान संशोधन

राजनीतिक एवं व्यावहारिक प्राप्तिका हिसाबले पनि मधेसी मोर्चाको आन्दोलनका कारण केपी ओलीजस्ता कठोर नेता संविधान संशोधन गर्न बाध्य भएका छन् । संविधानमा मोर्चाको माग अनुसार केही प्राप्ति पनि भएका छन् । मुख्यतः संविधान संशोधन गर्न तयार नभएका प्रमुख तीन दललाई मधेसी जनताले झुकाएका छन् । यो मधेस आन्दोलनको राजनीतिक जित हो ।

कुनै पनि आन्दोलनले पूर्ण उपलब्धि नै हासिल गर्न सक्छ भन्ने छैन । तर, मधेस आन्दोलनबिना उपलब्धि टुंगिएको भनेर कसैले विश्लेषण गर्छ भने त्यो वस्तुपरक विश्लेषण होइन । राजनीतिक रूपमा पनि संविधान संशोधन गराएर मधेसले उपलब्धि हासिल गरेको छ ।

हो, सिके राउतजस्ता विखण्डनकारीले मधेस आन्दोलनमा फेरि धोका भयो भन्न सक्छन्, किनभने उनको कामै मधेसका नेतालाई गद्दार भन्दै विखण्डनको बिउ रोप्ने हो । पहाड र मधेसका जनताबीच एकता होइन, फुट ल्याउने हो ।

मुख्यतः संविधान संशोधन गर्न तयार नभएका प्रमुख तीन दललाई मधेसी जनताले झुकाएका छन् । यो मधेस आन्दोलनको राजनीतिक जित हो ।

ज्वाला सिंहहरूको काम नै मधेसमा चन्दा उठाउने र मधेसी जनताकै हत्या गर्ने अशान्ति फैलाउने हो । यस्ता सशस्त्र समूहबाट मधेसमा रहेका जुनसुकै जाति र समुदायका मानिस पनि प्रताडीत हुनुपरिरहेको अवस्था छ । शनिबार मात्रै धनुषामा मधेसी समुदायकै नेतामाथि गोली प्रहार भएको छ ।  यस्ता आपराधिक तत्त्वले राजनीतिको कभर लिन खोज्दै यो आन्दोलनबाट मधेसले केही पनि पाएन भन्नु हास्यास्पद हो ।

निश्चय नै यो मधेस आन्दोलनले सिके राउत र ज्वाला सिंहहरूको ‘गोरख धन्दा’ लगभग बन्द हुने अवस्थामा पुर्‍याइदिएको छ । त्यसैले उनीहरू मधेसले केही पाएन भन्दै राजेन्द्र महतो, महन्थ ठाकुरहरूलाई विरोध गर्नेतिर लागेका छन् । मोर्चाका केही नेता आफ्नो निहित गुटगत स्वार्थका लागि सिके राउत र ज्वाला सिंहहरूको बहकाउमा लागेका हुन सक्छन् । तर मधेसको मूल जनमतले हिंसा र विखण्डनलाई खारेज गरिदिएको छ ।

जागृत भइसकेका मधेसी जनताले अब विखण्डन र हिंसालाई ठाउँ दिँदैनन् भन्ने मधेस आन्दोलनमा व्यक्त सामाजिक सद्भाव र शान्तिपूर्ण प्रदर्शनले स्पष्ट देखाइसकेको छ ।

अब गर्न बाँकी के छ ?

लामो समय मधेस आन्दोलन हुँदा पनि राज्यसँग औपचारिक सम्झौता भएन ।  संविधान संशोधन त भयो, तर त्यसमा मधेसी मोर्चाले सहमति जनाएन । सीमांकनलगायत विषय अझैसम्म उधारो अवस्थामै छन् ।

यी सबै कारणले मधेस आन्दोलनपछि पनि राजनीतिक मुद्दा यथावत रहेको तर्क एक हदसम्म नाजायज छैन । प्रमुख दलहरू राजनीतिक संयन्त्र बनाएर सीमांकन परिमार्जन गर्न तयार हुनुले पनि उसको मागको औचित्य र उपलब्धि पुष्टि गर्छ । यी आगामी दिनमा सम्बोधन हुँदै जाने मुद्दा हुन् ।

भारतमा संविधान बनेको आधा शताब्दीसम्म पनि नयाँ प्रदेशको माग गर्दै आन्दोलन भइरहेका छन् । त्यसैले संविधान बनेको ५० दिनमै हाम्रा सबै समस्या समाधान हुनेछन् भनेर सोच्नु वैज्ञानिक नहुन सक्छ ।

मधेस आन्दोलनले आफ्नो शक्ति र आफ्नो आवाज बुलन्द रूपमा राज्यलाई राखिसकेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सत्तारुढ दल र मधेसी मोर्चा दुवैतर्फका नेताले सोच्नुपर्ने भएको छ ।

अब गरिनुपर्ने काममा तीन महिनाभित्र सीमांकनको सामान्यतः टुंगो लगाउने र संविधानको कार्यान्वयन गर्ने नै हो । संविधानको कार्यान्वयन गर्ने भनेको अब स्थानीय, प्रादेशिक र आमचुनावको तयारी नै हो । यसका लागि कांग्रेस र मधेसवादी दल पनि सरकारमा गएर कानुन निर्माण गर्नतिर लाग्दा राष्ट्रिय एकताको सन्देश जान सक्छ । कसैलाई आफ्नो मुद्दाको रक्षाका लागि तत्काल सरकारमा जान रुचि नभए पनि अब सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर निर्वाचनको तयारी गर्न सके मुलुकले गति लिन सक्छ ।

साथै, मधेस आन्दोलनले प्राप्त गरेका उपलब्धिको रक्षाका लागि अब मधेसी मोर्चाका नेताले सोच्नुपर्ने अर्को दायित्व उनीहरूमाथि थपिएको छ । यसका लागि मोर्चाका नेताले एक-अर्कालाई ताछ्नेभन्दा पनि मधेसी दलबीच एकताको बाटो रोज्न सके पनि उनीहरू मधेसमा बलियो हुनेछन् । अन्यथा, फुट र विभाजनले मधेसलाई फेरि कमजोर बनाउने निश्चित छ ।

अब यो आर्थिक चुनौतीलाई चिर्नका लागि चुपचाप विकास र आर्थिक समृद्धितर्फ सोच्नुपर्ने दायित्व सबै नेता र दलमा आइलागेको महत्त्वपूर्ण चुनौती हो

मधेस आन्दोलनको ‘साइड इफेक्ट’

मधेस आन्दोलनको घाउका रूपमा केही ‘साइड इफेक्ट’ देखापरेका छन् । जस्तो कि, यो आन्दोलनपछि मोर्चाका नेतामाथि काठमाडौं र पहाडका जनताको वितृष्णा बढेको छ । मधेसी पार्टीलाई पहाडमा राजनीतिक विस्तार गर्न चुनौती उत्पन्न भएको छ । पहाड र मधेसका जनताबीच दूरी र अविश्वास बढेको छ ।

अर्कोतर्फ आन्दोलनबाट उपलब्धि भएन भन्दै हिंसात्मक एवं विखण्डनकारी समूह फेरि मधेसमा सलबलाउने खतरा बढेको छ । मधेसी मोर्चाकै नेताहरूमा पनि अन्तर्विरोध भुसको आगोझैं सल्कँदो अवस्थामा छ, जसले मधेसमा आएको राजनीतिक ऊर्जामाथि चिसो पानी खन्याउने खतरा छ ।

मधेस आन्दोलनका कारण मधेसमा मात्रै होइन, सिंगै देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । भूकम्पले थिलथिलो भएको अर्थतन्त्र नाकाबन्दीका कारण एक दशकसम्म थलिने हो कि भन्ने चिन्ता छ । अब यो आर्थिक चुनौतीलाई चिर्नका लागि चुपचाप विकास र आर्थिक समृद्धितर्फ सोच्नुपर्ने दायित्व सबै नेता र दलमा आइलागेको महत्त्वपूर्ण चुनौती हो ।

अब यी सबै चुनौतीको सामना गर्दै मधेसमा प्राप्त उपलब्धिलाई बचाउँदै जनतालाई निराश हुन नदिने ऐतिहासिक जिम्मेवारी अब महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताको काँधमा आइलागेको छ । वीरगञ्ज नाकादेखि वीरगञ्ज नाकासम्मको यो घुम्तीसम्म आइपुग्दा मधेसले महान उपलब्धि र सम्भावनाहरूको क्षितिजलाई उघार्न सफल भएको छ, जुन सिंगै नेपालका लागि अनुभवका आधारमा सिकिएको एउटा लोकतान्त्रिक पाठ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment