Comments Add Comment

मलेसियामा पशुपति शर्मादेखि सुष्मा कार्की सम्मको ‘धमाका’

friend-ship-dhamaka
रामचन्द्र नेपाल

मलेसियामा नेपाली कलाकारहरुको कुम्भमेला शुरु भएको छ । नेपालका थुप्रै चर्चित कलाकारहरु अहिले मलेसियामा ओइरिएका छन् ।

चिनीया नयाँ वर्षको अवसर पारेर मलेसियामा रहेका नेपालीहरुले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन उनीहरु आएका हुन् । आइतवारदेखि मंगलवारसम्म मलेसियामा चिनीया नयाँ वर्ष मनाइदैछ । मलेसियामा रहेका अधिकांश कम्पनीहरुले चिनीया नयाँ वर्षमा बिदा दिएका छन् । बिदाको सदुपयोग गर्दै नेपालीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् ।

दुई वर्षअगाडि सम्पन्न नेफ्टा अवार्डपछि मलेसियामा नेपाली कलाकारहरुको अर्काे जमघट हुन लागेको हो । सबै आयोजकले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी नराखेकोे बताएका छन् । कलाकारहरु पनि आफ्नो तर्फबाट कुनै कमि हुन नदिने मुडमा छन् । मलेसियामा नेपाली कलाकारले आयोजना गरेका केहि मुख्य कार्यक्रम यस्ता छन्ः

फ्रेण्डसिप धमाका

मलेसियामा लामो समयदेखि आयोजना हुँदै आएको फ्रेण्डसिप धमाका शनिवारदेखि शुरु भएको छ । जोहोरवारु, पेनाग, क्वालालम्पुर र वातुपहातमा हुने कार्यक्रममा नायिका रेखा थापा, नायक दिनेश थापा, अभिनेता सुनिल थापा, गायक प्रमोद खरेल, गायिका अमृता लुंगेली मगर, नृत्यकार शिव विक, हास्यकलाकारद्वय किशोर भण्डारी र रेश्मा तिमिल्सिनाले आफनो प्रस्तुति दिने छन् । स्थानीय नेपाली कलाकारहरुको समेत यसमा सहभागिता रहने छ । हिजो शनिवार जोहोरवारुमा भएको कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिएको इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर कृष्ण पुलामीले बताए ।

new-year-concert

स्टार धमाका

निलाई तथा काजागमा रहेका नेपालीहरुले आयोजना गरेको स्टार धमाका मलेसियाका दुई शहरहरुमा प्रस्तुत हुने भएको छ । काजाग र सुगाईवुलोमा हुने कार्यक्रमको लागि नेपालबाट महानायक राजेश हमाल, गायक तिलकवम मल्ल, हास्य कलाकार पल्पसा डंगोल, गायिका राधिका हमाल तथा नृत्यकार पार्वती राईको सहभागिता रहने आयोजकहरुले जानकारी गराएका छन् । स्थानीय कलाकारहरुमा लोकगायक रोशन कुटाल क्षेत्री तथा संजय परियार लगायतकाले आफनो प्रस्तुती राख्ने भएका छन् ।

चाइनिज न्यु इयर कन्सर्ट

सुवास गोर्खालीको प्रस्तुतिमा हुने ‘चाइनिज न्यू इयर कन्सर्ट’ मलेसियाको तीनवटा शहरहरुमा हुने भएको छ । मलेसियाको जोहोरवारु, कुलुवाग र मुहारमा हुन गइरहेको कार्यक्रमको लागि गायक हेमन्त शर्मा, मोडल तथा नृत्यकार रन्जिता गुरुङ, लोकगायिका मुना थापा, लोकगायक प्रकाश कटुवाल र हास्यकलाकार मरिचमान श्रेष्ठको प्रस्तुती रहने छ । साथमा स्थानीय कलाकारहरु पनि हुनेछन् ।

रक स्टार धमाका

रक स्टार ग्रुप पेनागको आयोजनामा आइतवारदेखि पेनागका तीनवटा शहरहरुमा सांगीतिक कार्यक्रम हुने भएका छन् । पेनागको सुगाईपेतानी, पेनागकै विएम तथा ओलिभ होटलमा कार्यक्रम गर्न थालिएको आयोजकहरुले जानकारी गराएका छन् । कार्यक्रमका लागि नेपालबाट आएका कलाकारहरु राजेश पायल राई, हास्यकलाकार जीतु नेपाल, लोक गायिका सिर्जु अधिकारी, मोडल तथा नायिका चन्दा दाहाल, नृत्य निर्देशक पेमा लामालगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने आयोजकहरुले जानकारी गराएका छन् ।unique-dhamaka

युनिक सांस्कृतिक धमाका

मलेसियाको मुहारमा रहेका नेपालीहरुले आयोजना गरेको युनिक सांस्कृतिक धमाका मलेसियाको मुहार शहरमा हुने भएको छ । सांगीतिक कार्यक्रममा नेपालबाट नायिका प्रिया रिजाल, लोक गायक पशुपति शर्मा, लोक गायिका सावित्री जोशी, हास्यकलाकार दिनेश काफ्ले, गायक तथा निर्देशक विक्रम शाह, लगायतले आफ्नो प्रस्तुति दिने भएका छन् । यसैगरी मलेसियामा रहेका कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकमध्येका एक नविन खड्काले अनलाइनखवरलाई जानकारी गराए ।

नेपाली नायिका सुश्मा कार्की पनि यतिवेला मलेसियामै छिन् । आइवोस ग्लोवलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी मलेसिया आएकी हुन् । जोहारवारु र पेनागमा कार्यक्रमको आयोजना गरिएको आईवोसका सिइओ हव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment