Comments Add Comment

ओलीको बोली र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता

अरुणकुमार सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराई सामाजिक सञ्जाल र अन्य सञ्चार रमाध्यममा सर्वाधिक उडाइएका र लखेटिएका पात्र हुन् । यस उद्यममा थोरबहुत यो स्वप्नकार पनि भूमिकामा रहिआएको छ ।

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी

आज भने यो स्वप्नकार प्रम ओलीको एउटा बडबोलीको प्रशंसा र समर्थनमा कलम चलाउँदै छु । यद्यपि त्यो स्वप्निक परियोजना प्रस्तुतिमा प्रधानमन्त्री ओली आफ्नो हलुंगे शैलीबाट मुक्त भने भएका छैनन् । आज स्वप्नकार समर्थनमा उत्रिएको ओलीको ‘बडबोली परियोजना’ हो- काठमाडौंको मेट्रो रेल ।

लामो समयदेखि यो स्वप्नकारले काठमाडाैंमा मेट्रो रेल अपरिहार्य छ र वित्तीय सम्भाव्यताको कसीमा पनि आकर्षक परियोजना हुन सक्छ भनी लेखिआएको छ । अझ यसलाई काठमाडौंको दक्षिणी बिन्दुबाट हेटौँडा हुँदै वीरगन्ज लगिनुपर्छ अनि हेटौँडा-लुम्बिनी जोड्ने लाइन पनि भविष्यमा निर्माण गर्नुपर्छ भनी सपना कोरी आएको छ, यो स्वप्नकार ।

लगभग १३/१४ वर्षअगाडि देखेको सपना, त्यतिखेरै नीति निर्माण तहका शीर्षस्थ व्यक्तिलाई भनिएको तर बेवास्ता भएको सपना पहिलोपटक तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले चासो देखाएर भेटेकोमा स्वप्नकार विस्मित र हषिर्त दुवै भएको थियो ।

आज त्यही सपना प्रधानमन्त्रीका मुखबाट सुन्न पाउँदा उनको हलुंगे शैलीका बाबजुद यो स्वप्नकारले आफ्नो भावनाको भेल रोक्न नसकेर राजनीतिक र सामाजिक सम्बन्धमा समेत कहीँ नजोडिएका प्रधानमन्त्री ओलीको समर्थनमा उत्रिएको छ र उनको बडबोलीको समर्थनमा उद्घोष गर्छ । काठमाडौंमा मेट्रो रेल एकदम सम्भव परियोजना हो । पुष्टीकरणका लागि स्वप्नकार अतीतका केही पुनरोक्ति र नयाँ तर्क एव तथ्य साथ आएको छ ।

परियोजना संक्षेप
स्वप्नकारले बुनेको गैरप्रावधिक सपना हो यो । जुन काठमाडौंभित्र तीन रुट रत्नपार्क (टुँडिखेल) को गर्भतलमा चेन्जओभरमा जुट्नेछ । ती लाइनहरूलाई रिङरोडका लाइनसँग जोड्नेछ । धुलिखेल पशुपति हुँदै, उपत्यकाको दक्षिणी बिन्दु हुदैँ जाने लाइन हेटौँडा-वीरगन्जसँग जोडिनेछ ।

लगभग २२५ किमिको यो रेल सञ्जाललाई व्यापारिक रूपमा आकर्षक बनाउनका निमित्त बजार व्यवस्थापनका लागि स्वप्नकारले निश्चित नीति-नियम र रणनीतिको खाका पनि कोरेको थियो ।

उपत्यका भित्रिने खनिज इन्धनमा आधारित सवारी साधनलाई भरसक प्रतिबन्ध लगाइनुपर्छ । नारायण घाटको व्यक्ति हेटौँडा हुँदै रेेलबाट काठमाडौं आउँदा समय बचत, दूरी कम र दुर्घटनाको जोखिम पनि कम हुन जान्छ । यसर्थ पूर्व र पश्चिमका सबै सवारी-साधनकोे रुट परमिट पायक पर्ने रेल रुटसम्म मात्र दिनुपर्छ ।

यसले गर्दा रेललाई सवारी र सामग्री यथेष्ट मिल्नेछ । यसले काठमाडौंको वायु र ध्वनि प्रदूषण एवं सवारी दुर्घटनाको न्यूनीकरणमा उल्लेख्य उपलब्धि प्राप्त हुनेछ । पेट्रोलियम पदार्थको आयतमा समेत परिमाणमा न्यूनता ल्याउन सकिने छ ।

मेट्रो रेल रुटमा पर्ने सडकहरूमा साना खाले र मन्द गतिका सार्वजनिक सवारी-साधनलाई सहायक सडकमा मात्र सीमित गरिनुपर्छ । मोटरसाइकल जस्ता जोखिमयुक्त सवारीलाई सके प्रतिबन्ध नभए पनि नियन्त्रण गरिनुपर्छ । भारतमा हरेक सहरमा त्यहीँको स्थानीय भाषामा पशुपतिनाथको प्रचार-प्रसार गरिनुपर्छ । सहरको कोर क्षेत्रमा प्रवेश गर्ने निजी सवारीलाई उच्च कर लगाउनुपर्छ । काठमाडौंलाई सात बजे नै सन्नाटा छाउने सहरबाट राति पनि जागृत रहने मेट्रो सिटीमा रूपान्तरित गर्नुपर्छ । यस्ता अरु नीति पनि हुनुपर्छ, जसबाट रेललाई यात्रु र सामान उपलब्ध गराई आकर्षक प्रतिफलयुक्त परियोजना बनाउन सकिन्छ । यसमा स्वप्नकार विश्वस्त छ ।

अहिले तराई-काठमाडौं द्रूतमार्ग, हेटौँडा सुरुङमार्ग र निजगढ विमानस्थलको व्यापक चर्चा भइरहे छ । दू्रतमार्ग र सुरुङमार्ग दुवैलाई रेल परियोजनामा गाभिनुपर्छ र रेलसँगै जुम्ल्याहा सडक बनाउनुपर्छ भनी स्वप्नकार लेखी-बोली आएको छ । निजगढ विमानस्थल परियोजनालाई काठमाडौंसँग रेलले नजोड्ने हो भनेे यो परियोजना निरर्थक हुनेछ । यसर्थ यसलाई पनि पथलैयामा रेलसँग जोड्नुपर्छ ।

वित्त व्यवस्थापन

लिमिटेड कम्पनीको रूपमा कल्पना गरिएको यो परियोजना निर्माण आफैँमा अति ठूलो धनराशि लाग्ने परियोजना हो । यसका लागि स्वप्नकारले विशेष वित्तीय मोडेलको सपना देखेको छ ।

यसको इक्विटी व्यवस्थापनका लागि २० प्रतिशतको इक्विटी अनुपातमा प्रक्षेप गर्दा बडो सहज स्थिति देखापर्छ । सरकारले आवश्यक कानुन निर्माण गरी यसै परियोजनाबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर अगि्रम आयकर र भन्सार महसुललाई इक्विटीमा परिणत गरिदिने हो भने लगाभग २० प्रतिशतमा नौ प्रतिशत यसैबाट प्राप्त हुने देखिन्छ ।

आमजनता र व्यापारिक क्षेत्रको प्रवर्द्धक र साधारण सेयरमाथिकोे बढ्दो आकर्षण पनि यसका लागि इक्विटीको महत्त्वपूर्ण स्रोत हुन सक्छ । यदि ४९ इक्विटी परियोजना अवधिभरमा खण्ड-खण्ड जारी गरी उठाएमा ९.८ प्रतिशत यसैबाट प्राप्त हुनेछ ।

माथि भनिएअनुसार १८.८ प्रतिशत इक्विटी व्यवस्थापन गर्ने हो भने बाँकी १.२ प्रतिशत संस्थागत क्षेत्र कर्पोरेट हाउस र परियोजना व्यवस्थापन गर्ने विज्ञ समूहको बौद्धिक सम्पत्तिबाट आरामले उठ्न सक्छ । विकल्पमा विदेशी रेल कम्पनीलाई वित्तीय र रणनीतिक साझेदारको रूपमा भित्र्याउन पनि सकिन्छ ।

कर्जा व्यवस्थापन

अहिलेको संसारमा आकर्षक परियोजनाका लागि कर्जाको कुनै कमी छैन । विश्वमा धेरै राष्ट्रले यस्ता परियोजना सीधा सरकारी उपक्रम बनाई सरकारी लगानीमा वा सार्वभौम जमानतमा विदेशी कर्जा लिएर निर्माण गरेका छन् ।

यो परियोजनालाई मात्र होइन, आयमा सरकारको प्रत्यक्ष-अप्रत्यक्ष नियन्त्रण हुने वा पूर्णतः बैंकिङ नियन्त्रणमा जाने अवस्थाका अरु परियोजनाले लिने कर्जामा समेत सरकारले जमानत दिने नीति र कानुन बनाउनुपर्छ भन्ने स्वप्नकारको मत रहिआएको छ ।यसकारण सार्वभौम जमानत दिएर भए पनि कर्जा उपलब्ध गराउन सकिन्छ ।

डिफर क्रेडिटको भुक्तानीको सर्तमा निर्माणको ठेक्का लिई काम गर्ने अन्तर्राष्ट्रिय ठेकेदार कम्पनी प्ानि छन्, विकल्पमा त्यस्ता कम्पनीबाट पनि निर्माण गराउन सकिन्छ ।

बजार प्रवर्द्धन इक्विटी र कर्जा व्यवस्थापन भएपछि अन्य कानुनी र नीतिगत कुरा आवश्यकअनुसार परिमार्जन अवलम्बन गर्दै जान सकिनेछ ।

यो स्वप्नकारको सर्वाधिक प्रीतकर सपना हो, यस्ता व्यापारिक अवधारणा सार्वजनिक गर्ने विषय थिएनन् । तर, स्वप्नकारले भावावेश वश आफूलाई थेग्न सकेन । प्रधानमन्त्रीले नै बोलेपछि हरेक वर्ष यो सपनाको वित्तीय आँकलन आफ्नो ल्यापटपमा अध्यावधिक गर्दै बसेको पात्र हो, स्वप्नकार ।

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू, यदि तपाईंले यीलगायत आवश्यक नीति र नियम तर्जुमा गरी तपाईंको शेष आयुमा नै यो परियोजना सुरु गर्नुभयो भने स्वप्नकार पुनरोक्ति गर्छ ।

सरकार, सदन, सडक र जंगलमा धरी कम्युनिस्टलाई देख्न नरुचाउने यो स्वप्नकारले तपाईंहरूको शासन दशकौँ चलोस् भन्ने कामना गर्नेछ ।
(नौ वर्षअगाडि प्रकाशित पुस्तक ‘सपनाका गाथाहरू’मा सुवेदीले मेट्रो रेलको सम्भाव्यताबारे उल्लेख गरेका थिए)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment