Comments Add Comment

तारे होटलमा घोषित ५५ अर्ब लगानी अनिश्चित

Sheraton Khathmandu Hotel

नविन अर्याल
२५ माघ, काठमाडौं । मुलुकमा लोकतन्त्र आएपछि उत्साहित बनेका लगानीकर्ता नयाँ संविधान बनेपछि लगानीको वातावरण बन्नेमा ढुक्क थिए । दश वर्ष लामो सशस्त्र माओवादी द्वन्द्वमा खुम्चिएर बसेका लगानीकर्ताहरु शान्ति प्रकृयाको सुरुवातसँगै लगानी गर्न हौसिए । तर, परिस्थिति उनीहरुले सोचेजस्तो बनेन ।

स्वदेशी तथा विदेशी लगानीकर्ताबीच विभिन्न क्षेत्रमा लगानीको घोषणा गर्ने होडबाजी नै चल्यो । यस्तो लाग्यो, लोकतन्त्रमा लगानीका लागि स्वर्णयुग नै सुरु भयो । होटल, उर्जा, कृषि, पूर्वाधार लगायतमा धमाधम लगानी घोषणा भइरहेको थियो । त्यसमध्ये सबैभन्दा आकर्षणको क्षेत्र बन्न पुग्यो, होटल व्यवसाय ।

बैशाख १२ गते भूकम्प जानुअघिसम्म ठूला/साना तारे होटलमा ५५ अर्ब बढी रुपैयाँ लगानी गर्ने घोषणा भयो । प्रख्यात विदेशी बहुराष्ट्रिय होटल ब्रान्डसँग सहकार्य गरेर होटल चलाउन लगानीकर्ता कस्सिए । धेरै विदेशी बहुराष्ट्रिय होटल ब्रान्डको ध्यानसमेत नेपालमा खिचियो ।

कुन होटलमा कसको लगानी ?

भूकम्पअघि धेरैजसो व्यवसायिक घरानाहरु होटलमा प्रवेश गर्ने योजना बुनिरहेका थिए । कतिपयले लगानीको घोषणा गरिसकेका थिए भने कतिपय घोषणा गर्ने तयारीमा थिए । भूकम्पपछि भने होटलमा नयाँ लगानी घोषणा भएको सुन्नमा आएको छैन ।

5 star Hotels
एनआरएनका अध्यक्ष घलेले होटल निर्माण सुरु गरिसकेका छन् । करिव ८ अर्ब रुपैयाँ लगानी रहने उनको शेराटन होटलमा २१८ रुमहरु रहनेछन् । यो होटलले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ ।

ठमेलको छायाँ सेन्टरमा तीन अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालन हुँदैछ । यो होटलमा २२० रुमहरु रहनेछन् । यो होटल बैंकर पृथ्वी बहादुर पाण्डे, पर्यटन व्यवसायी सुमन पाण्डे लगायतको समूहले खोल्न लागेको हो ।

त्यस्तै, एमएस ग्रुपले नक्सालमा पाँचतारे र ठमेलमा चारतारे होटल सञ्चालन गर्ने घोषणा गरेको छ । नक्सालको होटलमा २३५ र ठमेलको होटलमा ११० रुम रहने बताइएको छ । त्यस्तै, सुमार्गी समूहले पनि पाँचतारे होटलमा ५ अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

यसैगरी, गैरआवासिय नेपाली संघ (एनआरएन), होटल समिट, वैद्यज अर्गनाइजेशन, सिल्भर हेरिटेज, द सेञ्चुरियन, सूर्य नेपाल लगायतका व्यवसायिक घरना पनि पाँचतारे होटल खोल्ने तयारीमा छन् ।

होटल समिटले दुई नयाँ होटल र कुपण्डोलस्थित समिट होटलको स्तरोन्नतिमा ६ अर्ब रुपैयाँ खर्चिने घोषणा गरिसकेको छ । समिटको चौधरी ग्रुप र एनई ग्रुपले ६० प्रतिशत शेयर खरिद गरेका छन् ।

Chhaya-Center-5
ठमेलमा बन्दै गरेको छायाँ सेन्टर । यहाँ अलफ्ट होटल रहने छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले काठमाडौंमा पाँचतारे होटल खोल्ने घोषणा गरिसकेका छन् । उनले २ अर्ब लगानी गर्ने योजनामा छन् । यसका साथै उनले बेगनाश, लुम्बिनी र रारामा पनि होटल खोल्ने योजना बनाएका छन् ।

बाँकेको नेपालगञ्जमा सोल्टी होटलले ४० करोड रुपैयाँ खर्च गरेर चार तारे होटल निर्माण गरिरहेको छ भने कोहलपुरमा सेन्ट्रल प्लाजा र नेपालगञ्जमै ५० करोड लगानीमा होटल कृष्णा बनिरहेको छ ।

राजधानीमा पाँचतारे होटल सञ्चालन गरिरहेको सांग्रिलाले बेगनासको पचभैयामा ५० करोड खर्च गरेर डिलक्स रिर्सोट सञ्चालन गर्ने योजना बनाएको छ । यसपछि सांग्रिलाले काठमाडौंको शिवपुरी र चितवनको मेघौलीमा पनि होटल सञ्चालन गर्ने तयारीमा छ ।

चौधरी ग्रुपले ललितपुरको झम्सिखेल र चितवनको मेघौलीमा दुईवटा लक्जरियस होटल तथा रिसोर्ट निर्माण गरिरहेको छ । चितवनमा ३० करोड र ललितपुरमा एक अर्ब लगानी गर्दैछ चौधरी समूह । यस्तै चितवनको भरतपुरमा निर्माणाधीन ल्यान्डमार्फ कम्पलेक्समा पनि चारतारे स्तरको बिजनेश होटल खोल्ने योजनामा समूह छ ।

अरुण चौधरीले पनि ललिलतपुर र काठमाडौंमा होटल सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । पुल्चोकमा साढे २ अर्ब लगानीमा १७० कोठको पाँचतारे र त्रिपुरेश्वरमा एक अर्ब लगानीमा सय कोठाको बिजनेश होटल बनाउने उनको तयारी छ ।

Hotel-Krishna-Nepalgunj
बाँकेमा बनिरहेको चारतारे कृष्ण होटलको स्केच ।

यसैगरी व्यवसायिक घराना लक्ष्मी ग्रुपले पनि पोखरा र काठमाडौंमा चारतारे होटलमा लगानी गर्ने घोषणा गरिसकेको छ । आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरीमा तारे होटल बनाउने घोषणा गरिसकेका छन् । यहाँ पनि एक अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

भूकम्प, बन्द हडताल र नाकाबन्दीका कारण चन्द्रागिरी केवलकार परियोजना पर सर्दै आएको छ । आगामी वैशाखसम्म साढे ३ अर्ब रुपैयाँ लगानीमा केवलकारसहितको अत्याधुनिक फनपार्क सञ्चालनमा आउँदैछ ।

होटल व्यवसायी योगेन्द्र शाक्यको एस होटल समूहले लाजिम्पाटमा होटल एम्बास्डर निर्माण गरिरहेको छ । यसपछि चितवन र काठमाडौंको नागपोखरीमा होटल बनाउने शाक्यको योजना छ ।

अर्का उद्योगपति मोती दुगडले बिराटनगरमा अर्को पाँचतारे होटल निर्माण गर्ने घोषणा गरिसकेका छन् । एक विगाहा क्षेत्रफलमा फैलिने यो होटलमा १२५ रुमहरु रहनेछन् । दुगडले पाँचतारे होटल निर्माणका लागि एक अर्ब रुपैयाँ लगानी गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा पनि नयाँ तारे होटल खोल्ने तयारीमा छिन् ।

चन्द्रागिरी डाँडामा बनाउन लागिएको पाँचतारे स्तरको रिसोर्ट ।
चन्द्रागिरी डाँडामा बनाउन लागिएको पाँचतारे स्तरको रिसोर्ट ।

हच्किन थाले लगानीकर्ता

होटल व्यवसायमा लगानीकर्ताको यो उत्साह धेरै दिनसम्म टिक्न भने सकेको देखिँदैन । वैशाख १२ गते गएको भूकम्पले पर्यटन व्यवसाय सुस्ताएपछि होटलका लगानीकर्ताहरु हच्किएका हुन् ।

पर्यटन व्यवसाय तंग्रिन नपाउँदै जारी भएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेस आन्दोलन र भारतीय नाकाबन्दी सुरु भएपछि तारे होटलमा घोषित लगानी थप संकटमा पारेको छ । नाकाबन्दीका कारण इन्धन र कच्चा पदार्थको अभाव भएपछि सञ्चालनमा रहेका ठूला उद्योगसमेत बन्द हुन पुगेका छन् । लगानीको वातावरणका लागि नयाँ संविधान कुरेर बसेका लगानीकर्ताहरु थप निराश बनेका छन् ।

लगानी घोषणा गरेका अधिकांशले सन् २०१८ सम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेका थिए । तर, नयाँ संविधानसँगै चर्किएको तराई आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकमा चरम अभाव भएपछि होटल बनाउने काम पछि सरेको छ । निर्माण सुरु भइसकेका होटलको काम रोकिन पुगेको छ । निर्माणको तयारी गरिरहेका लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । जसले गर्दा होटलमा हुन लागेको करिव ५५ अर्ब नयाँ लगानी अनिश्चित बनेको छ ।

शेराटनको गति सुस्तायो

Sheraton-Hotel-final

काठमाडौंको कान्तिपथमा निर्माणाधीन पाँचतारे डिलक्स शेराटन होटलको काम निकै सुस्त गतिमा भइरहेको छ । ‘भूकम्पपछि ३/४ महिना काम रोकियो, दशैंपछि दुई महिना रोकियो’ शेराटन होटलका अप्रेसन म्यानेजर सुरेश चित्रकारले भने- ‘इन्धन र निर्माण सामाग्रीको अभाव र महंगीले गर्दा काम अगाडि बढाउन मुस्किल भइरहेको छ ।’

शेराटन होटल सन् २०१७ मा निर्माण सम्पन्न गरेर सन् २०१८ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर, तिब्र गतिमा काम हुन नसक्दा तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिएको छ ।

शंकर समूह पछि हट्यो

doubel tree by hilton

व्यवसायिक घराना शंकर समूह ६ महिनाअघि नै नक्सालमा पाँचतारे होटल निर्माण सुरु गर्ने योजनामा थियो । तर, वैशाखको भूकम्पपछि एकाएक पर्यटन क्षेत्र सुस्ताएको देखेर यो समूहले तत्काल होटल नखोल्ने मनस्थिति बनाएको थियो ।

तर, पर्यटनमा प्रशस्त सम्भवना देखेको शंकर समूहले भवनको डिजाइन संशोधन गरेको छ । सोही बेलामा सुरु भएको नाकाबन्दीका कारण होटल निर्माण कार्य सुरु हुन नसकेको समूहका प्रबन्ध निर्देशक शंकर अग्रवालले अनलाइनखबरलाई बताए ।

‘जुन समयमा सहज वातावरण तयार हुन्छ, त्यहीबेलादेखि होटलको काम सुरु हुन्छ’ प्रवन्ध निर्देशक अग्रवालले भने- ‘अहिले हामी साइटमा काम सुरु गरेका छैनौं, तर, ब्याकग्राउन्डमा भने काम भइरहेको छ ।’

छायाँ सेन्टरको काम रोकियो

Chhaya-Center-4

ठमेलमा बन्दै गरेको छायाँ सेन्टरको पनि भूकम्प र बन्द हडतालले काम रोकिएको छ । त्यहाँ पाँचतारे काठमाडौं अलफ्ट होटल सञ्चालन गर्ने योजना थियो । तर, नाकाबन्दीले इन्धनको अभाव हुनुका साथै महंगी बढेपछि निर्माण कार्य अवरुद्ध हुन पुगेको छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेले जानकारी दिए ।

‘बुटिक होटल’ बनेन

ललितपुरको कुपण्डोलस्थित होटल समिट होटलको स्तरोन्नती गरी स्तरीय बुटिक होटल बनाउने योजना बनाइएको थियो । सोही योजनाअनुरुप लगानीसमेत घोषणा भयो । तर, भूकम्प, तराई आन्दोलन र नाकाबन्दीका कारण अभाव सिर्जना भएपछि काम अगाडि बढाउन नसकेको लगानीकर्ता रविभक्त श्रेष्ठले बताए ।

बहुराष्ट्रिय कम्पनी अन्योलमा

काठमाडौंसहित देशका विभिन्न ठाउँमा करिव दर्जनको हाराहारीमा पाँचतारे होटल निर्माण गर्ने घोषणा भएको थियो । चारतारे होटल दुई दर्जन बढीको संख्यामा निर्माण हुँदै थिए, जसबाट साना/ठूला होटलमा करिव २५ सयको हाराहारीमा रुमहरु थपिँदै थिए । तर, भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले सबै होटलको निर्माण कार्य रोकिन पुगेको छ ।

मुलुकको पर्यटन क्षेत्र नराम्रोसँग सुस्ताएपछि कतिपय लगानीकर्ता होटल निर्माण नगर्ने सोचाइमा पुगिसकेका छन् ।

विश्वमा प्रख्याति कमाएका बहुराष्ट्रिय होटल ब्रान्डहरुसमेत नेपाल भित्रिने प्रतिस्पर्धामा थिए । भूकम्प र अस्थिर राजनीतिका कारण बहुराष्ट्रिय होटल पनि पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

चौधरी समूहले चितवनको मेघौलीमा बनाइरहेको रिसोर्टको व्यवस्थापन जिम्मा ताज समूहलाई दिने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कान्तिथपमा विख्यात अमेरिकी बहुराष्ट्रिय कम्पनी स्टारउडको शेराटनसँग सहकार्य गरेर होटल सञ्चालन गर्न लागेका छन् ।

त्यसैगरी एमएस समूहले मेरियटस ब्रान्डलाई नेपाल भित्राउने तयारी गरिरहेको छ । ठमेलमा निर्माण भइरहेको छायाँदेवी कम्पलेक्समा अलफ्ट ब्रान्ड आउँदै छ । शंकर समूहले विश्वकै दोस्रो ठूलो होटल सञ्जाल हिल्टनलाई ल्याउँदै छ ।

अन्नपूर्ण होटलमा आउन लागेको थाइल्यान्डको दुसित थानी पनि पछाडि हच्किएको छ । नेपालगञ्जमा ५० करोड लगानीमा निर्माण भइरहेको होटल कृष्णाको व्यवस्थापन अमेरिकी होटल ब्रान्ड सिग्नेट इनले सम्हाल्ने भएको छ ।

यसका साथै क्र्लक्स ग्रुप, लर्डस् मिरेज, लीला, पगदुन्दी सफारी समूह, सिग्नेट इन लगायतका बहुराष्ट्रिय होटल ब्रान्ड नेपाल भित्रिने तयारीमा थिए । तर, नाकाबन्दी र तराई आन्दोलनले होटल निर्माण रोकिन पुगेपछि बहुराष्ट्रिय ब्रान्डको आगमन पनि पर सरेको छ ।

लगानी घोषणा गरिएका होटलहरू

hotels

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment