Comments Add Comment

दाल चामल किन्ने हो ? टोलटोलमै सरकारी गाडी आउँदैछ !

route of NKS
२५ माघ, काठमाडौं । महिनौंदेखि महंगोमा खाद्यान्न किन्नु परेर दिक्क हुनुहुन्छ ? धेरै चिन्ता नलिनुस्, अब काठमाडौं उपत्यकाभित्र उपभोक्तालाई ध्यानमा राखेर सरकारले चोक चोकमै सस्तो मूल्यको खाद्यान्न बेच्ने नयाँ योजना ल्याएको छ ।

यसका लागि तपाईले कुन बार कुन चोकमा गाडी आइपुग्छ भन्ने तालिका चाँहि याद गर्नुपर्ने हुन्छ ।   भूकम्प र त्यसपछिको नाकाबन्दीले बजारमा चरम मूल्यवृद्धि भएका बेला सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले कालोबजारी र महंगीविरुद्ध टोल-टोलमै खाद्यान्न पुर्‍याएर सस्तोमा बेच्ने अभियान थालेको हो ।

केही दिनदेखि खाद्य संस्थानले घुम्ती सेवाका रुपमा टोल-टोलमा खाद्यन्न पुर्‍याएर बेच्न थालेको संस्थानका महाप्रवन्धक शिवहरि श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । यो अभियानलाई एक महिनासम्म परीक्षणका रुपमा प्रयोग गरेर निरन्तरता दिने संस्थानको योजना छ ।

कुन रुटमा, कुन दिन घुम्ती सेवा ?

घुम्ती सेवाका लागि उपत्यकाभित्र ६ वटा रुटहरु तय गरिएका छन् । प्रत्येक रुटमा साताको ३/३ दिन खाद्यान्न बोकेका गाडीहरु जानेछन् ।

पहिलो रुटमा संस्थानले शान्तिनगर, विमानस्थल, गैरिगाउँ, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, सूर्यविनायक, जगाती लगायतका क्षेत्रलाई समेटेको छ । यो रुटमा आइतबार, बिहीबार र शुक्रबार संस्थानका गाडी खाद्यन्न लिएर पुग्नेछन् ।

दोस्रो रुटमा नयाँबानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क, गुह्येश्वरी, जोरपाटी, नारायणहिटी सहित बौद्ध, महांकाल, चाबहिल, सिफल, ज्ञानेश्वर क्षेत्र समेटिएको छ । दोस्रो रुटमा आइतबार, सोमबार र शुक्रबार खाद्यन्नबाहक गाडी घुम्नेछन् ।

तेस्रो रुट कलंकीबाट सुरु हुन्छ । संस्थानका मालबाहक गाडी स्युचाटार, सीतापाइला, स्वयम्भु, वनस्थली, बाइपास, नेपालटार, बानियाँटार, ग्रीनल्याण्ड धापासी, टोखा, झोर हुँदै सामाखुशी चोक, रानीबारी, बसुन्धरा, महाराजगञ्ज क्षेत्रमा घुम्नेछन् । यो रुटमा संस्थानले आइतबार, सोमबार र मंगलबार सेवा दिनेछ ।

चौंथो रुटका रुपमा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, हरिसिद्धि हुँदै सातदोबाटो, ग्वार्को, बालकुमारी, इमाडोल, टिकाथली, लोकन्थलीसहित पेप्सीकोला क्षेत्रलाई तोकिएको छ । यो रुटमा सोमबार, मंगलबार र बुधबार घुम्ती सेवा दिइनेछ ।

पाँचौं रुटमा कालीमाटी, बल्खु, किर्तिपुर, मच्छेगाउँ, मातातिर्थ, गुर्जुधारा, सतुंगल, नैकापलाई समेटिएको छ । पाँचौं रुटमा मंगलबार, बुधबार र बिहीबार यो सेवा प्रदान हुनेछ ।

छैंठौं रुटअन्तरगत लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बाँसबारी, हात्तीगौंडा, गणेशचोक, चपलीहाइट र बुढानीलकण्ठ क्षेत्रमा खाद्यन्न बिक्री गरिने छ । छैठौं रुटमा बुधबार, बिहीबार र शक्रबार घुम्ती सेवाका गाडी पुग्नेछन् ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएका रुटमा निर्धारित बारअनुसार खाद्यन्न बोकेका गाडीले पुग्नेछन् ।

के-के किन्न पाइन्छ ? मूल्य कति पर्छ ?

संस्थानले सहुलियत दरमा उपभोक्तालाई खाद्यान्न बेचिरहेको महाप्रवन्धक श्रेष्ठले बताए । संस्थानले बजारको भन्दा प्रतिकिलो १२ रुपैयाँसम्म सस्तोमा खाद्यन्न बिक्री गर्दैछ । घुम्ती सेवाका लागि संस्थानले गाडी प्रयोग गरेर चामल, गेडागुडी, फापर लगायतका खाद्य सामाग्री बिक्री वितरण गरिरहेको छ ।

संस्थानलेे मकवानपुरे चामल प्रतिकिलो ४१ रुपैयाँ तोकेको छ भने मध्यम प्रकृतिको  चामल ४३ रुपैयाँ निर्धारण गरेको छ । यस्तै सोना मन्सुली ४५ रुपैयाँ र उसिनेको सोना मन्सुली ४६ रुपैयाँ, गोरखनाथ ५२ रुपैयाँ, जीरा मसिनो ५८ रुपैयाँ र बास्मती चामल ९९ रुपैयाँमा बिक्री गरिरहेको छ ।

यसैगरी सिमी गेडागुडी किलोको १ सय ५० रुपैयाँमा किन्न पाइन्छ भने फापर १ सय १० रुपैयाँमा किन्न सकिने संस्थानले जानकारी दिएको छ ।

संस्थानले बेच्ने गेडागुडी कर्णालीमा उत्पादन भएका हुन् । ती विषादिरहित रहेको संस्थानको दाबी छ । खाद्य सामग्री सबै प्याकिङ गरेरै उपभोक्तासम्म पुर्‍याइएको छ । उपभोक्ताले आवश्यकता अनुसार १ केजीदेखि ३० केजीसम्मका प्याकहरु किन्न सक्छन् ।

घुम्ती सेवामार्फत दैनिक १ लाख रुपैयाँ बराबरको खाद्यान्न बिक्री भइरहेको संस्थानले  जानकारी दिएको छ । धेरैजसो उपभोक्ता कर्णालीको गेडागुडी र जीरा मसिनो चामलमा आकषिर्त देखिएका छन् ।

संस्थानले यो वर्ष कर्णालीका जनताले उत्पादन गरेको १ करोड रुपैयाँको बराबरको गेडागुडी खरिद गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment