Comments Add Comment

आयल निगमलाई आईओसीको पत्रः ‘कोटाअनुसारको ग्यास दिन्छौं’

gas-bullet

२५ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई पूर्ववतः रूपमा ग्यास पठाउन सकिने आसयसहितको पत्र पठाएको छ ।

नेपाल आयल निगमलाई ई-मेल लेख्दै आईओसीले सामान्य अवस्थामा जतिकै ग्यास दिन सकिने बताएको हो । आईओसीको पत्र र वीरगञ्ज नाकाको सहजताका कारण आयल निगमका अधिकारी सामान्य अवस्थामा ग्यास भित्र्याउन सकिनेमा आशावादी छन् ।

नाकाबन्दी चलिरहँदा आईओसीले विभिन्न कारण देखाएर कोटाअनुसार ग्यास दिन मानेको थिएन । आयल निगमले मासिक २९ हजार मेटि्रकटन ग्यासको कोटा तोकेको थियो। आईओसीले त्यसअनुसार लोडिङ दिने प्रतिबद्धतासहित विद्युतीय पत्राचार गरेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

कुन रिफाइनरीले कति दिन्छ ?
आयल निगमले कोटा बढाएर मासिक ३५ हजार मेटि्रक टन ग्यास लोड गर्न दिने माग गर्दै गत जनवरीमा आईओसीलाई पत्र लेखेको थियो । आईओसीले भने नाकाबन्दी अघिकै परिमाणमा ग्यास दिन सकिने भन्दै रिफाइनरी र त्यहाँबाट लोड दिने परिमाण पनि उल्लेख गरेको छ ।

आईओसीले सबैभन्दा धेरै ग्यास बरौनीबाट दिन सकिने बताएको छ । आईओसीको पत्रमा बरौनी रिफाइनरीबाट महिनामा १३ हजार मेटि्रक टन ग्यास दिने उल्लेख छ । बरौनीमा लोड भएका ग्यास आवश्यकअनुसार वीरगञ्ज र विराटनगरबाट भित्रिन्छ।

यस्तै, कोलकातातर्फ नै पर्ने हल्दिया रिफाइनरीबाट महिनामा ११ हजार मेटि्रक टन ग्यास दिने आईओसीले जनाएको छ । यो डिपोमा लोड भएका ग्यास बुलेट पनि वीरगञ्ज र विराटनगर नाका भएर भित्रिने गरेका छन् ।

आइओसीले मथुरा रिफाइनरीेबाट मासिक पाँच हजार मेटि्रक टन ग्यास दिने बताएको छ । मथुरामा लोड भएका ग्यास बुलेट भैरहवा पश्चिमी नाका भएर नेपाल भित्रिने गरेका छन् ।

आईओसीले कर्नाल डिपोबाट भने तत्काल ग्यास दिन नसकिने बताएको छ । उत्पादन कम भएकाले कर्नालबाट ग्यास दिन नसकिएको आईओसीका अधिकारीले जानकारी दिएका छन् ।

कर्नालबाट ग्यास नआएमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा थप ग्यासको अभाव सिर्जना हुने संकेत देखिएको छ । कर्नाल रिफाइनरीमा लोड भएका ग्यास नेपालगञ्ज, धनगढीलगायत नाकाबाट भित्रिन्छन् ।

‘फेब्रुअरीमा कोटाअनुसारको २९ हजार मेटि्रक टन नै ग्यास दिने भन्दै पत्र आएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘अब वीरगञ्ज नाका पनि खुलेको छ । त्यसैले अब पूर्ववतः रूपमा ग्यास भित्रियो भने अभावलाई बिस्तारै कम गर्दै लैजान सकिन्छ ।’

आईओसीले अहिले नेपालको कुल मागको ३५ प्रतिशत मात्रै ग्यास लोड गर्न दिइरहेको छ । नाकाबन्दीको एक सय दिनसम्म भारतले ११ प्रतिशत मात्र ग्यास दिँदा नेपालमा ऊर्जा संकट चरम अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment