Comments Add Comment

मृत्युले सुशीललाई झुक्यायो, अस्पतालसमेत जान पाएनन्

Sushil Koirala all bida (5)

२६ माघ, काठमाडौं । तत्काल बिरामी परेको पनि नसुनिएका र महाधिवेशनको जोड घटाउमा सक्रिय रहेकै बेला पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्यु भयो भन्ने सुन्दा धेरैलाई अचम्म लाग्यो । तर, त्योभन्दा अचम्म के भयो भने उनलाई अस्पताल पनि लगिएन र निवासमै प्राणान्त भयो । अस्पतालसमेत लैजान नदिई कालले सुशील कोइरालालाई झुक्यायो ।

पूर्वप्रधानमन्त्री कोइरालालाई तीन दिनअघि देखि सामान्य ज्वरो आएको थियो । मौसममा आएको परिवर्तनतसँगै अधिकांश मानिसमा रुघामर्कीले सताइरहेका बेला कोइरालालाई पनि सामान्य रुखा लागेको हुनसक्ने अनुमानका आधारमा अस्पताल लगिएको थिएन । उनी महाराजगञ्जस्थित निवासमै रहेका बेला सोमबार मध्य राति १२ः५० बजे उनको निधन भयो ।

प्रायः जुनसुकै मृत्युको घटना पनि ‘अकस्मात’ नै हुने गर्छ । तर, केही दिनको बिरामी परेको घटनाका साथै अस्पतालसम्मको यात्राले मानिसको मृत्युको आकस्मिकताको दरलाई कम गराएको हुन्छ । राजधानीजस्तो अस्पतालको सुविधा भएको ठाउँमा पूर्वप्रधानमन्त्री कोइरालाको निधन अस्पतालमै पुग्न नपाई निवासमै हुनु भनेको उनको मृत्युको कठोर आकस्मिकता नै हो ।

जुनसुकै मृत्यु पनि आकस्मिकमात्रै होइन, त्योभन्दा बढ्ता दुःखद हुन्छ । तैपनि नेपाली समाजमा मृत्युको तरिकालाई लिएर त्यो व्यक्तिलाई ‘भाग्यमानी’ र ‘अभागी’का रुपमा कित्ताकाट गर्ने चलन पनि छ । जीवनमा सक्रिय हुँदाहुँदै, सामान्य अवस्थामा ओछ्यानमै रहेका बेला कुनै कष्ट या यातना नभोगिकन मृत्युवरण गर्ने व्यक्तिलाई भाग्यमानी र पुण्य कमाएको मानिसका रुपमा हेर्ने चलन छ । पापी व्यक्तिहरुको निधन अत्यन्तै कष्टदायी हुन्छ भन्ने नेपाली समाजको मान्यता छ । तर, पूर्वप्रधानमन्त्री कोइरालाको निधन अकस्मात, शयनकक्षमै भयो ।

क्यान्सरलाई जितिसकेका सुशीलले मृत्युपूर्व खासै लामो शारीरिक व्यथा सहनु परेन । कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनमा स्वास्थ्यका कारण सहभागी हुन नपाएको बाहेक उनी सक्रिय हुँदाहुँदै संसारबाट विदा लिए ।

चिकित्सकहरुले कोइरालाको निधन निमोनियाका कारणले भएको बताएका छन् । उनको शारीरिक अवस्थाका कारण रोगकामे प्रतिरोध गर्ने क्षमता कमजोर भएको थियो । सामान्य विरामी पर्नासाथ सजगता अपनाएर अस्पताल नपुर्‍याई निवासमै आराम गराउनु आफन्तजनको कमजोरी देखियो । शायद आफन्तजन कसैले पनि यो अनुमान लगाएनन कि कालले सुशील कोइरालालाई यति सजिलै झुक्याएर लैजाला ।

कोइरालाका सहयोगी कृषण अर्यालका अनुसार कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका थिए । राति १२ बजेतिर उनले पानी पिए । सँगै रहेका रमेशलाई चिया खान भने ।

तर, कोइरालालाई गाह्रो भइसकेको थियो । उनको उपचार घरमै भइरहेको थियो । उनले अक्सिजन दिएको, इन्जेक्सन लगाएको देख्दा मलाई के गरेको भनेका थिए ।

तपाईलाई गाह्रो भयो, त्यसैले भनेपछि पूर्व प्रधानमन्त्री कोइरालाले केही बोलेनन् । परिवारले अस्पताल लैजान चाहेको थियो । तर, गाडीमा अक्सिजन नभएकाले एम्बुलेन्स बोलाउने तयारी भइरहेको थियो ।

सँगै रहेका भान्जा रमेशका अनुसार अन्तिम सास लिनुभन्दा केही अघि उनी निदाए जस्तो गरे । त्यसपछि उनले सदाका लागि विदा लिए । परिवारका सदस्यहरुका अनुसार कोइरालाको निधन १२ः५० मा भएको थियो ।

केही भन्नै पाएनन्

सुशील कोइरालाले नेपाली कांग्रेसलाई यस्तो संक्रमणकालीन अवस्थामा छाडेर गएका छन् कि कांग्रेस यतिबेला महाधिवशेनको संधारमा छ । जिल्ला सभापतिका लागि निर्वाचन भइरहेको चटारोकै वीचमा सुशीलले कांग्रेसलाई असरल्लै छाडेर गएका छन् ।

निकटस्थहरुका अनुसार मृत्युपूर्व कोइरालाले त्यस्तो कुनै अभिव्यक्ति दिन पाएनन्, जसबाट उनको अन्तिम इञ्च्छाको हिसाब लगाउन सकियोस् । महाधिवेशनमा उनी आफै सभापति बन्न चाहन्थे वा कसलाई पार्टी हस्तान्तरण गर्ने उनको इच्छा थियो, यो पनि अहिलेसम्म गुपचुप नै रहेको अवस्था छ ।

तर, कतिपयले विरोध गर्दा गर्दै पनि उनकै कार्यकालले नेपालले नयाँ संविधान पायो । यद्यपि कोइरालाले मधेसी समुदायलाई पनि समेटेर संविधान जारी गर्नुपर्ने अडान राखेका थिए ।

एउटा व्यक्तिका सकारात्मक र नकारात्मक दुबै पाटाहरु हुन्छन् । कोइरालाले पछिल्लो समयमा प्रधानमन्त्री पदमा चुनाव लडेपछि र सभापतिका लागि पुनः दाबी गरिरहँदा उनलाई आलोचना पनि प्रशस्तै भएको थियो । तर, उनले देशलाई दिएको योगदानका तुलनामा उनका कमजोरीहरु शायद अब नेपाली जनताले बिर्सनेछन् । र, सम्झनेछन् कोइरालालाई एकजना त्यागी एवं सादगी नेताका रुपमा ।

सुशीलको निधनपछि अब नेपाली कांग्रेसको नेतृत्व कता जाला ? आज यो विश्लेषण गर्ने बेला होइन, उनलाई श्रद्धासुमन व्यक्त गर्ने बेला हो । आजैका दिनदेखि कांग्रेसको भावी नेता को होला भनेर बहस गर्नु भनेको मलामी गएका बेला छोराछोरीको अंशवण्डाबारे कुरा गरेजस्तै हुनेछ शायद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment