Comments Add Comment

‘यादी र जोन वे’ विद्युतीय स्कुटरमा बढ्यो आकर्षण

Rieju EM136

२६ माघ, काठमाडौं । एउटा यस्तो समय थियो, विद्युतीय सवारी भनेपछि मानिसहरु नाक खुम्चाउने गर्थे । विद्युतीय सवारीमा मानिसको खासै रुची पनि थिएन । यस्ता साधनलाई मानिस विश्वास पनि गर्दैनथे ।

तर, अहिले अवस्था ठिक उल्टो भएको छ । मान्छेको सर्वाधिक रोजाईमा विद्युतीय सवारी हुन थालेका छन्, उत्तिकै भरपर्दो पनि । भारतीय नाकाबन्दीका कारण बजारमा इन्धनको अभाव भएपछि विद्युतीय सवारीमा मानिसको आकर्षण बढेको हो ।

यतिबेला विद्युतीय गाडी र स्कुटरका शो-रुममा ग्राहकको भिड देखिन्छ । विद्युतीय गाडी र स्कुटर बिक्रेतालाई ग्राहकको माग पुर्‍याउनै धौ-धौ भइरहेको छ । यस्तै आकर्षण देखिएको छ, चिनियाँ ब्रान्डका विद्युतीय स्कुटरमा ।

करिव दुई महिना अगाडि नेपाल भित्रिएका चिनियाँ ब्रान्डका ‘यादी’ र ‘जोन वे’ स्कुटर २५ थानभन्दा बढी बिक्री भइसकेको छ । करिव २५ थान स्कुटर बुकिङ भएका छन् । बजारमा इन्धनको अभावसँगै विद्युतीय स्कुटरको माग हृवात्तै बढेको टुञ्चे ट्रान्स हिमालय ट्रेडिङ कन्सर्नका निर्देशक त्रिकलधर तुलाधरले बताए ।

नेपालमा ७ वर्षदेखि स्पेनिस ब्रान्डको रिजु डट बाइक बिक्री गर्दै आइरहेको हिमालय ट्रेडिङले चिनियाँ विद्युतीय स्कुटर भित्राएको हो । चिनियाँ विद्युतीय स्कुटर नेपाल भित्रिएको छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको छ ।

स्कुटरको माग बढेपछि थप ५० स्कुटर चीनबाट मगाएको कम्पनीका निर्देशक तुलाधरले बताए । अहिले जोन वे एमएसजी-बी, यादी आइएम-१३६ र यादी आइएम-१७६ गरी तीन मोडलका स्कुटर बजारमा उपलब्ध छन् । बिक्री पछिको सेवालाई ध्यानमा राख्दै स्कुटरको सर्भिसिङ र पार्टपुर्जामा कुनै अभाव हुन नदिएको कम्पनीको दाबी छ ।

एमएसजी-बी स्कुटर

MSG-B Scooter Final

यो स्कुटरमा तीन हजार वाटको ब्याट्रि रहेको छ, जसको क्षमता ४० एम्पियर रहेको छ । ब्याट्रि फुल चार्ज हुनका लागि ५/६ घण्टा लाग्छ । एक पटक फुल चार्ज भएपछि करिव ७५ किलोमिटर दौडिन सक्छ । यो स्कुटरको अधिकतम स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

१४५ किलो तौल भएको यो स्कुटरमा १३ इञ्चको टायर रहेको छ । हृवीलबेस १३२० मिलिमिटर रहेको छ । यसमा अगाडि तथा पछाडि डिस्क ब्रेक राखिएको छ । सिल्भर, ब्ल्याक, रेड, ब्लु र मिस्क कलरमा रहेको यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १३० मिलिमिटर रहेको छ ।

कम्पनीले एमएसजी-बी स्कुटरको मूल्य १ लाख ९० हजार रुपैयाँ तोकेको छ । ग्राहकले यो स्कुटर किन्दा १० हजार रुपैयाँ डिस्काउन्ट पाउनेछन् ।

आइएम-१७६ स्कुटर

Rieju EM176

आइएम-१७६ मोडल एक हजार वाट क्षमताको ब्याटि्र भएको स्कुटर हो । यसमा ब्याटि्र क्यापासिटी ७२ भोल्ट २० एम्पियर रहेको छ । यो बाइक फुल चार्ज हुनका लागि ६ देखि ८ घण्टासम्म लाग्छ ।

यसको अधिकतम स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटर फुल चार्ज भएपछि ५५ किलोमिटरसम्म दौडिन सक्छ । यो स्कुटरको तौल ११५ किलो रहेको छ । १५३० मिलिमिटर हृवीलबेस भएको स्कुटरमा अगाडि डिस्क ब्रेक रहेको छ भने पछाडि ड्रम ब्रेक रहेको छ ।

यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १३० मिलिमिटर रहेको छ । नेपाली बजारमा यो स्कुटर सिल्भर, ब्ल्याक, रेड र ब्लु गरी चार कलरमा उपलब्ध छ । कम्पनीले यो स्कुटरको मूल्य १ लाख २० हजार रुपैयाँ तोकेको छ ।

आइएम-१३६ स्कुटर

Rieju EM136

यो स्कुटरमा लिड एसिड ब्याट्रि रहेको छ । जसको क्यापासिटी ६० भोल्ट २० एम्पियर रहेको छ । यो हजार वाटको ब्याटि्र हो । जुन फुल चार्ज हुनका लागि ६ देखि ८ घण्टासम्म लाग्छ । यो स्कुटर एक पटक फुल चार्ज भएपछि ५० किलोमिटरसम्म दौडिन सक्छ ।

यो स्कुटर अधिकतम ४५ किलोमिटर प्रतिघण्टाको दरले कुदाउन सकिन्छ । ११५ किलो तौल भएको यो स्कुटरमा १५३० मिलिमिटरको हृवीलबेस रहेको छ । १३ इञ्चको टायर रहेको स्कुटरको ग्राउन्ड क्लियरेन्स १४० मिलिलिटर रहेको छ ।

यसमा पनि अगाडि डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग गरिएको छ । यो स्कुटर सिल्भर, ब्ल्याक, रेड र ब्लु कलरमा उपलब्ध छ । कम्पनीले यो स्कुटरको मूल्य पनि १ लाख २० हजार रुपैयाँ तोकेको छ ।

रिजु डट बाइक

Rieju Marathon 185 PRO Final

नेपालमा रिजु ब्रान्डको प्रवेश करिव ७ वर्ष अगाडि भएको थियो । युवालाई लक्षित गर्दै रिजु डट बाइक बिक्री गर्दै आएको हिमालय ट्रेडिङले बतायो । अहिले नेपालमा रिजु बाइक म्याराथुन प्रो-१८५ र ट्यांगो-२५० गरी दुई मोडलमा मात्र उपलब्ध छन् ।
यसअघि म्याराथुन रेगुलर मोडल पनि नेपालमा उपलब्ध थियो । अहिले यो बाइकको स्टक सकिएको कम्पनीले बतायो । म्याराथुन रेगुलर १८५ सीसी इञ्जिन क्षमता भएको बाइक हो ।

कम्पनीले रिजु बाइक सिधै स्पेनबाट आयात गर्दै आएको छ । कम्पनीका अनुसार अहिलेसम्म सय थानभन्दा बढी डट बाइक बिक्री भइसकेका छन् । रिजु डट बाइक खासगरी युवाको आकर्षण बनेको छ ।

बाइकमा इञ्जिन इटालिक यामाहाको प्रयोग गरिएको छ । बाइकमा ५० प्रतिशत इटालियन र ५० प्रतिशत स्पेनिस पार्टपुर्जाको प्रयो गरिएको कम्पनीका निर्देशक तुलाधरले बताए ।

यो बाइक अफरोड बाइक हो । हल्का तौल, उच्च पिकअप यसका विशेषता हुन् । यी बाइकमा ८ लिटरको ट्यांकी रहेको छ । जसले प्रतिलिटर ३५ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ ।

Rieju Tango-250 Final

नेपालमा म्याराथुन प्रोको मूल्य ५ लाख ८० हजार रुपैयाँ तोकिएको छ । ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने हुँदा ५ लाख ३० हजारमा यो बाइक खरिद गर्न सकिने छ । त्यस्तै, ट्यांगोको मूल्य ४ लाख ८० हजार रहेको छ । यसमा पनि ग्राहकले ५० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

दुबै बाइकको खरिदमा ग्राहकले दुई वर्षको अनलिमिटेड इञ्जिन वारेन्टी प्राप्त गर्नेछन् । यी बाइक जोमसोम लगायतका अफरोडमा दौडिनका लागि उत्तम मानिन्छ ।

अहिले काठमाडौंमा मात्र शो-रुम रहेकोमा विस्तारै पोखरा र धरानमा पनि शो-रुम विस्तार गर्ने कम्पनीका निर्देशक तुलाधरले बताए । रिजुले नेपालीहरुको विश्वास जित्न सफल हुँदै गइरहेका कारण आफुहरु उत्साहित भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment