Comments Add Comment

कोइरालाको हिरो बन्ने सपना राजा महेन्द्रले तुहाएका थिए

Sushil-Koirala

काठमाडौं । सुशील कोइरालाको सपना थियो, हलिउडको हिरो बन्ने । तर, तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेर नेपाली जनताको प्रजातन्त्रप्रतिको चाहना मात्रै तुहाइदिएनन्, कोइरालाको हिरो बन्ने सपना पनि राजनीतितर्फ मोडिदिए ।

रंगमञ्चप्रतिको रुचीकै कारण सुशील कोइरालाले बनारसमा नृत्य र फोटोग्राफीको प्रशिक्षणसमेत लिएका थिए । उनको चाहना थियो हलिउडको हिरो बन्ने ।

अमेरिका जान भिसासमेत लागिसकेको सुशीलको । तर, उनी अमेरिका उड्नु केही दिनअघि मात्रै ०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेपछि उनको कलायात्रामा पूर्णविराम लागेको निकटस्थहरु बताउँछन् ।

कांग्रेसको सामान्य सदस्य रहेका कोइराला त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागे ।

कलाकर्मीलाई प्रश्न गर्थे

सुशीलको सम्बन्ध नेपाली कलाकर्मीहरुसँग उति सारो घनिष्ट थिएन । तर, चलचित्रका विषेश प्रदर्शनीहरुमा उनी सहभागी हुन्थे र चलचित्र हेरिसकेपछि कलाकार र निर्देशकसँग खुलेर कुरा गर्थे ।

बीपी कोइरालाको उपन्यासमा आधारित चलचित्र तीनघुम्ती हेरेर नायिका गरिमा पन्तसँग केहीवेर भलाकुसारी गरेका थिए सुशीलले । ‘उहाँले चलचित्र हेरेर चलचित्र राम्रो लागेको प्रतिक्रिया दिँदै अझै राम्रो गर्न सुझाव दिनुभयो’ गरिमाले त्यसबेला भनेकी थिइन् ।

सुशील प्रधानमन्त्री भएका बेला चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न ब्यक्तिहरु आफ्ना मागपत्र लिएर उनलाई भेटन जाने गरेका थिए । कोइरालाले निकै चासोपूर्वक नेपाली फिल्मका बारेमा सोध्ने गरेका थिए ।

निर्देशक आकाश अधिकारी भन्छन् ‘उहाँले अहिले नेपाली फिल्मको स्थिति कस्तो छ, ब्यापार कस्तो छ र दर्शकले कस्तो फिल्म हेर्न चाहन्छन् भनेर प्रश्न गर्नुहुन्थ्यो ।’

कलाकर्मीसँगको जमघटका बेलामा कोइरालाले आफुले विगतमा हिरो बन्न चाहेको कुरा सुनाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment