Comments Add Comment

यु-१९ विश्वकपः नेपाल पाकिस्तानसँग पराजित

२६ माघ, काठमाडौं । बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर लिग प्लेअफ सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

Nepal-Vs-Pakistan-WC-U19पाकिस्तानले दिएको २५९ रनको लक्ष्य पछ्याएको नेपाल ४३.५ ओभरमा १३६ रनमै समेटिएपछि पाकिस्तानले १२२ रनको जित हात पारेको हो ।

पाकिस्तानी बलरहरुसामु नेपालको व्याटिङ प्रदर्शन निक्कै कमजोर बनेको थियो । नेपालका कुनैपनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् ।

ओपनर सुनिल धमला दोस्रो ओभरमा व्यक्तिगत ७ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको हो । अर्का ओपनर सन्दिप सुनार ५ र योगेन्द्रसिंह कार्की ४ रनमा आउट भए । कप्तान राजु रिजालले पनि १५ रनमात्र जोड्न सके । प्रेम तामाङले ६५ रन जोडे ।

नेपालका आठ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि व्याटिङतर्फ शतक प्रहार गरेका हसन मोसिनले वलिङतर्फपनि जादुयी प्रदर्शन गर्दै चार विकेट लिए ।

यसअघि फतुल्लाहस्थित खान साहेव ओस्मान अली रंगशालामा टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा ठुलो योगफल पछ्याउन बाध्य रहृयो ।

मध्यक्रमका ब्याटेसम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित ओभरमा पाकिस्तानले ८ विकेट गुमाएर २५८ रनको योगफल बनाएको हो । १५ ओभरभित्र ३ विकेट गुमाएको पाकिस्तानको चौथो विकेटका लागि सईव बादर र हसन मोसिनले १८९ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याए । हसनले ११७ र बादरले ८८ रनको उत्कृष्ट पारी खेले ।

नेपाली बलिङ आक्रमणको मेरुदण्ड मानिएको स्पिनरहरुले मध्यम ओभरमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यद्यपी कीर्तिमानी नेपाली स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिए । तीनै विकेट उनले इनिङको अन्तिम पाँच ओभरमा लिएका थिए । त्यस्तै सुशील कँडेलले पनि एक विकेट लिए । आरिफ शेख र दिपेन्द्र ऐरीको नाममा २/२ विकेट रहृयो ।

प्रेम तामाङको अर्धशतक

अन्य ब्याट्सम्यानहरु फ्लप हुँदा नेपालका पछिल्लो क्रमका ब्याट्सम्यान प्रेम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । उनले ६५ रन बनाए । ९१ बल खेलेर उनले ११ चौका र १ छक्का प्रहार गरे । नेपालले जम्मा स्कोर ६७ हुँदा नोवौं नम्बरमा ब्याटिङका लागि आएका प्रेमले सुशील कँडेलसंग मिलेर नावौं विकेटका लागि ४४ रनको साझेदारी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment