Comments Add Comment

शोकमा डुबेका शशांकमाथि लाग्यो अन्तरघातको आरोप !

Dr. Shashanka Koirala 1

२६ माघ, काठमाडौं । नेपाली कांग्रेस र कोइराला परिवारमा शोक परेकै दिन कोइराला परिवारका एक प्रभावशाली सदस्य डा.शशांक कोइरालामाथि कांग्रेसको संस्थापन पक्षबाटै अन्तरघातको आरोप लागेको छ । शशांकले कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलविरुद्ध शेरबहादुर देउवा पक्षलाई सघाएको आरोप लागेकाे हाे ।

सुशील कोइरालाको शव महाराजगञ्जबाट पार्टी केन्द्रीय कार्यालय सानेपा लैजाँदै गर्दा नवलपरासी जिल्लामा कांग्रेसको मतगणना सकिँदै थियो । मतगणना सकिँदा संस्थापन पक्षका जिल्ला सभापति उम्मेदवार महेन्द्रध्वज जिसी ६ मतले देउवा पक्षका बिष्णु लामिछानेसँग पराजित भएपछि सशांकमाथि संस्थापन पक्षबाटै अन्तरघातको आरोप लागेको हो ।

‘हाम्रा साथीहरुकै अन्तरघातका कारण पराजित भइयो, शशांक कोइराला र उहाँका मान्छेले देउवा पक्षलाई जिताउन खुलेआम खेल खेले,’ संस्थापन पक्षबाट पराजित उम्मेदवार जीसीले अनलाइनखबरसँग भने ।

मतदान हुँदा शशांक कोइराला नवलपरासीमा थिएनन् । तर, उनका पीए भरत तिवारी, उनको गाडी र पैसासमेत प्रयोग गरेर देउवा पक्षलाई जिताइएको आरोप पौडेल पक्षले लगाएको छ ।

अन्तरघातमा शशांकका साथै केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र शशांक पक्षधर जिल्ला नेताहरु मदनभक्त अधिकारी, गजेन्द्र आले, हरिराज गौतमलगायत सक्रिय भएको आरोप लागेको छ ।

लामिछानेलाई सभापतिमा जिताउन देउवा पक्षधर नेता देवेन्द्रराज कँडेलको महेशपुरस्थित घरमा शशांक पक्षले सहमति गरेको दाबी पौडेल पक्षको छ । ‘हामीले संस्थापन भनेर शशांक निकटकालाई महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनाइदियौं । तर, उनीहरु नै हामीलाई हराउनतिर लागे’ जीसीले भने ।

सुशील कोइरालाको अप्रत्याशित निधनपछि संस्थापन पक्षबाट सभापतिको स्वभाविक दावेदार मानिएका रामचन्द्र पौडेललाई कमजोर बनाउन शशांक कोइरालाले देउवा पक्षलाई सघाएको आरोप पौडेलनिकटहरुले लगाएका छन् ।

स्रोतका अनुसार सुशील कोइरालासँग सल्लाह गरेरै रामचन्द्रले ताप्लेजुङ, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा र अर्घाखाँचीमा आफू निकटलाई संस्थापनको कोटाबाट सभापति बनाउन चाहेका थिए । तर, सुशीलसँगको सम्झौता विपरस्त सशांकले ती ठाउँमा संस्थापनका उम्मेदवार हराउन देउवा पक्षलाई सघाएको आरोप पौडेल पक्षले लगाएको छ ।

संस्थापन पक्षमा सुशील कोइरालापछि कोइराला परिवारको उत्तराधिकारीकारुपमा अघि सारिएका शशांकमाथि पौडेल पक्षले अन्तरघातको आरोप लगाएपछि कांग्रेसमा नयाँखालको समीकरणको हलचल मच्चिएको छ ।

सुशीलको अनुपस्थितिपछि कांग्रेसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, रामशरण महत र सुजाता कोइरालाले सभापतिमा आकांक्षा राखिसकेका छन् ।

पौडेल पक्षबाट शशांकमाथि लगाइएको आरोपले कांग्रेस महाधिवेशनमा नयाँ समीकरणको संकेत देखिएको छ । सुशीलको निधनले शोकमा डुबेका शशांकसँग प्रतिक्रिया लिन खोज्दा उनी उपलब्ध भएनन् । सुशील पछिल्लो समय शशांकका घरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment