Comments Add Comment

साइकलको पछिल्लो सीटमा बसेर हिन्दी गीत गाउँथे सुशील

Krishna-pariyar-lai-sushil-

आरपी सुवेदी

२७ माघ, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियार एउटा कागजको चिर्कटो हातमा च्यापेर कोइरालानिवास परिसरमा सुँक्सुकाइरहेका थिए । उनले सो कागज सञ्चारकर्मीहरुलाई देखाए,जुन सुशील कोइरालाले आफ्नै हातले लेखेका रहेछन् ।

कागजमा लेखिएको छ,- ‘प्रिय कृष्णजी, तपाईंको मेहनत, खट्न सक्ने र गाउँलेबीच सम्झाउने कलाले नेकालाई विजयी तुल्याउन ठूलो सहयोग पुगेको छ । पार्टीले तपाईंको मूल्यांकन गर्नेछ भन्ने विश्वास दिलाउँछु । उही सुशील कोइराला ।’

कोइरालाले ०७०, कात्तिक १९ गते एउटा डायरीमा सो पत्र लेखेर परियारलाई दिएका थिए । स्नेहपूर्वक पार्टी सभापतिले लेखेको हस्तलिखित पत्रलाई परियारले बडो जतनसाथ राखेका छन् । जुन, सुशीलको निधनपछि उनले सबैलाई देखाए ।

४५ वर्ष पुरानो सम्वन्ध

पार्टीभित्र आफ्नो गुटबन्दीको चर्को अभ्यास भइरहँदा सुशीलको अनुपस्थितिमा परियारले आफूलाई टुहुरो महसुस गरेका छन् । नगरुन् पनि किन ? सुशीलसित परियारको निकटता आजको नभएर ४५ वर्ष पुरानो हो । अब पार्टीको नेतृत्व देउवा पक्षको हातमा गयो भने आफूलाई कसले संरक्षण गर्ला भन्ने चिन्तामा देखिन्छन् उनी ।

‘उहाँ हिन्दी गीत गाउनुहुन्थ्यो ।भारतीय हिरो देवानन्दका फ्यान उहाँ ‘म देवानन्दजस्तो देखिन्छु त ? भनेर मलाई सोध्नुहुन्थ्यो’- कृष्ण परियार

वीपी कोइरालाले बनारसबाट नेपालमा सशस्त्र क्रान्ति गर्ने उद्घोष गरेपछि परियार एकजना साथी लिएर बनारस पुगे । त्यहीँ उनको भेटघाट भयो वीपी, गिरिजा र सुशील कोइरालासित । आफूले सशस्त्र क्रान्तिमा संलग्न हुने इच्छा दर्शाएपछि वीपीले नेपाल लैजानका लागि दुईवटा बम हातमै थमाइदिएको दिएको बताउँछन् परियार ।

‘यी दुईवटा बम नेपालमा लैजानू,’ वीपीले उनलाई भनेका थिए, ‘पहाडबाट हाम्रा मान्छे लिन आउछन्, दिनू ।’ आफूले त्यसै गरेको परियारले बताए । ती बम कहाँ पड्काइयो भन्ने उनलाई थाहा छैन ।

पहिलो भेटमै तीन कोइरालाहरुले आफूप्रति यति ठूलो विश्वास राखेको देखेर परियार भावुक बने । त्यसपछि उनको बनारस आउजाउ बाक्लियो । यसक्रममा उनी सबैभन्दा निकट बने सुशील कोइरालासित ।
सुशीलसित उनको खुबै कुरा मिल्थ्यो । परियारले वनारसमा पुगेर पार्टीले निकालेका पर्चा, पम्प्लेट ओसारेर देशभित्र रातभर छर्ने काम गर्थे । आउजाउ गर्दा बाटो खर्च उनलाई सुशीलले नै दिन्थे ।

भूईं पुछ्थे सुशील, जुत्ता पालिस गर्थे गिरिजा

पञ्चायतकालमा परियारले पनि लामो समय बनारसमा बिताए । गिरिजा र सुशीलसँग एउटै घरमा आफू बस्ने गरेको बताउँछन् उनी ।

‘एउटा घर भाडामा लिए हामी बस्थ्यौं । घरेलु कामकाज गर्न हामीले जिम्मेवारी बाँडफाँड गरेका थियौं । झाडुपोछाको काम सुशीलले गर्नुहुन्थ्यो, म भाँडा माझ्थेँ । गिरिजाले जुत्ता पालिस गर्ने र पाइन्टमा इस्त्री गर्ने काम गर्नुहुन्थ्यो’ उनले सुनाए ।

साइकलमा गीत गाउँदै डुल्थे सुशील

सुशीलको मृत्युका बेला परियारले ती दिन झल्झली सम्झिरहेका छन्, जब उनी साइकलपछाडि क्यारियरमा सुशीललाई लिएर नेपालगञ्जका गाउँ-गाउँ डुलाउँथे । साइकलमा डुल्दा उनीहरु भाका हालिहाली गीत गाउँथे ।

‘उहाँ हिन्दी गीत गाउनुहुन्थ्यो । देवानन्दको फिल्ममा रहेको ‘मै जिन्दगीका साथ निभाता चला गया’ भन्ने गीत अक्सर गाइरहनुहुन्थ्यो,’ परियारले सुनाए ।

फिल्ममा गहिरो अभिरुचि भएका सुशील भारतीय हिरो देवानन्दका फ्यान थिए । परियार भन्छन्, ‘म देवानन्दजस्तो देखिन्छु त ? भनेर मलाई सोध्नुहुन्थ्यो ।’ हलिउड फिल्म खेल्ने इच्छा भएका कोइराला उमेरमा निकै ह्याण्डसम थिए ।

कोइरालाका ती शब्द !

दोस्रो संविधानसभा चुनावमा कोइरालालाई जिताउन खुबै भिडे परियार । चुनावी अभियानका क्रममा परियारले आफ्नो क्षेत्रमा ठूलो सभा आयोजना गरेका थिए । त्यो देखेर कोइराला निकै प्रफुल्लित बने । उक्त चुनावमा परियारले टिकट पाएका थिएनन् । सायद त्यसैले कोइरालाले उनलाई लिखित आश्वासन दिएका हुन् ।

‘सभाकै बीचमा उहाँले डायरी माग्नुभयो र ती अक्षरहरु लेख्नुभयो,’ परियार भन्छन्, ‘उहाँका ती शब्दहरु आज मेरा लागि अमूल्य सम्पत्ति भएका छन् । उहाँ भौतिकरुपमा जिवित नरहे पनि मेरा लागि यी शब्दहरुमा जिवित हुनुहुन्छ ।’

कोइरालासँगै बसेर भाइटीका

कोइरालासित पारिवारिक रुपमा पनि निकट रहे परियार । जातीय भावनाले ग्रस्त समाजमा कोइराला परिवार एक सकारात्मक उदाहरण नै थियो । आफूले कोइरालाका दाजुभाइसित बसेर उहाँकै दिदीको हातबाट भाइटीका लगाउने गरेको उनले सुनाए ।

अत्यन्त निकट भएर पनि आफूहरुबीच व्यक्तिगत र पारिवारिक कुराकानी कमै हुने गरेको परियार सम्झन्छन् । कोइराला प्रायः पार्टीकै कुरा गर्न रुचाउने उनको भनाइ छ ।

‘उहाँ सँधै डेमोक्रेसी डेमोक्रेसी भन्नुहुन्थ्यो, त्यतिबेला प्रजातन्त्र ल्याउने बाहेक अरु कुरा उहाँको दिमागमै थिएन,’ परियारले भने ।

परियारका अनुसार विवाहका विषयमा कोइराला पहिल्यैदेखि अनिच्छुक थिए । विवाह कहिले गर्ने भनेर सोध्दा उनी भन्ने गर्थे- ‘पार्टीसित बिहे गरिसकेँ त ।’

सम्पत्ति जोड्नमा पनि कोइरालाको कहिल्यै ध्यान गएन । परियारका अनुसार कोइरालाको डेढ-दुई विघा जमीन विराटनगरमा थियो । वीपी कोइरालालाई अष्ट्रेलियामा आयोजित समाजवादीहरुको एउटा सम्मेलनमा भाग लिन जाने क्रममा पैसा अभाव भएपछि उनले सो जग्गा बेचिदिएका थिए ।

‘आफ्नो जग्गा बेचेर आएको पैसा वीपी कोइरालालाई अष्ट्रेलिया भ्रमणका लागि दिनुभो,’ परियारले भने, ‘उहाँ चारतारे झण्डालाई नै आफ्नो सम्पत्ति ठान्नुहुन्थ्यो ।’

उत्तराधिकारी कोही छैन

कोइरालाको निधनपछि परियारले आफ्नो अभिभावकत्व गुमेको महसुस गरेका छन् ।

कोइरालाको उत्तराधिकारी को हुन सक्ला भन्ने प्रश्नमा परियार भन्छन्, ‘उहाँले कहिल्यै पनि आफ्नो उत्तराधिकारी यो हो भनेर घोषणा गर्नुभएन । न उहाँको आफ्नो सन्तान कोही छ । त्यसैले जसले राम्रो काम गर्छ, त्यही हो उहाँको उत्तराधिकारी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment