Comments Add Comment

चितवन औद्योगिक प्रदर्शनीमा दर्शकको संख्या बढ्दो

Chitwan-Mela

२७ माघ, चितवन । चितवनमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीको तेस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता छ । भरतपुरको औद्योगिक प्रदर्शनी मैदानमा जारी प्रदर्शनीमा बुधबार सार्वजनिक विदा परेकाले पनि दर्शकको घुइँचो लागेको थियो ।

पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको निधनको शोकमा बुधबार साँस्कृतिक कार्यक्रमहरु नभए पनि दर्शकहरुले औद्योगिक परिसरहरुको अवलोकन गरी फाइदा लिएको प्रचार-प्रसार समिति संयोजक मदन घिमिरेले बताए ।

दर्शकहरु विभिन्न खानाका परिकारहरुको स्टलहरुमा झुम्मिएका थिए । यस्तै बाल उद्यानमा पनि बालबालिकाहरुको भीडभाड थियो ।

बिहीबार डान्सिङ स्टारको पहिलो प्रतिस्पर्धा

कला तथा साँस्कृतिक समिति संयोजक लक्ष्मण अर्यालका अनुसार विहीबारदेखि साँस्कृतिक कार्यक्रमहरु हुनेछन् । साँस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित गायकद्वय सत्य र स्वरुपराज आचार्य, एक खुट्टाले नृत्य गर्ने निलम ढुंगाना र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहने छ ।

बिहीबार नै राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार-२०७२ को पहिलो प्रतिस्पर्धा सुरु हुनेछ । होटेल स्टार व्याङ्क्वेट भरतपुरमा भएको प्रारम्भिक चरणबाट छनौट भएका १४ जना प्रतिस्पर्धीहरुको पहिलो दिन प्रस्तुति रहने कला तथा साँस्कृतिक समितिका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।

सो प्रतिस्पर्धाबाट ८ जना दोस्रो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा उच्च मावि र कलेजका विद्यार्थीहरुले एकल प्रस्तुतीको रुपमा सहभागिता जनाएका छन् ।

डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठले बताए । डान्सिङ स्टारको निर्णायकको रुपमा मनोज लामा र रेणु तामाङ रहेका छन् ।

धुलो धुवाँरहित २ सय स्टल

यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुबैलाई सहज भएको छ । प्रदर्शनीमा विभिन्न प्रकारका करिव २०० स्टलहरु छन् ।

प्रदर्शनीमा विशेषगरी उत्पादनमुलक, निर्माण, कृषि, प्रविधिका स्टलहरु छन् । प्रदर्शनी अवलोकन गर्नका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीहरुका लागि ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment