Comments Add Comment

सुशीलको सेखपछि कांग्रेस संस्थापनको नेता को ?

Ramchandra,-Krishna-sitaula-and-Sujata

२७ माघ, काठमाडौं । सोमबार साँझ पूर्वप्रधानमन्त्री एवं दिवंगत सभापति सुशील कोइरालाको अन्त्येष्टि  गरेर पशुपति आर्यघाटबाट फर्किएलगत्तै कांग्रेस नेताहरुवीच आगामी महाधिवेशनमा सभापति पद कसले हत्याउने भन्ने रस्साकसी सुरु हुने पक्कापक्की छ ।

कांग्रेसको नेतृत्व कोइराला परिवारका हातबाट अन्यत्र सरेको चर्चा सुरु भइसकेको छ । बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये एकले कांग्रेसको भावी सभापति पद हात पार्ने विश्लेषण भइरहेको छ । तर, देउवालार्इ हराएर पार्टीको सभापति बन्नु अघि संस्थापन पक्षको नेता बन्न उपसभापति पौडेलले कोइराला परिवार लगायतको साथ पाउन जरुरी छ ।

आर्यघाट नपुग्दै महाधिवेशनको बहस

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सुशील कोइरालाको पार्थिव शरीर राखिएको थियो । कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरु लामवद्ध भएर अन्तिम श्रद्धाञ्जली दिइरहेका थिए । नजिकै दुईवटा पाल टाँगिएका थिए, जसमा कांग्रेस नेताहरु र कोइराला परिवारका सदस्य आसीन थिए । सुशीलप्रति श्रद्धान्जली दिन विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता काठमाडौं आए ।

रंगशालामा पुगेर कोइरालाप्रति श्रद्धान्जली दिएपछि उनीहरुले नेतालाई भेटे र कुराकानी गरे । सबैको कुराकानी सुशील कोइरालका विषयमा होइन, महाधिवेशनमै केन्दि्रत थियो । परिचय दिँदा नै धेरैले म फलानो जिल्लाबाट आएकोसँगै महाधिवेशन प्रतिनिधि भन्न छुटाएनन् ।

नहोस् पनि किन ? नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिसकेको छ । जिल्ला अधिवेशन भइरहेका बेला सभापति कोइरालाको असामयीक निधन भयो र उनको निधनपछि पनि संवैधानिक बाध्यता रहेको भन्दै कांग्रेसले महाधिवेशन नरोक्ने निर्णय गरिसकेको छ ।

सुशील कोइराला जीवित भएको भए, शायद उनी आफैं संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्ने थिए । यद्यपि उनले औपचारिक घोषणा गरेका थिएनन् । संस्थापन गुटबाट उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरुले पनि सभापतिमा दाबी गरिरहेका छन् । अर्को पक्षबाट वरिष्ठ नेता शेरबहादुर देउवा निर्विकल्प उम्मेदवारका रुपमा प्रस्तुत भइसकेका छन् ।

कोइराला महाधिवेशन नगरी बिते । यसले कांग्रेस नेतृृत्वमा कोइराला परिवारको ‘लिगेसी’ त टुट्यो नै, यसले कांग्रेसको संस्थापन पक्षसामू ठूलो चुनौती पेश गरेको छ, जसमा अवसर पनि छ ।

अर्को घटनाः कुर्सी प्रकरण !

रंगशालामै कांग्रेसका एक नेताले एक घटना सुनाए, जसले कांग्रेस संस्थापन पक्षको नेता को हुने हो भन्ने प्रश्न उठाएको छ ।

कोइरालाको निधनपछि मंगलबार बिहान ११ बजे उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको थियो । बिहान ८ बजे नै कोइरालाको शव पार्टी कार्यालय बाहिर राखिएको थियो । नेताहरु अन्तिम संस्कार लगायतका प्रक्रियाबारे छलफल गर्न बैठकमा जुटेका थिए ।

बैठकको अध्यक्षता उपसभापति रामचन्द्र पौडलले गरे, जुन विधानले दिएको अधिकार र स्वभाविक पनि थियो । तर, बैठकमा पौडेलले अनौठो हर्कत देखाए । एक नेताका अनुसार उनी पार्टी सभापति सुशील कोइरालाको कुर्सीमा बसे ।
बैठकको तस्वीर लिन पुगेका एक फोटो पत्रकारलाई त्यो अस्वाभाविक लाग्यो र कांग्रेसको विद्यार्थी राजनीतिबाट आएका उनले प्रश्न गरिहाले । कम्तिमा आज त त्यो कुर्सी खाली राख्नुपर्ने होइन र ? तर, पौडेलले हुन्न भन्ने भावसहित मुन्टो हल्लाए र कुर्सी छाड्न मानेनन् ।

प्रश्नकर्ता फोटो पत्रकारलाई त केन्द्रीय सदस्यहरुले बाहिर पठाए । तर, यो प्रश्न धेरैको मनमा उठ्यो । बाहिर सभापतिको पार्थीव शरीर राखिएको छ, कम्तिमा यो शोकको अवधिभर त त्यो कुर्सी खाली राख्न पाएको भए ?
एक नेताले भने-‘पौडेल बाजेले पदको यो हदसम्मको आशक्ति नदेखाएको भए हुन्थ्यो । आखिर जहाँ बसे पनि कार्यवाहक उनै हुन् ।’

यो घटनाले रामचन्द्र पौडेल अब संस्थापनको नेता बन्ने प्रयासमा छन् भन्ने प्रष्ट बुझिन्छ । संस्थापन गुटमा रहेका नेताहरुमध्ये बरिष्ठ भएकाले उनको दावी स्वभाविक पनि होला ।

तर, पौडेलको नाम स्वीकार्य हुन्छ कि हुन्न, ठूलो प्रश्न हो । पौडेल संस्थापन पक्षका नेताहरु मध्ये एक हुन्, सुशीलपछिका दोस्रो होइनन् । संस्थापन गुटमा पौडेलको स्वीकार्यता देखिँदैन, किनकि उनी उनलाई संस्थापन पक्षको असन्तुष्ट गुटका नेता मात्र मानिन्छ ।

सिटौलादेखि सुजातासम्म

कांग्रेसको संस्थापन पक्षमा महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुन नरसिंह केसीको आ-आफ्नो गुट छ । भलै कसैको केही ठूलो र कसैको केही सानो होला । तर, पौडेलको त्यो स्तरको गुट पनि छैन । पछिल्लो समय मात्र उनी गुट बनाउने प्रयासका छन् ।

कांग्रेस सम्वद्ध स्रोतहरुका अनुसार संस्थापन पक्षका नेता कृष्ण सिटौला पौडेललाई स्वीकार गर्ने पक्षमा छैनन् । कोइरालाको निधन पूर्व नै उनी सभापति लड्छु भन्दै हिँडेका थिए । तर, उनले भित्रभित्रै उपसभापतिमा आफ्नो स्थान सुरक्षित गर्ने बार्गेनिङ गरिरहेका थिए र पौडेललाई कुनै हालतमा सभापतिको उम्मेदवार बनाउनु हुन्न भन्ने अडान राखेका थिए ।

सिटौलाको अडानमा कुनै नाटकीय परिर्वतन आएन भने उनले पौडेललाई स्वीकार गर्ने सम्भावना न्यून छ । कोइराला परिवारका तीन नेता सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला केन्द्रमा छन् । उनीहरु मध्ये कुनै पनि नेता तत्काल पार्टीर्को नेतृत्वमा पुग्ने सम्भावना छैन । यद्यपि कोइराला जीवित रहँदा नै सुजाता सभापतिमा लड्ने भनेकी थिइन् ।

उसाे त कांग्रेसको नेतृत्व कोइरालाका हातबाट ‘गैर-कोइराला’का हातमा जानु नै नेपाली कांग्रेसको सफलता पनि होइन ।

पौडेलको चुनौती

तुलनात्मक रुपमा देउवासँग प्रतिस्पर्धा गर्ने हाइटका नेता रामचन्द्र पौडेल नै हुन् । तर, कोइराला परिवारमा पनि पौडेलको स्वीकार्यता त्यति देखिँदैन । त्यसमाथि संस्थापन पक्षको हरेक जिल्लामा गुटहरु छन् । गिरिजाप्रसाद कोइरालाले त्यस्ता गुटहरु बनाउने र उचित व्यवस्थापन गर्ने गरेका थिए । जुन सुशील व्यवस्थापन गर्न सकेनन् ।
अब कोइरालाको निधनपछि संस्थापनभित्रको गुट व्यवस्थापन झन चुनौतीपूर्ण बनेको छ ।

‘अहिले आएको रिपोर्टहरु हेर्दा कास्कीसहित दुई जिल्लाको सभापति मात्र पौडेल, केही अर्को नेताको भनिएको छ । र, बाँकी संस्थापनको भनिएको छ’ एक नेता भन्छन्- अब सुशील कोइरालाको निधनपछि त्यो संस्थापनको नेता को त ?’ त्यसैले महाधिवेशनको पूर्वसंख्यामा कोइरालाको निधनले कांग्रेसको संस्थापन पक्ष निकै संकटमा परेको छ र यो महाधिवेशनमा छिन्न भिन्न हुने खतरा समेत देखिएको छ ।

कोइराला परिवारको सम्भावना

संस्थापन पक्षसँग यो ठूलो चुनौतीसँग कालो बादलमा चाँदीको घेरा भनेजस्तै सानो सम्भावना पनि छ । त्यो हो कोइरालाको निधनको शोकलाई शक्तिमा बदल्ने ।

र, त्यो हो, पार्टीमा सहमतिकै आधारमा नेतृत्व चयन गर्न सक्यो भने एक भएर पनि जोडिन नसकेको (संस्थापन र देउवा पक्ष) लाई सदाका लागि अन्त्य गरेर पार्टी एक बनाउने । यसमा या त संस्थापनले वा देउवा पक्षले त्यो त्याग देखाउन सक्नुपर्छ । तर, यो सम्भावना ज्यादै न्यून छ ।

अर्को विकल्प भनेको संस्थापन पक्षलाई एक ढिक्का राख्ने र कुनै एक व्यक्तिलाई उम्मेदवार बनाउने हो । एक नेता भन्छन्, यसका लागि एक/दुई नेताले चाहेर मात्र हुँदैन, ठूलै शक्ति चाहिन्छ ।’ र, यो सम्भावना पनि न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment