Comments Add Comment

आफैँ रुँदैछन् प्रचण्ड र बाबुरामलाई रुवाउने गायक

दिल निसानी मगर

जनयुद्धकालमा एउटा सांस्कृतिक कार्यक्रममा प्रचण्ड, बाबुराम र अन्य केही नेताहरु गीत सुनेर रोइरहेको प्रसंग निकै चर्चित बन्यो । नेताहरूले खल्तीबाट रुमाल झिकेर भावुक हुँदै आँसु पुछिरहेको देखिने भिडियोसमेत बाहिर आयो ।

Chunbang-Meeting-ko-Opera

  • चुनबाङ बैठकपछिको अपेरा हेरेर रोइरहेका एमाओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरु

लगातारको टुटफुटले तहस-नहस भएका माओवादी समूहहरूलाई त्यो गीति भिडियोको संस्मरण यतिबेला निकै बेस्वादिलो लाग्न सक्छ । नमीठो लागे पनि भक्कानिँदै आँसु पुछिरहेका प्रचण्ड, बाबुरामको त्यो मुहार कार्यकर्ताले अझै बिर्सेका छैनन् । तर, नेताहरुलाई रुवाउने गीत गाउने मध्येका दुब्ला, पातला एक युवक अहिले आफैं रोइरहेका छन् । कतिपयलाई त लागेको होला, यी कलाकार सहिद भइसके ।

वि.सं. ०६२ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिको ऐतिहासिक चुनवाङ बैठक समापनपछि एउटा गीत (अपेरा) गाइएको थियो, जुन गीत सुनेर प्रचण्ड, बाबुराम लगायतका नेताहरु रोएका थिए । उक्त चर्चित गीत गाउने गायक हुन्- कर्ण परियार ‘विद्रोही’ ।

मल्म-६, बाग्लुङमा जन्मेका परियार ०५२ सालमा जनयुद्धको घोषणा भएपछि गाउँगाउँमा जनवादी गीत गाउँदै युद्धमा होमिएका थिए । उनले प्रचण्डपथको गीत गाएर एकबारको जुनी फटाएका छन् । उनले पार्टीकरण गरेका मुन्द्री-बुलाकी फिर्ता मागेका छैनन् ।

गत हप्ता मंगलबार साँझ कर्णसँग भेट गर्ने अवसर यो पंक्तिकारलाई मिल्यो । भाडाको एउटा साँगुरो कोठामा केही किताबहरू, पानी पिउने पुरानो लोहटा, एक थान फिलिप्स रेडियो, तार चुँडिएको गीतार र पार्टीको सांस्कृतिक फाँटले प्रदान गरेका प्रशंसापत्रबाहेक उनीसँग देखाउने सम्पत्ति केही थिएन । डसना र सिरकहरू पनि पूरै फाटेका थिए । उनले लगाएको ज्याकेटका दुबै बाहुला च्यातिएका थिए ।

भौतिक सुविधालाई विचार र चेतनाले जितेका कर्णको मुहार र मुटु भने अझै पनि जब्बर थियो । संवाद गर्दै जाँदा रुस, चीन र जर्मनको उदाहरण दिन भुल्दैनथे । लेनिनले यसो भन्नुहुन्थ्यो, माक्र्सले यसो गर्नुभयो, तर नेपालमा भने ठीक उल्टो भयो भनिरहन्थे ।

उनको मुहारमा देखिएको चमक अनि आँखाको टिलपिल-टिलपिल आँसुले थुप्रै सफलता प्राप्त गरेर पनि गुमाएजस्तो झल्को दिन्थ्यो । फुटबल जितेर पनि १ नम्बर नपुगेर हारेको खेलाडीको मुहार र उनको मुहार उस्तै देखिन्थ्यो ।

नेताहरूलाई भगवान ठान्नु गल्ती

Karna-Pariyar,-Bidrohi-1

आफूले गाएको गीत सुनेर प्रचण्ड, बाबुराम रोएको देखेपछि कर्णले आफ्नो आवाजलाई जनयुद्धको ठूलो शक्तिको रुप ठानेछन् । त्यो भावविह्वल अवस्थालाई स्मरण गर्दै उनी अहिले भन्छन्, ‘प्रचण्ड, बाबुरामजी रुँदा यस्तो लागेको थियो कि म त विपनामा होइन, सपनामा गीत गाउँदैछु । कति मान्छेले प्रचण्ड भन्ने मान्छे नै छैन भनेका थिए । तर, मान्छे हुनुहुँदोरहेछ, उहाँ भावुक भएर रुनुभयो ।’

उँचो गरी बोलिरहेको शीर झुकाउँदै उनले मधुर स्वरमा भने, ‘उहाँहरूलाई हामीले मान्छे मात्र ठानेको भए यो दयनीय अवस्था आउँदैनथ्यो होला । तर, हामीले देवता ठान्यौँ, गम्भीर भुल यहीँनेर भएको छ ।’

चुनवाङ बैठकसम्म आइपुग्दा कार्यकर्ता तहमै तँ बाबुराम पक्षको, म प्रचण्ड पक्षको र तँ किरण पक्षको भनेर गम्भीर फुटवादी क्रियाकलाप देखिएको उनको अनुभव छ । यस्तो आत्मघाती अवस्थालाई मत्थर पार्न आफूले गाएको ओपेराले महत्त्वपूर्ण भूमिका खेलेको सम्झँदै उनी भन्छन्, ‘चुनवाङको त्यो कार्यक्रमपछि सबैलाई ठूलो ऊर्जा पैदा भयो, जनसेना झन् जोसिन थाले । लडाइँमा जानुभन्दा अगाडि र लडाइँ सकेर फर्कँदा यो गीतले माहोल बनायो, टुटेफुटेका मनोबल एक्कासी मजबुत बन्दै गए ।’

त्यतिखेर कर्ण परियार भर्खर गण्डक अभियानबाट र्फकंदै थिए । उता, चुनवाङमा बैठकको तयारी थियो । लडाइँ केन्द्रीकृत बनाउन ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियान जारी थियो । गाउँ जितियो, अब सहर कब्जाको रणनीतिमा पार्टी लागेको छ भन्ने कुरा उनले अक्कल काटेका थिए ।

त्यतिखेर उनी चुनवाङमा प्रतिरोध सांस्कृतिक परिवारको क्षेत्रीय सदस्यको हैसियतमा पुगेका थिए । त्यहाँ पुगेपछि उनलाई शीर्ष नेताको अगाडि गीत गाउने महत्त्वपूर्ण जिम्मेवारी आयो ।

यसरी लेखियो बहुचर्चित गीत

जिम्मेवारी आएलगत्तै आफूले लेखेका गीतहरूको छनोट गर्न थाले । उनले रोल्पाको खोलावाङ गाउँमा बसेर ‘टुटफुट र खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर’ भन्ने बोलको बहुचर्चित गीत लेखेका थिए ।

गीत कल्पना गर्नुका पछाडि धेरै कारण भएको संस्मरण गर्दै उनी भन्छन्, ‘बाबुरामजीलाई आफैँले निर्माण गरेको जनसेनाले घेरा हालेर राखेको अवस्था, आम कार्यकर्तामा आरोप-प्रत्यारोपको प्रतिस्पर्धा । पार्टी फुट्नु भनेको त जनताको महान सपना फुट्नु थियो । यही महान सपनालाई जोगाउनका लागि मैले यो गीत लेखेको थिएँ ।’

Karna-Pariyar,-Bidrohi

प्रचण्ड, बाबुरामको आँसु झारिदिने गीत गाउँदाको त्यो ऐतिहासिक क्षणलाई सम्झँदा कर्णका आँखामा भरिएका आँसुले किनारा खोज्न थाले । गीत गाउन साथ दिने अन्य साथीको समेत सम्झना गर्न थाले । ‘खै अरु साथीहरू कहाँ छन्, थाहा छैन, विद्रोह गर्ने भन्ने बेलासम्म त कहिलेकाहीँ भेटघाट हुन्थ्यो, आजभोलि त सम्पर्कै टुट्यो,’ ओठमा खिस्स मुस्कान छाड्दै उनी थप्छन्, ‘उहाँहरूलाई पनि टुटफुटले समात्यो होला । होइन भने, उत्पादन बि्रगेडतिर जोडिनुभयो होला । खसी, कुखुरा, बोका, बँगुरपालन, त्यही त हो ।’

उक्त ऐतिहासिक अपेरा गीतलाई धेरै मानिसले जानाजान खुसीराम पाख्रिनले लेखेको, संगीत भरेको भनेर गलत प्रचार गरेकोमा कर्ण निराश छन् ।

र, यस्तो गलत प्रचार गर्नेमा आफ्नै साथहरू लागेको उनको आरोप छ । उनी भन्छन्, ‘हो, खुसीराम दाइ लगायत मोहलाल चन्द, महित श्रेष्ठजीहरूले यो गीतलाई सुन्दर बनाउन सहयोग गर्नुभएको हो, यद्यपि सिर्जना त मेरो हो ।’

तत्कालीन परिस्थितिमा आफ्नो गीतले पार्टीलाई एक ढिक्का बनाएर थप फौजी हमलाका लागि टेवा पुर्‍याएको उनको दाबी छ ।

घरभाडा तिर्नै धौ-धौ

जनयुद्धका लागि कर्णले ०५२ सालमै आफ्नो घर छाडे । भएको जायजेथा र सम्पत्ति पार्टीकरण गरे । युद्धमा जानुअघि र फर्केपछि जनसेनालाई उत्साहित पार्ने गीत गाएर उनले जंगलमा दशक बिताए । उनी भन्छन्, ‘सानोमा सँगै पढेका साथीहरूले पेन्सन पकाइसके, विदेश गएकाले पनि आफ्नो बन्दोबस्त गरिसके । तर, म भने घरभाडा तिर्न नसकेको महिना कोठाबाट निकालिन सक्छु । मेरो सडकबाहेक जाने ठाउँ कतै छैन । यस्तो विकराल अवस्थाको कल्पना मलाई कहिल्यै भएन ।’

शान्ति प्रक्रियापछि पार्टीमा प्रवेश गरेका मानिसबाट जनयुद्धको गाथा सुन्नुपर्दा उनलाई असैह्य पीडा हुन्छ ।

‘आदर्शको हिसाबले हामी गुमाउनका लागि हिँडेका थियौँ । त्यसैले व्यक्तिगत फाइदाका लागि बहुमूल्य चिज प्राप्त होलान् भन्ने आशै थिएन ।

Dil-Nisani-Magar

दिल निसानी मगर

सांस्कृतिक र राजनीतिक रूपमा हामी बलियो हुँदाहुँदै पनि गलत तत्वले चोर बाटोबाट नेतृत्वलाई फसाउँदा हामी घर न घाटको अवस्थामा पुग्यौं,’ उनले निराश हुँदै भने ।

‘म पेटको रोगी छु । औषधि खाने एक रुपैयाँ कतैबाट आउने ठाउँ छैन । जनवादी बिहे गरेपछि दुई सन्तान भए । उनीहरूलाईर् शिक्षादीक्षा दिने पैसा मसँग छैन । साँझ-बिहान चुलो बाल्दा डर लाग्छ,’ उनको आँखामा आँसुको देखियो ।

शान्ति प्रक्रिया सुरु भएपछि जीवन झन् अप्ठेरो भएको उनले महसुस गरेका छन् । उनी भन्छन्, ‘सत्तालाई सहरबाट गाउँमा ल्याउने कुरा थियो । ८० प्रतिशत भूगोल हाम्रै भएको थियो । तर, अहिले त्यो सत्ता र भूगोल कहाँ छ, मलाई थाहा छैन ।’

प्रचण्डबाट दुई-दुईपटक समानुपातिक सभासदको प्रस्ताव आए पनि शपथग्रहणका लागि उनी सफल हुन सकेनन् । कर्ण भन्छन्, ‘मैले सुरुदेखि नै पार्टीमा समानताको कुरा गर्दै आएको हुँ । तर, यो निरपेक्ष हुँदैन भनेर टार्ने काम भयो । सांस्कृतिक रूपमै विचलन आयो र अवसरवादको बाटो हुँदै प्रतिगमन हाबी भयो ।’

खाना पकाउँदा डर लाग्छ

पार्टी फुट्नुमा प्रचण्डको भन्दा अवसरवादको दोष धेरै भएको उनको संश्लेषण छ । प्रचण्डका विश्वासपात्रको भूमिकालाई पनि उनले शंका गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र खासगरी माओवादीलाई ध्वस्त पार्नका लागि परिचालित शक्तिको पहिचान गर्न नसक्नुलाई कर्णले प्रतिक्रान्तिको रूपमा बुझेका छन् ।

‘टुटफुट र खण्डित कुरा नगर, एकताको कुरा गर भनेर गीत गाउने मान्छे अहिले खुद वैद्य माओवादीको मान्छे भनेर परिचय दिनुपरेको छ,’ फुटवादी गतिविधिलाई खिसी गर्दै उनी खिस्स हाँसे ।

‘जनयुद्धमा नलागेर जागिर खानतिर लागेको भए म पनि साँझ-बिहान खाना पकाउँदा डराउनुपर्ने अवस्था हुँदैनथ्यो होला । तर, प्रचण्डपथमा लागियो । जनता र आन्दोलनको गीत गाउने मान्छे म, यहाँ अभावबीच तड्पिनुपरेको छ र हरेक सेकेन्ड डराउनुपरेको छ ।

कहिलेकाहीँ नेतालाई समस्या सुनायो, उत्पादन कार्यमा लाग भन्छन् । तर, के हो यो उत्पादन कार्य ? थाहा छैन । म अहिले ३५ वर्षको भएँ, शारीरिक रूपमा थकित छु । मलाई उत्पादन होइन, आराम चाहिन्छ ।’

यति भनेपछि कर्ण ‘औषधि खाएर केहीबेर आराम गर्छु,’ भन्दै उठे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment