Comments Add Comment

कोइरालाको सहज मृत्युले छाडेका असहज प्रश्न

चिरञ्जीवी पौडेल
कांग्रेस सभापति सुशील कोइरालाको मृत्यू सहज हो कि असहज ? सायद कोइराला स्वयमका लागि सहज, अरुका लागि असहज ।

Sushil Koirala Bidai (15)

कोइरालाले मृत्यूपूर्व लामो कष्ट व्यहोर्नु परेन । यसलाई संभवतः ‘आदर्श मृत्यू’ मान्न सकिन्छ । मर्नु त एक दिन छ नै । त्यसैले मृत्यूअघि कमभन्दा कम दुःख पाइयोस् र धेरै छटपटिनु नपरोस् भन्ने हरेक मानिसको मनोकांक्षा हुन्छ । कोइरालाले यस्तै मरण हासिल गरे । उनी एक दिन पनि अस्पताल बसेनन् । कसैले उनलाई बोकेर दिशा-पिशाब गराउनु परेन । निकटस्थहरुको भनाइ अनुसार कसैले ‘थाहै नपाई’ सास गयो । निदाए झैं गरी । यो एउटा सन्तोषको विषय हो ।

तर, कथाको पाटो यो मात्रै होइन । कोइरालाको मृत्यू आज धेरैलाई असहज लागिरहेको छ । स्वभाविक मरणका रुपमा स्वीकार्न कठिन भइरहेको छ । यसको प्रमुख कारण के हो भने, कोइराला बिरामी भएको खबरभन्दा पहिले मृत्यूको खबर आयो । अस्पतालको दैलोसम्म पनि नपुगी निवासमै प्राणान्त भयो उनको । देशको पूर्वपधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको सभापतिको यो मरणले धेरैलाई आश्चर्यमा पार्नु स्वभाविक हो ।

कोइरालाको मृत्यू एकदमै आकस्मिक भएको होइन । ‘हार्ट अट्याक’ भएर ठाउँको ठाउँ ढलेका होइनन् । चिकित्सक र सहयोगीका अनुसार राति एघार बजेदेखि उनको स्वास्थ्य अवस्था बिगि्रएको थियो । जबकि मृत्यू १२ बजेर ५० मिनेटमा भएको छ । झण्डै दुई घन्टाको अन्तरालका बीच किन उनलाई अस्पताल लगिएन ? जबकि टिचिङ हस्पिटलको बेड नं. ६०१ उनका लागि सोमबार बिहानै बुक गरिएको थियो । कोइराला निवासबाट त्रिवि शिक्षण अस्पताल एक किलोमिटर दुरीमा छ । दुई किलोमिटर दुरीमा ओम हस्पिटल र गंगालाल छन् । घसि्रँदै जाँदा पनि निवासबाट अस्पताल पुर्‍याउन सकिने समय छ । अस्पतालमा लगिएको भए उनको ज्यान बाँच्थ्यो वा बाँच्दैनथ्यो, भगवानलाई थाहा होला । तर, किन लगिएन भनेर प्रश्न उठ्दैनथ्यो ।

आफ्नै निवासभित्र सुतीसुती एउटा राष्ट्रिय नेताको निधन भएको विषयमा सामाजिक सञ्जालमा ‘रहस्यहरु’ खोज्न थालिएको छ । कोइरालाको निधारको चन्दनमा प्रश्न उठाउन थालिएको छ । उनको हत्या गरिएको आशंकासम्म व्यक्त गर्न भ्याएका छन् कतिपयले । यस्ता कथित आशंकाहरुतर्फ यो पंक्तिकारको खासै अभिरुचि छैन । तर, कोइरालाको मरणका विषयमा अन्य जायज प्रश्न उठाउने ठाउँ छन् । मर्ने मरिसकेपछि यी प्रश्नहरु किन उठाउने भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, कोइरालाको मृत्यू नेपाली राजनीतिभित्रको एउटा डरलाग्दो पाटोसित जोडिएको छ, जसलाई नजरअन्दाज गर्न मिल्दैन ।

राजनीतिक सक्रियताका निम्ति ‘रोग लुकाउने रोग’ बाट ग्रस्त छन् नेपाली नेताहरु । पदमा हासिल गर्न वा यसमा टिकिरहनका निम्ति आफूलाई स्वस्थ र तन्दुरुस्त देखाउन रोगलाई ढाकछोप गर्ने प्रवृत्ति विगतका गिरिजाप्रसाददेखि अहिलेका केपी ओलीसम्ममा छ । कोइराला बिरामी अवस्थामा लामो समय प्रधानमन्त्री पदमा रहँदा उनको कमजोर स्वास्थ्यलाई लुकाउन अनेक कसरत हुने गर्थे । हालका प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर अत्यधीक राजनीतिक सक्रियता देखाएको विषयमा प्रश्न उठ्दै आएका छन् । यही आत्मघाती प्रवृत्तिको शिकार बनेका हुन् सुशील ।

कोइरालालाई अस्पताल लैजाने परिस्थिति अन्तिम क्षणमा मात्रै उत्पन्न भएको थिएन । केही दिन अगाडिदेखि नै उनी अस्वस्थ थिए । निजी चिकित्सक डा. करविरनाथ योगीका अनुसार कोइराला पाँच सातादेखि निरन्तर अक्सिजन लिइरहेका थिए । उनको रगतमा अक्सिजन सुक्दै गइरहेको थियो । पछिल्ला चार दिनमा उनी निवासबाहिर निस्कन सकेका थिएनन् । महाधिवेसनको चटारोमा पार्टीका सभापति ३ दिनदेखि ओछ्यान परेकोे विषयलाई अन्त्यन्त गुपचुप राखियो । सायद कोइरालाकै चाहनामा ।

चिकित्सकका अनुसार कोइराला पछिल्लो समय चारवटा रोगबाट पीडित थिए । क्षयरोग, क्यान्सर, सीओपिडी (कडा दम) र निमोनियाबाट उनी ग्रस्त थिए । यी सबै स्वास-प्रश्वाससँग सम्वन्धित रोग हुन् । निजी चिकित्सक डा. करविरनाथ योगीले उनलाई राजनीतिक सक्रियता बन्द गर्न पटक-पटक सुझाव दिएका थिए । राजनीतिक भेटघाट मात्रै होइन फोनमा कुराकानी समेत बन्द गर्न उनले आग्रह गरेका थिए । तर, कोइरालाले त्यसको सुनवाइ गरेनन् ।

कोइराला कांग्रेसको आसन्न महाधिवेसनमा पुनः सभापति पदका आकांक्षी थिए ।

त्यागी नेता कहलाएका कोइरालाले आफ्नो वृद्धावस्था र अस्वस्थताका बाबजुद दोस्रो पटक सभापति बन्ने मोह भने त्याग्न सकेनन् । जसरी उनले दोस्रो पटक प्रधानमन्त्री बन्ने मोह त्याग्न नसकेर आफ्नो जीवनभरको राजनीतिक प्रतिष्ठालाई दाउमा लगाएका थिए । उनले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिएनन्, तर भित्रभित्रै तयारी गरेका थिए । आसन्न महाधिवेशनलाई ध्यानमा राखेर नै उनको अस्वस्थतालाई ढाकछोप गर्ने काम भयो । उनलाई अस्पताल जानबाट रोकियो वा उनी आफैं जान चाहेनन् । अस्पताल जाँदा उनको अस्वस्थता उजागर हुन्थ्यो र विरोधि गुटले यसैलाई मुद्दा बनाउन सक्थे । यसअघि नेकपा एमालेको महाधिवेसनमा केपी शर्मा ओली अध्यक्षको उम्मेदवार बन्दा उनको कमजोर स्वास्थ्यलाई एजेण्डा बनाइएको जस्तै ।

यसरी पदीय आकांक्षाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर राजनीति गर्न खोज्दा कोइरालाले ठूलो मूल्य चुकाउनुपरेको मान्न सकिन्छ । तर, यसमा उनलाई कमजोर स्वास्थ्यका बाबजुद राजनीतिमा लागिरहन प्रेरित गर्ने, प्रधानमन्त्री र पार्टी सभापतिमा उठ्नलाई दवाव दिने व्यक्तिहरु पनि भागीदार हुन् । सायद यो परिणाम आउने कसैले कल्पना गरेका थिएनन् होला । तर, कोइरालाको स्वास्थ्यमाथि खेलवाड गरिएकै हो ।

र, यो पनि

कोइरालाको निधन भएको लगभग ३५ घन्टासम्म उनको शव आर्यघाट पुर्‍याइएको छैन । यति लामो समयसम्म उनको मृत शरीरलाई श्रद्धान्जलीका लागि राखिएको छ । जबकि विदेशबाट आएका अतिथिहरुसमेत श्रद्धाञ्जली दिएर हिजै घर फर्किसकेका छन् । श्रद्धाञ्जलीका नाममा दुई दिन, दुई रात एउटा नेताको शवलाई रंगशालामा राखिराख्नु कति उचित हो भन्ने प्रश्न कांग्रेसजनलाई सोध्न मिल्छ कि मिल्दैन ?

अनि पशुपतिमा सर्वसाधारणले समेत अपनाइसकेको विद्युतीय शवदाहनलाई अस्वीकार गर्नुको कारण कोइरालाका परिवारजनलाई सोध्न मिल्छ कि मिल्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment