Comments Add Comment

अखिलको सम्मेलन प्रधानमन्त्री ओलीबाट उदघाटन हुँदै

२८ माघ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

Dipak-Gautam-and-Nabina-Lama‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधारः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारासहित आयोजित सम्मेलनको उदघाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सम्मेलन बुधबारदेखि सुरु हुने भनिए पनि कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण एक दिन पछि सारिएको हो ।

को बन्ला अध्यक्ष ?

सम्मेलन फागुन १ गतेसम्म चल्नेछ र नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान महासचिव नविना लामा र उपाध्यक्ष दीपक गौतमले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

लामा ओली पक्षकी र गौतम माधव नेपाल पक्षका  विद्यार्थी नेता हुन् । आ-आफ्ना पक्षलाई जिताउन ओली र नेपाल पक्षका नेताहरु लागिपरेका छन् ।

संयोग के छ भने अध्यक्षका दाबेदार लामा र गौतम दुबै काभ्रेका हुन् । उपाध्यक्ष पदमा रहेर एक कार्यकाल चलाइसकेकी लामा महासचिवमा झरेकी थिइन् र अब रामकुमारी झाँक्रीपछि अखिलको दोस्रो महिला अध्यक्ष बन्ने दौडमा छिन् । कार्यकर्ताहरुसँग सम्पर्कमा रहिरहने र बैचारिक स्पष्टता उनको विशेषता हो ।

वाकपटुतामा माहिर गौतम पनि कार्यकर्ताहरुको सुख, दुःखमा साथ दिने र देशभरका कार्यकर्ताहरुसँग सम्पर्कमा रहिरहने खुबी भएका नेतामा चिनिन्छन् । त्यसैले अध्यक्ष पदमा को निर्बाचित होला भनेर यकिनका साथ भन्न नसकिने र दुबै नेतावीच कडा टक्कर हुने अखिलका नेताहरु बताउँछन् ।

महासचिव पदमा नवीनाको टीमबाट ऐन महरले र गौतमको टिमबाट अब्दुल हुसेन खाँले उम्मेदवारी घोषणा गरेका छन् ।
लामाको प्यानलबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेश लामा छन् । यसअघि संगठन परित्याग गरी संघीय समाजवादी पार्टीमा गएका शैलेश पुनः अखिलमै फर्किएका हुन् ।

गौतमको प्यानलबाट उपाध्यक्ष बन्ने दौडमा राधिका खतिवडा, सरोज यादव, जीवन राई र नीलकण्ठ आचार्य छन् ।

लामा र गौतम दुबै पक्षले सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत् प्रचार-प्रसार तीब्र पारेका छन् । उनीहरु दुबै पक्षले आफूहरुको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

पर्चा पम्प्लेट, तुल ब्यानरसहित प्रचार-प्रसार गर्न नपाइने कडा आचार संहिता बनाइएको छ । आचार संहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज हुने अखिलको आचारसंहितामा उल्लेख छ ।

कुल १ हजार ५ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । देशभरबाट काठमाडौंमा आइसकेका प्रतिनिधिहरुलाई खाने बस्ने व्यवस्था सुन्धारा, बागबजार, पुतलीसडक लगायतका स्थानका होटल तथा रेष्टुरेन्टहरुमा मिलाइएको छ ।

अझै मिलेन प्रतिनिधि विवाद

राष्ट्रिय सम्मेलन सुरु हुन केही घण्टा मात्र बाँकी रहे पनि कतिपय क्याम्पसहरुमा प्रतिनिधिको विवाद अझै मिलेको छैन । यसअघि पनि राष्ट्रिय सम्मेलन उदघाटन भएको एक सातापछि मात्रै प्रतिनिधि विवाद मिलेको थियो ।

यसपटक मोरङ, सुर्खेत, झापाका जिल्ला समिति काठमाडौंको क्याम्पस समितिमा प्रतिनिधि विवाद सुल्झिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment