Comments Add Comment

सरकारी हाकिमकाे दाबी: कालोबजारियाले देशलाई ठूलो दुर्घटनाबाट बचाए !

petrol (6)२८ माघ, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तराईबाहेकका क्षेत्रमा भारतीय मुद्राको खपत घटाएको छ । तर, राष्ट्र बैंकका एक अधिकारीले अनौठो दाबी गर्दै भनेका छन् कि नाकाबन्दीका बेला तराईमा कालोबजारियाहरुले गरेको व्यापारका कारण देश ठूलो दुर्घटनाबाट बचेको छ ।

भारुको कारोबार

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म १ अर्ब १० करोड डलर बिक्री गरी  १ खर्ब १५ अर्ब ४५ करोड बराबरको भारु खरिद गरेको जनाएको छ । गत वर्षको  यसै अवधिमा राष्ट्र बैंकले १ अर्ब ५२ करोड डलर बिक्री गरी १ खर्व ४८ अर्ब ८२ करोड बराबरको भारु किनेको थियो ।

भारुको माग घटेपछि राष्ट्र बैंकले डलर बिक्री गरी भारु खरिदसमेत कम गरेको हो । खुला सीमाका कारण अनौपचारिक कारोबार मौलाएकाले व्यापारको तुलनामा भारुको खपत भने पर्याप्त नघटेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् ।

सामान्य अवस्थामा भारु व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले भारु खरिदमा कडाइ गर्दै आएको छ । बैंकले आयातकर्तालाई बस्तु आयातको प्रतीतपत्र र बिलका आधारमा भारु सटही दिने गरेको छ । अध्ययन, उपचार र भ्रमणमा जानेहरुलाई पनि कोटाका आधारमामात्र भारु सटही सेवा दिइँदै आएको छ ।

राष्ट्र बैंकका अनुसार नाकाबन्दी र मधेस आन्दोलनका कारण मंसिर महिनामा देशको कुल आयात ३२ प्रतिशतले घटेर २ खर्व १३ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको छ ।  यस अवधिमा भारतबाट हुने आयात आयात ३९.२ प्रतिशतले घटेको छ ।

व्यापारलगायतका क्षेत्रमा भारतसँग निर्भर भएका कारण नेपालमा भारुको माग उच्च छ । ‘भारतमा निर्यातको तुलनामा आयात उच्च भएपछि भारुको सन्तुलन मिलाउन राष्ट्र बैंकले डलर बेचेर भारु किन्नु परेको हो,’ ती अधिकारीले भने ।

गत साउन तेस्रो सातादेखि भएको मधेसी मोर्चाको आन्दोलन र असोज ६ गतेदेखि भारतले लगाउँदै आएको नाकाबन्दी यसैसाता मात्रै हटेको छ । नाका अवरोध हटेसँगै भारतसँगको व्यापार र भारुको खपत बढ्ने ती अधिकारीले बताए ।

‘यो हप्ता नाका अवरोध हट्यो, अब अर्को सातादेखि व्यापार सहज हुन्छ, जसले भारुको खपत पनि बढाउँछ,’ उनले भने ।

कालोबजारियाले बचाए !

‘सीमा क्षेत्रमा अनौपचारिकरुमा इन्धनलगायतका विभिन्न वस्तुहरुको आयात गर्न कालाबजारियाहरुले भारु साटेका कारण व्यापारको तुलनामा भारुको खपत भने धेरै घटेको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने- ‘काठमाडौं पोखरालगायतका क्षेत्रमा भारु सटही एकदमै न्यून भए पनि तराईमा रहेका राष्ट्र बैंकका कार्यालयहरुमा भने भारु सटही खासै घटेन ।’

खुल्ला सीमाना भएका कारण भारतले नाकाबन्दी लगाउँदा पनि कालोबजारियाहरुले  सामान आपूर्ति गरेकाले देश ठूलो दुर्घटनामा पर्नबाट बचेको ती अधिकारीले बताए ।

‘नाकाबन्दीका बेला राष्ट्र बैंकले भारु सटहीमा कडाइ गरेन, जसकारण अनौपचारिक रुपमा आएको इन्धनले नाकाबन्दीका बाबजुद पनि काठमाडौंमा ट्राफिक जाम हुनेगरी गाडीहरु गुडे,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment