Comments Add Comment

‘राष्ट्रिय धुन बज्दा अविरल आँसु झर्‍यो’

२८ माघ, काठमाडौं । सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न साग गेम्सबाट स्वर्णपदक जितेका थिए, बक्सर चित्रबहादुर गुरुङले । उनी अहिले पोखराको एउटा क्याम्पसमा खेलकुद शिक्षक छन् ।

Chitra-Gurungबक्सिङ खेल्न थालेको तीन वर्षमै आफूले सागमा स्वर्ण जितेको बताउँछन्, चित्रबहादुर । स्याङ्जा घर भएका उनले लामो समय हङकङमा बिताएका थिए । सन् १९६८ देखि १९७५ सम्म हङकङ बस्दा उनी पौडी र बास्केटबल खेलाडी थिए ।

सन् १९७५ मा नेपाल फर्केपछि उनले पौडीलाई निरन्तरता दिन सकेनन् । स्याङ्जामा नियमित अभ्यास गर्नका लागि स्विमिङ पुल नभएकाले पौडीलाई निरन्तरता दिन नसकेको उनी बताउँछन् ।

पौडी छाडेर चित्रबहादुर भलिबल खेल्न थाले । चाँडै नै उनी भलिबलको राष्ट्रिय खेलाडी बने । ०३८, ०४० र ०४१ सालमा भएको राष्ट्रिय प्रतियोगितामा उनले भलिबल खेलेका थिए । यसैगरी, उनले सर्टपुट (छेलो फ्याँक्ने) मा पनि राष्ट्रिय प्रतियोगिता खेले ।

सन् १९८६ बाट मात्रै उनी बक्सिङतिर लागे । समूह खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसक्ने महसुस गरेर बक्सिङ रोजेको उनले बताए । सन् १९८९ मा उनले बक्सिङबाट नेपालका लागि स्वर्णपदक जिते । यो उनको जीवनकै सबैभन्दा खुसीको क्षण थियो ।

पाकिस्तानको इस्लामावादमा स्वर्णपदक थाप्दाको क्षणलाई उनी यसरी वर्णन गर्छन्- ‘कुनै पनि प्रतियोगितामा स्वर्णपदक जित्नुभन्दा ठूलो खुसी एउटा खेलाडीका लागि अर्को हुन सक्दैन । त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दाको गौरव शब्दमा बयान पनि गर्न सकिँदैन ।

पदक घोषणा गर्ने क्रममा नेपाली झन्डा फहराउँदा नै म निकै भावुक बनिसकेको थिएँ । आफूले देशको शिर उँचो बनाएको अनुभूति भइरहेको थियो । जब नेपालको राष्ट्रिय धुन (त्यतिबेला श्रीमान गम्भीर नेपाली थियो) बज्न थाल्यो, मेरो आँखाबाट अनायासै बरर आँसु र्झन थाले । त्यो हर्षको आँसु थियो । म पछि पनि धेरै रोएँ ।’

उक्त प्रतियोगितामा चित्रबहादुरले पहिलो प्रतिस्पर्धामा भुटानका बक्सरलाई नकआउट गरिदिएका थिए । त्यसपछि सेमिफाइनलमा उनले भारतीय बक्सरलाई ५-३ ले हराएर फाइनलमा प्रवेश गरे । फाइनलमा श्रीलंकन बक्सरलाई पनि उनले ५-३ ले नै हराएर स्वर्णपदक जितेका थिए ।

चित्रबहादुरले बेइजिङमा सम्पन्न १४औँ एसियन च्याम्पियनसिपमा कास्यपदक जिते, जुन नेपालले जितेको एक मात्र पदक थियो । यसैगरी सन् १९९० मा आयोजित एसियन गेम्समा पनि उनले कास्यपदक जिते । १२औं एसियन गेम्समा पनि उनी छनोट भएका थिए । तर, बिरामी भएर भाग लिन पाएनन् । सो प्रतियोगितामा भाग लिन नपाएपछि उनले बक्सिङबाट सन्न्यास नै लिए ।

राज्यले हेरेन

‘शरीरमा बल हुँदासम्म देशका लागि खेलियो । देशका लागि खेल्दासम्म सबैले हाई-हाई गरे, पत्रिकाले फोटो छापे । तर खेल्न छाडेपछि कसैले वास्ता गरेनन् । जीवन धान्ने चिन्ता सुरु भयो,’ यस्तो गुनासो छ चित्रबहादुरको ।

राष्ट्रका लागि खेलेका र पदक जितेका खेलाडीको भविष्यका विषयमा राज्यले ध्यान दिनुपर्ने उनी बताउँछन् । त्यसो त अहिले क्याम्पसको जागिर र सरकारबाट आउने आजीवन २५ सय रुपैयाँ भत्ताले उनको जीवन धानिएकै छ । स्याङ्जा घर भएका उनी श्रीमती र तीन छोरीहरू पालेर पोखरामा बसेका छन् ।

पोखरामा बसेर उनी भारतमा जारी साग गेम्सबारे दिनहुँ अपडेट भइरहेका छन्, सञ्चार माध्यममार्फत । यसपटक बक्सिङबाट उनलाई खासै आशा छैन । उनले तेक्वान्दोबाट पदक आउने भविष्यवाणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment