Comments Add Comment

बालुवाटारमा भारत भ्रमणबारे उद्योगी व्यवसायीसँग छलफल

Kp Oli

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपालले उठाउनुपर्ने आर्थिक मुद्दाबारे निजी क्षेत्रसँग छलफल गरेका छन् । बिहीबार बिहान उद्योगी व्यवसायीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले सुझाव मागेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल-भारत चेम्वर अफ कमर्श एन्ड इण्डष्ट्रिजमा आवद्ध व्यवसायीहरुको सहभागिता थियो ।

छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, वाणिज्य  मन्त्री दीपक बोहोरा लगायतको सहभागिता रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

व्यवसायीको गुनासो

उद्योगी व्यवसायीले अहिले व्यापारमा देखिएको असहज अवस्था कसरी दीर्घकालीन रुपमा सहज बनाउने भनेर भारतसँग छलफल गर्न सुझाव दिएका छन् ।

त्यस्तै, पारवहन समस्याको दीर्घकालीन सुधार, भारतीय लगानी कसरी आकषिर्त गर्ने, एकीकृत चेकपोष्टको कार्यान्वयन लगायतका विषयमा पनि भारतसँग छलफल गर्न निजी क्षेत्रको सुझाव छ ।

नेपाल र भारतबीच चार ठाउँमा एकीकृत चेक पोष्ट निर्माण गर्ने सम्झौता भएको लामो समय बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन ।

त्यसैगरी ड्राइपोर्ट बनाए पनि त्यसको सुविधा उपभोग गर्न नपाइएको हुँदा त्यसबारे पनि कुरा उठाउन व्यवसायीले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

नेपालमा भारतीय पर्यटक बढी भन्दा बढी भित्र्याउनका लागि पनि भ्रमणका बेला पहल गर्न प्रधानमन्त्रीलाई निजी क्षेत्रको सुझाव छ । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् ।

लिखित सुझाव दिन्छौंः मुरारका

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा उठाउनुपर्ने आर्थिक मुद्दाका बारेमा लिखित सुझाव दिइने महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरलाई जानकारी दिए ।

‘सबै संघ-संस्थाहरु मिलेर समस्या पहिचान गरी लिखित सुझाव पेश गर्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment