Comments Add Comment

अलेप्पोमा तीन लाख सिरियालीको कन्तबिजोग

aleppo, ap, nocredit

दमास्कस/एजेन्सी । टर्कीसँग जोडिएको सिरियाली सहर अलेप्पोमा तीन लाख मानिसको बिजोग भएको छ । टर्कीले उनीहरूलाई आफ्नो देशमा छिर्न दिएको छैन भने राष्ट्र संघले राहत सामग्री ओसार्न नपाएको जनाएको छ । केही दिनयता भड्केको युद्धमा पाँच सय नागरिकको मृत्यु भइसकेको छ ।

विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सुरक्षा बलले घेरा हाल्दा मानिसहरू भागेर सीमा क्षेत्रमा थुप्रिएका हुन् । अघिल्लो साता विद्रोहीमाथि कारबाही गर्ने क्रममा सुरक्षाकर्मीले टर्कीबाट आउने सडकहरू बन्द गरिदिएका थिए । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरणका लागि ती सडक प्रयोग गर्दै आएको थियो । राष्ट्रसंघले लडाइँका कारण भागेर सीमामा आएर फसेका ३० हजार सिरियालीलाई प्रवेश दिन टर्कीलाई आग्रह गरेको छ ।

राहतकर्मीले सीमा क्षेत्रमा नाजुक अवस्था रहेको बताएका छन् । कठ्याङ्गि्रने चिसोमा मानिसहरू खुला आकाशमुनि सुतिरहेका छन् । रेडक्रसले जारी गरेको विज्ञप्तिमा राहत वितरणका लागि प्रयाग हुने बाटोसमेत बन्द गरिएकाले मानिसको जीवन संकटमा परेको जनाइएको छ । रेडक्रसका सिरिया प्रमुख म्यारियन गैसरले त्यहाँको तापक्रम निकै घटेको बताए ।

‘खाद्यान्न तथा पानीको आपूर्ति र आश्रयको अभावमा विस्थापित मानिस अत्यन्तै ठूलो अनिश्चिततामा बाँचिरहेका छन्,’ उनले भने ।

सिरियामा मार्च २०११ बाट सरकारविरोधी प्रदर्शन सुरु भएको थियो । त्यतिबेला अलेप्पो खासै प्रभावित भएको थिएन । सन् २०१२ को फेब्रुअरीदेखि यहाँ सरकारी सुरक्षा बल र विद्रोहीबीच लगातार झडपहरू हुँदै आएका छन् । सन् २०१२ को जुलाईमा लडाइँले उग्ररुप लिएको थियो र विद्रोहीहरूले आफ्नो स्थिति निकै मजबुद बनाएका थिए । त्यसपछि सुरक्षा निकायले विद्रोहीमाथि दबाब बढाए । यस क्रममा हजारौं सर्वसाधारण मारिएका छन् ।

सिरियाको अलेप्पो प्रान्तमा लडाइँ तीव्र भएपछि ५० हजार मानिस विस्थापित बनेको रेडक्रसले जनाएको छ । रेडक्रसका अनुसार त्यहाँको अवस्था विकराल बन्दै गएको छ । पानीको आपूर्ति पनि त्यहाँ अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment