Comments Add Comment

१७२ गैँडाको प्रोफाइल तयार

२८ माघ, रत्ननगर । चितवन निकुञ्जमा रहेका दुर्लभ एवम् संरक्षित एकसिङ्गे गैँडाको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनले १७२ गैँडाको प्रोफाइल तयार पारेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको एकसिँगे गैँडा
चितवन राष्ट्रिय निकुञ्ज भित्रको एकसिँगे गैँडा

गैँडाका हरेक क्रियाकलापको अनुगमनका लागि यसरी प्रोफाइल तयार पार्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

उनीहरुको ज्यानमा भएको सङ्केतका आधारमा नामकरण गरेर कति वर्ष, कुन क्षेत्रमा बढी भेटिएको, आनीबानी तथा बच्चा भए÷नभएको जस्ता विवरण लिएर प्रोफाइल बनाइएको उहाँको भनाइ छ । सिङ्ग नभएकोलाई ठुटे, दुवी आएको देखिएको, कहीँ टाटा भेटिएको तथा ज्यानमा डल्लो देखिएको गैँडालाई सोही अनुसार नै नामकरण गरिएको छ । यसरी प्रोफाइल लिँदा गैँडाको अनुगमनमा कुन गैँडा भेटिएन भनेर पहिचान हुनेछ ।

यस्तै बस्तीमा पसेको गैँडा कुन हो, हरायो भने कुन गैँडा हरायो, कुन गैँडालाई के समस्या छ भनेर छुट्याउनसमेत सहज हुने भएकाले प्रोफाइल तयार पार्न थालिएको कोषले जनाएको छ । पछिल्लो समयमा मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन हुन थालेकाले प्रोफाइल राख्दा थप सहज हुनेछ । सकेसम्म निकुञ्जमा भएका सबै गैँडाको प्रोफाइल लिने जनाइएको छ ।

हाल चितवन निकुञ्जमा ६०५ दुर्लभ एकसिङ्गे गैँडा रहेको छ । गएको हप्ता मात्रै सन् २०१५ मा कुनै पनि गैँडा चोरी–सिकारीबाट नमारिएको भन्दै शून्य चोरी–सिकार वर्षसमेत मनाइएको थियो । यो उपलब्धिलाई कायम राख्न पनि गैँडाको प्रोफाइल र मोबाइल एपबाट भएको अनुगमनले सहयोग मिल्ने चितवन निकुञ्जले जनाएको छ ।

निकुञ्जमा सूचना प्रविधिको प्रयोग गरेर अनुगमन कार्य तीव्र पारिएको छ । यहाँ कुकुरको समेत परिचालन गरेर गस्ती गर्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment