Comments Add Comment

‘गोल्डेन ह्यान्डसेक’सहित झण्डै ८ सय कर्मचारीलाई विदा गर्ने टेलिकमको निर्णय

nepal-telecom

नविन अर्याल

२८ माघ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ७९६ कर्मचारीलाई आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ । लामो समय काम गरेका पुराना कर्मचारी कटौती गर्ने नीतिअनुसार पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।

कर्मचारी कटौतीबारे निर्णय गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार टेलिकमको बोर्ड बैठक बसेको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अनलाइनखबरसँग भने, ‘अवकाश लिने कर्मचारीहरुलाई पेन्सन, बाँकी सेवा अबधिको रकम र हालसम्म गरेको सेवाको मूल्यांकनसहित आकर्षक रकम दिएर विदा दिने निर्णय भएको छ ।’

प्रबन्ध निर्देशक आचार्यका अनुसार स्वेच्छिक अवकाश लिने कर्मचारीहरुले बढीमा एक करोड रुपैयाँसम्म पाउनेछन् । टेलिकमले पहलो पटक ‘गोल्डेन हृयाण्डसेक’ सहित स्वेच्छिक अवकास योजना ल्याएको हो ।

टेलिकमले स्थायी भएर २५ बर्ष सेवा अवधि पूरा गरिसकेका १४/१५ सय कर्मचारीहरुलाई स्वेच्छिक अवकास दिने लक्ष्य राखेको छ । बाँकी कर्मचारीहरुलाई पनि यसै आर्थिक बर्षभित्र अवकाश दिइने प्रबन्ध निर्देशक आचार्यले बताए ।

पहिलो चरणमा स्वेच्छिक अवकाश लिनका ८ सय बढी कर्मचारीलेले आवेदन दिएका थिए । अवकास लिनेहरु एकदेखि एघारौं तहसम्मका कर्मचारी रहेका छन् । जसमध्ये ५, ६ र ७ औं तहका कर्मचारी बढी रहेको प्रबन्ध दिर्नेशक आचार्यले जानकारी दिए । टेलिकमका देशभर रहेका कार्यालयहरुमा करिव ५१ सय कर्मचारीहरु कार्यरत छन् ।

‘विश्वमा नयाँ प्रविधिको विकास भइसकेको छ, टेलिकमजस्तो संस्थामा नयाँ-नयाँ प्रविधि प्रयोग गर्नुपर्छ’ प्रबन्ध निर्देशक आचार्यले भने- ‘नयाँ प्रविधि सँगसँगै काम गर्न पुराना कर्मचारीबाट सम्भव हुँदैन ।’

पुराना कर्मचारीलाई राजिखुशी अवकाश दिएमा नयाँ पुस्ताले काम पाउँछन् । नयाँ पुस्ता प्रविधिसँग पनि धेरै जानकार हुने गर्छन् । टेलिकमको स्वेच्छिक अवकास योजनामा धेरै कर्मचारी आकषिर्त भएको आचार्यले बताए । स्वच्छिक अवकास कर्मचारी र संस्था दुबैका लागि हितकर रहेको उनको भनाई छ ।

‘एउटै संस्थामा लामो समय काम गर्दा कर्मचारीलाई मोनोटोनस हुन सक्छ, टेलिकमजस्तो संस्थामा चुस्त काम गर्ने जनशक्ती चाहिन्छ’ प्रबन्ध निर्देशक आचार्यले भने- ‘त्यही भएर पुराना कर्मचारी हटाउँदै नयाँ पुस्तालाई भित्राउने हाम्रो लक्ष्य हो ।’

नयाँ प्रविधि भित्रिएसँगै कर्मचारी पनि कम आवश्यक हुन थालेको आचार्यले बताए । यसका साथै कतिपय कामहरु आउट सोर्सिङबाट गर्न थालेपछि कर्मचारी बढी हुन पुगेका हुन् । अहिले टेलिकमले सुरक्षा गार्ड, मर्मत सम्भार, सरसफाई लगायतका लागि आउटसोर्सिङबाट काम गर्न सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment