Comments Add Comment

प्रेमिकाको योजनामा प्रेमीद्वारा हत्या

Murder case

  • खगेश्वर काफ्लेको हत्या अभियोगमा पक्राउ परेकाहरू । तस्बिर: कपिल ज्ञवाली/अनलाइनखबर

सलमान खान
२८ माघ, भैरहवा । गत माघ १९ गते रुपन्देही सैनामैना-१० रामपुरका खगेश्वर काफ्लेको घरमा दुई अपरिचित मोटरसाइलमा आए । उनीहरुले चिठी दिन भन्दै खगेश्वरलाई बाहिर बोलाए । घर बाहिर आएका खगेश्वर तत्कालै गोली लागेर ढले ।

खगेश्वरको हत्या भएको एक सातापछि प्रहरीले एक महिलासहित ३ अभियुक्तलाई हेटौडाको चिसापानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना १० रामापुरका २२ वर्षीय अर्जुन भन्ने तुलसी घिमिरे, ३६ वर्षीया खिमा गिरी, र २३ वर्षीय सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । खिमाले हत्या योजना बनाएको, अर्जुनले गोली हानेको र परियारले मोटरसाइकल चलाएर अर्जुनलाई भगाएको प्रहरीको भनाई छ ।

प्रहरीले अभियुक्तहरुलाई हेटौडाबाट पक्राउ गरेर इप्रका बुटवलमा ल्याई सोधपुछ गरेपछि उनीहरुले अपराध कबुल गरेका थिए । अपराधमा प्रयोग भएका सामग्री बर्दघाटमा राखेको उनीहले बयान दिएपछि प्रहरीले त्यहाँ गएर खोजतलास गरी एउटा ‘मेड इन युएसए’ लेखेको पेस्तोल, त्यसमा लाग्ने ८ राउण्ड गोली, एउटा म्याग्जीन र ६ वटा मधेस मुक्ति टाइगर नामक संगठनको नक्कली पत्र बरामद गरेको छ । यसैगरी घटनामा प्रयोग गरिएको लु १५ १६१ नम्बरको मोटरसाइकल प्रहरीले रुपन्देही सिमानाका बेलहियास्थित घिमिरेको आफन्तको घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका इन्जार्च एवं प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।

यसरी भयो अपराध

खिमा पहिला भारतीय नागरिक बच्चु दाससँग प्रेम गरेर एउटै घरमा बस्थिन् । उक्त घर दासले खरिद गरेका थिए । पछि झगडा भएपछि उनीहरु छुट्टिएर बस्न थाले । दाससित सम्वन्ध टुटेपछि खिमाले तुलसीसँग प्रेम गर्न पुगिन् ।

दाससितको झगडालाई लिएर खगेश्वरले समाजमा आफ्नो बेइज्जत गराएको भन्दै खिमाले हत्या योजना बनाएको प्रहरीले जनाएको छ । खगेश्वरले दाससँग मिलेर आफ्नो घरको बेड-बिस्तारा उठाएर लगेको र घर पनि विक्री गराउनमा दासलाई सहयोग गरेको खिमाले बयान दिएकी छिन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका इन्चार्ज प्रहरी निरीक्षक सुभाष खड्काका अनुसार पक्राउ परेका ३ जना अभियुक्त सँगै काम गर्थे । तुलसीको आग्रहमा सन्दिपले घटनामा साथ दिएका हुन् । उनीहरु गाउँ-गाउँमा सञ्जीवनी मालिस गर्ने तेलको मार्केटिङ गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

हत्यापछि उनीहरुले प्रहरीको आँखामा छारो हाल्न सो स्थानमा मधेस मुक्ति टाइगर नामक संगठनको नक्कली पत्र फालिदिएका थिए ।

तुलसी २०७० सालमा लागुऔषध मुद्दामा एक वर्ष जेल सजाय भुक्तान गरेर गत ०७१ सालमा रुपन्देही जिल्लामा कारागारबाट छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment