Comments Add Comment

नेपाल फेरि चुक्यो, सोझै विश्वकपमा छनोट हुन असफल

U-19-Cricket-Team--1

२८ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सातौं स्थानका लागि भएको खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको छ । हारसँगै नेपाल यू-१९ विश्वकपको अर्को संस्करणमा सोझै छनोट हुन असफल भएको छ ।

अब नेेपालले छनोट चरण खेल्नु पर्नेछ । जितसँगै टप एशोसिएट टीम बनेको नामिबियाले भने २०१८ मा हुने यू-१९ विश्वकपमा स्थान बनाएको छ ।

फतुल्लाहमा भएको खेलमा नामिबियाले २२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपाल अन्तिम चार बल खेल्नु अघि २१० रनमा अलआउट भयो ।

नेपालले पहिलो विकेट सस्तैमा गुमाएको थियो । स्कोर ७ रन हुँदा ओपनर शंकर राना मात्र २ रनमा आउट भए । तर, सुनील धमला र योगेन्द्रसिंह कार्कीले पारी सम्हाले । धमला र कार्कीले दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

दोस्रो विकेटका रुपमा धमला ५९ रनमा पभेलियन फर्किए । थप दुई रन जोड्दा कप्तान राजु रिजाल मात्र १ रनमा आउट भए । चौथो विकेटका रुपमा योगेन्द्र कार्की ३५ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ११३ रन थियो । आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाले प्रयास गरे । पाँचौं विकेटका लागि ५३ रनको साझेदारी गरे । आरिफ ३० रनमा आउट भए । यो पार्टनशिप टुटेसँगै नेपालको पारी धर्मरायो ।

आरिफ आउट भएपछि प्रेम तामाङ ब्याटिङमा आए र उनले केही राम्रा सर्ट खेले । तर, कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । ऐरीले ३१ रन बनाए । राजवीर सिंह र कुशल भर्तेल २/२ रनमा आउट भए । नेपाललाई अन्तिम दुई ओभरमा ३२ रन चाहिएको थियो । ४४ औं ओभरमा प्रेमले चौका र छक्कास होनेपछि नेपालले ११ रन जोड्यो र अन्तिम ओभरमा २१ रन चाहियो ।

पहिलो बल बाइड भएपछि अर्को बलमा प्रेमले चौका हाने । तर, दोस्रो बलमा प्रेम छक्का हान्ने प्रयासमा थिए, क्याच आउट भए र नेपाल पराजित भयो । प्रेमले ३३ बलमा ३२ रन बनाए ।

नामिबियाका मिचेल भान लिनजेनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो । उसका लागि लोहन रौलेन्ट्सले ५९ रन बनाए भने मिचेल भान लिनजेनले ५८ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment