Comments Add Comment

विश्वकपमा नेपालः मीठो सुरुवात, नमीठो अन्त्य

Nepal-Cricket-team-2

चिरञ्जीवी पौडेल/टिप्पणी

२८ माघ, काठमाडौं । नामिबियाविरुद्ध म्याचमा तीतो पराजयसँगै नेपालको यू-१९ विश्वकप यात्रा टुंगिएको छ । अन्तिम म्याच नेपालका लागि महत्त्वपूर्ण यस अर्थमा थियो कि जितेको भए नेपाल अर्को विश्वकपका लागि सोझै छनोट हुन सक्थ्यो ।

यस विश्वकपमा नेपालले सानदार सुरुवात गरेको थियो । पहिलो म्याचमा शक्तिशाली न्युजिल्यान्डलाई हरायो भने दोस्रो म्याचमा आयरल्यान्डमाथि प्रभावशाली जित हासिल गर्‍यो ।

तर, सो प्रदर्शनलाई नेपालले निरन्तरता दिन सकेन । फलस्वरुप पछिल्ला चार म्याचमा नेपालले लगातार पराजय व्यहोरेको छ ।  अघिल्ला दुई जितपछि नेपाल क्रमशः भारत, बंगलादेश, पाकिस्तान र नामिबियासित पराजित बनेको हो । भारतसितको हार अपेक्षित नै थियो र क्वार्टरफाइनलमा पुगिसकेको अवस्थामा सो म्याच प्राविधिक रूपले धेरै महत्त्वको थिएन । यद्यपि, जितेको भए नेपालका लागि त्यसले ठूलो महत्व राख्थ्यो ।

नेपालले सबैभन्दा चुक्चुकाउनुपर्‍यो, बंगलादेशसितको म्याचमा । उक्त खेलमा नेपाल बंगलादेशमाथि हाबी भएर पनि जितसम्म पुग्न सकेन । जितेको भए नेपाल आयोजकलाई पन्छाउँदै सेमिफानलमा स्थान बनाउन सफल हुने थियो र एउटा इतिहास रच्ने थियो । तर, नेपालले यो अभूतपूर्व मौका गुमायो ।

पाकिस्तानसितको म्याचमा नेपालले राम्रो सुरुवात गरेको थियो । नेपाली बलरले पाकिस्तानी ब्याट्सम्यानलाई सुरुमा निकै दबाबमा राखे । तर, अन्त्यमा ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् । पाकिस्तानसितको ब्याटिङमा नेपालले घुँडा टेक्यो । प्रेम तामाङले पुछारमा आएर अर्धशतक हानेर हारको अन्तराल मात्रै घटाए ।

नामिबियासितको म्याचमा नेपाल दाबेदार थियो । सधैँ झैँ नेपालले बलिङमा राम्रो सुरुवात गर्‍यो, फेरि पनि त्यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन । फेरि पनि प्रेम तामाङले अन्तिमतिर केही सानदार सट खेल्दै चामत्कारिक जित दिलाउने प्रयास गरे । तर, केवल एक विकेट बाँकी रहेका बेला अन्तिम ओभरमा २१ रन हान्नु लगभग असम्भव नै थियो ।

यो पूरा प्रतियोगितामा नेपालको प्रदर्शन विश्लेषण गर्दा सन्तोष मान्न सकिने ठाउँ पनि थुप्रै छन् ।

१. बल र ब्याटको सन्तुलन

नेपालको क्रिकेट बलिङमा अत्यधिक निर्भर रहँदै आएको छ, चाहे उमेर समूहमा होस् वा राष्ट्रिय टोलीमा । यो सायद पहिलो प्रतियोगिता हुनुपर्छ, जहाँ नेपाली टोलीमा बलिङ र ब्याटिङको सन्तुलन देखिएको छ ।

भारतविरुद्ध म्याचमा बाहेक नेपाली बलरले विपक्षी ब्याट्सम्यानलाई हाबी हुन दिएनन् । पाकिस्तानको म्याचमा बाहेक नेपाली ब्याट्सम्यानले सहजै आत्मसमर्पण गरेनन् । ब्याटिङ र बलिङ दुवैमा कुनै एक वा दुई खेलाडीमाथि निर्भर नरहनु अर्को सकारात्मक पक्ष हो । प्रत्येक ब्याट्सम्यान र बलरले कुनै न कुनै म्याचमा योगदान दिएका छन् ।

२. सन्दीपको रेकर्ड

Sandip-Lamichhane

नेपाली स्पिनर सन्दीप लामिछाने विश्वकपमा निकै चम्के । विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा बिहीबार उनी दुई नम्बरमा छन् । पहिलो नम्बरमा रहेका नामिबियाका फ्रिट कोयट्जी उनीभन्दा एक विकेटले अगाडि छन् ।

नामिबियाविरुद्ध जारी म्याचमा ३ विकेट लिएपछि सन्दीप केहीबेरका लागि पहिलो नम्बरमा पुगेका थिए । तर, सोही म्याचमा कोयट्जीले उनलाई पछि पारे । नेपालले खेलेका ६ म्याचमा सन्दीपले १४ विकेट आफ्नो खातामा पारेका छन् ।

समूह चरणमा आयरल्यान्डविरुद्ध ह्याटि्रक लिएर सन्दीप यो विश्वकपका चर्चाका पात्र बने । बिहीबार नामिबियाविरुद्ध म्याचमा पनि उनी ह्याटि्रकको संघारमा पुगेका थिए । आक्रामक ब्याटिङ गरेर नेपालको टाउको दुखाइरहेका दुई ब्याट्सम्यान फ्रान्कोइस रटेन्बाच र माइकल भान लिंगेनलाई उनले लगातार बलमा आउट गरेका थिए ।

आईसीसीले उनको बलिङलाई सेन वार्नसित तुलना गरेको छ । भर्खर १५ वर्ष पुगेका यी कलिला क्रिकेटर भविष्यमा नेपालको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य बन्न सक्छन् ।

३. प्रेम तामाङको ब्याटिङ

प्रेम तामाङ कुनै समय नेपाली यू-१९ टोलीका ओपनर थिए । पछिल्लो समय उनी धकेलिँदै ९-१० नम्बरमा पुर्‍याइए । उनलाई कोचले बलिङ अलराउन्डरको भूमिका दिएका थिए ।

तर, यस विश्वकपमा प्रेमको ब्याट खुबै चम्कियो । पुछारमा आएर आक्रामक ब्याटिङ गर्दै उनले नेपाली टोलीको स्कोर उकास्न मद्दत गरे । उनले सबैभन्दा सानदार इनिङ खेले, शक्तिशाली पाकिस्तानविरुद्ध । आफूभन्दा अगाडिका सात ब्याट्सम्यानले सहजै घुँडा टेकेको अवस्थामा क्रिजमा आएका उनले विस्फोटक ब्याटिङ गर्दै ६५ रन बनाए । टिमको कुल स्कोरको लगभग आधा हिस्सा उनको नाममा रह्यो ।

प्रेमले भारतविरुद्ध ४० बलमा २९ र बंगलादेशविरुद्ध २४ बलमा २२ रन हानेका थिए । अन्तिम खेलमा नेपाल पराजयको संघारमा रहँदा पनि उनले हिम्मत नहारी खेललाई अन्तिम ओभरसम्म पुर्‍याए । आश्चर्यजनक कुरा के भने, पुछारमा ब्याटिङ गर्ने प्रेम यो प्रतियोगितामा नेपालका सर्वाधिक रन स्कोरर हुन् । ब्याटिङ स्कोर औसत पनि उनको सबैभन्दा उच्च छ ।

४. टेस्ट राष्ट्रमाथि जित

U-19-Cricket-Team

प्रतियोगितामा आफ्नो पहिलो खेलमै नेपालले टेस्ट खेल्ने राष्ट्र न्युजिल्यान्डलाई स्तब्ध पारेको थियो । विगतका विश्वकपमा पनि टेस्ट खेल्ने राष्ट्रलाई हराएर कायम गरेको ‘जाइन्ट किलर’ को छवि अहिले पनि कायम रह्यो । यो जितले विशेष गरी ब्याटिङतर्फ नेपालको आत्मविश्वास बढाएको थियो । भारत, बंगलादेश र पाकिस्तानजस्ता ठूला टिम नेपालसित सतर्क भएर खेलेका थिए ।

५. १६ वर्षपछि क्वार्टरफाइनलमा

नेपाल १६ वर्षपछि पहिलोपटक यू-१९ विश्वकपको क्वार्टरफाइनलमा पुग्यो । सन् २००० मा पहिलोपटक क्वार्टरफाइनलमा पुग्दा भाग्यको सहारा ठूलो थियो भने यसपटक भिडेरै पुगेको हो । क्वार्टरफाइनलमा पुगेर नेपालले एसोसिएट्स राष्ट्रहरू पनि कम छैनन् भन्ने सन्देश दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment