Comments Add Comment

‘प्रेमगीत’ समीक्षाः उत्कृष्ट क्यानभासमा कोरिएको सुन्दर चित्र

Prem Geet Premiere (5)

‘म त तिम्री आमाले छाडेर गएदेखि यही स्लिपिङ ट्याबलेटको भरमा निदाइरहेको छु छोरी’, छोरी गीत -पूजा शर्मा) लाई जतिबेला बाबु सरोज खनालले यो संवाद बोल्छन्, दर्शकको मनमा चिसिक्क हुन्छ ।

भोलि अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत’का केही संवाद जसले दर्शकको मन छुन सक्छन् । तर, समग्रमा चलचित्र कस्तो बनेको छ त ? प्रदर्शन अगावै गीतसंगीतका कारण चर्चा पाएको यो चलचित्रले के २ घन्टा १५ मिनेट दर्शकलाई प्रेमको यात्रामा लैजान सक्छ ? आउनुहोस् चर्चा गरौं ।

कथावस्तु

आमाले बुहारी ल्याउनका लागि गरेको किचकिचले हैरान बनेको प्रेम -प्रदप खड्का) र हजुरआमाले बिहे गर्नका लागि गरेको करले दिक्क भएकी गीत -पूजा) शर्माको प्रेम कथा नै चलचित्रको मुख्य सार हो ।

बिहे गर्न नमानेर काठमाडौबाट भागेर कागबेनी जाँदै गरेकी गीत र काम विशेषका कारण मुक्तिनाथ हिडेको प्रेमको बिच बाटोमा हुने भेटले चलचित्रलाई अगाडि बढाउँछ । एकसाथ कागबेनीमा रहँदा बस्दा पलाउने माया, परिवारको अवरोधले उत्पन्न हुने समस्यामा यो चलचित्र घुमेको छ । अब, प्रेम र गीतको मिलनका लागि उनीहरुको परिवार अवरोध बन्छ या बन्दैन, उनीहरुको प्रेम सफल हुन्छ या असफल, यसका लागि दर्शकले हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

छायांकन र संगीत अब्बल

प्रदर्शन अगावै उचाइ पाएकाले पनि चलचित्र ‘प्रेमगीत’को संगीत तारिफयोग्य छ । संगीतकार अर्जुन पोख्रेलले उनको अहिलेसम्मकै करिअरमा अब्बल संगीत दिएका छन्, जसलाई चलचित्रको उच्च प्रमोशनले साथ पनि दियो । चलचित्रका सबै गीत उत्कृष्ट छन् ।

चलचित्रको शर्ष गीत सर्वाधीक रुचाइएको छ र राम्रो पनि छ । चलचित्रको अर्को सबल पक्ष यसको छायांकन हो । चलचित्रलाई कागबेनी, मुक्तिनाथ, पोखरा र काठमाडौंमा खिचिएको छ । खिचाइमा छायांकार राजेश श्रेष्ठले आँखा शीतल बनाउने काम गरेका छन् । नेपालमा पनि यति रमणीय र लोभलाग्दा स्थान छन् भन्ने कुरा यो चलचित्र हेरेपछि थाहा हुन्छ ।

चलचित्रको क्लाइमेक्सलाई मन छुने बनाइएको छ । परिवारसँग प्रेम र गीत मुक्तिनाथतर्फ लागेपछि चलचित्र सकिउञ्जेलसम्म जुन खालको पटकथा बुनिएको छ, त्यो मनछुने छ । चलचित्रका केही संवादले मन छुन्छन् ।

युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम, टाढा हुनुको पीडा अनी परिवारका कारण आउने प्रेमको अवरोध धेरै यूवायूवतीले भोग्ने कथा हो । यही कथाको वरिपरि घुमेका कारण पनि चलचित्र यूवापुस्ताका लागि रुचिकर बन्न सक्छ ।

premgeet-songs

पटकथा र संवाद अझ उत्कृष्ट बन्न सक्थ्यो

लभ स्टोरी चलचित्रको कथावस्तु प्रेम गर्नेकै वरिपरि घुम्ने गर्छ । यसैले यसको पटकथा र संवादमा विशेष ध्यान दिन जरुरी छ । रामशरण पाठकले चलचित्रको पटकथा र संवाद लेखेका हुन् । चलचित्रका केही संवाद उत्कृष्ट भए पनि केही स्थानमा अझ दमदार बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।

चलचित्र केही स्थानमा बहकिएको जस्तो लाग्छ दर्शकलाई । प्रेम र गीतको नाम गरेका दुई पात्रलाई दर्शकसँग भिजाउनका लागि केही बढी नै समय लगाइएको छ । गीतको प्रयोगमा निर्देशक शुदर्शन थापा केही ठाउँमा चुकेका छन् । चलचित्रमा समावेश ‘म त अलपत्रै पर्छु’ बोलको गीत र लोकगीतको टाइमिङ सही ठाउँमा लाग्दैन ।

चलचित्रको लिंकअपमा केही समस्या छ । जस्तो, दुई मुख्य पात्रलाई अलग गराउन मुख्य भूमिका खेलेका कलाकार राजाराम पौडेलको पार्टीमा प्रवेश जुन सम्बन्धका आधारमा गरिएको छ, पारिवारिक जमघटमा त्यो तरिका त्यति सहज लाग्दैन । उनलाई सरोज खनालको विजनेश पार्टनर बनाइदिएको भए धेरै राम्रो हुने थियो । यस्ता केही कुराहरु चलचित्र हेर्दै जाँदा खड्किन्छन् ।

जमेका प्रदीप

चलचित्र ‘स्केप’मा मुख्य नायकको रुपमा देखिएपनि आशातित सफलता नपाएका नायक प्रदीप खड्काले यो चलचित्रबाट सम्भावनाको प्रशस्त ढोका खोलेका छन् । प्रदिपले प्रेमको रुपमा जुन काम गरेका छन्, त्यसले उनी चलचित्र क्षेत्रमा उदाउने पक्का जस्तै छ । चकलेटी अनुहारका प्रदिपले लभस्टोरी बिषयमा आफूलाई सफल बनाउन सक्छन्, ‘प्रेमगीत’ले यसै भन्छ । तर, पनि उनले अभिनयमा अझ सुधार्नुपर्ने कुरा धेरै छन् । नायिका पूजा शर्मा चलचित्र हाँक्ने अर्की महत्वपूर्ण पात्र हुन् ।

गीतको रुपमा देखिएकी पूजाले अघिल्ला चलचित्रमा भन्दा केही माथिल्लो काम गरेकी छिन्, तर उनलाई यो क्षेत्रमा जम्नका लागि यतिले मात्र पुग्दैन । प्रदीपले जसरी प्रेमीको रुपमा देखिनका लागि अभिनयसँगै शरीरलाई पनि आकर्षक बनाए, गीतको क्यारेक्टरमा देखिएकी पूजाले पनि त्यता ध्यान दिएको भए राम्रो हुने थियो ।

Prem Geet Premiere (3)
मुख्य नायक निर्माता र निर्देशक

निर्देशक सुदर्शन थापाले फेरि आफूलाई लभ स्टोरी चलचित्र बनाउन शिपालु छु भनेर देखाएका छन् । भलै चलचित्र बग्दै जाँदा केही कमजोरी त देखिन्छ । तर, शुदर्शनले लभ स्टोरी कथालाई रोचक तरिकाले निर्देशन गरेका छन् ।

सुदर्शनको सोचलाई सफल बनाउन करोड बढी लगानी गर्ने निर्माता शुदर्शन थापा पनि प्रशंशाका पात्र हुन् । दर्शकको आँखा शीतल बनाउनमा जति भूमिका छायांकार, कलाकार, निर्देशक, कोरियोग्राफरको छ, त्यति नै भूमिका पैसा दिल खोलेर खर्च गर्ने निर्माता सन्तोष सेनको पनि छ ।

सन्तोषले निर्माणको कुरामा आफूलाई दोश्रो चलचित्रबाटै उच्च दर्जामा राखेका छन् । जसलाई चलचित्रको व्यापारले पनि साथ दिने हो भने, नेपाली चलचित्र क्षेत्रले एउटा मनकारी मेकरलाई पाउने थियो ।

चलचित्र ‘प्रेमगीत’ प्रेम दिवसको अवसरमा रिलिज हुँदैछ । प्रेम गर्नेहरुको मौसमको रुपमा चिनिने यो फेब्रुअरी महिनामा रिलिज हुने प्रेमगीत प्रेमी जोडीका लागि राम्रो साथी बन्न सक्छ । चलचित्र हेरेपछि आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा अवश्य दिनु होला ।

भोलिबाट नै प्रदर्शनमा आउने अर्को चलचित्र ‘क्लासिक’को समीक्षाका लागि भोलिसम्म प्रतिक्षा गर्नुपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment