Comments Add Comment

२० लाख खाएर ‘सभासद’ नबनाएपछि बर्तौला पक्राउ

२८ माघ, काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेका हरिशरण श्रेष्ठ कांग्रेसका नेता हुन् । उनी सिन्धुपाल्चोक पार्टी सभापतिका दाबेदार पनि हुन् ।

उनी विगतमा सभासदका लागि जिल्ला कार्यसमितिबाट सिफारिसमा परेका थिए । तर, पार्टीले सभासद नबनाएपछि उनी २० लाख तिरेरै भए पनि सभासद भई छाड्ने अभियानमा लागे ।

Headacheपैसा तिरेर सभासद बन्न तम्सिने श्रेष्ठको दिमाग पनि अचम्मकै मान्नुपर्छ ! काठमाडौं-७ मा बस्ने देवेन्द्रकुमार बर्तौला र सोफिला दम्पत्तिले सभासद बनाइदिन्छु भन्दै कांग्रेस नेता श्रेष्ठबाट २० लाख रुपैयाँ हात पारे ।

‘बर्तौंलाले सुबोधकुमार पोखरेललाई मैले नै सभासद बनाएको हुँ भन्यो र मन्त्रिपरिषदबाट मनोनित हुने २६ जनामा पार्छु भनेको थियो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कांग्रेसबाट दुईजना मनोनित भए भने एकजना तपाईँ नै हो भनेको थियो ।’

बर्तौला दम्पत्तिले श्रेष्ठलाई २०१४ जनवरी ७ मा भारतको दिल्ली लगेर पहुँचवाला व्यक्तिहरुसँग चिनजानसमेत गराए । श्रेष्ठका अनुसार बर्तौलाले दिल्लीमा लगेर तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका राजनीतिक सल्लाहकार एच.एम. शर्मा र कांग्रेस नेता करण सिंहलाई भेटाए ।

बर्तौला दम्पत्तिले कांग्रेस नेता श्रेष्ठसँग ‘सभासद बनाउनका लागि’ ५० लाख मागेका थिए । श्रेष्ठले उनीहरुलाई पटक-पटक गरेर २० लाख रुपैयाँ बुझाए ।

श्रेष्ठका अनुसार १० लाखको कागज नै छ भने बाँकी रकम लगेको कागज गरिएको छैन । कागजमा भने ‘सभासद बनाउँछु’ भनेर नभई ‘घरायसी काम’का लागि भनिएको छ ।

तर, जब मन्त्रिपरिषदबाट मनोनित हुनेहरुको सूचीमा आफ्नो नाम परेन, श्रेष्ठले आफू ठगिएको महसुस गरे । ‘उनलाई विश्वास गर्नु नै मेरो गल्ती भयो,’ श्रेष्ठ भन्छन् ।

यसरी ठगी गर्ने देवेन्द्रकुमार बर्तौलालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । उनकी श्रीमती भने फरार छिन् ।

श्रेष्ठ सभासद बनेनन् र उनी प्रहरीको शरणमा पुगे । तर, सभासद बनेको भए २० लाखको लेनदेन सम्भवतः बाहिर आउने थिएन । शायद कांग्रेस नेता श्रेष्ठ पृथ्वी नारायण शाहको दिव्योपदेश पढेका थिएनन् । शाहले उहिल्यै भनेका थिए- घुस दिने र लिने दुबै अपराधी हुन् ।

बर्तौलाबाट अरु पनि ठगिए

प्रहरीका अनुसार बर्तौला दम्पत्तिले श्रेष्ठलाई जस्तै अरुलाई पनि ठगेको पाइएको छ । भीमसेन श्रेष्ठ र कान्छा श्रेष्ठलाई क्यानडा पठाउने भन्दै ठगेको प्रहरीले बतायो । त्यस्तै हस्तबहादुर श्रेष्ठलाई चेक रिपव्लिक पठाइदिन्छु भन्दै बर्ताैला दम्पतीले ठगेका छन् ।

तीनै जनाको छोराछोरीलाई भारतीय दूताबासद्वारा लैनचौरमा सञ्चालित केन्द्रीय विद्यालयमा भर्ना गरिदिने आश्वासन समेत दिएको पीडितको भनाइ छ ।

विदेश जान प्रतिव्यक्ति १८ लाख र स्कुल भर्ना गर्न १ लाख ५० हजार लाग्छ भन्दै बर्तौला दम्पत्तिले १५ लाख ५० हजार लिएको बताइएको छ ।

उनीहरुले पछिल्लो पटक ठमेलको एक ट्राभल एजेन्सीलाई समेत १० हजार ठगेका थिए । अरुलाई पनि ठगेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment