Comments Add Comment

बहसः शेरबहादुर र रामचन्द्रमध्ये को गतिलो ?

Ram-chandra-And-Dauba

अरुण बराल/टिप्पणी

 कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये कसले जित्ला ? यसबारे व्यापक जोडघटाऊ भइरहेको छ । तर, देउवा वा पौडेलमध्ये कसले जित्दा मुलुक र जनतालाई बढी फाइदा होला ? यो प्रश्नमा चाँहि कसैको ध्यान गएको छैन ।

अहिलेसम्म सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसको भावी सभापति भविश्यको सम्भावित प्रधानमन्त्री पनि हो । यसकारण पनि सभापतिमा देउवाले जित्दा देशलाई बढी फाइदा हुन्छ वा पौडेलले जित्दा हुन्छ भन्ने बहस महत्वपूर्ण छ ।

मुलुकको विकास र सम्वृद्धिका लागि यी दुई नेताको भिजन के छ र उनीहरुले मुलुकलाई कसरी अघि बढाउलान् भन्ने विषयमा छलफल नगरिकन देउवा र पौडेलमध्ये को ठीक छन् भन्ने मूल्यांकन हुन सक्दैन ।

चारित्रिक समानता

भीमबहादुर तामाङ र सुशीलजस्ता त्यागी नेताहरुको रहेको कांग्रेस पार्टीलाई ‘भ्रष्ट पार्टी’ बनाउने क्रममा पौडेल र देउवा दुबैको दौरामा दाग लागेकै छ । यसमा दुबै नेताहरुले पानी माथिको ओभानो बन्ने ठाउँ छैन ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीच धेरै समानता छ । उनीहरु एउटै पुस्ताका एवं पार्टीमा लामो योगदान पुर्‍याएका नेता हुन् । व्यवस्थापिका संसद र सरकारमा पनि दुबैले पटक-पटक मन्त्री भएर आफूलाई परीक्षण गरिसकेका छन् ।
यी दुबै नेताहरु ०४६ को परिवर्तनपछि कुनै न कुनै रुपमा पार्टी र सरकारमा नीतिनिर्माणकै तहमा पुगेका ‘टेस्टेड’ नेता हुन् ।

रामचन्द्र पौडेल प्रधानमन्त्री बनेका छैनन् तर, देउवा प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । तथापि सत्ता सञ्चालनमा दुबैको भूमिका जनताले थाहा पाइसकेका छन् । संविधान निर्माणका बेला पौडेल र देउवा दुबैको भूमिका सुशील कोइरालाभन्दा पनि बढी यथास्थितिवादी र आदिवासी जनजातिप्रति अनुदार देखिएकै हो ।

आर्थिक अनुशासनका दृष्टिले पनि दुबै नेताहरुको छवि उस्तै छ । रामचन्द्र पौडेलले आफ्ना छोरालाई गरीवी निवारण कोषमा जागिर खुवाएर आफ्नो ‘लोभी’ चरित्रलाई उजागर गरेकै छन् । उता देउवाले आफ्ना सालालाई ठेक्कामा लाभ पुर्‍याउन भारतीय पक्षलाई हित हुने गरी काठमाडौं तराई फास्ट ट्रयाक भारतीय कम्पनीलाई सुम्पन खोजेकै हुन् ।

कांग्रेसका दिवंगत सभापति सुशील कोइराला त्यागी एवं सादगी नेता भए पनि सिंगो नेपाली कांग्रेस चाँहि सादगी पार्टी होइन । सिंहरबारदेखि जिविस, नगरपालिका र गाविससम्म नीतिगत एवं गैरनीतिगत भ्रष्टाचारको संस्कार भित्र्याउन शेरबहादुर र रामचन्द्र दुबैको बराबर भूमिका छ ।

भीमबहादुर तामाङ र सुशीलजस्ता त्यागी नेताहरुको रहेको कांग्रेस पार्टीलाई ‘भ्रष्ट पार्टी’ बनाउने क्रममा पौडेल र देउवा दुबैको दौरामा दाग लागेकै छ । यसमा दुबै नेताहरुले पानी माथिको ओभानो बन्ने ठाउँ छैन । भूकम्प पीडितको त्रिपाल र जस्ता पातामा समेत भ्रष्टाचार गर्ने संस्कारको जननी नेपाली कांग्रेस नै हो ।

सुशील कोइराला नेतृत्वको सरकारका पालामा रामचन्द्र पौडेलले ‘गणेशमान शान्ति अभियान’का नाममा राज्यकोषबाट आधा करोड रुपैयाँ निकासा गर्न लगाएर पार्टी काममा खर्च गरी नीतिगत भ्रष्टाचार गरेकै हुन् ।

राज्यकोषको सम्पत्ति पार्टी कोषमा ल्याएर भ्रष्टाचारलाई बढावा दिने कार्यमा रामचन्द्र माहिर छन् । विभिन्न जिल्लामा कांग्रेसले सरकारी पैसाले बीपी कोइराला स्मृति भवन बनाएको छ र पार्टी कार्यालय चलाएको छ । यो आफूलाई वीपीका अनुयायी बताउने पौडेलको समाजवादी दिमागको उपज हो । वीपीको समाजवाद जप्ने, राज्यकोषलाई पार्टीकरण गर्ने । पौडेल अब सत्तामा पुगे भने उनको यो नीतिगत भ्रष्टाचारले जरा गाढ्ने निश्चित छ ।

पूर्वराजा ज्ञानेन्द्रले असक्षम भन्दै अपदस्थ गरेपछि शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको थियो । शाही आयोगले यसबारे छानविनसमेत थालेको थियो ।

देउवाका पालामा मेलम्चीमा ठूलो आर्थिक चलखेल भएकै हो । र यसैका कारण मेलम्ची निर्माणमा ढिलाइ भयो । चीनले समेत हात झिक्यो । यद्यपि शक्ति सन्तुलनका कारण देउवामाथि अख्तियार लाग्न सकेन । अहिले देउवाले अख्तियारका अधिकारीसँग राम्रो सम्बन्ध बनाएकाले उनीमाथि कुनै छानविनको सम्भावना छैन । पार्टीभित्र अदालतले भ्रष्टाचारी ठहर गरिसकेकाहरुलाई देउवाले नै संरक्षण गर्दै आएका छन् । उनी पार्टी सभापति भए भने भ्रष्टाचारले थप संरक्षण पाउने निश्चित छ ।

आगामी महाधिवेशनमा देउवा र पौडेल जसले जिते पनि नेपाली कांग्रेस भ्रष्टाचारको चंगुलबाट बाहिर आउने खासै सम्भावना छैन । तर, अब जसले भ्रष्टाचारलाई संरक्षण गर्छ र विगतमा जस्तो जनताको आँखा छलेर नेताहरुले विकास निर्माणको रकममा हाली मुहाली गर्छन् त्यस्ता दलहरु जनताबाट बढारिने निश्चित छ ।

कांग्रेसको संस्थापन पक्ष र देउवा पक्ष दुबैतर्फ मन्त्री भएका बेला भ्रष्टाचार गरेर दुर्नामी कमाएका नेताहरुको टीम छ । त्यसैले यी दुईमध्ये जो सभापति भए पनि दुबै नेतामा देखिएको चारित्रिक समानताका कारण कांग्रेसको चरित्र र सांस्कृतिक स्खलनमा खासै सुधार आउने देखिँदैन ।

को बढ्ता लोककल्याणकारी ?

महाधिवशेनका बेला पक्कै पनि दुबै नेताले सभापतिमा विजय हात पार्न आफूलाई वीपीको सच्चा अनुयायी एवं असली समाजवादीका रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्नेछन् । दुबै नेताले आफूलाई लोककल्याणकारी देखाउने प्रयास गर्नेछन् ।

देशको सबैभन्दा ठूलो पार्टीको महाधिवेशनका बेला देशलाई अघि बढाउने नेताको ‘भिजन’ र इमान्दारिताका विषयमा बहस गरिनुपर्ने हो, तर अत्यन्तै भद्दा ढंगले कोसँग कति सदस्य छन् भन्ने जोडघटाउ भइरहेको छ ।

वीपीको संगत गरेका कारण रामचन्द्र पाचैडेले आफूलाई वीपीको विचारको भाष्यकारकै रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । प्रजातान्त्रिक समाजवादको व्याख्याताका रुपमा पौडेलले आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

देउवा भने सिद्धान्तभन्दा व्यवहारिक राजनीतिका पक्षधर भएकाले पौडेलले जति उनले समाजवादको चर्चा गर्ने गरेको पाइँदैन ।

तर, समाजवादको व्याख्या गर्ने रामचन्द्र पौडेलले विगतमा कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । तथापि उनले किसानका लागि कुनै त्यस्तो कार्यक्रम ल्याएको देखिँदैन । बरु वीपीका पालामा नेपाली कांग्रेसले बिर्ता उन्मूलनजस्ता कार्यक्रमहरु ल्याएको थियो । रामचन्द्रको समाजवाद ‘ओठे प्रतिवद्धता’ जस्तो मात्रै रहँदै आएको छ ।

देउवा पक्षका नेताहरुको दाबी चाँहि के छ भने शेरबहादुर देउवा सरकारमा भएकै बेला नेपाली कांग्रेसले विकास र जनहितका कार्यक्रमहरु ल्याएको थियो । जस्तो कि देउवा पक्षको दाबी अनुसार कमैया र हलिया प्रथा उन्मूलन, भूमिसुधार ऐनमा संशोधन र दोहोरो स्वामित्वको अन्त्यजस्ता निर्णयहरु देउवाकै पालामा भएका हुन् ।

त्यसैगरी महिला आयोग, जनजाति आयोग, छुवाछुतलाई कडा दण्डनीय बनाउनेलगायतका निर्णयहरु देउवाकै पालामा भएको उनी निकटस्थ नेताको दाबी छ । देउवा पक्षका केन्द्रीय सदस्य भन्छन्- ‘देउवाजीले रामचन्द्रले जसरी मुखले वीपीको समाजवाद धेरै भन्नुहुन्न, तर उहाँ सरकारमा भएकै बेला सामाजिक न्याय र समावेशिताको पक्षमा राम्रा निर्णयहरु भएका छन् । जुन काम रामचन्द्र पौडेलले मन्त्री बनेका बेलामा गरेर देखाउन सक्नुभएन ।’

तर, शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्रसँग गरेको साँठगाँठ अनि पार्टी विभाजन गरेर कांग्रेस र लोकतन्त्रलाई नै कमजोर बनाएको घटना देउवाका कमजोरी हुन् । झट्ट निर्णय लिनसक्ने देउवाको बानीले भोलि कुनै गलत निर्णय उनीबाट हुन सक्ने र त्यसले देशलाई दुर्घटनामा पार्न सक्ने खतरा हुँदैन ? यो प्रश्नमा देउवा पक्षका नेता भन्छन्- ‘अचेल देउवाजीले विगतमा जस्तो एक्लै निर्णय लिनुहुन्न, अब टीमअनुसार चल्न थाल्नुभएको छ ।’

अब आफ्नो सालोलाई ठेक्का पार्ने आशमा राष्ट्रिय हित विपरीत फास्ट ट्रयाक भारतलाई बुझाउनुहुन्न त ? यस्तो प्रश्नमा देउवा पक्षका नेता भन्छन्- सबै नेताहरुमा केही कमजोरी त अवश्यै हुन्छन्, तर अन्य नेतामध्ये तुलनात्मक रुपमा उहाँ (देउवा) नै ठीक हुनुहुन्छ ।

विगतमा देउवाले आफ्नो सरकार टिकाउन सांसद खरीद-बिक्री गरेको प्रकरण नि ? यो प्रश्नमा देउवा पक्षका नेताले सरकार टिकाउनका लागि त्यसबेलाको बाध्यताका रुपमा यसलाई लिन आग्रह गरे ।

त्यसबेला एमालेले पनि सांसदहरुलाई अश्लील फिल्म हेराएको र सुशील कोइरालाले दुई सांसदलाई बैंकक पठाएको बताउँदै ती नेताले भने-‘प्रतिस्पर्धीहरु कस्ता हुन्छन् भन्ने कुराले पनि हाम्रो व्यवहार निर्धारण गर्दछ ।’

जनताको चाहनाः देश बदल्ने नेता चाहियो

कांग्रेसको आगामी महाधिवेशनमा देउवा वा रामचन्द्रमध्ये जसले जितुन्, तर जनताको चाहना मुलुकको मुहार फेरियोस्, नेताहरु जनताप्रति समर्पित हुन् र भ्रष्टाचारले जरा गाडेको देश पारदर्शिता आर्थिक सम्वृद्धिको बाटोमा अघि बढोस् भन्ने देखिन्छ ।

देशको सबैभन्दा ठूलो पार्टीको महाधिवेशनका बेला देशलाई अघि बढाउने नेताको ‘भिजन’ र इमान्दारिताका विषयमा बहस गरिनुपर्ने हो, तर कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा अत्यन्तै भद्दा ढंगले कोसँग कति सदस्य छन् भन्ने जोडघटाउ र टाउको गन्ने कार्यमै कांग्रेसीजनहरु अल्मलिइरहेका छन् । यस्तो चालले कसरी मुलुकको नेतृत्व गर्ला कांग्रेसले ?

के आगामी महाधिवेशनबाट कांग्रेसको चरित्र सुध्रिएला ? तपाईको विचारमा पार्टी सभापतिमा पौडेल वा देउवामध्ये कसले जित्दा मुलुकले सकारात्मक नेतृत्व पाएको महसुस गर्ला ? कि नेपाली कांग्रेसको रक्षाका लागि अब देउवा वा पौडेलबाहेक तेस्रो व्यक्तिको खाँचो परेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment