Comments Add Comment

कुवेतमा नेपाली कामदारका कथाः मायाप्रीतिदेखि यौन शोषणसम्म

Kuwait-City

नवराज पन्थी

खाडी मुलुक कुवेत नेपालीका लागि वैदेशिक रोजगारीको केन्द्र बनिरहेको छ । तर, पछिल्लो समय रोजगारीसँगै नेपाली कामदारका कथा-व्यथाको केन्द्रबिन्दु पनि बन्दै छ ।

रोजगारी वा पेसा-व्यवसाय गरेर राम्रोसँग घर-व्यवहार चलाएका, प्रगति गरेका नेपालीको पनि कुवेतमा कमी छैन । सँगसँगै पुरुष, घरेलु महिला कामदारका दुःखका कथा खोज्दै जाने हो भने थुप्रै भेटिन्छन् । महिला घरेलु कामदारले पाएका शारीरिक र मानसिक यातना पनि बाहिरिइरहेका छन् ।

घरेलु कामदारले यातना सहन नसकेर भागेका घटना पनि भेटिन्छन् । कुमारी योञ्जन अचेत अवस्थामा सडकछेउ फेलापरिन् । उनको उपचार जारी छ । उनी के कारणले अचेत हुन पुगिन् ? अझै खुल्न सकेको छैन । पार्वती थारुको दुःख अर्कै छ । आफूले काम गर्ने घरबाट बिदा नपाएपछि पार्वती भागिन् । आठ महिनाअघि भागेर ‘गैरकानुनी’ भएकी उनलाई अर्को दुःख थपियो । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा खुट्टा भाँचियो । अस्पतालमा उपचार गराउँदै कानुनी प्रक्रिया पूरा गरेकी पार्वती अहिले घर फर्किने आशामा छिन् ।

शोभा तामाङलाई घरमालिकले बन्धक बनाएको समाचार सार्वजनिक भयो । तर, उनको वास्तविकता अझै बाहिरिन सकेको छैन ।

त्यस्तै, परदेशी जीवनमा मन बहलाउन नेपाली कामदारले फेसबुक, फोनको सहारा लिने गर्छन् । यसरी नेपालीबीच माया-प्रीति हुने र त्यसले एउटा मोडमा पुर्याउने घटना पनि बढ्ता नै देखिन-सुनिन थालेका छन् ।

क्षणिक आनन्दका लागि नेपाली चेलिबेटीसँग झुटो माया गाँस्न मरिहत्ते गर्ने नेपाली दाजुभाइ पनि थुप्रै भेटिन्छन्, देखिन्छन् र सुनिन्छन् ।

स्याङ्जाका रमेश गुरुङको घरमा श्रीमती छोराछोरी छन् । तर, उनी कुवेतमा मायाप्रीतिको चक्करमा परे । कुवेतमै एक छोराको बाबु बनेका रमेशलाई घर र्फकने हिम्मत छैन । भन्छन्, ‘श्रीमती, छोराछोरी घर-परिवार, इष्टमित्र, समाजसँग मुख देखाउन लाज भएको छ ।’

कुवेतमा माया लगाई, बच्चा जन्माई, नाबालक बच्चालाई अरुकै जिम्मा लगाई केही महिनाअघि मात्रै प्रहरी प्रशासनमा पुगेर स्वदेश र्फकने बाटो खोजेकी कमलाको आँखा ओभाइसकेको छैन ।

फिलिपिनी महिलाको हत्या आरोपमा डोल्मा शेर्पा जेलमा छिन् । यो खबरले ठूलै रुप लियो । संसारभरका नेपालीमाझ ‘डोल्मा बचाउ अभियान’ चलेको थियो ।

त्यस्तै, लागुऔषध अवैध कारोबारको मुद्दामा नवलपरासीकी गोमा दराई जेल जीवन बिताइरहेकी छिन् । यस्तै, आशिका विक मानसिक सन्तुलन गुमाएर कुवेतमै छिन् ।

केही महिनादेखि उपचाररत् अर्की नेपाली चेलीको उपचारपछि स्वदेश र्फकने प्रक्रिया अघि बढेको छ । उनलाई घर मालिकले दैनिक यौनशोषण गर्ने, कुटपिट गर्ने, पछिल्लोपटक त यौनांगमा आगो झोसेर घाइते बनाएको अपुष्ट समाचार प्राप्त भयो । नेपाली पत्रकार अस्पताल पुग्दा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउन लागेको बतायो । तर, पीडितसँग कुराकानी हुन सकेन ।

हालै अर्को घटना सार्वजनिक भएको छ, जुन क्षणिक मायाप्रीतिले निम्त्याएको देखिन्छ । प्रेमीले आफ्नो अश्लील तस्बिर फेसबुकमा राखेको भन्दै प्रेमिकाले साहुको सहयोगमा साइबर अपराधमा केस दर्ता गरिन् । प्रेमी अहिले तनावमा छन् । अनुसन्धान चलिरहेकाले घटनाले कुन मोड लिने यसै भन्न सकिने अवस्था छैन ।

उता, सिन्धुलीकी मञ्जली शर्माले भारतीय नागरिकसँग सहमतिमा बिहे गरिन् । उनीहरूबाट छोरी जन्मिएको पनि सात वर्ष भयो । उनीहरू नेपाल र भारत आफन्तकहाँ जाने-आउने गर्छन् । तर, बच्चा जन्मिएपछि कुवेतको कानुनअनुसार कुनै प्रक्रिया पूरा नगरेकाले बालिका गैरकानुनी बन्न पुगेकी छिन् । अनेक उपाय गर्दा पनि उनीहरुको बालिकासहित घर र्फकने चाहना पूरा हुन सकेको छैन ।

त्यस्तै, मदिरा उत्पादन र बेचबेखनको आरोपमा बेलाबखतमा नेपाली समातिएका उदाहरण पनि प्रशस्त भेटिन्छन् । पछिलोपटक यौन धन्दा चलाएको आरोपमा नेपाली महिला पक्राउ समेत परेका छन् ।

कुवेतमा नेपाली कामदारका कथाका यी त केही उदाहरण हुन् । यस्ता थुप्रै घटना ओझेलमा छन् । यसतर्फ नेपाली दूतावासलगायत सम्बन्धित निकायले दृष्टि पुर्याउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment