Comments Add Comment

बैंकका सञ्चालकलाई गभर्नरको प्रश्न- नबुझेको मान्छे किन बैंकर हुनु ?

Chiranjibi Nepal

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले २/४ करोड कमाएपछि बैंकिङ नबुझे पनि बैंकर बन्न खोज्दा समस्या उत्पन्न भएको बताएका छन् । उनले पैसाको कारोबार नबुझ्ने मान्छे बैंकर हुन नहुने बताए ।

‘हामीकहाँ २/४ करोड कमाएपछि बैंकर भइहाल्नुपर्ने प्रवृत्ति छ, जसले वित्तीय क्षेत्रमा समस्या उत्पन्न गर्‍यो,’ ग्राण्ड बैंकलाई गाभेर प्रभु बैंकले सुरु गरेको एकीकृत कारोबारको उदघाटन गर्दै गभर्नर डा. नेपालले प्रश्न गरे- ‘बैंकिङ नबुझेको मान्छे किन बैंकर हुनु ? पैसा हुने वित्तिकै बैंक खोल्ने ?’

ग्राण्ड बैंकका अध्यक्ष स्वरुप गुरुङले आफूहरुले बैंकिङ क्षेत्रको संवेदनशीलता नबुझेका कारण बैंक चलाउन गाह्रो भएपछि प्रभुसँग मर्जरमा जानु परेको बताएका थिए । गभर्नरले गुरुङलाई नै इंगित गर्दै बैंकिङ नबुझेको मान्छे बैंकर हुनु गल्ती भएको बताएका हुन् ।

राष्ट्र बैंकको उदेश्य निक्षेपकर्ताको निक्षेपको सुरुक्षा भएकाले बैंकिङ नबुझेका मान्छेबाट जनताको सुरक्षा हुन नसक्ने बताए । ‘राष्ट्र बैंकको दायित्व सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षा हो, जथाभावी गर्नखोज्नेलाई राष्ट्र बैंकले छोड्दैन,’ गभर्नरले भने ।

बैंक खोलेर यताउता लागेर बैंक डुबाउन काम नगर्न उनले सुझाए । ‘नियमनकारी निकाय बलियो हुँदै छ, त्यसैले तपाईहरु सचेत हुनुहोस्,’ उनले भने ।

राजेशकाजीलाई कडा जवाफ

गभर्नर नेपालले चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठलाई निकै कडा जवाफ दिएका छन् । श्रेष्ठले गभर्नर पहिले निजी क्षेत्रमैत्री भएको भएपनि अहिले व्यवसायीहरुलाई त्यस्तो आभाष नमिलेको बताएका थिए ।

‘हामीले गभर्नरसापलाई निजी क्षेत्रमैत्री भनेर चिन्थ्यौ, निजी क्षेत्रकै संस्थाहरुमा उहाँ सल्लाहकारसमेत भएर काम गर्नुभयो । कुनैबेला उहाँले बोलेपछि हामीले हामी बोल्नै पर्दैनथ्यो,’ श्रेष्ठले कार्यक्रममा भनेका थिए- ‘भूकम्प र नाकाबन्दीले व्यवसायीहरुमा चरम मारमा परेका छन्, तर पनि राष्ट्र बैंकबाट सोचेअनुरुप निजी क्षेत्रमैत्री हुन सकेको आभाष मिलेको छैन ।’

बैंकले व्यवसायीहरुलाई पेलेको भन्दै त्यसका लागि सहज वातावरण बनाइदिन चेम्बर अध्यक्ष श्रेष्ठले गभर्नरलाई आग्रह गरे ।

तर, जवाफमा गभर्नर डा. नेपालले जसलाई जे मन लाग्यो त्यसलाई त्यो देउ भनेर राष्ट्र बैंकले बैंकहरुलाई नभन्ने बताए । ‘बैंकिङ अन्तराष्ट्रिय मान्यताअनुसार चल्छ, जसले जे भन्यो त्यो गर्न मिल्दैन,’ डा. नेपालले भने ।

अब राष्ट्र बैंक जोखिममा आधारित सुरपरिभिजन प्रणालीमा गइसकेको गभर्नरले जानकारी दिए । यसअघि केन्द्रीय बैंकले कम्ल्पाइन्समा आधारित सुपरिभिजन गर्दै आएको थियो ।

बैंकलाई बलियो बनाउन पुँजी वृद्धि

गभर्नर नेपालले बैंकहरुलाई बलियो बनाउन राष्ट्र बैंकले पुँजी बढाउनुपर्ने व्यवस्था गरेको बताए । ‘एउटा सानो ढुंगा छेवैबाट गयो भने पनि फिस्टे चरा ढल्छ’ गभर्नरले भने- ‘पुँजी बढाउनुको अर्थ ठूलै ढुंगाले लाग्दा पनि ढल्ने अवस्था नआओस भन्ने हो ।’

सीइओहरु म्युजिकल चेयरका खेलाडी जस्ता भए

गभर्नर नेपालले नेपालमा बैंकिङ कल्चर नै नभएको बताए । उनले बैंकका सीइओहरु म्युजिकल चेयरका खेलाडीजस्ता भएको टिप्पणी गरे । ‘नेपालमा निजी क्षेत्रका बैंकहरुको विकास निकै पछिमात्रै भएकाले बैंकिङ कल्चरको विकास नै हुनसकेको छैन,’ उनले भने- ‘बैंकका प्रमुख कार्यकारी अधिकृतहरु म्युजिकल चेयर गेम खेलेजस्तै एउटामा छोडेर अर्कोमा जान्छन्, मैले देखेदेखि ती नै मान्छेहरु सीइओ छन्, जसले संस्थामात्रै परिवर्तन गरेका छन् ।’

कर्मचारी व्यवस्थापन समस्या होइन

गभर्नर नेपालले मर्जरका लागि कर्मचारी व्यवस्थापन समस्या नभएको बताए ।  ‘सीइओहरुचाहीँ म्युजिकल चेयरजस्तो एउटा छाड्यो अर्कोमा बस्यो गर्दा हुने अनि कर्मचारीहरु व्यवस्थापन गर्नचाहिँ समस्या भयो भन्ने ?’ उनले प्रश्न गरे- ‘मलाई त कर्मचारी व्यवस्थापन ठुलो समस्या हो जस्तो लाग्दैन ।’

८४ संस्था गाभिएर ३१ मा झरे

राष्ट्र बैंकको मर्जर नीतिपछि ८४ वटा बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएर ३१ संस्थामा झरेको गभर्नरले जानकारी दिए । मर्जरमा जाँदा ५३ वटा संस्थाले आफ्नो नामनिसाना गुमाएको पनि उनले सुनाए ।
पुँजी बढाउनका लागि आफैले पैसा हाल्दा सम्पत्ति शुद्धीकरण, अख्तियार लगायतको नजरमा परिने भएकाले प्रवर्द्धकहरु मर्जरमा प्रोत्साहित भएको गभर्नरको भनाई थियो ।

जनता धनी भए बैंकलाई नै फाइदा

गभर्नरले बैंकले आफूमात्रै नाफा कमाउनेतर्फ भन्दा पनि समग्र देश र जनताको सम्मृद्धिका लागि पनि काम गर्नुपर्ने बताए । ‘व्यक्तिले धेरै पैसा कमायो भने बरु उसका बाबुआमालाई थाहा हुँदैन, तर बैंकलाई थाहा हुन्छ,’ उनले भने- ‘किनभने उसले पैसा कमाउनेवित्तिकै ल्याएर राख्ने भनेको बैंक नै हो ।’

बैंकले जनताले राखेको पैसा लगानी गरेर नाफा कमाउने भएकाले जनताको आम्दानी बढ्ने क्षेत्रमा लगानी केन्दि्रत गर्नुपर्ने उनले सुझाए ।

वित्तीय क्षेत्रमा प्रभुको सहयोग

किष्ट, ग्राण्डलगायतका जनविश्वास गुम्न लागेका संस्थालाई गाभेर विश्वास आर्जन गरी वित्तीय क्षेत्रलाई प्रभु बैंकले ठूलो योगदान पुर्‍याएको गभर्नरले बताए । ‘यी संस्थाहरु डुबेका भए समग्र वित्तीय प्रणालीमै विश्वासको संकट आइपथ्र्यो तर त्यस्तो अवस्था आउन नदिएर प्रभुले योगदान दिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment