Comments Add Comment

सिंहदरबार कवाडीखाना जस्तो: प्रधानमन्त्री ओली

KP-Sharma-Oli-in-Singadarbar

  • हरियाली प्रवर्द्धन अभियानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: रासस

२९ माघ, काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबारलाई सरसफाइ र हरियाली बनाउन ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवर्द्धन तथा बगैंचा व्यवस्थापन अभियान’ शुभारम्भ गरिएको छ ।

सरकारले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष प्रजातिका बिरुवा रोपेर सो अभियानको शुक्रबारदेखि शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्त चन्दनको बिरुवा रोपी अभियानको शुभारम्भ गर्दै सिंहदरबार भित्र खानेपानी र विद्युतको छुट्टै प्रबन्ध हुनुपर्ने बताए ।

पुराना र थोत्रा गाडीले सिंहदरबारलाई कुरुप बनाएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘थोत्रा गाडीले सिंहदरबार कवाडिखाना जस्तो भएको छ, फाहोरमैला डम्पिङ साइट जस्तो बनाएको छ ।’

उनले मुलुकको प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरवारलाई सफा आकर्षक बनाउन जोड दिँदै थोत्रा गाडी काम लाग्ने हो भने मर्मत गरेर चलाउनुपर्ने र काम नलाग्ने भए कवाडीमा बेच्नुपर्छ भने ।

बोटबिरुवा रोप्दा फल दिने र फूल फूल्ने रोप्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । बिजुली र टेलिफोनका तार, ढल र खानेपानीका पाइपलाई जमिनमुनिबाट लैजाने प्रबन्ध मिलाउन उनले निर्देशन दिए ।

शुभारम्भ अभियानका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाप, वातावरणमन्त्री विश्वेन्द्र पासवानले रुद्राक्ष र मुख्यसचिव डा. सोमलाल सुवेदीले श्रीखण्डको बिरुवा रोपेका थिए ।

उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, लोठसल्ला, मालागिरी, धुपी, राजवृक्ष, तेजपातलगायतका ५२ बिरुवा रोपिएको छ ।

अभियानमा वन विभागले बिरुवा उपलब्ध गराउनुका साथै त्यसमा आवश्यक प्राविधिक सहयोग समेत गर्ने विभागका महानिर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । बिरुवाको संरक्षण प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।

आगामी चैत मसान्तसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत सबै मन्त्रालयले र मातहतका निकायले आफ्नो परिसरमा यसरी नै वृक्षरोपण गर्नेछन् ।

अभियान अन्तर्गत आगामी फागुन मसान्तभित्र पुराना फर्निचर र सवारीसाधनको लिलामी एवम् परिसरबाट हटाउने कार्य र पुराना कागजात धुल्याउने कार्य सम्पन्न गरिसक्ने कार्यालयले जनाएको छ ।

सरकारले तत्काल सिंहदरबारमा परिसरभित्र रोज गार्डेन, साइटिस गार्डेन, र हर्बल गार्डेनको निर्माण गर्ने योजना बनाएको छ । परिसरभित्र ट्राफिक व्यवस्थापनको कार्य गृह मन्त्रालयलाई र जेब्रा क्रसिङ, ट्राफिक नियमन सम्बन्धी सन्देशमूलक सूचना पार्टी समेतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउन निर्देशन दिइएको छ ।

अनावश्यक भग्नावशेष फागुन मसान्तभित्र हटाउन निर्देशन

प्रधानमन्त्री कार्यालयले सिंहदरबार परिसरभित्रका भत्केबिग्रिएका सामग्री/निर्माण सामग्री तथा अनावश्यक भग्नावशेष फागुन मसान्तभित्र अनिवार्य रुपमा हटाउन सिंहदरबार सचिवालय पुनःनिर्माण समितिलाई निर्देशन दिएको छ ।

कार्यालयले सिंहदरबार परिसरभित्र हाल केन्द्रीय सर्भिस सेन्टरमा रहेको चमेनागृह बाहेक आफ्नै तरिकाले विभिन्न निकायमा सञ्चालन १६ चमेनागृहले फोहोर व्यवस्थापन, सुरक्षित खाद्य, अनियमित ऊर्जाको प्रयोग जस्ता चुनौती देखिएको भन्दै तिनको उचित व्यवस्थापन गर्ने जनाएको छ ।

त्यस्तै सिंहदरबारमा छाडा कुकुरको प्रवेशलाई रोक्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिँदै कार्यालयले सिंहदरबार प्रवेशलाई सहज र सुरक्षित बनाउन पश्चिम गेटको दुबै ढोका खोल्नुपर्ने र सुरक्षाको लागि सबै मन्त्रालयल एवम् सिंहदरबार परिसरमा सिसिटिभीको व्यवस्था गरिने जनाएको छ ।

सरकारले सिंहदरबारमा सरसफाइ र अन्य व्यवस्थापनका लागि सुझाव सङ्कलन गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुवँरको संयोजकत्वमा उपसचिव चिरन्जीवी पौडेल र सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका रामप्रसाद बेलवासे सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिले यही माघ १० र ११ गते स्थलगत अध्ययन गरी सुधारका लागि १९ बुँदे सुझाव दिएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment