Comments Add Comment

मोहन वैद्यलाई पार्टी अध्यक्ष बनाउन प्रचण्ड तयार

Prachanda and Baidhya२९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन् । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन् ।

तीन दिनअघि प्रचण्ड निवास लाजिम्पाटमा मोहन वैद्य र प्रचण्डवीच दुई माओवादी समूहवीचको एकताबारे छलफल भएको थियो । केही दिन यता दुबै माओवादी समूहका नेतावीच पार्टी एकताबारे सघन छलफल भइरहेको छ ।

फागुन १ गते जनयुद्ध दिवसको ऐतिहासिक दिन पारेर पार्टी एकताको तयारी गरिए पनि समयको अभावका कारण पार्टी एकता गर्न अझै केही साता लाग्न सक्ने नेताहरुले बताएका छन् ।

तर, फागुन १ मा संयुक्तरुपमा जनयुद्ध दिवस मनाउँदै कुनै न कुनै रुपमा एकताको सन्देश प्रवाह गर्ने तयारीमा नेताहरु जुटेको स्रोतले बतायो ।
पार्टी एकताको भित्री तयारीबारे जानकारी दिँदै स्रोतले अनलाइनखबरसँग भन्यो- ‘अहिले सचिवालयका तर्फबाट छलफल भइरहेको छ । एमाओवादीबाट प्रचण्ड र कृष्णबहादुर महराले छलफलमा सहभागिता जनाइरहनुभएको छ भने वैद्य समूहका तर्फबाट मोहन वैद्य र रामबहादुर थापा बादललाई पार्टीले एकताको गृहकार्य गर्ने जिम्मा दिएको छ ।’

तर, फागुन एक गते दुबै तर्फबाट वार्ता समिति वा कार्यदल घोषणा हुन सक्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

अध्यक्षमा समझदारी बन्यो,अरु पदमा पनि समस्या नहुने

स्रोतका अनुसार प्रचण्डले मोहन वैद्यलाई भनेका छन् कि पार्टीको अध्यक्ष तपाई बन्दा मलाई कुनै आपत्ति छैन । तर, वैद्यले जवाफमा प्रचण्डलाई भनेका छन्- पहिले राजीनिति मिलाउनोस् त्यसपछि तपाई नै अध्यक्ष बने पनि मलाई आपत्ति छैन ।

वैद्य पक्षका एक नेताले दिएको जानकारी अनुसार प्रचण्ड र वैद्यमा नेतृत्वबारे समझदारी बनेकाले एकताको सम्भावना नजिकिएको छ । तर, केही राजनीतिक विषयहरुमा मोहन वैद्यले उठाएका सवालमा सहमति जुट्न बाँकी छ ।

एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई पार्टीबाट बाहिरिएको अवस्थामा अब दोस्रो र तेस्रो तहको नेतृत्वमा पनि खासै समस्या नपर्ने स्रोतको दाबी छ । प्रचण्ड नै अध्यक्ष भएको अवस्थामा मोहन वैद्य बरिष्ठ नेता वा नारायणकाजी श्रेष्ठभन्दा माथि बरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना छ ।

पार्टी अध्यक्ष मोहन वैद्य बनेको अवस्थामा प्रचण्ड बरिष्ठ नेता हुने र बरिष्ठ उपाध्यक्षमा नारायणकाजी अनि अर्को उपाध्यक्षमा महरा र बादलमध्ये एकजना आउने सम्भावना रहेको स्रोतले बतायो । महरा र बादलमध्ये एकजना उपाध्यक्ष र एकजना महासचिवका दाबेदार हुने सम्भावना छ ।

त्यसैगरी पार्टी सचिवमा दुबैतर्फबाट गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुनका साथै देव गुरुङहरु आउने सम्भावना छ ।

तर, पार्टी एकतापछि महाधिवेशन आयोजक समिति बन्ने भएकाले पदाधिकारीको विभाजन नगरी अध्यक्ष वा संयोजकमात्रै तोकेर महाधिवेशनसम्म जान सकिने अर्को पनि सहज विकल्प रहेको स्रोतको कथन छ । जस्तै- परि थापा समूहसँग पार्टी एकता गरिसकेपछि मोहन वैद्य समूहमा अहिले कोही पनि पदाधिकारी छैनन् ।

राजनीतिमा मिल्न बाँकी के छ ?

मोहन वैद्यले प्रचण्डलाई भनेको ‘मिलाउनुपर्ने राजनीति’ के हो ? यसबारेमा वैद्य समूहका एक नेताले अनलाइनखबरसँग भने- यसमा चारवटा विषयहरु छन् ।

एक– नेपाली समाजको वर्गविश्लेषण कसरी गर्ने ? अहिलेको नेपाली समाज पुँजीवादी हो कि सामन्तवादी ? नेपाली समाजको चरित्रबारे पार्टीको धारणा स्पष्ट पारिनुपर्ने वैद्यपक्षको माग छ ।

दुई– अहिलेको राज्यसत्ताको चरित्र के हो ? वैद्य पक्षको भनाइमा अहिलेको राज्यसत्ताको चरित्र दलाल पुँजीवादी एवं नोकरशाही हो भन्ने छ । प्रचण्ड पक्षले चाँहि पुँजीवादी जनवादी क्रान्तिको कार्यभार पूरा भएको विश्लेषण गरेको छ ।

तीन– संविधानसभाले बनाएको नयाँ संविधानको व्याख्या कसरी गर्ने ? यो संविधान जनमुखी छ कि प्रतिक्रियावादी ? यसबारेमा पार्टीभित्र साझा बुझाइ निर्माण गर्नुपर्ने मोहन वैद्यले प्रचण्डसँग आग्रह गरेका छन् ।

चार– अबको क्रान्तिको स्वरुप कस्तो हुन्छ ? माथिका चारवटा विष्यमा स्पष्टता भइसकेपछि भावी क्रान्तिको कार्यदिशा स्पष्ट गर्नुपर्ने वैद्यले प्रचण्डसँग माग गरेका छन् ।

यी चारवटा राजनीतिक विषयमा स्पष्टता भएपछि संगठन र नेतृत्वको विषय तत्काल समाधान हुने र पार्टी एकता हुने स्रोतले बतायो ।

चाँडै एकता गर्ने निर्णय

पार्टी एकतामा ढिलाइ गरेमा चलखेल हुन सक्ने भन्दै चाँडोभन्दा चाँडो एकता गर्नुपर्नेमा प्रचण्ड र वैद्य दुबैतिरका शीर्ष नेताहरु सहमत भएको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतले अनलाइनखबरसँग भन्यो,’वैद्यजी र वादलजी दुबैले चाँडै एकता गरौं भन्नुभएको छ ।’ अहिले दुई माओवादीवीचको पार्टी एकता दुबै पक्षको आवश्यकता र बाध्यता भएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment