Comments Add Comment

क्लासिक समीक्षाः मनको आँखाले कोरिएको समर्पणको प्रेम कथा

aaryan-and-namrata-in-classic
‘मलाई रुन पनि आउँदैन, अनि रोएको मान्छेलाई फकाउन पनि आउँदैन,’ आँसु चुहाउँदै जब पर्दामा आर्यन सिग्देल यो संवाद बोल्छन्, धेरैको आँखा उनीसँगै रसाउँछन् । ‘म तिम्रा लागि बोझ त बन्दिनँ नि ?’ नायिका नम्रता श्रेष्ठ जब यो संवाद आर्यनको अंगालोमा सुक्कसुक्क गर्दै बोल्छिन् । कठोर मुटु हुनेको पनि मन पग्लन्छ ।

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र क्लासिकले दर्शकको मनमा बस्न सक्छ त ? के चलचित्रले प्रेम दिवसको अवसरमा प्रेम छर्न सफल हुन्छ ? ‘नोभेम्बर रेन’ पछि आर्यन र नम्रताको जोडीले के दर्शकको मन फेरि छुन सक्ला ? आउनुस्, चर्चा गरौँ ।

सामान्य कथा, गहकिलो प्रस्तुति

दृष्टिविहीन (समय र दृष्टि)को कथा वरिपरि घुमेको छ, यो चलचित्र । संगीत आश्रममा भेट हुने समय र दृष्टिमा संगीतकै माध्यमबाट हुने प्रेमको कथा हो, क्लासिक । आँखा देख्न नसक्ने दृष्टि र समयको भेट आश्रममा भएपछि उत्पन्न हुने प्रेम, समयको चर्चित गायक बन्ने सपना र त्यसमा दृष्टिको त्यागको कथामा तयार भएको छ यो चलचित्र । दृष्टिले समयको सपना पूरा गर्न के-के कुरामा त्याग गर्छिन् ? समय चर्चित गायक बन्छ या बन्दैन ? यो प्रश्नको जवाफ खोज्न दर्शक हलसम्म पुग्नुपर्छ ।

aaryan-and-namrata

भावनामा बगाएर रुवाउँछ

चलचित्रको सबल पक्ष प्रस्तुति हो । निर्देशक दिनेश राउतले चलचित्रलाई मन छुने बनाएका छन् । आँखा देख्न सक्ने दुई कलाकारलाई दृष्टिविहीन बनाएर त्यसैअनुसारको अभिनय गराउनु, चुनौती हो । निर्देशकले यसलाई मन छुने तरिकाले पूरा गरेका छन् । आर्यन र नम्रताको अभिनय कतै पनि बनावटी लाग्दैन । चलचित्रको दोश्रो हाफ यसको सबथोक हो । पहिलो हाफलाई सामान्य मान्ने दर्शकले पनि दोस्रो हाफलाई रुचाउँछन् ।

चलचित्रको अर्को सबल पक्ष यसको ब्याक ग्राउन्ड म्युजिक हो । खोजेको ठाउँमा सुहाउँदो म्युजिकले चलचित्रलाई धेरै माथि उठाएको छ । संगीतकार ताराप्रकाश लिम्बूको संगीतको तारिफ गर्न सकिन्छ । निर्देशकले गीतलाई उचित ठाउँमा राखेका छन् । चलचित्रको संवाद पनि मनमै छुने खालको छ । प्रेममा हुने त्याग, सर्मपण, तपस्याको कथाले क्लासिकलाई बलियो बनाएको छ । चलचित्रको कन्सर्टका लागि देखाइएको अडियन्सको संख्या धनी लाग्छ । नेपाली चलचित्रमा यस्ता खालका धनी दृश्य कमै हुन्छन् ।

कमजोरी

हुन त, निर्देशकले चलचित्रको कथालाई कतै पनि उपकथा थपेर दर्शकको एकाग्रतालाई भंग गर्न खोजेका छैनन् । तर पनि कमेडी मन पराउने दर्शकका लागि पनि लक्षित गरेर यसलाई राख्न सकिने ठाउँ थियो । दोस्रो हाफको तुलनामा पहिलो हाफ केही कमजोर छ । राजा वीरेन्द्रको तस्बिर भनेर हिमाल भएको १० रुपैयाँको नोट प्रयोग गरिएको छ, जुन सानो गल्ती हो, जसलाई दर्शकले खासै याद गर्दैनन् ।

लभ स्टोरी चलचित्रमा सम्पादक सुरेन्द्र पौडेलले फास्ट कटिङ गरेका छन् । जसले केही स्थानमा दुई मुख्य पात्रको फिलिङ्स अझ केही समय भएको भए हुन्थ्यो भन्ने दर्शकलाई लाग्छ । कमेडी, मसला, एक्सन खोज्ने दर्शकका लागि क्लासिक रोजाइमा नपर्न पनि सक्छ ।

नम्रताको बेजोड अभिनय

यदि, तपाईं नायिका नम्रता श्रेष्ठको फ्यान हुनुहुन्छ भने तपाईंले यो चलचित्र छुटाउन मिल्दैन । किनकि, नायिकाले सम्भवत आफ्नो जीवनकै अर्को बेजोड अभिनय यो चलचित्रमा गरेकी छिन् । दृष्टिविहीन बनेकी नम्रताको यदि तपाईं फ्यान हुनुहुन्न भने पनि यो चलचित्र हेर्नुस्, किनकि नेपालमा पनि यस्तो बेजोड अभिनय गर्ने कलाकार छन् भन्ने महसुस तपाईंले गर्न सक्नुहुन्छ । नायक आर्यन सिग्देलले आफ्नो शरीर र गाला केही घटाएको भए उत्तम हुने थियो ।

तर, अभिनयमा आर्यनले आफ्नो चकलेटीपनलाई छाडेर नयाँ कोसिस गरेका छन्, जुन तारिफयोग्य छ ।
Aaryan and Namrata (2)

निर्देशकीय दक्षता

नेपाली चलचित्र क्षेत्रका लागि क्लासिकको कथावस्तु, मेकिङ अर्को एक आयाम हो । जसले नेपाली चलचित्र कथावस्तु र दृश्यका आधारमा कति पावरफुल बन्दै छन् भन्ने देखाउँछ ।

चलचित्र हेर्नु अगाडि तपाईंले चलचित्रको जनरा बुझ्न जरुरी छ । चलचित्र हेर्दा तपाईंसँग पपकर्न र कफीका लागि छुट्याइएको समय कम छ, किनकि यसको कुनै पनि दृश्य छुटाउनुभयो पनि तपाईंले चलचित्र नबुझ्न पनि सक्नुहुन्छ ।

निर्माता सुवास गिरीले लगानीमा कन्जुस्याइँ गरेका छैनन् । निर्देशकले सामान्य भूमिका पाएका कलाकारलाई पनि नोटिस हुने गरी पर्दामा उतारेका छन् । रोमी घिमिरे नयाँ कलाकारको रूपमा चलचित्र क्षेत्रमा उदाउन सक्छिन् । ‘चलचित्र आँखाको शीतलता मात्र होइन, मनको भावना पनि हो,’ भन्ने सोच्नुहुन्छ भने यो प्रेम दिवसमा क्लासिक तपाईंका लागि उत्कृष्ट चलचित्र हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment