Comments Add Comment

माफ गरिदेऊ सरस्वती माता

माफ गरिदेऊ सरस्वती माता, माफ गरिदेऊ । भूल भो । ठूलो भूल भो । मलाई थाहा छ, तिमी रिसाएकी छौ । हो, तिमी धेरै नै रिसाएकी छौ । कलम बोक्ने हातले हतियार बोक्न थाले । ज्ञानवृष्टि गर्नुपर्नेमा ढुंगामुढाको वर्ष हुन थाले ।

विद्याको पवित्र मन्दिर (विश्वविद्यालय) मा फोहोरी राजनीति गर्न थाले, उपकुलपतिलाई कालो मोसो लगाउन थाले । शिक्षण संस्थाहरुमा करोडौंको घोटाला हुन थाले । मृदुभाषी होइन, कटुभाषी हुन थाले । तिम्रै वासस्थलबाट झुटा आश्वासन र सस्ता भाषण मुखरित हुन थाले ।

photo sanjay(1)
सञ्जय खड्का

यहाँ तिम्रो नाममा दुईजिब्रे कुरा गर्न थाले, भ्रम र झुटको खेती गर्न थाले । तिमी आफ्नो रिस देखाऊ वा नदेखाऊ, तर मलाई पक्का थाहा छ, तिमी रिसाएकी छौ ।

हो, तिमी बेस्सरी रिसाएकी छौ । र त तिमी हाम्रो सामु छैनौ । हामीसँग त मात्र मूर्ति छ । फगत माटोको मूर्ति । तिमी त यहाँ छैनौ अमेरिका, बेलायत र पाश्चात्य मुलुकमा छौ ।

यहाँ होइन, लन्डन युनिभर्सिटी र हावर्ड युनिभर्सिटीमा छौ । आखिर किन पो बस्थ्यो यहाँ ? केका लागि बस्थ्यौ यहाँ ? गरिबी, अशिक्षा र फोहोरको थुप्रोमा । कुट, फुट, लुट र गुट-उपगुटको ठाउँमा । यहाँ त केवल लोडसेडिङ, अभाव, भ्रष्टाचार, कालोबजारी र गगनचुम्बी महँगी छ । तिमी त उतै छौ, जहाँ विकास छ, ज्ञान छ र विज्ञान छ ।

यहाँ त तिम्रो दिवसमा (शिक्षा दिवस) छुट्टी मनाइन्छ । किताबलाई कोठाको कुनामा थन्काइन्छ । भड्किला कपडा लगाउँदै रोमान्सको दिन मनाइन्छ । तिम्रै नाममा यहाँ गोजी भरिन्छ ।

यहाँ विद्या दिवस मात्र नभएर नारी दिवस, शिक्षा दिवसमा पनि छुट्टी मनाइन्छ । छुट्टी  नै छुट्टीले भरिएको देश हो यो । यहाँ दिवसको महत्त्व र उद्देश्यप्रति सबैलाई वञ्चित गराइन्छ ।

भनिन्छ, शिक्षा जीवनका लागि तेस्रो नेत्र हो । तर यहाँ त शिक्षामा पनि राजनीति गरिन्छ, शिक्षामा ब्रह्मलुट गरिन्छ, अभिभावकलाई लुटिन्छ । यहाँ शिक्षा मानव जीवनका लागि तेस्रो नेत्र होइन, पैसा कुम्ल्याउने मूल ढोका भएको छ ।

हो माता, यहाँ शिक्षण संस्थाहरुमा करोडौंको घोटाला हुन थाले । चिकित्सकीय शैक्षिक संस्थाजस्ता संवेदनशील संस्थामा फोहोरी राजनीति गर्न थाले । नक्कली डाक्टरहरु उत्पादन हुन थाले । त्यसैले होला डाक्टरलाई भगवानको अर्को रुप मान्नेहरु अहिले डाक्टरको नाम सुन्न साथ झस्किन थाले ।

वास्तवमा शिक्षाले चेतना बढाउँँछ, सोचको दायरा फराकिलो बनाउँछ । तर हाम्रो शिक्षाले चेतना बढाउन सकेको छैन । संकुचित र दरिद्र मानसिकता हटाउन सकेको छैन ।

यहाँ त शिक्षित वर्ग पनि छुवाछुत प्रथाबाट मुक्त हुन सकेका छैनन्, पितृसत्त्तात्मक सोचबाट मुक्त हुन सकेका छैनन्, अन्धविश्वासको कालो दलदलबाट बाहिर निस्कन सकेका छैनन् । भनिन्छ, शिक्षाले मानिसलाई आत्मनिर्भर र नैतिकवान बनाउँछ । तर यहाँ त शिक्षाले बेरोजगार मात्र बढाउँछ ।

अरु देशमा शिक्षा पाए पछि दीक्षा पाएको अनुभव गर्छन् । तर, हाम्रो देशमा त शिक्षा पाएपछि भीक्षा माग्न थाल्छन् । यहाँ त विज्ञानभन्दा बढी चमत्कारमा विश्वास गर्छन्, त्यसैले त यहाँ वैज्ञानिकभन्दा बढी बाबा धेरै छन् । भूल भो सरस्वती माता, ठूलो भूल भो । वास्तवमा तिम्रो पूजा गर्नुको पछि प्रेमभन्दा पनि डर लुकेको छ ।

पढाइमा असफल हुने डर, परीक्षामा मुस्किल हुन्छ कि भन्ने डर । त्यसैले हामी तिमीलाई लड्डु, नैवेद्य र पैसा चढाउँछौं । हामीले चिताएको पुर्‍याइदिए यसो गछौर्ं, उसो गर्छौं भनेर एक्सचेन्ज अफर राख्छौं । अर्को शब्दमा भन्नुपर्दा हामी पूजाको नाममा, भाकलको नाममा तिमीलाई घुसको अफर गरिरहेका हुन्छौं । वास्तवमा माता ‘वुई आर नट् द गड लभिङ पिपल, वुई आर गड फियरिङ पिपल ।

वास्तवमा हामीले तिमीलाई कहिल्यै बुझन सकेनौं । तिमी शिक्षा हौ, ज्ञान हौ, अध्ययन हौ, अनुसन्धान र खोज हौ । तर हामीले तिमीलाई बुझ्न सकेनौँ । केवल मूर्ति मात्रै बुझ्याैं र केवल लड्डु र फूलले पुज्याँै । सरस्वतीको पूजा भनेको ज्ञान लिनका लागि एकाग्र हुनु हो, महालक्ष्मी भनेको कर्णाली र महाकाली हो ।

तर, हामीले यो यथार्थ बुझ्न सकेनौं । यही अबुझताले गर्दा हामी दिनोदिन दरिद्र र गरिब हँुदै गयौँ । तिमीबाट हामी टाढिदै गयौं । कवि भूपि शेरचनले भनेझैँ हामी वीर छौँ तर बुद्धु छौँ, हामी बुद्धु छौं र त वीर छाैं । बुद्धु नभईकन हामी कहिल्यै वीर हुन सकेनौं ।

हो हामीले अब वीरताको साथै बौद्धिकताको पनि प्रदर्शन गर्नुपर्छ, शिक्षाको ज्योति फैल्ााउनुपर्छ, चेतना बढाउनुपर्छ र नैतिकतालाई आत्मसात् गर्नुपर्छ । यसो गरेमा नै सरस्वतीलाई वास्तविक पुजिएको ठहरिनेछ ।

यहाँ शान्ति र खुसियालीका किरण फैलिएको भए अनि सबैले भन्थे, ‘हो, यो नै बुद्धको देश हो ।’ मनोज गजुरेलको फोटोकपीमा जस्तो नेपाल भइदिएको भए विश्वले भन्थ्यो, ‘यहाँ लक्ष्मीको बास छ ।’  

शतप्रतिशत साक्षात्कार भइदिए, हामी भन्न सक्थ्यौँ- यहाँ सरस्वतीको बास छ । तर ठूलो भूल हो, सरस्वती माता ठूलो भूल भो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment