Comments Add Comment

एक लडाकु योद्धाको संस्मरण: समर्पणको साइत फागुन १

EX-pla

श्यामकुमार बुढा ‘चिन्तन’

हृदयभरि गुराँस फुलाउँदै १ फागुन ०५२ मा जनयुद्ध थालनीको कारबाहीमा पुगेका थियौं । हाम्रो गन्तव्य अप्ठ्यारो जंघारजतिकै अस्पष्ट थियो । तर, लक्ष्य चुम्न सम्पूर्ण चिज त्यागेर अघि बढ्ने उच्च प्रण हामीसँग थियो । प्रतिक्रियावादीका चिप्ला मुखको धमिलो पेट देखेर वाक्क भइसकेका थियौं ।

हामीले जनयुद्ध थालनीको तयारीभित्र विभिन्न ढंगले जनचेतना, जनसेवा, श्रमशिविर, सभा गोष्ठी, सांस्कृतिक कार्यक्रम आदिको माध्यमबाट वैचारिक तयारी, विभिन्न संगठनलाई फौजी संरचनामा बदल्न स्वयंसेवक दल, सुरक्षा दल र लडाकु दल बनाएका थियौं । अनि, संगठनात्मक तयारी, प्रचारात्मक कारबाही, ध्वंसात्मक कारबाही, सफाया र गुरिल्ला एक्सन गरी संघर्षका चार रूप निर्धारण गर्दै मुख्य इलाका, सहायक इलाका र प्रचार इलाकाको रुपमा देशभर संगठन र संघर्षको दृष्टिले भूगोल निर्धारण भयो । र, संघर्षको तयारी गरियो ।

नक्सा संकलन, निसानाको छनोट र सर्वेक्षण, प्राविधिक सामग्रीको संकलन र निर्माण, न्यूनतम इमर्जेन्सी कोष निर्माण, भूमिगत सञ्चार प्रणालीको व्यवस्था र डेन ड्रम्प (सामान लुकाउन बनाइने सुरुङ)हरूको व्यवस्थाजस्ता कार्य गरेर प्राविधिक तयारी पूरा गरिएको थियो ।
थालनीका लागि पर्चा, पोस्टरहरू सबै आइपुगेका थिए । जिल्लाभरबाट छानिएकाको एउटा लडाकु दल बनाइएको थियो । योजनाअनुसार लडाकु दल लक्ष्यकेन्दि्रत हुँदै थियो । गाउँगाउँबाट बिदाइका फूलमाला लगाइदिँदै विजय भएर आउने शुभकामना दिएर जनताले जनयुद्ध थालनीको मोर्चामा हामीलाई पठाएका थिए ।

भरुवा बन्दुक बोकेर रातभर हिँड्दै योजनाबद्ध रुपमा हामी अन्तिम सम्पर्कमा पुगेका थियौं । पृष्ठभूमिका विभिन्न अभियान र वर्ग संघर्षका घटनाक्रम छिचोलेर हामी घोषित रूपमा जनयुद्ध थालनीको मोर्चासम्म आइपुगेका थियौं ।

हामी जम्मा भएको घरमा दिनको खाना सकेर कमरेड अजित (बादल) द्वारा अन्तिम प्रशिक्षण दिइयो । उहाँले भन्नुभयो, ‘यो प्रशिक्षण शान्तिकालको अन्तिम प्रशिक्षण हो । अबका प्रशिक्षण भीषण उथलपुथलका बीच हुनेछन् । हामीले थालनीकै दिन कुनै पनि मानिस मार्ने छैनौं । पार्टीमा थालनीकै दिन मानिस नमार्ने निर्णय भएको छ । कमरेडहरूले यसलाई पार्टीको आदेश सम्झनुहुनेछ । यो कारबाहीको नाम ‘कालोम’ -कारबाही लोकबहादुर (मनबहादुर) रहनेछ । यसको समग्र कमान्ड क. अनन्तलेे गर्नुहुनेछ । यस कारबाहीमा ३६ कमरेड सहभागी हुनुहुनेछ । जसमा दुई महिला रहनुहुनेछ । तपाईं-हामी अब महान् जनयुद्धको पहिलो थालनीकर्ता बन्नेछौं । यो कारबाही होलेरी प्रहरी चौकीमाथिको आक्रमण हुनेछ ।’

श्यामकुमार बुढा 'चिन्तन'
श्यामकुमार बुढा ‘चिन्तन’

जनयुद्ध थालनीको पूर्वसन्ध्यामा रोल्पाको चप्का मेलामा पुलिसद्वारा लोकबहादुर घर्ती र मनबहादुर पुन मारिएका थिए । त्यसैको बदलामा यो कारबाहीलाई ‘कालोम’ नाम दिइएको थियो ।

साँझको खाना खाएर हामी अन्तिम सेल्टरतिर लाग्यौं । हाम्रो अन्तिम सेल्टर असाध्यै संवेदनशील ठाउँमा थियो । सेल्टर चौकीदेखि करिब १५ मिनेटमाथि डाँडाको चुचुरोमा अवस्थित जंगलको बीचमा जोगीको कुटीभित्र थियो । जोगी बस्ने कुटी जोगी नभएर होला भग्नावशेष बन्दै थियो । बिहानै घाँसीहरूको गतिले वन गुन्जियो । कतिपय तरुनी-तन्नेरी कुटीभित्र बदमासी गर्न आउँदारहेछन् । कतिपय घाँस दाउरा गर्नेहरू दिसापिसाब गर्न आउँदा रहेछन् । हामी कुटीको अन्तिम माथिल्लो तलामा खाँदिएका थियौं । बाटोमा आउँदै गर्दा हिउँ परेकाले हामी सबैलाई रुघाखोकीले सताएको थियो ।

सुत्दाखेरि प्रत्येकको ड्युटी राखियो । निदाएका बेला जोडले खोकेमा ड्युटीवाला साथीको लाठी टाउकोमा बर्सन्थ्यो । र, हातको इसारा र सासै सासले कानैमा गएर नखोक्न भनिन्थ्यो । स्थितिको संवेदनशीलताका थाहा भए पनि खोकी रोक्न नसकी रुमाल मुखमा कोचेर खोक्नुपर्दथ्यो । दिनमा बोकेर ल्याएको ड्राइफुड खाइयो । दिन छिप्पिँदै थियो । फेरि ग्वालाहरू आउन थाले ।

सकसका साथ दिन कटेपछि रात पर्न थाल्यो । साँझसँगै सबैले बन्दुक भर्यौं । रुट गाइडको साथमा चाल मारेर बिस्तारै चौकीतिर झर्यौं । घना जंगल भएकाले बाटो भुलिएछ । फेरि निष्पट्ट अन्धकार भएकाले हेरेर जान सकिने अवस्था पनि थिएन । सञ्चार विच्छेद गर्न टेलिफोन लाइन काट्ने ग्रुपले तार काटिसकेको थियो । अन्धकार रात र थाहा नदिएर आक्रमण गर्ने भएकाले निर्धारित समय आठ बजे नभएर रातको १० बजे होलेरी चौकीमा आक्रमण सुरु भयो ।

फस्र्ट एसल्ट कमान्डर क. पासाङले फायर खोल्दै चेतावनी दिँदै गर्जनुभयो, ‘खबरदार, आत्मसमर्पण गर र हतियार बुझाऊ । आजको दिनबाट नेपाली सर्वहारा वर्गले सशस्त्र युद्धको थालनी गरेको छ । प्रहरीहसँग व्यक्तिगत रुपमा हाम्रो कुनै दुश्मनी छैन । तपाईंहरू पनि गरिबका छोराछोरी हुनुहुन्छ । हामी आजबाट सशस्त्र विद्रोह गर्दैछौं । हामीलाई सहयोग गर्नुस् ।’

त्यसपछि चौकीभित्रबाट फायरिङ भयो । बदलामा लगातार ८-१० फायर भएपछि चौकीको फायर बन्द भयो । भित्रबाट प्रहरीहरू रुँदै चिच्याउन थाले, ‘हाम्रो ज्यान बचाइदिनुस्, हतियार सरकारसँग माग्नुस् ।’ कसैले गुहार माग्न थाले । होलेरी बजारमा हल्ला मच्चियो, ‘माओवादीको प्रतिकार गर्न जाउँ ।’ बदलामा हामीले भन्यौँ, ‘खबरदार, कोही अघि बढेमा यसरी हान्छौं ।’ हामीले हवाई फायर गर्यौं । र, एउटा बम पड्काइयो । त्यसपछि बजारबासी चुपचाप भए ।

यसरी भनाभन र गोली हानाहानबीच चौकीमा ठूलो विस्फोट भयो । चौकीभित्र रुवाबासी अझ जोडले चल्न थाल्यो । तल्लो तलामा रहेको जिलेटिन, फ्युज र डिटोनेटर लगायत सबै हतियार कब्जा भयो । त्यहीँ गाग्रोभरि जिलेटिन भरेर विस्फोटका लागि तयार गरियो । विस्फोटको आदेश लिन मूल कमान्डर समक्ष जाँदा मान्छे मार्ने आदेश छैन, त्यसैले विस्फोट नगर्ने भनिएपछि त्यो काम रोकियो । यसरी डेढ घन्टाको मुठभेडपछि हामी त्यहाँबाट फर्कियौं ।

अर्को दिन कारबाहीको समीक्षामा बसियो । समीक्षापछि हामी लक्ष्यमा पुग्न सफल भएको प्रस्ट भयो । हतियार सबथोक होइन, हाम्रो लक्ष्यअनुसार ‘सशस्त्र संघर्षको राजनीतिलाई व्यावहारिक रुप दिने, संगठनको प्रधानरुप सेना र संघर्षको प्रधानरुप युद्ध हो भन्ने मान्यता स्थापित गर्ने र मुख्य इलाकालाई छापामार इलाकामा विकास गर्न आधार तयार गर्ने’ काम सम्पन्न भयो ।

१ फागुन ०५२ मा देशव्यापी हजारौं साना-ठूला कारबाही भए । कैयौं ठाउँमा चौकी कब्जा भए । त्यस दिन कब्जा भएका प्रहरीलाई सम्झाइबुझाई ओछ्यानमा सुताएर छाडेका ऐतिहासिक सत्य छन्, हाम्रा माझ । नेकपा माओवादीले जनयुद्ध थालनीको दिन र त्यसयताका केही दिन पछिसम्म पनि कसैको हत्या गरेको छैन । यो ऐतिहासिक सत्यलाई खण्डन गर्ने कसैको तागत छैन । तर, बदलामा प्रतिक्रियावादी सत्ताले त्योअनुरूपको संयमता र सम्मानपूर्ण जवाफ दिएन । इतिहास साक्षी छ- बदलामा सत्ताद्वारा गोर्खामा १४ वर्षीय बालक दिलबहादुर रम्तेल, रुकुमको मेलगैरीमा पाँच भाइ खत्री परिवार, रोल्पामा चोपबहादुर डाँगी र ज्ञानेन्द्र गिरी, रोल्पाको ह्वामामा पाँच समर्थक आदिको हत्या भयो । निश्चय पनि ओछ्यानमुनि पानी पसेमा सबै उठेर बस्नैपर्छ । भटाभट निर्दोष मानिस गाउँका जालीका इसारामा मारिँदा प्रतिकार स्वरुप तिनका सफायाको विकल्प नै के थियो र ? त्यसपछि फटाहा, सीआईडी र सुराकीका सफाया गरिएकै हो ।

लगत्तै देशभर हिंसात्मक अपरेसन ‘किलो सेरा टु’ चल्यो । यो अपरेसनले सैयौंको ज्यान लियो । त्यसैले कठोर निर्णय र निष्कर्षमा पुगेरै प्रहरीमाथिको एम्बुस र रेड गरियो । इतिहासमा यो सत्यलाई कसैले मेट्न सक्दैन कि दूरदराजको बस्तीबाट प्रहरीलाई एम्बुसमा पार्ने क्रमदेखि झिम्पे, चिराघाट, हुँदै घर्तीगाउँ रुकुमकोट तथा नौमुलेसम्मको कारबाहीमा प्रहरीमाथि आक्रमण भए ।

आफ्नो पक्षको ठूलो क्षति हुन्छ भनेर जान्छ भने कसैले पनि जानिबुझी त्यसो हुन दिन सक्दैन । बरु विरोधी पक्षकै क्षति बनाउन तयार हुन्छ । त्यही क्रममा भयो, दाङको घोराहीमा सेनामाथि कारबाही । यी तथ्यका आधारमा सहजै भन्न सकिन्छ कि माओवादी गतिविधिलाई हिंसा भन्ने केवल सामान्तवाद र साम्राज्यवादका दास मात्र हुन् । तथ्यबाट प्रस्ट छ कि हिंसात्मक अभियानको थालनी जहिले पनि प्रतिक्रियावादीले नै गरेका छन् । र, क्रान्तिकारीले त त्यसको प्रतिकार मात्र गरेका छन् । यही ऐतिहासिक सच्चाइको एउटा ज्वलन्त प्रतिमूर्ति २०५२ फागुन १ गते हो ।

(लेखक चिन्तन पूर्वबि्रगेड कमिसार हुन् । उनको संस्मरणात्मक कृति ‘ती आँधीमय दिनहरू’बाट साभार गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment