Comments Add Comment

मनोहरा खोलामा दिनभर प्रहरी, रातभर तस्करी

manohara१ फागुन, भक्तपुर। भक्तपुर र काठमाडाैंको सीमानाकाको रुपमा रहेको मनोहरा खोला एवम् आसपासका क्षेत्रबाट रातभर व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।

खोला र आसपासका क्षेत्रबाट व्यापक बालुवा चोरी भएको गुनासो आएपछि भक्तपुरको दुवाकोटस्थित गुह्येश्वरी गणबाट शसस्त्र प्रहरीको टोली खटिए पनि बालुवा चोरी निकासी भने रोकिएको छैन ।

मनोहरा खोलामा दिनभर शसस्त्र प्रहरी रहने र रातभरी तस्करीले कब्जा गर्ने स्थानीयवासीको गुनासो छ । स्थानीवासी भन्छन् ‘मनोहरा खोलामा दिनभर प्रहरी हुन्छ, रातभरी तस्करी हुन्छ, प्रहरी गएलगत्तै तस्करीले खोलासँगै भक्तपुर तर्फको क्षेत्रबाट व्यापक बालुवा निकालेर काठमाडौँ निकासी हुन्छ ।’

रातको करिब १० बजेपछि प्रहरी फर्कने र प्रहरी फर्किएपछि बालुवा तस्करीले खोलादेखि भक्तपुर तर्फको बालुवाको ढिस्को कब्जा गरेर बालुवा झिकेर काठमाडौँ लैजाने गरेको चाँगुनारायण नगरपालिका मनोहराका स्थानीयवासी रामशेखर श्रेष्ठले बताए ।

विगत वर्षमा भक्तपुर जिल्ला विकास समितिले खानी सञ्चालनको अनुमति दिँदा खोलाबाट बालुवा चोरी कम हुने गथ्र्यो । तर यसवर्ष भक्तपुर जिल्ला विकास समितिले बालुवा खानी सञ्चालनको अनुमति नदिएपछि अवैध रुपमा बालुवा चोरी निकासी व्यापक रुपमा बढेको हो ।

खोला नै भासिने गरी तस्करीले बालुवा चोरी गर्दा प्राकृतिक सम्पदा नष्ट भएको बताउँदै स्थानीयवासी रामशङ्कर फुयाँलले बालुवा चोरीका कारण खोलाले आफ्नो धार परिवर्तन गर्दा जिल्लाको सिमानासमेत मिचिएको जानकारी दिए।

शसस्त्र प्रहरी गुह्येश्वरी गण दुवाकोटका प्रमुख प्रहरी उपरीक्षक राघवसिंह थापाले भने शसस्त्र प्रहरी बलले नै बालुवा चोरी नियन्त्रण गरेको दाबी गरे ।

उनले भने ‘‘मनोहरा खोलाको क्षेत्र र बालुवा झिक्ने एरिया धेरै भएकाले प्रहरी नपुगेको क्षेत्रमा कतै चोरी भएको भए थाहा भएन तर शसस्त्र प्रहरीले २४ सैघण्टा ड्युटी गरेर बालुवा चोरी निस्तेज पारेको छ, चोरी छ भने अझै पनि कडाई गर्नेछौ ।’’

बालुवा चोरी गरेर बिक्रीका लागि लैजादै गरेको २५ वटा भन्दा बढी चोरीका बालुवा बोकेका गाडीलाई नियन्त्रणमा लिएर भक्तपुर जिल्ला विकास समितिलाई बुझाएको उनले बताए ।

जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले यसवर्ष भक्तपुरका सबै बालुवा खानी बन्द भएको बताए ।

मनोहरा खोला र आसपासका क्षेत्रबाट बालुवा चोरी निकासी हुने गरेको गुनासो आएपछि प्रहरीको सहयोग मागेको बताउँदै पुरीले प्रहरीले त्यस्ता व्यक्ति र गाडीलाई नियन्त्रण गरी जिविसलाई बुझाउने गरेको जानकारी दिए ।

भूकम्पले भत्काएका घर तथा भवनको पुनःनिर्माणको काम सुरु भएपछि उपत्यकामा व्यापक रुपमा बालुवाको माग भएको तर भक्तपुरका बालुवा खानी बन्द भएपछि तस्करीले मनोहरा खोला र आसपासका बालुवाको ढिस्कोलाई निसाना बनाएर बालुवा तस्करी गर्ने गरेको स्थानीयवासीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment