Comments Add Comment

बाबुरामपुत्रीको बिहेमा भारत र चीनका राजदूतदेखि अख्तियार प्रमुखसम्म

Manusi-And-Jakendra-shrestha

१ फागुन, काठमाडौं । ललितपुरको सानेपास्थित डा. बाबुराम भट्टराईको डेरामा शनिबार दिउँस्ाो ‘जनवादी’ कार्यक्रमको आयोजना गरेर भट्टराईपुत्रीको विवाह सम्पन्न भयो ।

तनहुँका जेकेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराईवीच आयोजित ‘स्टेज म्यारिज’मा चीन र भारतका राजदूतका साथै अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत उपस्थित थिए । प्रचण्ड लगायतका दलका नेताहरुलाई भने निम्त्याइएको थिएन ।

बेहुलीको भाषणबाट बिहे सुरु

विवाहको तरिका परम्परागत भन्दा केही नौलो प्रकारको थियो । कवि संगीत स्रोताले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसपछि बेहुलीले मानुषीले केही मिनेट मन्तव्य राखिन् ।

‘मैले छुटाएका केही कुराहरु भए जेकेन्द्रजीले पूरा गरिदिनुहोला’ भन्दै बेहुलीले छोटो मन्तव्य सिध्याएपछि बेहुला जेकेन्द्रले माइक्रोफोन समातेर केहीबेर मन्तन्य व्यक्त गरे ।

बेहुलाले विवाह जस्तो विषय नितान्त व्यक्तिगत भएको भन्दै आफूहरुको विवाहका विषयमा मिडियामा समाचार बनेकोमा बेखुशी प्रकट गरे । नेपालमा कतिपय अवस्थामा चर्चा हुनुपर्ने कुरा चर्चा नहुने र चर्चै नहुनुपर्ने कुराको चर्चा हुनेगरेको बेहुलाले गुनासो पोखे ।

Manusi-And-Jakendra-shrestha-2

बेहुलाले त्रिवि केन्द्रीय पुस्तकालयलाई आफूहरुले केही आर्थिक सहयोग गर्न चाहेको र पूर्वलडाकूकी छोरी लाई पठनपाठनका लागि ३० हजार सहयोग गर्ने घोषणा गरे ।

बेहुला-बेहुली दुबै अखिल क्रान्तिकारीको राजनीति गरेका जोडी हुन् । उनीहरुले विवाहमा लाग्ने खर्च कटाएर आफूहरुले सकारात्मक काममा सहयोग गरेको बताए ।

बेहुला-बेहुलीले मन्तव्य व्यक्त दिइसकेपछि बेहुला जेकेन्द्रका पिताले मन्तव्य दिए । त्यसपछि उनका सम्धी डा. बाबुराम भट्टराईको मन्तव्य दिने पालो आयो ।

डा. भट्टराईले पुराना पुस्ताका मानिसहरु रुढीवादी बन्न नहुने भन्दै छोराछोरीको इच्छाअनुसार चल्नुपर्ने बताए । साथै पारिवारिक सम्बन्धमा बाँधिएका आफ्ना सम्धी तनहुँ निवासी रहेको र दुबै परिवारको सामाजिक पृष्ठभूमि एउटै भएको डा. भट्टराईले बताए ।

आफ्नो र हिसिला यमीको बिहे पनि विगतमा यसैगरी मञ्चबाटै भएको डा. भट्टराईले सम्झिए । तर, विवाह जसरी गरे हुन्छ भन्दै डा. भट्टराईले आपसी प्रेमका आधार विवाहको सफलता निर्धारण हुने बताए ।

डा. भट्टराईले मन्तव्य दिइसकेपछि बेहुला-बेहुलीलाई शुभकामना दिने पालो आयो । शुभकामनाका क्रममा परिवारका सदस्य र आगन्तुकले फूलका गुच्छा दिएका थिए । फूल नहुनेले शुभकामना मात्रै दिएका थिए ।

भट्टराईनिवासकै कम्पाउण्डमा आयोजना गरिएको वैवाहिक समारोहमा दुईवटा पाल टाँगिएका थिए । एउटा पालमा मञ्च बनाएर कार्यक्रम गरिएको थियो भने अर्को पालमा आगन्तुकका लागि खानाको प्रवन्ध गरिएको थियो । खानेकुरामा दालभात, तरकारी, अचार र मासुको व्यवस्था गरिएको थियो ।

प्रचण्डलगायत राजनीतिज्ञ निम्त्याइएनन्

पूर्वप्रधानमन्त्री एवं एमाओवादीका निवर्तमान नेता डा. भट्टराईको छोरीको विवाहमा राजनीतिक नेताहरु खासै देखिएनन् । बरु नागरिक समाजका अगुवा, प्रशासक र नयाँशक्तिमा लागेका नेता कार्यकर्ताहरु देखिएका थिए ।

Manusi-marriage-1विवाहको निम्तालुमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पनि देखिएको थियो । त्यस्तै मुख्यसचिव सोमनाथ सुवेदी पनि निम्तो मान्न पुगेका थिए ।

त्यसैगरी कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी, लेखकहरु सिके लाल, खगेन्द्र संग्रौला, नागरिक अगुवा एवं पूर्वसभामुख दमननाथ ढुंगाना, देवेन्द्रराज कँडेलदेखि प्रशान्त झासम्म निम्त्याइएका थिए । एमाओवादी नेता राम कार्की पनि विवाह समारोहमा उपस्थित थिए ।

Manusi-marriage

नयाँ शक्तिमा लागेका चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर र अशोक शर्मादेखि नयाँ शक्तिमा नलागेकी रेखा थापासम्म वैवाहिक समारोहमा सहभागी थिए ।

त्यसैगरी पूर्वसचिव रामेश्वर खनाल, डा. प्रवीण मिश्रदेखि पूर्वप्रहरी अधिकृत गणेशराज राई लगायतको पनि उपस्थिति थियो । विवाहमा राजनीतिक दलका नेताहरुलाई भन्दा पनि आफ्ना शुभचिन्तकहरुलाई मात्रै निम्त्याइएको भट्टराईको पारिवारिक स्रोतले बतायो ।

Manusi-marriage-2

Manusi-marriage-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment