+
+

कथाः हृयाप्पी भ्यालेन्टाइन !

एकराज प्रधान एकराज प्रधान
२०७२ फागुन २ गते ९:१६

यादहरु । केही यति मीठा हुन्छन्, कतिबेला सपनाको संसारमा पुगिन्छ पत्तै हुँदैन । केही यति नमिठा हुन्छन्, जसले निदाउनै दिँदैनन् । पोलिरहन्छ, भत्भती । बढाइरहन्छ, छटपटी । आज यही मीठो र नमीठोबीच म अलमलिइरहेछु । जुन यादहरु हिजो मीठा लाग्थे, तिनैले आज मेरो निद्रा बिथोलिरहेछन् ।

म लमतन्न छु, आरामदायी बिछ्यौनामा । ‘निद्राको ओखती हो पढाइ’, भनेकी थिई उसले । तर, त्यसमा पनि उसकै याद जोडिएको छ । म पढ्न चाहन्नँ । ‘केही कुरा बिर्सिन आफूलाई बिजी राख्नुपर्छ’, ऊ भन्थी । तर, रातको यो समय केमा व्यस्त रहुँ म ? केले रोकुँ, कसरी छेकुँ म यादहरुलाई ? दिन बित्छ, तर रात बित्दैन ! आज मात्र होइन, हिजो पनि, अस्ति पनि । लगभग एक्लै भएदेखि नै । बिर्सन चाहन्छु । तर, बिर्सने बहानामा सम्झिरहेछु । हरपल ।

शरीर समुद्रपारि घिसारेर ल्याएको छु । मनलाई मनाएर । तर, यो मन फेरि पनि उतै बतासिन्छ । यो मनको उडानलाई मेरो इच्छाले रोक्न सकिरहेको छैन । भनूँ मेरो इच्छा पनि मेरो पक्षमा छैन ।

भएन । साह्रै भएन । अब फेसबुक चलाउँछु । ल्यापटप खोलेँ । लगअन गरेँ । लगअन गर्नासाथ दाहिने कुनामा देखियो – केकको सिम्बोलसहित ‘टु डे इज स्मृतिज् बर्थ डे’ ।

मनले मानेन । क्लिक गरेँ । देखियो, उनको हँसिलो अनुहार । लेख्न मन भो, ‘हृयाप्पी बर्थ डे इसु ।’ तर, ममा त्यत्रो हिम्मत कहाँ ! औँलाहरु हिउँले कठ्याङ्ग्रिएजस्तो अररा भए । टाइप गरेनन्, न माउस चलाएर सार्न आदेश दियो मनले । म एकनास हेरिरहेँ ।

त्यो त्यही तस्वीर थियो, जुन मैले खिचिदिएको थिएँ । जसलाई उसले खूब मनपराएकी थिई । र, भनेकी थिई – ‘यो तस्वीर मायाले खिचेको हो, त्यसैले यति राम्रो छ ।’

आँखाका चेप रसिला भएको महसुस भो । मन केही हल्का भो । औँला चले, माउसको कर्सर नेक्स्ट बटनमा पुगेर क्लिक भयो । देखियो, अर्को तस्वीर । बाल्यकाल पूरै ताजा भएर आयो । तस्वीरमा ऊ नाचिरहेकी थिई । मामाको बिहेको तस्विर थियो, त्यो । त्यसबेला बजिरहेको थियो, सम्झना बिर्सना सललल… ।

नाचमा हाम्रो जोडीको चर्चा गाउँमा मात्र हैन, डाँडागाउँ, ८ नम्बर, गोपालडाँडा, कालिस्थान सबैतिर फैलिएको थियो । हाम्रो नाच सुरु भएपछि साइसाइ सुइसुई चल्थ्यो । गीत सकिएपछि पैसाको वषर्ा । कसले कति दिने भनेर होडबाजी चल्थ्यो । अनि पैसा लिएर फेरि नाचिन्थ्यो –
‘मलाई फूल्न देऊ, तिम्रो वरिपरि…’

यो गीतको नृत्य सुपरहिट भएको थियो । त्यो गीतमा ऊ साँच्चै राम्रो नाच्थी । लाग्थ्यो, ऊ मनैदेखि नाच्थी । र, म पनि ।

मेरो मनले सधैँ उनीसँग नजिक हुन चाहिरहृयो । तर, चाहनु र हुनु फरक थियो । मन भन्थ्यो, उज्यालो हुने बित्तिकै उनैकोमा पुगुँ । बाबा भन्नुहुन्थ्यो, ‘पढ्न बस् ।’

‘किताब लेर जाउँ’, म निहुँ झिक्थेँ ।

‘पर्दैन ।’ हकार्नुहुन्थ्यो ।

Ekraj Pradhan
एकराज प्रधान

‘तँलाई बिहान बिहानै अर्काको घर चहार्नु पर्ने ?’ आमा कड्किनुहुन्थ्यो, भान्साभित्र अँगेनामा दाउरा ठोस्दै । त्यही बेला ग्वालीको गाईले पनि ‘डुँवाऽ’ गरेर लेघ्रो तान्यो । गोरुहरुले खुट्टा बजारे । अनि गड्याङगुडुङ आवाज ।

‘पड्केहरु त मर्छन् कि क्या हो ?’ बा मुढाबाट जुरुक्क उठ्नु भो र ग्वालीतिर लाग्नुभो । यही मौकामा म फुत्त भागेँ ।

पुगेँ । उसको घर । टिनले छाएको । फूलबारी छेऊमा पुगेँ । बरन्डामा बसेर ऊ पढिरहेकी थिई । पढेको के भन्नु, घोक्दै थिई । ‘नटिप्नु हेर कोपिला, न चुँड्नु पाप लाग्दछ….’ म फूलहरुसँगै थिएँ । कविता रट्दै उसले फूल सम्झी क्यार ! फूलबारीतिरै हेरी । र, देखिहाली । अनि चूप भई ।

‘एऽ स्मृति, के भो हँ ?’

ऊ रोकिएपछि भित्रबाट आवाज आयो, उसको हजुरआमाको । ऊ मलाई हेर्दै थिई, अक्क न बक्क भएर । सायद ऊ उतै बोलाउँ कि यतै आउँको अन्योलमा फँसेकी थिई । हजुरआमा आइपुगिन् । उनलाई गाउँलेले नाम दिएको थियो – बञ्जार्नी आमै । हेर्दै कडा । आफ्नो त सातो गइगो ! उनैले गर्दा हो, उसले मलाई त्यहाँ बोलाउन नसकेको । आमैको कडा स्वभाव नरम भएको मौकामा मात्र हो मैले त्यहाँ प्रवेश पाउने । नत्र बाटैबाट भन्थिन् – ‘आउनु पर्‍या छैन, शान्तिपुरेको सन्तान !

बा शान्तिपुरबाट दुःख पाएर बुधबारे झरेका । दया-मायाले तिनै बञ्जार्नी आमैले बस्न दिएको । पहिले बुबा उनैको हलिगोठालो भएको । पछि, खै के निहुँमा हो आमैले बाझेर त्यहाँबाट निकालेको । मलाई थाहा भएको यत्ति हो ।

त्यसैको रिस पोखिन्थ्यो बेलाबेला ममाथि । नत्र त मायै गर्ने हुन् । कारण, उनैले हो मलाई ढाडमा पछ्यौराले बाँधेर गाउँभरि घुमाएको । उनैले हो हर्लिक्स र मिस्रीको डल्लाको स्वाद चखाएको । उनैले हो राईनी बढीकहाँ मिठाइमा पल्काएको । बा-आमा त खेताला । कहाँ पुग्थे कहाँ ! म उनको साथी जस्तो, उनी मेरो । यो स्मृति आउनुभन्दा अघिको कुरो ।

उनले आइजको इसारामा आँखा सन्काएपछि म लुते कुकुरले पुच्छर हल्लाउँदै हिँडेको चालमा पुग्थेँ, बरन्डामा । अनि, स्मृतिलाई एक मुस्कान छोड्थेँ । बदलामा ऊ पनि छोड्थी । अनि सुरु हुन्थ्यो कम्पिडिसन । पढ्ने, खेल्ने, गाउने, नाच्ने । कम्पिडिसनले आवाज चर्केर आमैलाई झर्को लागेको पत्तै पाइन्नथ्यो । आएर कान निमोठेपछि मात्रै पो चालपाइन्थ्यो । ‘तँलाई शान्तिपुरेको सन्तान, हल्ला गर्छस् ।’ गाली प्रायः यत्ति नै ।

शनिबार । हाम्रो प्रिय बार । बा-आमालाई पनि । हाम्रो लागि स्कुल छुट्टी हुन्थ्यो, त्यसैले । बाआमाका लागि हाम्रो छुट्टहिुन्थ्यो, त्यसैले । खुसीको अर्को कारण थियो, २ बजेपछि स्मृतिको घर जाने र ऊसँगै बसेर टीभीमा सिनेमा हेर्ने, त्यसैले । बा-आमा सोच्थे, छुट्टीमा छोराले काम सघाउँछ, त्यसैले । अरु दिन गोबर सोहोर्नु पर्थेन, सोर्थें । घाँस काट्नु पर्थेन, काट्थेँ । सिन्को भाँच्नु पर्थेन, त्यो दिन सब गर्थें । बस्, २ बजेपछि छुट्टी चाहियो ।

तर, बा मान्नुहुन्नथ्यो । भन्नुहुन्थ्यो, ‘टिभी हेर्नुहुन्न, आँखा बिग्रन्छ ।’

मलाई ढाँटेजस्तो लाग्थ्यो । अनि भन्नुहुन्थ्यो, ‘जङ्गल हिँड्, दाउरा लिन ।’ जानै पथ्र्यो । बाटाभरि, जङ्गलभरि स्मृतिको घर, टीभी र सिनेमाका हिरो हिरोइन नाचिरहन्थे आँखामा ।

एक दिन ऊ पनि आएकी थिई । उसको मामासँग । सानो डोको बोकेर । उसका मामाले भनेका थिए, ‘हिँड् सुमे, जङ्गल ।’
त्यसबेला लागेको थियो, उनले मेरो मनैको कुरा गरे । प्रिय कुरा !

म हिँडे । नाम्लो र खुकुरी लिएर । बाटोभरि उसले सिनेमाको कुरा गरी । हिरो-हिरोइनको प्रेम कहानी, अभिनय गरी-गरी सुनाई । बासँग जाँदा बाटो लम्बिएर १० किलोमिटर टाढा जङ्गल उतै उतै भाग्दैछ जस्तो लाग्थ्यो । तर, उनीसँग जाँदा जङ्गल आफैँ आफूतिर आउँदैछ जस्तो लाग्दैथियो । उनको मामा, अर्थात् कालुमान आफ्नै सुरमा सुसेल्दै हिन्दी गीत गुनगुनाइरहेथे – मुझे निँद ना आए ….. ।

जङ्गलमा ऊ र म सँगसँगै । दाउरा खोज्न मलाई नै सघाउँदै थिई । अनि गीत गाउँथी, वनै घन्कने गरी । म स्वर थप्थेँ । कालुमान मामा मूढे बल लाएर रुखको ठुटामा बञ्चरो बजार्दै थिए । पहिले घर वरपर थुप्रै थिए त्यस्ता ठुटाहरु । कारण, वन फाँडेर बसेको रे हाम्रो गाउँ । पछि वन समिति बनेपछि रुख काट्न छाडिएको रे  मैले थाहा पाएको यत्ति हो ।

जङ्गलमा उसले गीत मात्रै गाइन, उसको मनको दुःख पनि बिसाई । आमाले अर्कैसँग बिहे गरेपछि ऊ मावल ल्याइएकी रहेछ, उसैले भनी ।
‘खै मामुले मलाई बिर्सिनु भो होला अब त ! उसले भनी ।

‘तिमीलाई मामुको माया लाग्दैन ?’

‘लाग्छ नि । कहाँ हुनुहुन्छ कहाँ, मलाई नि थाहा छैन । मामालाई सोध्छु, तेरी मामु मरी भन्नुहुन्छ । हजुरआमालाई सोध्छु, आइन्दा त्यस छौँडाको कुरा नगर् भन्नुहुन्छ । मामु पनि छौँडा हुन्छन् र !

‘खै मेरी आमा त हुनुहुन्न ।’ मैले भनेको थिएँ ।

‘मामु भएको ठाउँमा जान मन लाग्छ । बाबाले भन्नु भएको काठमाडौँ हो रे ! धेरै टाढा छ रे !  मलाई यहाँ बस्न मनै लाग्दैन । तिमी छौ र मात्रै ।’

‘आमाले भन्नु भएको, आमा भनेको भगवान् हुन् । तिमीलाई थाहा छ, भगवान कहाँ हुन्छ ?’
‘अहँ ।’
‘मनभित्र । मुटुमा । हामीले आँखा चिम्लेर मात्रै भगवान देख्छौँ रे !

‘त्यसो भए म आँखा चिम्लूँ ?’

‘किन ?’

‘म एकचोटि मामुलाई हेर्न चाहन्छु ।’

उसले आँखा चिम्ली ।

‘एई स्मृति…. एई सुमे… कहाँ छौ ?’ मामाको झर्को आवाज । ध्यानमग्न उसको आँखा उघि्रयो । दुवै दौडियौँ, दाउरा बोकेर । उसले आमालाई देखी/देखिन, मैले सोध्नै बिर्सिएँ ।

‘तिम्रो बाबा कहाँ हुनुहुन्छ ?’

‘विदेश ।’

‘किन जानुभको ?’

‘धेरै पैसा कमाउन रे ! हाम्रो त घर पनि छैन रे ! उहाँ आएर घर बनाउने अरे ! अनि मामु पनि ल्याउने रे !’

‘मलाई पनि लैजाऊ है तिम्रो घर ।’

‘ल ।’

*****

मैले फेसबुकमा अर्को तस्वीर पल्टाएँ । त्यहाँ थिए, उसको बाबा, ऊ र उसको मामु । ऊ बच्चै थिई । अर्को फोटो पल्टाएँ । अगाडि आएका केशराशि हातको काइँयो बनाएर पछाडि लाँदै गरेको उसको तस्वीर । सायद, उसले यो तस्वीर मेरै लागि अपलोड गरेकी थिई । हेरिरहुँ लाग्ने त्यो झलक । जसमा उसले कपाल हटाइरहनेछे निरन्तर, अनि ग्रहण हटेझैँ उसको अनुहार जूनझँै चम्किरहनेछ । अनि, उसको मीठो मुस्कान सधैँ मुस्कुराइरहनेछ ।

मुस्कान मात्र होइन, उसका कुरा पनि मीठा ।

‘लैजा चरी हावा सरी
यो सन्देश मेरो प्यारो साथी
सुमनको हातमा पुग्ने गरी
नयाँ वर्ष सालले खुसी छरोस् सधैँभरि ।

पानाभित्र गुलाफ भएको पोस्टकार्ड पछाडि उसले यत्ति लेखेर मेरो किताबमा कतिबेला हालिदिई मैले पत्तै पाइनँ । रतनले पो भेटेछ । के निहुँ पाउँ, कनिका पोखाउँ भयो । कक्षाभर हल्ला फैलायो । सुमन र स्मृतिको त लभ पर्‍यो ! भित्तामा कोरिए एस प्लस एस । ऊ लाजले रातोपिरो भा’थी । म कालोनिलो ।

त्यस घटनापछि केही दिन हाम्रो बोलचाल भएन । म चाहन्थेँ, म पनि त्यस्तै पोस्टकार्ड किनुँ, त्यस्तै लेखेर दिउँ । तर पैसा भा पो ! ठ्याक्कै एक रुप्पे पर्ने ! रोइकराइ गरेर आमाबाट झारियो एक रुप्पे । त्यो लेर राईनी बढीकहाँ गइयो । छानिसकेर उब्रेका, मन नपरेर छाडिएका पोस्टकार्ड मात्र थिए । तिनै मध्ये छान्नुपर्ने भो । राजेश र करिश्माको तस्वीर मात्रै राम्रो हो कि जस्तो लाग्यो । थुतेँ र एक रुप्पेको ढ्याक दिएँ ।

घर ल्याएँ । लेख्ने के ? सोध्ने कसलाई ? पढ्ने निहुँ गर्दै टुकी बालेर रातभर अनिदै बसेँ । बा-आमा हेर्न आउनुभो भने छोपिगयो किताबमा । अनि धामीले झैँ हेनेमेने भट्यायो कविता । बल्ल तल्ल यत्ति लेखियो –

फूल होस् त गुलाब जस्तो
साथी होस् त स्मृति जस्तो…
– तिम्रो प्यारो साथी सुमन

भोलिपल्ट घाम आकाश उक्लनासाथ लिएर पुगेँ उसको घरमै । दिने आँट आउँदैन त ! पछाडि लुकाएको लुकायै ।

‘के छ ?’ भनी ।
‘केही होइन ।’ भनेँ ।

उसले हेर्न खोजी । देखाइनँ । यत्तिकैमा कत्तिबेला हजुरआमाको हात पर्‍यो-पर्‍यो मैले नै थाहा पाइनँ । फोटो हेरिन् । लेखेको हेरिन् । बुझे पो ! कालो अक्षर भैँसी बराबर ! अनि कालुमानलाई बोलाइन् । मामाले पढेका थिए, तीन कक्षे । कनीकुथी पढे । राता राता आँखा पार्दै मलाई एक फड्याङ लाए । अनि च्यातचुत पारे ।

आँखा मेरा पनि राता भए । तर, रिसले होइन । कारण, त्यो पढेर स्मृतिले के भन्थी मैले सुन्न पाइनँ । कारण, एक रुप्पे पाउन मैले अब धेरै दिन कुर्नु पर्नेछ र आमालाई धेरै फकाउनु पर्नेछ । कारण, त्यसबेलासम्म राईनी बढीकहाँ पोस्टकार्ड पाइने छैन । र, स्मृतिले मबाट पोस्टकार्ड पाउन अब अर्को वर्ष पर्खिनु पर्नेछ ।

*****

मैले त्यो फोटो पनि क्लोज गरेँ । अनि उसको एल्बममा क्लिक गरेँ । एल्बमको नाम राखिएको थियो, ‘तिम्रै लागि’ । क्लिक गरेँ । पहिलो थियो, च्यातिएर धुजाधुजा भएको राजेश र करिश्माको त्यही तस्वीर । जसलाई बडो मेहनतसाथ जोडिएको थियो । दोस्रो फोटो थियो, त्यसैको पछाडि मैले कोरेको शुभकामना । अनि क्याप्सन लेखिएको थियो, ‘मैले पाउन नसकेको पोस्टकार्ड ।’

त्यो घटनापछि मामासँग केही दिन बोलचाल भएन । पछि उनी आफैँ थामिएनन् र भने ‘सुमे, तँ रिसा’ छस् है ? मैले त्यसो नगर्नुपर्ने थियो, माफ गर् ।’

मैले मुन्टो हल्लाएर माफ गरेँ । पछि उसले सोधी, स्कूलमा –

“’तिमीलाई मामाले किन सुमे भनेको ?’

‘माया गरेर भनेको नि ।’

‘मलाई त कसैले माया गर्दैनन् ।’

‘किन ?’
‘मलाई त स्मृति नै भनेर बोलाउँछन्, सबैले ।’
‘त्यसो भए म भनूँ, रिसाउँदैनौ ?’
‘भन त !’
‘म तिमीलाई इसु भनेर बोलाउँछु है !’

त्यसपछि उसले मलाई घ्वाप्पै अँगाली । र, भनी – ‘यो संसारमा तिमी नै हौ मलाई धेरै माया गर्ने ।’

****

अर्को तस्वीर थियो, मोबाइल कानमा लगाएर आकाशतिर हेरेर हल्का मुस्कुराएको । ऊ भन्थी, ‘यो मोडलिङ गरेको तिम्रा लागि । तिमीसँग फोनमा कुरा गर्दा म यस्तै हुन्छु, खुसी ।’

छुटेपछि मोबाइलले नै हो हामीलाई जोडेको ।

छुट्नु अघि ऊ आएकी थिई, घर । उसको हातमा थियो दूरवीन । मेरो हातमा थमाउँदै भनेकी थिई – ‘यो बाबाले विदेशबाट ल्याउनु भएको । यसले टाढाको चिज नजिकै देखिन्छ रे ! म अब टाढा जाँदैछु । मलाई सम्भिmएको बेला माथि बसेर यसैबाट मलाई हेर्नु है !’

म बोलिनँ । भनूँ, बोल्न सकिनँ । उसैले भनी – ‘हाम्रो काठमाडौँमा घर छ रे ! त्यो घरमा मामु पनि हुनुहुन्छ रे ! अब म उतै पढ्नु भन्नुभा छ । छुट्टीमा मावल आउने रे ! तिमी राम्रो पढ्नु है !’ यति भन्दानभन्दै उसले मलाई अँगालेकी थिई र भक्कानिँदै भनेकी थिई – ‘मलाई नबिर्सनु है ।’

म अझै बोलिनँ । उसका बुबा आइपुगे । भने, ‘बाबु इसु, साथीलाई अब बाइ भन ।’

छुट्टएिर उसले आँशु पुछी र भनी – ‘तिमी पनि काठमाडौँ आउनु है !’ उसको बुबाले हात समाते र ताने । ऊ गई । टाढा टाढासम्म मैले दूरवीनले उसलाई नजिक बनाइरहेँ । ऊ गइरही । र, देखिन छाडी । म दूरबीन लिएर घरको छानामा चढेँ, देखिएन । घर छेउको आँपको रुखको टुप्पोमा पुगेर हेरेँ अहँ देखिएन । सबै भ्रम हो, मनले मान्यो ।

मैले बाबाआमालाई काठमाडौँ जाने जिद्दी गर्न थालेको थिएँ । बाबाले भन्नुभएको थियो, ‘एसएलसी पास गरेपछि ।’ जिद्दी गरेर मात्र के गर्नु, पैसा पनि त हुनुपर्‍यो ! एसएलसी आयो, पाँच वर्षपछि । यसबीच ऊ आइन ।  मात्र उसका मीठा-मीठा यादहरु आइरहे । एसएलसी सकियो । मात्र रिजल्टको पर्खाइ थियो ।

ऊ आई । अचानक । मेरो घर । गिफ्ट बोकेर । मैले सोधेको थिएँ – ‘आमालाई भेट्यौ ?’

‘अहँ ।’

‘बाबाले ढाँट्नु भएको रहेछ । सौतेनी आमा पो हुनुहुँदो रहेछ । कति मावल आउन खोजेँ, दिनै भएन । एसएलसी सकेर मात्रै भन्नुभो । बल्ल सकियो र तिमीलाई भेट्न आ’को ।’

छाति फुलेर चौडा भो । श्वास बढ्न थाल्यो, त्यसैत्यसै । कारण, मैले सोचेजस्तै भएको थियो ।
‘गिफ्ट हेर न ।’

‘के छ ?’

‘हृयाऽ हेर न क्या !’

मैले खोलेँ । त्यहाँ थियो मोबाइल । स्यामसुङ ग्यालेक्सी ।

‘यो मोबाइल तिम्रो लागि । हामी टाढा भए पनि यसले नजिक पार्नेछ । तिमीले मलाई सुन्ने, मैले तिमीलाई सुन्ने ।’
‘बाबाले पनि तिमीलाई इसु भन्नुहुन्छ है !’

‘मैले आफैँ सिकाएको, तिमीलाई सम्झन । माया त बाबाले गर्नै भ्याउनुहुन्न । अहिले त उहाँ ठूलो बिजनेसम्यान, उहाँसँग भेटघाटै हुँदैन । पैसा जत्ति पनि छ, त्यसैले अलिकति उहाँको पैसा खर्चेर म तिम्रो माया किन्न चाहन्छु ।’

‘तिमीलाई थाहा छ ?’ उसैले भनी, ‘यसमा त फेसबुक पनि चल्छ, फोटो पनि खिच्छ, भिडियो पनि खिच्छ ।’

पाँच दिनभित्र उसले फेसबुक, भाइबर, च्याट, इन्टरनेट सबैकुरा सिकाई । त्यसपछि हाम्रो च्याटिङ सुरु भएको थियो । गफैगफ, गफैगफ, गफैगफ ।

बाबाले भनेको कुरा लागू भएन । एसएलसीपछि पनि मैले काठमाडौँ जान पाइनँ । प्लस टु सकियो । ब्याचलर सकियो । बल्ल मास्टर्सका लागि मैले काठमाडौँ जानुपर्ने भो । म त्यसको तयारीमा लागेको थिएँ ।

****

मैले त्यो एल्बम पनि क्लोज गरेँ । अनि ब्याक गरेँ । त्यहाँ देखेँ – जसलाई म हेर्न चाहन्नथेँ । त्यो ट्याग फोटो थियो, उसको पि्रय साथीको ।
त्यो रात । हामीले घण्टौँ कुरा गरेका थियौँ ।

मैले मास्टर्स गर्न काठमाडौँ आउने कुरा उसलाई सुनाएको थिएँ । काठमाडौँमा बस्ने योजना सुनाएको थिएँ । उसले पनि पूरै काठमाडौँ घुमाएकी थिई, कुरैकुरामा । रत्नपार्क, घण्टाघर, स्वयम्भू, पशुपतिनाथ, रानीपोखरी, धरहरा, गोदावारी ।

म कल्पँदै थिएँ, उसको कुरासँगसँगै । कुरैकुरामा उसले सुनाई – ‘मैले आमालाई भेटेँ नि । उहाँले साह्रै माया गर्नुहुँदो रहेछ । मलाई भेटेर रुनु भयो । भन्नुभो, हजुरआमाले उहाँको जबर्जस्ती बुबासँग बिहे गरिदिएको रे ! बाबासँग झगडा भइरहन्थ्यो रे ! पछि मामुले मनपराएको मान्छेसँग जानुभएछ । हजुरआमाले तँ मरिस्, अब यही नातिनी मेरो छोरी भनेर मलाई खोसेर मावल लगेको रे ! भोलि हामी धरहरामा घुम्न जानेँ, फिल्म हेर्ने ।’

भोलिपल्ट शनिबार । पहिलेको जस्तो जङ्गल जाने चलन लगभग हराइसकेको थियो । गाउँ-गाउँमा सिलिन्डर ग्यास जल्न थालिसकेको थियो । २०७२ वैशाख १२ । दिउँसो १ बजेतिर अचानक धर्ती हल्लियो । रिँगटा लागेजस्तो, धङ्धङी लागेजस्तो । पृथ्वी नै पूरै उथलपुथल भए जस्तै । धर्ती हल्लिन छाड्यो, तर दिमाग हल्लिरहृयो धेरै बेर ।

मैले इसुलाई सम्झिएँ । नेटवर्क छैन । रेडियो-टिभीमा खबर बज्न थाल्यो, काठमाडौँ त सखाप भो रे ! मृत्यु हुनेको सङ्ख्या घट्दै-बढ्दै थियो । मैले फेसबुक लगअन गरेँ । ऊ अनलाइन छैन । फोन कामै लागिरहेको थिएन । अत्यासले खाइरहृयो । चिन्ताले न्याकिरहृयो । लगभग साँझ पर्न लाग्दा उसको प्रोफाइलमा ट्याग भो मोबाइलमा कुरा गरिरहेको उसको त्यही तस्विर । र, लेखिएको थियो हार्दिक श्रद्धासुमन प्यारी साथी स्मृति । तिम्रो आत्माले चीर शान्ति पाओस् । कमेन्ट बक्समा थुप्रै ‘रिप’ (आरआईपी) लेखिएका थिए ।

म टुक्रिएँ । मन टुक्रियो । सपना टुक्रियो । भुइँचालोले धर्ती हल्लाइरहृयो । मेरो सपनाको घर भत्किरहृयो, गर्ल्याम्म… गर्ल्याम्म… । म आलसतालस बनेर पल्टिरहेँ, बिछ्यौनामा । मनले भनिरहृयो, इसु… इसु… इसु… ।

****

त्यो फोटोलाई निमर्मतापूर्वक क्लोज गरेँ । जसलाई म पटक-पटक हेर्न चाहन्थेँ । जसमा उनको खुसी देख्न पाउँथे । एक मनले भन्यो – सदाका लागि उनलाई अनप|mेन्ड गरिदिउँ । त्यसपछि यो तस्वीर हेर्नै पर्दैन । अर्को मनले भन्यो, ‘फेरि मैले उनलाई कहिल्यै फ्रेन्ड्स बनाउन पाउने छैन ।’ किनकि उनको च्याट बक्सको हरियो बत्ती सदाका लागि निभिसकेको थियो ।

रातको १२ नाघिसकेको ल्यापटपको दायाँतिर तल्लो कुनाको घडीमा देखियो । उनका अरु फोटो हेर्न मन लागेन । फेसबुकको होममा क्लिक गरेँ, रिसेन्ट अपडेट हेर्न । त्यहाँ अपडेट भएको थियो, हृयाप्पी भ्यालेनटाइन डे ।

हामीले एक-अर्कालाई कहिल्यै भ्यालेनटाइन विस गरेनौँ । मात्र महसुस गर्‍यौँ । अनि उनको अफलाइन च्याट बक्स खोलेँ, जसमा अन्तिम म्यासेज उनकै थियो –

तिमी आउँदैछौ, मेरो माया आउँदैछ
म कुरिरहेछु, पर्खिरहेछु…

रिप्लाइमा मैले लेखेँ – डियर इसु, लभ यू एन्ड हृयाप्पी भ्यालेनटाइन डे ! भ्यालेन्टाइन डे अमर मायाको सम्झना हो । तिम्रो माया कहिल्यै मर्ने छैन । तिमीलाई कहिल्यै बिर्सने छैन, भ्यालेनटाइनलाई जस्तै ।….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?