Comments Add Comment

मेरी श्रीमतीः रमिला आएपछि मैले दोस्रो जन्म पाएँ

Hari Bansha Acharya (4)

हरिवंश आचार्य, अभिनेता

मेरो विचारमा श्रीमती अनुशासनको आधार र अभिभावक हुन् । बाबुआमाले सन्तानलाई सधैँ साथ दिन पाउँदैनन् । सन्तानभन्दा पहिले नै बाबुआमाले धर्ती छाड्छन्, यो सृष्टिको नियम हो । लोग्ने मान्छेका लागि आमापछिको अभिभावक श्रीमती नै हुन् । आमाले खासगरी आफ्नो छोरालाई एक किसिमले बुहारीको जिम्मा लगाएर जान्छिन्- व्यवहार र आत्माले, मुखले भनेर होइन । यस अर्थमा श्रीमती अभिभावक हुन् । कोही पनि अनुशासित भएर बस्न कसैलाई आदर-सम्मान गर्नुपर्ने हुन्छ । श्रीमतीसँग डराउनु पनि पर्छ । तर, सम्मान र आदरमा । श्रीमतीलाई आदर गर्यो भन्देखिन् मात्रै, पुरुषको जीवन सार्थक हुन्छ । श्रीमतीबिनाको पुरुष अनुशासित हुन सक्दैन जस्तो लाग्छ ।

पहिलो भेटमै मन पराएँ

मेरो विवाह प्रेम र मागी दुवै हो । ०३८ सालतिरको कुरा हो, म नक्सालमा बस्थेँ । उनलाई मैले नक्सालमै हिँडिरहेको देखेको हुँ । पहिलोपटक देख्दा नै म उनीप्रति यति सम्मोहित र आकषिर्त भएँ कि त्यसअघि कुनै युवती देखेर भएको थिइनँ । हेर्दै सुशील, मृदु र मिजासिली लाग्यो । बिस्तारै उनीबारे चासो दिन थालेँ । उनी र म बस्ने ठाउँको दूरी त्यस्तै पाँच सय मिटर जति रहेछ । सीआईडीजस्तै पछिपछि हिँडेर उनको घरसम्मै पुग्थेँ ।

सुरुमा उनलाई मागेर पाउँछु जस्तो लागेको थिएन । किनभने, श्रीमतीलाई पाल्न सक्ने वा सुख दिन सक्ने हैसियत बनाइसकेको थिइनँ । तर, मेरो करिअर बिस्तारै बन्दै थियो । भर्खर-भर्खर स्टेज प्रोग्राम गर्न थालेको थिएँ । मदनदाइ (मदनकृष्ण श्रेष्ठ)सँग सहकार्य भइसकेको थियो, हाम्रो क्यासेट ‘यमलोक’को राम्रो बिक्री भयो । राष्ट्र बैंकमा अस्थायी जागिर पनि थियो ।

Hari Bansha Acharya (2)

बुझ्दै जाँदा थाहा भयो, नाम मीरा, उनकी आमा मेरै साथी (राजाराम पौड्याल) आमाकी साथी । उनलाई मागेरै आफ्नो बनाउन सक्छुजस्तो लाग्न थाल्यो । बुवाआमा खसिसकेको र दिदीहरूको विवाह भइसकेकाले म एक्लो भएको थिएँ, विवाह गर्नुपर्ने थियो, उमेर पनि भइसकेको थियो ।

राजारामको घरमा म गइरहन्थेँ । राजाराम आमालाई हँसाइरहन्थ्यो । म पनि हँसाउँथे । यसैले आमासँग बिहेको कुरा गर्न अप्ठेरो थिएन । राजारामकी आमा मलाई आफ्नै आमाजस्तो लाग्थ्यो । मीरा मन पर्ने कुरा मैले आमालाई सुनाएँ । मीराकी आमासँग कुरा राख्न पनि भनेँ । आमाले कुरा पठाउनुभयो । तर, बिहे गर्ने बेला नभएकाले मीराले नै बिहे गर्न नचाहेको खबर आयो । म निराश भएँ, अब मैले मीरालाई नपाउने भएँ भनेर । ६-७ महिना त्यत्तिकै बित्यो, केही कुरा भएन ।

योबीचमा मीराको परिवारले मबारे बुझेको हुनुपर्छ, मलाई ठीकै लागेर हुनुपर्छ, उतैबाट कुरा आयो- मीरा मलाई दिने संकेतको । मलाई त संसारै जित्याजस्तो भइहाल्यो ।

नक्सालमै राजारामकी आमाको अर्की साथी हुनुहुन्थ्यो, उहाँलाई डाली ममी भन्थ्यौँ हामी, उहाँको घरमा मीरा र मेरो भेट गराइयो । त्यहाँ मीरा र मीराको ममी आउनुभएको थियो । ०४०सालमा मीरा र मेरो साधारण तरिकाले विवाह भयो ।

छोराहरू जन्मँदा

ठूलो छोरा ०४२ सालमा जन्मियो । परिवारमा म र श्रीमती मात्रै थियौँ । उनी गर्भवती हुँदा मैले उनलाई ख्याल गरेँ । म किचनमा गएको उनलाई मन पर्दैनथ्यो, भद्रगोल हुन्छ भनेर । मैले उनलाई किचनमा पूर्ण सहयोग गर्थें । गर्भवतीलाई कसरी ख्याल गर्नुपर्छ भन्ने मलाई थाहा थियो, रेडियो कार्यक्रम गर्दा सुनेको थिएँ । व्यथा लागेपछि उनलाई प्रसूतिगृह लगेँ, सहज अवस्थामै ठूलो छोरा जन्मियो ।

Hari Bansha Acharya (1)

कान्छो छोरा मोहित जन्मँदा भने उनलाई बढी नै गाह्रो भयो । उनलाई जन्डिस र टाइफाइड भएको थियो । गर्भवती अवस्थामा यस्तो हुनु निकै जोखिमपूर्ण हो । उनलाई चार महिना हस्पिटलमा राखेँ । दुई महिना वीर हस्पिटल र दुई महिना पाटन हस्पिटल । कि आमा नहुन सक्छ कि बच्चा नहुन सक्छ भन्नेसम्मको कुरा भइसकेको थियो । उपचारपछि पनि पेटमा भएको बच्चालाई आराम गराउनुपर्ने भयो । वीरले आरामका लागि पाटन हस्पिटल पठायो । पाटनमा दुई महिना राखेँ । त्यो बेला ठूलो छोरा तीन वर्षको थियो । घरमा छोरालाई हेर्नुपर्ने र हस्पिटलमा मीरालाई हेर्नुपर्ने थियो । मैले पूरै समय परिवारकै लागि दिएँ । मेरा दिदीहरूले पनि सघाउनुभयो । मलाई गाह्रो भयो भनेर ठूलो छोरालाई लक्ष्मीदिदी (अभिनेत्री लक्ष्मी गिरि) ले लैजानुभयो, १०-१५ दिन राख्नुभयो ।

ठूलो छोरा र श्रीमतीलाई ख्याल गर्नुपथ्र्यो । पाटनमा दुई महिना राखेपछि मैले मीरालाई घरमा ल्याउन खोजेँ । डाक्टरले मानेनन् । मैले आराम नै गराउने हो, घरमै गराउँछु भनेँ । हस्पिटलले ‘आफैँ जिम्मेवार हुन्छौँ’ भनी साइन गराएर मात्रै उनलाई घरमा ल्याउन दियो । घट्टेकुलोको घरमा ल्याएकै राति उनलाई प्रसूति व्यथा लाग्यो । घरको भुइँतलामा एउटा परिवार भाडामा बस्थ्यो । उहाँहरूलाई ठूलो छोरा हेर्न भनेँ । मीरालाई माथिबाट तल ल्याउँदै थिएँ, हस्पिटल लैजान भनेर । त्यहीँ कान्छो छोरालाई जन्म दिइन् ।

साथीकी दिदी हुनुहुन्थ्यो, मैयाँ श्रेष्ठ, उहाँ प्रसूति गृहमा नर्स हुनुहुन्थ्यो, उहाँलाई फोन गरेँ । उहाँ राति नै आउनुभयो । ठूलो छोरा जन्मँदा पनि मैयाँदिदीले नै ख्याल गर्नुभएको थियो । भोलिपल्ट मीरालाई कान्ति हस्पिटल लग्यौँ, १८-२० दिन फेरि हस्पिटलमा राखेँ । उनको हेरविचार गरेँ ।

हाकिमलाई नभनी रेडियोमा बोल्न लगाएँ

उनी असाध्यै सरल थिइन् । उनीमा ठूला अपेक्षा-आकांक्षा थिएनन् । त्यो बेला मेरो आर्थिक हैसियत पनि मजबुत थिएन, अहिलेजस्तो । उनीसँग बिहे हुँदा मैले काठमाडौं घट्टेकुलोमा सानो घर बनाउँदै थिएँ । ठूलो जागिर पनि थिएन, १२-१३ सय तलब थियो । तर, उनी जे छ, त्यसैमा खुसी हुन्थिन् । सानो चिज किनेर ल्याइदिँदा पनि खुसी हुन्थिन् । मेरो त उनीप्रति कहिल्यै कुनै गुनासो रहेन ।

उनी असाध्यै मृदुभाषी लाग्थ्यो । असाध्यै मधुर र नरम बोल्ने । मलाई उनी रेडियामा बोल्नुपर्छ भन्ने लाग्थ्यो ।

मैले राष्ट्र बैंकमा बैंकसम्बन्धी रेडियो प्रोग्राम चलाउँथेँ, बैंकिङ प्रवर्द्धन समितिको, रेडियो नेपालबाट प्रसारण हुन्थ्यो । रेडियो नेपालमा ठूलै जिम्मेवारीमा दामोदर अधिकारीदाइ हुनुहुन्थ्यो । उहाँ थुप्रै रेडियो कार्यक्रमको उद्घोषक हुनुहुन्थ्यो, त्यो बेलाको पुस्ताले उहाँलाई गुरु नै मान्छन् । बैंकिङ कार्यक्रमको पनि प्रमुख मान्छे उहाँ नै हुनुहुन्थ्यो । मैले राष्ट्र बैंकबाट कोअर्डिनेसन गर्थें, कहिलेकाहीँ स्क्रिप्ट पनि लेख्थेँ । रेडियो नेपालमा कार्यक्रम रेकर्ड गर्न जान्थेँ । एक दिन मेरी श्रीमती मीरालाई पनि रेडियो नेपाल लिएर गएँ, यो ०४२ सालतिरको कुरा होला । मैले दामोदरदाइसँग अनुरोध गरेँ, ‘दाइ, उसको आवाज राम्रो लाग्छ मलाई । उनलाई पनि बोल्न दिँदा कसो होला ।’

Hari Bansha Acharya (6)

उहाँले मीरालाई माइकमा बोल्न लगाउनुभयो । बोल्नेबित्तिकै भन्नुभयो, ‘आवाज त राम्रो रैछ ।’ दामोदारदाइले रेडियो कार्यक्रमकै लागि थोरै-थोरै बोल्न दिनुभयो ।

आफ्नो कार्यक्रम रेकर्ड गर्न जाँदा मैले उनलाई रेडियो नेपाल लिएर जान थालेँ । उनलाई मैले नै चलाउने बैंकिङ कार्यक्रममा छोटा समाचार भन्न दियौँ । राष्ट्र बैंकमा मेरो हाकिम हुनुहुन्थ्यो, प्रमोद अर्याल । मैले उहाँलाई मेरी श्रीमतीले बोलेको भनेर भनेको थिइनँ, आफ्नै श्रीमतीलाई बोल्न दियो भन्ने आरोप लाग्ला भनेर । उहाँले भन्नुभयो, ‘केटीको आवाज राम्रो छ त !’ अनि मात्रै म ढुक्क भएँ र भनेँ, ‘मेरो श्रीमतीको आवाज हो ।’ उहाँले झनै प्रशंसा गर्नुभयो ।

व्यावसायिक प्रस्तोता

दामोदरदाइले रेडियो नेपालमा परिवार नियोजनसम्बन्धी कार्यक्रम चलाउनुहुन्थ्यो, त्यसमा पनि उहाँले मीरालाई बोल्न दिनुभयो, पारिश्रमिक पनि दिनुहुन्थ्यो ।

म्युजिक नेपालको एउटा सांगीतिक कार्यक्रम थियो, संगीत-सौगात, रेडियो नेपालको एफएम सय मेगाहर्जबाट प्रसारण हुन्थ्यो । एफएम भर्खर-भर्खर सुरु भएको थियो । मीराले संगीत सौगात चलाउन थालिन् । छिटै यो कार्यक्रम सफल बन्यो । धेरैले श्रोताले मन पराउँथे । त्यतिबेला म्युजिक नेपालबाट निस्कने क्यासेटहरूमा गीतभन्दा अगाडि केही शब्द बोल्ने चलन थियो, त्यसमा पनि मीराले बोल्न थालिन् ।

किरण खरेल, धन लामा त्यतिबेला रेडियो नेपालका स्थापित प्रस्तोता हुनुहुन्थ्यो । उहाँहरू लोकपि्रय हुनुहुन्थ्यो । उहाँहरूले पनि मीराको आवाज मन पराउनुहुन्थ्यो, रेडियोमा बोल्न बोलाउनुहुन्थ्यो । यसरी हेर्दाहेर्दै उनी व्यावसायिक र स्थापित रेडियो प्रस्तोता बनिन् ।

नम्र हुन सिकाइन्

Hari Bansha Acharya (7)म अलि ठूलो स्वरले बोल्थेँ । तर, उनी निकै नरम भएर बोल्थिन् । त्यसो हुँदा म क्रमशः सेलाउँदै जान्थेँ । पछिपछि त म पनि नम्र हुन, नरिसाउन सिकेँ । उनीजस्तै नरम बोल्ने हुन थालेँ । सुरु-सुरुमा म ठूलो स्वरले बोल्दा कहिलेकाहीँ उनी पनि ठूलै स्वर गरिन् भने, सामान्य ठुस्काठुस्की जस्तो हुन्थ्यो । लोग्नेस्वास्नीमा सामान्य ठुस्काठुस्की हुनु प्रेम नै हो, कहिलेकाहीँ हुनु पनि पर्छ । तर, उनलाई हात उठाउनु त मेरो कल्पनाबाहिरको कुरा थियो ।

मैले मोटरसाइकल छिटो हाँक्थेँ, उनले ढिलो चलाउन भन्थिन् । गाडी पनि म अलि रफ ड्राइभिङ गर्थें, छेउमा बसेका बेला उनी डराएर स्टेरिङ तान्थिन्, राम्रोसँग चलाउन भन्थिन् । त्यो गाडीको स्टेरिङ नै बांगोजस्तो भएको थियो, उनले तान्दातान्दै ।

मुटुको समस्या

दुवै छोरा जन्मिसकेका थिए । मीरामा मुटुको समस्या देखियो । उपचारका लागि दिल्ली लिएर गएँ, यो ०४६ सालतिरको कुरा हो । उनको मुटुमा पेस-मेकर राख्नुपर्ने भयो । पेस-मेकर भनेको ब्याट्रीबाट चल्ने यन्त्र । मुटु चल्नलाई कहिलेकाहीँ ढिला भयो भने रक्त-सञ्चार कम हुन्छ । दिमागमा सजिलै रगत जाँदैन । दिमागमा रगत नगएपछि रिंगटा लागेर मानिस ढल्छ । त्यसबाट बचाउन अप्रेसन गरेर मुटु तल पेस-मेकर राखिन्छ । उनले जीवनका २२ वर्ष पेस-मेकर राखिन् । तर पनि खासै गाह्रो महसुस गरिनन् । उनले मलाई २७ वर्ष साथ दिइन् र ०६८ वैशाखमा मलाई मात्रै होइन, यो धर्ती नै छाडिन् ।

दोस्रो बिहे प्रसंग

मीराको देहान्त भएको डेढ वर्ष भएको थियो । बुढालिनकण्ठको घरमा हुँदा उनी खसेकी हुन् । त्यसपछि मलाई त्यहाँ बस्न मनै लागेन र त्यहाँबाट सरेँ । अहिले बालकोटमा बस्छु ।

सम्हालिँदै थिएँ, दिदीहरू र आफन्तबाट दोस्रो विवाह गर्ने सल्लाह आउन थाल्यो । चिनजानका धेरैले घर सम्हाल्न एउटा साथी चाहिन्छ भन्नुहुन्थ्यो, अर्को विवाह गर्ने सल्लाह दिनुहुन्थ्यो । मदनदाइसँग पनि छलफल हुन्थ्यो ।

हामी सुटिङका लागि कास्कीको धम्पुसमा थियौँ, बसुन्धरादिदी (अभिनेत्री बसुन्धरा भुसाल) ले सोध्नुभयो, ‘बाबु, कतिन्जेल यसरी बस्छौ, दोस्रो बिहे गर्नेबारे के सोचेका छौ ?’

Hari Bansha Acharya (9)

मैले भनेँ, ‘सबैजना यसै भन्नुहुन्छ । खै गर्ने !’

उहाँले आफ्नो रमिला (अहिलेकी श्रीमती) को नाम लिनुभयो । रमिला बसुदिदीकी निकटकी रहिछिन् ।

बिहेका लागि मलाई विभिन्न प्रस्ताव आएका थिए । तर, मैले आफूजस्तै पीडा भोगेकी नारी पाए ठीक होला भन्ने सोचेको थिएँ । किनभने, दुवैले दुवैलाई बुझ्न सकिन्छ ।

पछि बुझेँ- रमिलालाई पनि ११ वर्षअघि मलाईजस्तै वियोग परेको रहेछ । उनको छोरा पनि छ । बुटवल माइतीमा बस्दै आएकी । हाम्रो उमेर १३ वर्ष फरक छ ।

पहिलो भेटको प्रभाव स्वाभाविक रुपमा पर्छ नै, मान्छेलाई अन्दाज गर्न पनि सकिन्छ । पहिलो भेटमा रमिला जसरी प्रस्तुत भइन्, जसरी बोलिन्, सोधिन्, त्यसमा मैले सरलता पाएँ । यतिको मान्छे ठीकै होला भन्ने सोचेँ ।

काठमाडौं गोंगबुमा रमिलाका दिदी-भेनाजुको घर छ । रमिलालाई पहिलोपटक मैले त्यहीँ भेटेँ । दुईजना छुट्टै बसेर कुरा गर्यौँ । हामीले एकअर्काबारे पहिले नै बुझिसकेका थियौँ ।

उनको पहिलो प्रश्न थियो, ‘मैले हजुरको घरलाई सम्हाल्न सकुँला कि नसकुँला त ?’ यो प्रश्नमै जवाफ लुकेको थियो कि उनलाई एउटै चिन्ता छ, मेरो घर सम्हाल्ने ।

मैले भनेँ, ‘मेरो पनि योबाहेक अर्को कुनै अपेक्षा छैन । हामी दुवैजना भएर घर सम्हाल्ने हो । हामी एउटै पीडा भोगेका पर्यौँ । मलाई विश्वास छ, मैले तपाईंलाई बुझ्छु र तपाईंले पनि मलाई बुझ्नुहुन्छ । यस्तो भयो भने, घर सम्हाल्न सक्छौँ ।’ हामीबीच यस्तै कुरा भए र हामीले बिहे गर्यौँ ।

पक्कै पनि, उनले पनि केही अन्दाज गरेर मलाई स्विकारेकी हुन् । मैले जे अन्दाज गरेर उनलाई स्विकारेँ, उनले जे अन्दाज गरेर मलाई स्विकारिन्, त्यही भयो । उनले त मलाई र मेरा दुई छोरालाई हेरविचार गरेकै छन् । मलाई लाग्छ, मैले पनि उनलाई सकेसम्म हेरविचार गर्छु । मेरोजस्तै वियोग व्यहोरेकी उनी, उनका पनि आफ्नै चोट छन् । मलाई महसुस छ कि उनी पनि मजस्तै सम्हालिन् मसँग आएकी हुन् । त्यसैले मैले उनलाई सकेसम्म केयर गर्नुपर्छ । उनी आएर राम्रोबाहेक नराम्रो केही पनि भएको छैन ।

Haribamsa-Acharya-


दोस्रो बिहे जुवा खेलेको हुँ

हामीले देखेका-सुनेका पनि छौँ, दोस्रो बिहेपछि घरमा झगडा बढेको, आमा र सन्तानबीच मन नमिलेको, आमाले सन्तानलाई हेला गरेको । यस्तो भयो भने त घर नर्क नै हुन्छ, सम्हालिनसक्नुको हुन्छ । यो डर र चिन्ता मलाई पनि नभएको होइन । मैले एक किसिमले जुवा नै खेलेको हुँ । सबै राम्रो हुन्छ भन्ने के नै थियो र ? तर, रमिलाले मलाई यस्तो ठूलो गुन लगाइन् कि छोराहरूलाई आफ्नै छोरा सम्भिmन्, सम्भिmरहेकी छिन् । आमाको व्यवहारमा कुनै कमी ल्याएकी छैनन् । उनको सबैभन्दा ठूलो उद्देश्य नै आफूसँग र मसँग छोराहरू खुसी होऊन् भन्ने देखिन्छ । आफ्नो आमाले जस्तै व्यवहार गरेपछि छोराहरू पनि खुसी छन् । ममी भनेर सम्बोधन गर्छन् । अहिले मेरो घरमा पुरानै खुसी फर्केको छ ।

सौतेलो शब्दलाई हटाउनुपर्छ

हाम्रो नेपालमा ‘सौतेलो’ शब्दलाई अति साधारण र सजिलोसँग उच्चारण गरिन्छ । ठूला नेता, उच्च पदस्थ व्यक्तिले नै सजिलै भन्छन्, कि म/हामीमाथि सौतेलो व्यवहार भयो, गरियो । कतिपय उखान-टुक्का पनि यसमै आधारित छन्, यो दुःखद कुरा हो ।

पाश्चात्य मुलुकमा त यस्तो रिलेसन अति नै आम कुरा हो । तर, हामीकहाँ दोस्रो विवाहको नाताभाव वा सम्बन्धलाई नै नकारात्मक अर्थमा लिइँदै आइएको छ । यो सम्बन्ध सुन्दै बदनाम लाग्ने बनाइएको छ ।

दोस्रो विवाहका विविध कारण हुन्छन्, ती कारणका सकारात्मक वा नकारात्मक पक्ष हुन्छन् नै । तर, सोलोडोलोमै यो सम्बन्धलाई नकारात्मक व्याख्या गरिनुहुँदैन । समय, परिस्थितिअनुसार यो सम्बन्धको पनि आफ्नै महत्त्व र सकारात्मक पाटा छन् । म त भन्छु, यो ‘सौतेलो’ भन्ने शब्दलाई नै अब प्रयोग गर्नुहुँदैन ।

अहिलेकी श्रीमती रमिला मेरा छोराहरूका सौतेनी आमा होइनन् नि ! किन होइनन् भने, मैले श्रीमती हुँदाहुँदै, उनलाई पीडा दिएर, जबर्जस्ती रमिलालाई ल्याएको होइन । यदि यस्तो भए, सौतेनी आमा भन्न सकिन्थ्यो होला । तर, मेरो सन्दर्भमा यो होइन । अर्कीतिरका छोराछोरालाई माया गर्ने, विभेद नगर्ने सौतेनी आमा पनि हुन्छन् ।

मीराको आत्मा पनि खुसी हुनुपर्छ

Hari Bansha Acharya (10)अहिले रमिलाको मुहारमा हेरिरहन्छु, मीरा हो कि जस्तो लाग्छ । मीराको तस्बिर हेर्छु, रमिलाजस्तो लाग्छ । रमिला मेरो जर्जर घरमा आइन् र सम्हालिन् । अहिले घर, घर भएको छ । सबैलाई ममता बाँडेकी छिन् । छोराहरूले आमाको जस्तै व्यवहार, माया पाएका छन् । छोराहरूले पनि आमालाई जस्तै व्यवहार गरेका छन् । यही नै मेरा लागि ठूलो उपलब्धि भएको छ ।

श्रीमती मीरालाई त सम्झन्छु नि, तर सम्झने मात्रै हो । मैले जतिसुकै सम्झे पनि, पीडा व्यक्त गरे पनि उनी र्फकने होइनन् । यदि उनको आत्माले देख्छ भने, आज उनी मभन्दा बढी खुसी हुनुपर्छ । किनभने, आज उनका छोराहरूले आमाको माया पाएका छन् । मीराले बसाइदिएको घर रमिलाले सम्हालेकी छिन् । मलाई लाग्छ, यदि मीराको आत्माले यो बसै देखेको छ, उनी अवश्य खुसी छिन् ।

म रोएर हिँडेको भए, म पीडामा गुज्रेको भए, अवश्य पनि मीराको आत्मा झनै रुन्थ्यो होला । किनभने, उनले मलाई सधैँ माया गर्थिन् ।

छोराहरूले साथ दिए

मेरो जीवनमा मीरा आएपछि मेरो जीवन बगैँचाजस्तै भयो भनौँ । छोराहरू भए । छोराहरू भएपछि बगैँचामा फूल फुलेजस्तै भयो । जिन्दगी राम्रोसँग चलेको थियो । उनको देहान्तपछि मलाई सम्हालिन सजिलो थिएन । छोराहरू त्रिलोक र मोहित आमाको देहान्तपछि आफैँ मर्माहत थिए । दुवै छोराले मलाई केयर गरे ।

मीराको देहान्तलगत्तै त्रिलोक अमेरिकाबाट आएर आठ महिना साथ दियो । त्रिलोक छात्रवृत्ति पाएर अमेरिका पढ्न गएको हो, सन् २००८ मा । अहिले ऊ सफ्टवेर इन्जिनियर हो ।

उसले अमेरिकन नागरिक बिहे गरेको छ । बुहारीको नाम जोई लेबेन्स्की हो । अहिले उनले जोई आचार्य लेबेन्स्की लेख्छिन् । त्रिलोकले बुहारी पनि लिएर आएको थियो । उनले ६ महिना नेपाली सिकिन् । ६ महिना रातो बंगला स्कुलमा टिचिङ गरिन् । छोराले यहीँको सफ्टवेर कम्पनीमा काम गर्यो ।

बुहारी नेपाली पनि बोल्छिन् । अहिले हामीसँग फोनमा कुरा हुन्छ, आधा इंग्लिसमा आधा नेपालीमा बोल्छिन् ।

आगामी ३ जुलाईमा छोराको बिहेको उत्सवमा सानो समारोह गर्दैछौँ । हामीले हाम्रो परम्पराअनुसार टीकाटालो गर्ने र उनीहरूले आफ्नो चलनअनुसार हामीलाई स्वागत गर्ने कुरा भएको छ । त्यसका लागि हामी सपरिवार अमेरिका जाँदै छौँ ।

अहिले बिहेका बारेमा छोरा-बुहारीले रमिलासँग फोनमा कुरा गर्छन् । यहाँबाट के लैजाने, उहाँ कस्तो व्यवस्था गर्ने भनेर छोरा-बुहारीले आमासँग सल्लाह गरिरहेका छन् । योजना बनाउँदै छन् ।

मीरालाई स्क्रिप्ट सुनाउँथे, रमिलालाई उपन्यास सुनाउँदै छु

मीरालाई छोराहरूले मामु भनेर बोलाउँथे । छोराहरूले बोलाएको सुन्दासुन्दा मैले पनि मीरालाई ‘मामु’ भनेर सम्बोधन गर्थें । अहिले रमिलालाई छोरा मोहितले ममी भनेर बोलाउँछ, मैले पनि ‘ममी’ भन्छु । आफ्नी श्रीमतीलाई आफ्ना सन्तानले जे सम्बोधन गर्छन्, त्यही सम्बोधन गर्न सजिलो हुँदो रहेछ । नामैले बोलाउन अलि अप्ठेरो लाग्छ ।

मैले टेलिभिजन कार्यक्रमका स्क्रिप्ट घरमै बसेर लेख्थेँ । लेखिसकेपछि र लेख्नै लाग्दा मीरालाई सुनाउँथेँ । मिडियामा काम गर्ने भएकाले मीरालाई पनि स्त्रिmप्टबारे केही आइडिया थियो । उनले सल्लाह सुझाव दिन्थिन् । हँसाउने खालको स्क्रिप्ट हुँदा हाँस्थिन् ।

अहिले एउटा उपन्यास लेखेको छु । लेखेर त लगभग सकियो । उपन्यासको पहिलो पाठक रमिला नै हुन् । मैले लेख्दै गर्दा उनैलाई सुनाएँ । यो उपन्यास असारसम्म प्रकाशित गर्ने सोचमा छु । अहिले छोरा मोहितले पढ्दै छ । रमिला र मोहित आलोचनात्मक पाठक त होइनन्, फेरि पनि उनीहरूले आफूलाई लागेको कुरा मलाई बताउँछन् ।

तुलना गर्दिनँ

Ramila

मैले मीरालाई त देउताजस्तै सम्झिसकेँ । जस्तो, देउतालाई जति भेट्न खोजे पनि कहिल्यै भेट्न पाइँदैन । तर, देउता छ भन्ने कताकता मनमा आस्था त हुन्छ नै । अब मैले कहिल्यै मीरालाई भेट्न सक्दिनँ । याद त आउँछ । तर, मैले धेरै मीराको मात्रै याद गरेँ भने, उनको मात्रै कुरा गरेँ भने, अवश्य पनि रमिलालाई केही मनमा लाग्छ नै, मैले त केही गर्न सकिनँ छु जस्तो ।

अहिले मीराका सम्झना मैले रमिलालाई सुनाउँछु । उनले पनि आफ्ना विगत सुनाउँछिन् । तर, यसरी विगत सुनाउँदा एकअर्कालाई नै ठेस पुग्न सक्ने कुरालाई ख्याल गर्छौं ।

मान्छेका आ-आफ्ना गुण हुन्छन्, महत्त्व हुन्छन् । एउटालाई अर्कोसँग तुलना गर्नु हुँदैनजस्तो लाग्छ मलाई । मैले कहिले पनि रमिलालाई मीरासँग तुलना गर्दिनँ । फेरि पनि मैले मीरा र रमिलामा ठूलो अन्तर महसुस गरेको छैन । मीरा जति सरल थिइन्, रमिला पनि त्यति नै सरल छिन् ।

दोस्रो जन्म पाएको छु

मेरो दोस्रो बिहे बिग्रेको भए, सम्बन्ध नराम्रो भएको भए, मेरो सबै कुरा बिग्रन्थ्यो । मैले भन्नैपर्ने कुरा के हो भने, अहिले म सामान्य अवस्थामा छु । मीरा हुँदा जति खुसी थिएँ, त्यही खुसी पाएको छु । मीरालाई गुमाएपछि रमिला नआएको भए व आएर पनि राम्रो नभएको भए, मलाई मदिराको लत लाग्न सक्थ्यो । छोराहरुसँग रमिला नमिलेको भए पनि मलाई तनाव हुन्थ्यो, श्रीमतीको कुरा सुन्नु कि छोराहरुको कुरा सुन्नु हुन्थ्यो । तनाव भएपछि आफू सिर्जनशील भएर देशको सेवा गर्न पनि पाउँदिनथेँ । बाँच्नु र नबाँच्नुमा केही फरक हुँदैनथ्यो । तर, रमिला आएपछि म फेरि बाँचेको छु । मैले दोस्रो जन्म पाएको छु । दोस्रो बिहे सफल भएको हुँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।


प्रस्तुतिः ध्रुवसत्य परियार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment