Comments Add Comment

नवीना र दीपकका नाममा एमाले नेता विभाजित

२ फागुन, काठमाडौं । अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको बन्दसत्र लम्बिँदै गर्दा नेतृत्वका दाबेदारहरुले आ-आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्न थालेका छन् । सम्मेलन लम्बिएपछि आर्थिक चलखेल र होटल खर्चसमेत बढेको छ ।

Dipak-Gautam-and-Nabina-Lamaतीन दिनका लागि आयोजित २२ औं राष्ट्रिय सम्मेलन लम्बिएर ५ दिन पुग्न लाग्दा पनि विवादका कारण निर्वाचन हुन सकेको छैन छैन । केही जिल्लाको प्रतिनिधि विवाद मिल्न नसक्दा निर्वाचन लम्बिएको प्रचार-प्रसार संयोजक ऐन महरले बताए ।

विद्यार्थीको महाधिवेशन तीन दिनबाट एक साता लम्ब्याएर करोडौं रुपैयाँ खर्च गर्ने हैसियत कहाँबाट आयो भन्दै रत्नराज्य क्याम्पसका स्ववियु सभापति राजकुमार राईले यो विकृतिले पार्टीलाई समेत हानी पुग्ने बताए ।

किन लम्बियो बन्दशत्र ?

अध्यक्षका उम्मेदवार दीपक गौतमले विधिसम्मत ढंगबाट आएका प्रतिनिधिहरुलाई नमानी भागबण्डा हुनुपर्ने अनुचित अडान राखेकाले सम्मेलनमा ढिलाइ भएको अध्यक्षकी अर्की प्रत्याशी नविना लामाले अनलाइनखबरलाई बताइन् ।

तर, गौतमले भने विधिका आधारमा प्रतिनिधि चयन हुनुपर्ने आफ्नो धारणा रहेको बताए । गौतम माधव नेपाल पक्षबाट अध्यक्षका उम्मेदवार हुन् भने लामा केपी ओली पक्षकी हुन् ।

गौतमले बागबजारको हार्दिक होटलमा आफ्नो पक्षको कार्यालय नै स्थापना गरेर शक्ति सञ्चय गरिरहेका छन् भने लामाले कमल होटल र तिरुपति होटलमा अड्डा बनाएकी छन् ।

गौतम पक्षले अझैसम्म आफ्नो गुटका उम्मेदवारहरुको टुंगो लगाउन नसकेका कारण पनि निर्वाचन ढीला भइरहेको छ । पदाधिकारी र सचिवालयका उम्मेदवार आकांक्षी धेरै भएकाले एमाले नेताहरु ठाकुर गैरे र राजेन्द्र राईले माधव नेपाल पक्षका उम्मेदवार तय गर्ने प्रयास गरिरहेका छन् । तर, ठाकुर गैरे पक्षले एकलौटी गरेको भन्दै राजेन्द्र राईले असहमति जनाएको स्रोतले बतायो ।

नविना लामा पक्षको उम्मेदवारी टुंगो लागेपछि उनले आफ्नो पक्षका प्रतिनिधिहरुलाई उनले विभिन्न होटलमा व्यवस्थापन गरेकी छिन् ।

आ-आफ्नो पक्षका उम्मेदवारलाई जिताउन अखिल पृष्ठभूमिका एमाले नेताहरु मैदानमा शक्ति प्रदर्शन गरेरै खटिएका छन् ।

गौतम पक्षले चार उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई र नीलकण्ठ आचार्यको नाम टुंगो लगाएको छ ।

त्यस्तै महासचिवमा अब्दुल हुसेन र सचिवहरुमा भक्तकुमारी लामा, सुदेश पराजुली, अशेष घिमिरे र भीम रावलको नाम गौतम पक्षले टुंगो लगाएको छ ।

महिला सचिवमा आरती लामा र मधेसी कोटाको सचिवमा वसिम आलमको नाम टुंगो लागेकाे छ जनजाति सचिवमा गौतम राईको नाम टुंगिएकाे छ । अनुशासन अायोगमा वीरेन रार्इ र निर्वाचन अायोगमा प्रेम प्रधान बिकेकाे नाम माधव नेपाल पक्षले टुंगाे लगाएकाे छ । अाइतबार साँझ मनाेनयन दर्ता गरेर साेमबार चुनाव हुने बताइएकाे छ । केन्द्रीय पदाधिकारी र सदस्यहरुको उम्मेद्वारी मनोनयन गर्ने समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ ।

नवीनाको पक्षमा को-को खुले ?

गौतम पक्षले प्यानल बनाउन प्रयास गरिरहेका बेला नविना लामाले भने आफ्नो पक्षमा पूर्वविद्यार्थी नेताहरुको वक्तव्यबाजी गराउन सफल भइसकेकी छिन् । विभिन्न क्याम्पसका पूर्वस्ववियु सभापतिहरुले नविनाको पक्षमा विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन गरेका छन् ।

त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा अधिकांश एमालेको राजनीतिमा सक्रिय छन् । महिला र जनजातिका साथै निरन्तर क्रियाशील भएका कारण नविनालाई जिताउनुपर्ने दाबी उनीहरुको छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा सांसद तथा महेन्द्र मोरङ क्याम्पसका पूर्वसभापति ऋषिकेश पोखरेल, युवा संघका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पसमा पूर्वस्ववियु सभापति राजिव पहारी समेत छन् ।

त्यस्तै भातृ संगठनलाई गुटबाट मुक्त गराउन लामा सक्षम तथा योग्य व्यक्ति भएको भन्दै रत्नराज्य क्याम्पसका पूर्वसभापति बालगोपाल उपाध्याय, सानोठिमीका पूर्वसभापति नरेन्द्र ढकाल, पुण्य ढुंगेल, नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वसभापति आनन्दकुमार श्रेष्ठ, बिदुर सुब्बा, कमल सुनुवार र तुलसीराम मैनालीलगायतले वक्तव्य निकालेका छन् ।

त्यसैगरी पूर्वस्ववियु सभापतिहरु पदम गिरी, टेकराज पछाइ, विजय राई, प्रभातविक्रम कटुवाल, रश्मी आचार्य, रेखा थपलिया, कमल बस्नेत, झपेन्द्र खत्री, रामकृष्ण घिमिरे, अशोक ठकुरी, अमृता बराल, सागर थापालगायतले पनि नवीना लामालाई समर्थन गरेका छन् ।

त्यसैगरी निशा अधिकारी, टेकेन्द्र बस्नेत, यज्ञराज ढुंगाना, विजयविराज विष्ट, नरबहादुर धामी, कमला बोहोरा, बसन्त बानिया, टिका घिमिरे, तेजविक्रम बस्नेत, चतुरभोज शाही, सूर्य रोकाया, टीका थापा, यमराज पाण्डे, सन्दीप विक, ज्ञानबहादुर केसी लगायतले पनि लामालाई समर्थन गरेका छन् ।

त्यस्तै पूर्व विद्यार्थी नेताहरु शंकर पोखरेल, हिक्मत कार्की, रवीन्द्र अधिकारी, रुपनारायण श्रेष्ठ, माधव ढुंगेल र किशोरविक्रम मल्ल नविनाको पक्षमा उभिएका छन् ।

गौतमको पक्षमा को-को ?

अखिलका पूर्वअध्यक्षहरु टंक कार्की, तुलबहादुर गुरुङ, योगेश भट्टराई, अरुण नेपाल, राजेन्द्र राई, ठाकुर गैरे र रामकुमारी झाँक्री दीपक गौतमको पक्षमा उभिएका छन् ।

आ-आफ्नो पक्षका उम्मेदवारलाई जिताउन अखिल पृष्ठभूमिका एमाले नेताहरु मैदानमा शक्ति प्रदर्शन गरेरै खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment