Comments Add Comment

क्याम्पसभित्र कण्डम बाँड्न पुगेका डाक्टरमाथि हातपात

rr campus 2

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन दिवस मनाउने भनेर आयोजना गरिएको कार्यक्रममा कण्डम प्रदर्शन गरिएपछि आरआर क्याम्पसमा आइतबार तनाव भयो । विद्यार्थीको एउटा समूहले कार्यक्रममा सहभागी हुन पुगेका राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमा कार्यरत डा. सुशील कोइरालामाथि हातपात गरेका छन् ।

प्रेम दिवस मनाउन क्याम्पसभित्र विद्यार्थीहरुबीच गुलाब आदान-प्रदान गर्ने योजना क्याम्पसका केही विद्यार्थीले डा. कोइरालासित बसेर बनाएका थिए । अघिल्लो दिन (शनिबार) कण्डम दिवससमेत परेकाले गुलावसँगै एड्ससम्वन्धी चेतनाका लागि कण्डम पनि वितरण गर्ने सल्लाह उनीहरुबीच भयो । गुलाब र कण्डमको व्यवस्था आफूले गर्ने डा. कोइरालाले प्रतिवद्धता जनाए ।

प्रतिवद्धता अनुसार उनी चार सय गुलाब र १५ सय कण्डम बोकेर बिहान आठ बजे उनी क्याम्पसमा पुगे । उनी पुग्दा क्याम्पसभित्रको बगैंचामा विद्यार्थीहरुले साजसज्जा गरेर चिटिक्क पारेका थिए । उनले आफूले ल्याएका सामग्री विद्यार्थीको ज्म्िमा लगाए । विद्यार्थीहरुले कण्डमका प्याकेटलाई झोलाबाट खन्याएर टेबुलमा सजाए ।

टेबुलमा ‘लभ’ लेखिएका राता प्याकेटको खात देखेपछि विद्यार्थीहरुबीच गाईंगुई सुरु भयो । ‘आबुई कण्डम पनि १’ भन्दै छात्राहरुले अनुहार रातो पारे । समूह-समूहमा विद्यार्थीहरुबीच बहस सुरु भयो । केही विद्यार्थीहरुले यो विषयलाई आपत्तिजनक माने ।

यता, बगैंचामा क्याम्पसका स्ववियू अध्यक्ष राजकुमार राईलाई प्रमुख अतिथि बनाएर औपचारिक कार्यक्रम सुरु भयो । साथै एक-अर्कालाई गुलाब वितरण सुरु गरियो । आयोजकले गुलाबका साथमा कण्डम पनि लैजान विद्यार्थीलाई आग्रह गरिरहेका थिए । तर, कसैले कण्डम टिप्ने हिम्मत गरेनन् ।

औपचारिक कार्यक्रम सकिनै लागेको थियो । डा. कोइराला र राईले भाषण गरिसकेका थिए । यत्तिकैमा क्याम्पसका अनेरास्ववियू नेता टपेन्द्रजंग शाही लगायतका विद्यार्थीको एउटा समुहले कार्यक्रमस्थलमा हस्तक्षेप गर्‍यो ।

Condom distribution

उनीहरुले आयोजक विद्यार्थी र डा. कोइरालामाथि मुक्कामुक्की गरे । मुक्का खाएलगत्तै डाक्टर कार्यक्रम छाडेर हिँडे । टेबुलमा राखिएका कण्डमलाई बोरामा खाँदियो ।

हातपातमा संलग्न विद्यार्थी नेता शाहीले भने आरोप अस्वीकार गरेका छन् । उनले अनलाइनखबरसँग भने- ‘क्याम्पसभित्र कण्डम वितरण गरिएको विषयमा धेरै साथीहरुले आपत्ति जनाएपछि हामीले गएर सम्झाएका हौं, कसैलाई हातपात गरेको छैन ।’

शाहीले आरआरमा छात्राहरुलाई आँखाले समेत जिस्क्याउनुहुन्न भन्ने मान्यता रहेको भन्दै खुलेआम कण्डम बाँड्ने कुरा सहन गर्न नसकिएको उल्लेख गरे ।

कार्यक्रम आयोजना कुनै विद्यार्थी संगठनले गरेको भए त्यो झगडाले उग्ररुप लिने सम्भावना थियो । तर सबै विद्यार्थी संगठन त्यसमा सामेल भएकाले झगडा यत्तिकै टर्‍यो । आक्रमणको नेतृत्व गर्ने व्यक्ति र कार्यक्रमको प्रमुख अतिथि दुवै अनेरास्ववियूका थिए । अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी र नेविसंघका नेता पुस्कर वास्तोला लगायतमाथि आक्रमण भएको छ । पिट्नेहरु बाटो लागेपछि विद्यार्थीहरु कार्यक्रम स्थलमा सेल्फी खिच्न थाले ।

एड्ससम्वन्धी चेतना फैलाउन खोजेको हुँ: डा. कोइराला

Dr. Sushil Koirala
डा. सुशील कोइराला

मैले विभिन्न दिवस र अवसरमा एड्स तथा यौनरोग सम्वन्धी चेतना फैलाउन कण्डम वितरण गर्दै आएको छु । शनिबार कण्डम दिवस थियो, तर म तालिमका क्रममा काठमाडौं बाहिर रहेकाले कुनै कार्यक्रममा सहभागी हुन सकिनँ ।

यसैबीच आरआरका विद्यार्थी साथीहरु क्याम्पसमा भ्यालेन्टाइन डे मनाउने विषयमा छलफल गर्न आउनुभो । छलफलकै क्रममा गुलाबसँगै कण्डम पनि वितरण गरौं भन्ने सल्लाह भयो । मैले आफ्नै खर्चमा गुलाब र कण्डमको जोहो गर्ने आश्वासन दिएँ ।

कार्यक्रम राम्रै  चलिरहेको थियो । यत्तिकैमा केही व्यक्तिहरु आएर हस्तक्षेप गर्ने काम भयो । ममाथि समेत हातपात भयो । मलाई अरु साथीहरुले जोगाएर सुरक्षित स्थानमा लैजानुभो । त्यसपछि म दिक्दारी मान्दै कार्यक्रमस्थलबाट हिँडे ।

त्यसपछि अर्को कलेजमा पनि यस्तै कार्यक्रम थियो । त्यहाँ भने निर्वाध रुपमा गुलाब तथा कण्डम वितरण गर्ने काम भयो । ममाथि सामान्य हातपात भएको हो, तर यसलाई मैले ठूलो इस्यूका रुपमा लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment