Comments Add Comment

यानकुमारी र ज्ञानीलाई रजत, पुरुषतर्फ २ काश्य

सन्देश श्रेष्ठ

२ फागुन, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दशौं दिन नेपालले तेक्वान्दोमा दुई रजत र दुई काश्य जितेको छ ।

तेक्वान्दोको ४९ केजी तौल समूहमा नेपालकी यानकुमारी चौलागाईं र ५७ केजी तौल समूहमा ज्ञानी चुनाराले रजत पदक जितेका हुन् ।

आइतबार भारतको सिलोङमा भएको प्रतिष्पर्धामा भारतकी पूर्वा दीक्षितसँग पराजित भएपछि यानकुमारीले रजत पदकमा चित्त बुझाइन् ।सेमिफाइनलमा पाकिस्तानकी आयशा नुरलाई ९/२ को फराकिलो अन्तरमा पराजित गर्दै फाइनलमा पुगेकी उनले फाइनलमा भने सोंचे अनुसार प्रदर्शन गर्न सकिनन् ।

फाइनलमा उनी भारतकी दिक्षितसँग १२/४ ले पराजित भइन् । दिक्षितले स्वर्ण जितिन् ।

त्यस्तै ५७ केजी तौल समूहमा अफ्गानिस्तानकी हुमैरा एफ. साहसँग पराजित ज्ञानी पनि रजतमा सिमित भइन् । उनी हुमैरासँग १०/७ को अन्तरमा पराजित भइन् । कडा प्रतिष्पर्धा गरेकी उनले खेलको अन्त्य तिर स्कोर गर्न चुक्दा स्वर्ण जित्ने लक्ष्य पूरा भएन । हुमैराले स्वर्ण जितिन् ।

यसअघि भारतकी एस शर्मा चियारीलाई ११/८ ले पराजित गर्दै ग्यानी फाइनलमा पुगेकी थिइन् ।

आइतबार नै भएको पुरुष तेक्वान्दोमा पनि नेपालले दुइ काश्य पदक जित्यो । तेक्वान्दोको ७४ केजी तौल समूहमा नेपालका निश्चल श्रेष्ठले काश्य पदक जिते । भारतका मनु जर्जसँग पराजित भएपनि उनले काश्य पदक प्राप्त गरे । उनी भारतका जर्जसँग १७/६ को अन्तरमा पराजित भए ।

नेपालका सुनिल पौडेलले पनि काश्य पदक जिते । बाइ पाएर सेमिफाइनलमा पुगेका उनी भारतका गजेन्दर परिहारसँग पराजित हुँदै काश्य पदकमा सिमित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment