Comments Add Comment

कालीगण्डकी करिडोरको काम तीव्र

१४ फागुन, बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ ।

नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार दोस्रो सातादेखि जिल्लाको मालढङ्गा–टाकुरी खण्डमा सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले काम सुरु गरेको हो । साढे १३ किलोमिटरको उक्त खण्डमा ९० प्रतिशत काम पूरा भइसकेको कार्यदलले जनाएको छ ।

कालीगण्डकी करिडोरको आयोजना कार्यालयमार्फत् समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । आगामी जेठ १५ गतेभित्र मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले जानकारी दिए ।

‘जेठभित्रमा यो खण्डमा यातायात सञ्चालन हुन्छ, सडक निर्माणको काम तीव्र रुपमा अघि बढेको छ,’ उनले भने ।

विषम परिस्थिति, विकट भूगोल र प्रतिकूल मौसममा सेनाले काम अघि बढाएको भट्टराईको भनाइ छ । इन्धनको चरम सङ्कटमा पनि करिडोरको निर्माण कार्य हुँदै आएको छ । मालढुङ्गा–टाकुरी खण्डको काम पूरा भएपछि चालु आवको लक्ष्य पूरा हुने छ ।

टाकुरीदेखि बागलुङ–गुल्मीको सीमामा रहेको पालुङखोलासम्मको सडक निर्माणको जिम्मा पनि नेपाली सेनाले लिने भएको छ । सो खण्डको काम सुरु गर्न प्रक्रिया अघि बढेको र बजेटको अख्तियारी आउन बाँकी रहेको प्रमुख सेनानी भट्टराईले बताए ।

यसअघि गुल्मीको रिडीदेखि पालुङखोलासम्मको ४२ किलोमिटर सडकको मार्ग खोल्ने काम पनि नेपाली सेनाले गरेको हो । टाकुरी–पालुङखोला सडक आगामी २०७३ चैतभित्र पूरा गर्ने लक्ष्य छ । उक्त खण्ड सुचारु भएमा गुल्मी–बागलुङ–जोमसोम १६४ किलोमिटर सिधा यातायात चल्ने छ ।

कालीगण्डकी करिडोरमै पर्ने बेनी–जोमसोम खण्ड सेनाले जिम्मा लिई २०६४ सालमै पूरा गरिसकेको छ । गुल्मी–बागलुङ सडकखण्डमा सेनाले जिम्मा लिएको सडक निर्माणका लागि सरकारले हालसम्म ५६ करोड ६४ लाख विनियोजन गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माण सरकारको पहिलो प्राथमिकतामा रहँदै आएको छ ।

दक्षिण भारतको सुनौलीदेखि उत्तर चीनको कोरलालाई जोड्ने करिब ४३५ किलोमिटर कालीगण्डकी करिडोरलाई सबैभन्दा छोटो मार्गको रुपमा लिइएको छ । बागलुङ खण्डमापर्ने करिब ३५ किलोमिटर सडकको निर्माण पूरा भएमा कालीगण्डकी करिडोरको मार्ग पूर्णरुपमा खुल्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment